२०६६ सालको लक्ष्मीपूजाका दिन यस धराधाममा पाइला राखेका र त्यसको झन्डै पचास वर्षपछि २०१६ साल भदौ २९ गते यस धरतीबाट सदाका लागि बिदा लिएका देवकोटा । जन्मँदा उनी परिवारका मात्र थिए- पुत्रोत्सव पनि केवल परिवारका लागि मात्र हुन पुग्यो भने उनी यस लोकबाट सदाका लागि टाढा हुँदा चाहिँ उनी नेपाली साहित्यजगत्का बने, नेपालका बने- त्यसैले उनको मृत्युशोक सबै नेपालीका लागि हुन पुग्यो, राष्ट्रका लागि नै हुन पुग्यो । उनको निधन नेपाली साहित्यजगत्का लागि र राष्ट्रका नै अपूरणीय क्षति थियो । त्यसैले भावविहृवल स्रष्टाले त्यतिबेलैदेखि र पछि अध्ययन र अनुसन्धानका क्रममा उनका विषयमा जति लेखे त्यति अरू कुनै नेपाली स्रष्टाका बारेमा लेखिएका नहोलान् । उनका विषयमा विद्यावारिधि गर्ने नै आधा दर्जनको नजिकमा पुगिसकेका छन् । यसै हुँदा श्री ओम श्रेष्ठजीको अनुरोधमा म के लेखूँ- सोचेँ । सम्झे निकै वर्ष अगाडिको कुरा/तिनै एक दुई विषयमा केही कोर्ने जमर्को गर्न लागेकी छु ।
पहिलो हो, मलाई आफूप्रति नै गौरव लाग्दो कुरा/यस अर्थमा म आफूलाई भाग्यमानी पनि ठान्दछु । नेपाली वाङ्मयजगत्का ठूला ठूला हस्तीलाई देख्ने अवसर सबैलाई प्राप्त हुँदैन । समकाल, समय र समकार्यमा रहेकाहरूको एक अर्कासँग परिचय हुन सक्ला अथवा देखादेख हुन सक्ला अथवा समय, उमेर र कार्यमा अलि तल परेकोले अघिल्लो श्रेणीकोलाई देख्नसम्म मात्र पनि पाएको हुन सक्दछ, यही तेस्रो तहमा अलिअलि पर्छु म । जे होस् मैले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई राम्रैसँग देखेकी छु र उनले कविता वाचन गरेको पनि प्रत्यक्ष सुनेकी छु अनि उनका बारेको चर्चा पनि सानैदेखि सुन्दै आएकी छु ।
यो कसरी त ? – यसमा केही स्पष्ट पार्नुपर्ला । बुबा गोपाल पाँडे असीमका कारण नै मलाई सम्भव भएको हो । बुबाले २००८ सालमा नेपाली शिक्षा परिषद् स्थापना गर्ने क्रममा र स्थापना भइसकेपछि पनि धेरै विद्वान्सँग परामर्श लिनुहुन्थ्यो । नेपालमा नेपाली जनताको हितका लागि नेपाली भाषाको माध्यमबाट पठनपाठन र परीक्षा चलाउनुपर्छ भन्ने अभियानमा उहाँ हुनुहुन्थ्यो र यसक्रममा प्रारम्भमा उहाँले जनमत सङ्कलन गर्दा २००८ साउन ९ गतेको मितिमा देवकोटाले यस्तो विचार व्यक्त गरेका थिए- “राष्ट्रभाषामा शिक्षा प्रणाली कायम रहनु अहिलेको अखण्ड आवश्यकीयता हो । स्वदेशी जल पिउनु जत्तिकै छ । विदेशी रङ लागेका हामी चिप्लेकीरा ढिला भएर बामे सर्दैर्छौं । …. ” देवकोटाले आफू अङ्ग्रेजीका प्राध्यापक भए पनि नेपाली शिक्षा परिषद्बाट सञ्चालित हुने प्रवेशिका परीक्षा (एस.एल.सी. सरहको) नेपाली विषयको पाठ्यक्रम बनाउने समितिको सदस्य रहेर पाठ्यक्रम तर्जुमा गरेका थिए । परिषद्अन्तर्गत २०१० सालमा गठित भानु जयन्ती समारोह समितिमा उनी सदस्य रहे । यी कुराको उल्लेख गर्नुको तात्पर्य के हो भने देवकोटाको नाम मैले सानै उमेरदेखि बुबाबाट सुन्ने अवसर पाइरहेँ र कार्यक्रमहरूमा बुबाले मलाई साथमा लैजानुहुने हुँदा देवकोटालगायत अरू कविहरूलाई पनि देखेँ हुँला तर ती सबैको सम्झना छैन ।
लक्ष्मीप्रसाद देवकोटालाई देखेको दुईटा घटनाचाहिँ म अहिले सम्झिरहेकी छु । परिषद्ले आदिकवि भानुभक्तको प्रतिमा स्थापना गर्ने भयो भानु मा. विद्यालयमा । त्यतिबेला दरबार हाइस्कुलको प्राङ्गणमा यो २०११।०१२ सालतिरको कुरा हो । प्रतिमास्थलको शिलान्यास भानुजयन्तीका दिन बिहान राखिएको थियो । कविशिरोमणि लेखनाथबाट सम्पन्न गरिने सो शिलान्यास समारोहमा उपस्थितहरूमध्ये देवकोटाको व्यक्तित्वको प्रभाव मेरो मनमा परेको थियो । लामो कालो सेरमानी लगाएको, टोपी नलगाएको, अग्लो व्यक्तिको त्यो चित्र अहिले पनि मेरा आँखाअगाडि उपस्थित भइरहेछ ।
अझ गहिरो प्रभाव परेको घटनाचाहिँ अर्को छ । परिषद्ले मोती जयन्ती समारोह मनाउँदा नयाँ कार्यका रूपमा समस्या पूर्ति कवि सम्मेलन पनि २०१३ सालदेखि गर्न थालेको सर्वविदितै छ । सोही सालको कुरा अहिले म गर्दैछु । दरबार हाइस्कुलको मजलिस घर (दायाँतर्फको दोस्रो तलाको अन्तिम ठूलो कोठा) मा मोती जयन्तीको कार्यक्रम थियो । कविगोष्ठीका लागि ‘मेरो निशाना भनी’ समस्या राखिएको थियो । कार्यक्रम हुँदाहुँदै देवकोटा आइपुगे । उनीसँग समस्या पूर्ति कविता माग भयो । लेखेर ल्याएका रहेनछन् । उनले पनि एक टुक्रा कापी मागे र त्यहीँ चार हरफ खरखरी लेखे र आफ्नो पालोमा कविता वाचन गरे । यसरी उत्नीखेरै कविता लेखेको देखेर मेरो केटाकेटी हृदयमा ठूलो असर पर्यो । त्यहाँ अरू कसैले पनि त्यहीँ लेखेर दिएका थिएनन् । कविता ल्याउनेले पढे, नल्याउनेले सुने मात्र तर देवकोटाले त्यसरी तत्काल कविता लेख्न सकेको देख्ता कति महान् मान्छे रहेछन् ती भन्ने लाग्यो । त्यो कविता यही हो-
ताके व्योम अनेकले, जलदका बुट्टा परेको धनी
ताके सुन्दरका महाशिखरमा उड्दै कुनै सन्सनी
लज्जाले निहुरेर शक्ति बहुतै छोटो निकम्बा गनी
धर्तीमा जल बिन्दु ताक्दछु म ता “मेरो निशाना भनी ।”
२०१३ सालको यो समारोहपछि मैले देवकोटालाई फेरि देख्ने सौभाग्य पाइनँ । देवकोटाको क्रियाकलाप अन्य क्षेत्रमा (मन्त्रीका रूपमा, प्रज्ञाप्रतिष्ठानका सदस्यका रूपमा आदि) पनि बढ्दै गयो । पछि उनी बिरामी भए, औषधोपचारका लागि विदेश गए फर्केपछि रोगले गर्दा उठ्नै नसक्ने भएर ढले । यति हुँदाहुँदै पनि उनको सिर्जना यदाकदा अगाडि बढ्थ्यो नै । २०१६ साल भदौको लगभग आखिरीतिर उनको निधन भयो । सोही महिनामा भएको समस्यापूर्ति कवि गोष्ठीका लागि उनले अर्को समस्यापूर्तिको रचना गरे । क्यान्सर रोगसँग अन्तिम सङ्घर्ष गरिरहेकै अवस्थामा शान्त भवनको शय्यामा सुतीसुती, अरूलाई लेख्न लगाए । यो अरूलाई लेख्न लगाएर भनिएकोमा अलि स्पष्ट पार्नुपर्ला । बुबा (गोपाल पाँडे असिम) ले मलाई त्यसैबेला र पछि पनि भन्नुभए अनुसार उहाँ देवकोटालाई हेर्न बेलाबखत अस्पताल गइरहनु हुँदोरहेछ । यसैक्रममा मोती जयन्ती नजिक भएका कारण एक श्लोक समस्यापूर्ति कविता रच्न सकिन्छ कि भनी उहाँले अनुरोध गर्नुभएछ र कविजी लेख्न सक्ने अवस्था नभएका कारण कविजी भन्दै जाने र बुबाले टिप्दै जाने गरी ‘सङ्कल्प हाम्रो फलोस्’ समस्यामा निम्न श्लोक तयार भएछ- (जसमा देवकोटाको तत्कालीन कष्टकर जीवन उत्रन गएको छ)-
संसारै घुमियो भएर विषयी मीठो विषै पो पिएँ
खेल्थे धेर वितर्क तर्क मनमा उल्टो भई पो जिएँ
आयो घोर हुरी तनै प्रलय भो आगो जल्यो लौ जलोस्
भावै मात्र फिँजे तथापि सबको “सङ्कल्प हाम्रो फलोस् ।”
अब अलिकति आफ्नो पठनपाठनसँग देवकोटालाई जोड्न चाहन्छु । मैले २०१७ सालमा एस.एल.सी. दिँदा उनको मार्ग, यात्री कविता पाठ्यक्रममा पढ्नुपथ्र्यो । मुनामदन चाहिँ मैले पहिले नै पढिसकेकी थिएँ । तिनमा रहेका पङ्क्तिहरू ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’, ‘हातका मैला सुनका थैला के गर्नु धनले/साग र सिस्नु खाएको बेस आनन्दी मनले’, कर्ममैछ पूज ईश्वर भन्छ यो लक्ष्मीप्रसाद’ र मार्ग, यात्री कविताका प्रत्येक पङ्क्तिमा अन्तर्निहित भावसँग आफ्नो हृदयको तादात्म्य रहन गएका कारण उनका रचना पढ्ने चाहना सधैँ हुन्थ्यो । समाजमा सेवाभाव जाग्रत गर्न खोज्ने मानववादी, जीवनवादी, प्रकृतिप्रेमी, कार्यपूजक देवकोटा मेरा सधैँ आदर्श रहे । जाँचमा देवकोटाकै जीवन दर्शनका विषयमा र देवकोटाकै सिर्जनामा लेख्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । हुन पनि त्यस्तै भयो एस.एल.सी. र आई. ए. परीक्षा दिँदा निबन्ध लेख्नका लागि “मन परेको कवि’ पनि प्राश्निकले राखिदिएछन् । मैले देवकोटालाई छाड्ने कुरै भएन । दुवैपटकको परीक्षामा मैले ‘मन परेको कवि’ अन्तर्गत महाकवि लक्ष्मीप्रसाद देवकोटा, मा कलम दौडाउने मौका पाएँ । राष्ट्रका यस्ता स्वनामधन्य, बहुआयामिक, उच्च व्यक्तिको मूल्याङ्कन एउटा सामान्य परीक्षार्थीबाट के हुन सक्यो होला र तैपनि महामना देवकोटाको आशीर्वाद चाहिँ यो कलम कोर्नेमाथि पर्यो नै भन्नुपर्छ, नत्र क्रमशः प्रथम र विशिष्ट श्रेणीको नम्बर कसरी प्राप्त हुन सक्थ्यो ।
