मैथिली संस्कृतिमा मनाइने हरेक चाड पर्वमध्ये कार्तिक शुक्ल षष्ठीमा मनाइने छठ पर्वको आफ्नै विशेषता र महत्वका कारण महापर्व भनेर चिन्ने गरिन्छ । यस पर्वलाई हिन्दूहरूको चाड भनिए पनि हरेक धर्मावलम्बी जातजातिहरूको उतिकै सहभागिता देखिने गरिन्छ ।
मूलतः मिथिलाञ्चल वा तराईमा मात्र मनाइने छठ पर्वले आफ्नो गरिमामय स्थान ओगट्न सफल भएको भान हुन्छ । यो पर्व “दुसैँ सोरहे सुकराति, सुकराती छब्बे छैठ” अर्थात् विजयादशमीको सोह्रौँ दिनमा पर्ने तिहार र तिहारको छँैटौँ दिनमा छठ पर्व मनाइने गरिन्छ । शरद ऋतुको जाडो र गर्मीको मिश्रति समयमा कार्तिक शुक्ल षष्ठीको बेलुका अस्ताउँदो र त्यस्ाको भोलिपल्ट उदाउँदो सूर्यलाई अघ्र्य दिई यो पर्व मनाइने गरिन्छ । अस्ताउँदो सूर्यलाई छठी मईया तथा उदाउँदो सूर्यलाई दिन्ाकर भनी यो पर्वमा पूजा गर्ने गरिन्छ । यो व्रत सप्तमी युक्त षष्ठीमा गर्नुपर्ने विधान रहेको छ । यो व्रत गर्दा सम्पूर्ण मनोरथ पूर्ण हुने तथा आरोग्य प्राप्त हुने विश्वास गरिन्छ । यो पर्वको सन्दर्भमा पुराणमा “आरोग्य भाष्करं दिच्छेत्” स्लोकले पुष्टि गरेको पाइन्छ ।
त्यसैगरी पदम पुराणले तपस्या, व्रतबाट पाइने फलभन्दा कयौं गुणा अधिक फल यो व्रत गर्दा प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ । साथै जसले यो व्रत गर्नेछ सो सदैव मेरो नजिक रहनेछ र उनको सम्पूर्ण पाप नष्ट हुने भनिएको छ । अर्थात् ” यज्ञदानव्रततपःकारिणोमानवावाश्चये । कार्तिकव्रतपुणस्य या प्रवन्ति कलामाथि ।। एवं ये कार्तिक मासेनाराव्रतपरायणः । क्रमसन्निध्यंग्रास्तेपी प्रीतीदास्त्वं मयामम् “।। यो व्रत गर्नेहरूले सो पर्वको दिन स्नान गरी चोखो र शुद्ध अन्न खाई पञ्चमीको दिनभरि उपवास बसी साँझपख नवचुल्होमा खिर बनाई डालीअनुसार उत्सर्ग गरी आफू तथा आफ्नो परिवारजनलाई दिने गर्दछ । यसरी पञ्चमी तिथिमा दिनभरिको निराहार बसाईपश्चात् बेलुका फलाहार गरिने कार्यलाई खरना भनिन्छ ।
षष्ठीको दिन व्रत बस्नेहरू निराहार रही साँझ पवित्र कपडा लगाई पोखरी, नदी, तलाउनिर अस्ताउँदो सूर्यलाई ठकुवा, भुसुवा, केरा फलफूल, पान, सुपारी, उखु आदिले अघ्र्य (पूजा) गरिन्छ । यसलाई मैथिलीमा संझिया (साझको अघ्रय ) भनेर भनिन्छ । त्यसपछि त्यसको भोलिपल्ट पनि पहिलेको नै उपकर्म गरी उदाउँदो सूर्यलाई अघ्र्य दिई यो पर्वको ईतिश्री गरिन्छ ।
यो पर्व कहिलेदेखि सुरु भएको हो किटान नभए पनि सूर्य पुराणमा अत्री मुनिको पत्नी सती अनुसुयाले दाम्पत्य प्रेम, सुख सौभाग्यको लागि षष्ठी व्रत गरेको उल्लेख भएबाट यो पर्व सोही समयदेखि चल्दै आएको किटान गर्नसकिन्छ । त्यसैगरी द्वापरयुगमा पाण्डवहरूले अज्ञातवास सफल होस् भनी सूर्य भगवान्को पूजा गरेकोबाट यसअघि नै सूर्य पूजा (षष्ठी वर्त ) सुरु भएको अडकल गर्न सकिन्छ । हाम्रो लोक कथाअनुसार प्राचीन कालमा एक दुष्ट राजालाई पूर्वजन्मको कारण यक्ष्मा रोगले समात्यो । धेरै उपचारपश्चात् पनि सो रोग निको नभएपछि राजाले खिन्न भई आत्महत्या गर्न लाग्दा एक ब्राहृमणले राजालाई सो रोगबाट मुक्त हुन सूर्य व्रत अर्थात् छठ पर्व गर्न सल्लाह दिँदै सबै विधि-विधान बताइदियो । राजाले ब्राहृमणले भनेजस्तै सूर्यको पूजा गरेपछि उनको सबै दुःख कष्ट नष्ट भयो । यसरी त्यही बेलादेखि षष्ठी व्रत अर्थात् छठ पर्व मनाइँदै आएको जनविश्वास रहेको छ ।
यो पर्वमा जसको घरमा जतिवटा छोरा हुन्छन् त्यसले त्यतिकै अघ्र्य दिनुपर्ने भनिन्छ । यो पर्वको ईतिश्री नहुञ्जेलसम्म पूजाको सामग्री कसैले नछुनु यो पर्वको विशेषता रहेको छ । मनोवाञ्छित फलको साथसाथै यश कृति पाउने पर्वको रूपमा यसलाई लिने गरिन्छ । अहिंसाको भावना, जातजातिमाथि छुवाछूत र काटमारबाट टाढा रहेको यो पर्वले आत्मीय शान्ति, भ्रातृत्व प्रेम र सबैमा समान व्यवहार भाव दर्शाउने गरेको पाइन्छ ।
