Skip to content


दसैँको लगत्तैपछि आउने तिहार पर्व नेपालीहरूको दोस्रो ठूलो चाड हो । हरेकवर्ष कात्तिककृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म मनाइने यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । एक किंवदन्ती अनुसार कुनै बेला बहिनी यमुनाले दाजु यमराजलाई यिनै पाँचदिन आˆनो घरमा राखेर पूजा गरेकी थिइन् । त्यसैको आधारमा यस पर्वको नाम यमपञ्चक रहेको हो भन्ने संस्कृतिविद्हरूको कथन छ । तिहार पर्वको पहिलो दिन कागको पूजा हुन्छ । यस दिनलाई आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्तीको रूपमा मनाउने चलन पनि छ । हिजोआज त कागदिवसको नामले पनि परिचित हुन थालेको छ । विगत केही वर्षदेखि मकवानपुर निवासी चरिदादाको नामले परिचित यस दिन काग सम्मेलन गर्दै आएका छन् । यो दिन विशेष गरी तराई भेगमा धनतेरसको नामले बढी परिचित छ । दोस्रो दिन कुकुरको, तेस्रो दिन गाई र धनकी अधिष्ठातृदेवी लक्ष्मीको, चौथो दिन गोरु तथा गोवर्धन पहाडको र पाँचौँ दिन दिदीबहिनीले दाजुभाइको र दाजुभाइले दिदीबहिनीको पूजा गर्ने परम्परा छ ।

तिहारपर्वको पहिलो दिन गरिने कागपूजाको अर्थ कागको सम्मान गर्नु हो । यति बेला ‘ऐन्द्रवारुणवायव्यां याम्यां वै नैऋतास्तथा । वायसा प्रतिगृहृणन्तु मया दत्तं वलिंत्विमम् ।’ भन्ने मन्त्रले कागलाई बोलाएर दहीभात आदि खाद्यपरिकार दिनुपर्ने शास्त्रीय प्रावधान छ तर व्यवहारमा भने दुनामा दाल र भात ठ्वास्स राखेर परम्परा धान्दै आइएको पाइन्छ । यसैदिन साँझ यमराजको नाममा घरको चोक आगन आदि स्थानमा बत्ती बाल्नुपर्ने प्रावधान छ । भोलिपल्ट चतुर्दशीको दिन बिहान सबेरै शरीरमा तेल लगाएर विशेष प्रकारले नुबाउने चलन छ । जसलाई अभ्याङ्गस्नान भनिन्छ । यसलाई जनजीवनमा नर्के नुवाउने भन्ने गरिएको पाइन्छ । नुवाउनुअघि शिरमा अपामार्ग घुमाएर फाल्नु पर्दछ । यति बेला ‘सीतालेष्टसमायुक्त सकण्टकदलान्वित । हर पापमपामार्ग भ्राम्यमाणः पुनः पुनः’ भन्ने मन्त्र पढ्नुपर्ने प्रावधान छ । नुवाइसकेपछि बलेको बत्ती दान गर्नु पर्दछ । बत्ती दान गर्दा ‘दत्तो दीपश्चतुर्दश्यां नरकप्रीतये मया । चतुर्वर्तिसमायुक्तं सर्वपापापनुत्तये’ भन्ने मन्त्र पढ्नुपर्ने शास्त्रीय भनाइ छ । यसपछि कुकुरको पूजा गरी फूल माला लागाइदिएर मीठामीठा परिकारहरू खान दिनु पर्दछ । खाने कुरा दिँदा ‘द्वौ श्वानौ श्यामशबलौ वैवश्वकुलोद्भवौ । ताभ्यमन्नं प्रदास्यामि रक्षतां पथि सर्वदा’ भन्ने मन्त्र पढ्नु पर्दछ । सोही दिन दिउँसो ‘नुद सर्वाणि पापानि नरकादर्शनं कुरु । प्राश्नामि तवपत्राणि माष देहि यशो बलम् ‘ भन्ने मन्त्र पढ्दै माषको पात खानुपर्ने विधान छ ।

तिहार पर्वको तेस्रो दिन अर्थात् औंसीको दिन बिहान विधिपूर्वक गाईको पूजा गरी धूप-बत्ती-नैवेद्य, भेटीघाटी, फूलमालाको काम सकी खाने कुराहरू दिएर गाईको प्रार्थना गर्नुपर्ने शास्त्रीय प्रावधान छ । प्रार्थना गर्दा ‘लक्ष्मीर्या लोकपालानां धेनुरूपेण संस्थिता घृतं वहति यज्ञार्थे मम पापं व्यपोहतु’ भन्ने मन्त्र पढ्नु पर्दछ । त्यस्तै खाने कुरा दिँँदा ‘सुरभिर्वैष्णवी माता नित्यं विष्णुपदेस्थिता । गोग्रासं च मया दत्तं त्वं गृहाणानुकम्पया’ भन्ने मन्त्र पढ्नुपर्ने शास्त्रीय मान्यता छ । यसैदिन साँझ दीपावली गरी धनकी अधिष्ठातृ देवी लक्ष्मीको पूजा गर्ने प्रावधान छ तर तिथिको घटबढले यदाकता चतुर्दशीकै साँझ लक्ष्मीपूजा गर्नुपर्ने पनि हुनसक्छ । यस वर्ष त्यस्तै संयोग परेको छ । दीपावलीलाई दीपमालिका र लक्ष्मीपूजा गरेको रातलाई सुखरात्रि भनिन्छ । लक्ष्मीपूजा गर्दा सर्वप्रथम दियो, कलस, गणेको पूजा गरी पूर्णघडामाथि तामाको थाली राखेर अष्टदल लेख्नुपर्छ र माझमा सुनको लक्ष्मीको प्रतिमा राखी प्राणप्रतिष्ठा, ध्यान, आहृवान गर्दै विधिपूर्वकले पूजा गर्नु पर्दछ । माता लक्ष्मीलाई आसन, पाद्य, अर्घ, पञ्चामृत, शुद्धोजल, वस्त्र, सिन्दुरादि सौभाग्यद्रव्य, चन्दन, अक्षता, फूल, माला, गहनागुरिया चडाउने र धूप, बत्ती, नैवेद्य, भेटी, पान, सुपारी, नरिवल, निराजन, कपुरआरति, प्रदक्षिणा, पुष्पाञ्जलि समर्पण गर्ने काम सकी पार्थना गर्नु पर्दछ । त्यसपछि लक्ष्मीको १०८ नामको (सम्भव नभए ‘ओं श्रयिै नमः’ भन्ने मन्त्रलाई नै १०८ पटक उच्चारण गरे पनि हुन्छ) पूजा गरी कुवेरको पूजा गर्नु पर्दछ र श्रीसूक्तहरू पाठ गरेर रात व्यतित गर्नु पर्दछ ।

औंसीको भोलिपल्ट प्रतिपदाको दिन गोरु, गोवर्द्धन पर्वत र राजा बलिको पूजा गर्ने परम्परा छ । कतैकतै गोरु र बलिराजाको पूजा औँसीकै दिन गर्ने चलन पनि भेटिन्छ । जे होस् गोवर्द्धन पर्वतको पूजा गर्दा ‘गोवर्द्धन धराधार गोकुलत्राणकारक । कृष्णबाहुकृतच्छाय गवां कोटिप्रदो भव’ भन्ने मन्त्र र बलिराजाको प्रर्थाना गर्दा ‘बलिराज नमस्तुभ्यं दैत्यदानववन्दित । इन्द्रशत्रोडमराराते विष्णुसान्निध्यदो भव’ भन्ने मन्त्र पढ्नुपर्ने विधान छ । यसै दिन नेवार समुदायमा म्हु (आत्मा) पूजा गर्ने चलन पनि छ । द्वितीयाको दिन अर्थात् तिहार पर्वको अन्तिम दिन दाजुभाइ र दिदीबहिनीको पूजा गर्नुअघि दियो, कलश, गणेश थापी पूजा गरेर पूर्ण घडामाथि तामाको थाली राखी अष्टदल लेखेर यमराज, यमुना, यमुनापरिचारिका, यमदूत, सूर्यादि नवग्रह, मार्कण्डेय आदि अष्टचिरञ्जीवी आदिको विधिपूर्वक पूजा गर्नुपर्दछ र धूप-दीप- नैवेद्य, वस्त्र, भेटीघाटी समर्पण गरी प्रार्थना गर्नु पर्दछ । यमराजको प्रार्थना गर्दा ‘धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज । पाहि मां किङ्करै सार्द्धं सूर्यपुत्र नमोडस्तुते’ भन्ने मन्त्र पढ्न पर्दछ । त्यसपछि दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई पूजा गरी प्रार्थना गर्नु पर्दछ र मीठामीठा खाने चीजबीज तथा यथासम्भव लगाउने कपडाहरू दिएर एकले अर्कोप्रति स्नेह, सद्भाव र सम्मान प्रकट गर्नु पर्दछ ।

निःसन्देह तिहार पर्व हाम्रो महान् सांस्कृतिक पर्व हो तर यसको पृष्ठभूमिमा जे जति सांस्कृतिक महत्व देखिएका छन् त्योभन्दा पनि बढी वैज्ञानिक महत्व देखा पर्दछ । जस्तो चराहरू भनेका वातावरण सन्तुलनका प्रतीक हुन् । बालीनालीमा लाग्ने कीराहरू खाइदिएर चराहरूले कृषिप्रधान मुलुकका कृषकहरूलाई सहयोग पुर्‍याउने काम त यसै पनि गर्दै आएका छन् अप्रत्यक्षरूपमा उनीहरूले मौसम सन्तुलनको दिशामा पनि त्यति नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । वर्षको एकदिन कागको पूजा गर्ने प्रसङ्गले मानिसलाई सधैँभरि चराहरू र उनीहरूका वासस्थानप्रति इमानदार हुनुपर्छ भन्ने सन्देश दिन खोजेको यथार्थलाई हामीले बिर्सन हुन्न । त्यस्तै कुकुरको स्वामीभक्ति त यसै पनि संसार प्रसिद्ध छ । आफूलाई संरक्षण दिनेप्रति हामी सबैले कुकुरले जत्तिकै इमानदारिता देखाउने हो भने संसार आफैँमा स्वर्ग बन्नेमा शङ्कै छैन । कुकुरपूजाको प्रसङ्गले हामीलाई त्यही सन्देश दिन खोजेको कुरोलाई पनि नदेखे जस्तो गर्न सकिँदैन । त्यस्तै गाईबाट दूधदेखि मलमूत्र र हलो तान्ने वहर दिएर हाम्रो जीवन बचाउन जे जस्तो भूमिका निर्वाह हुँदै आएको छ वहरले हलो तानेर र पाहाडपर्वतले अक्सिजन दिएर पनि हाम्रै प्राण बचाउने काम गर्दै आएका छन् । त्यसैले यतिबेला गरिने गाई, गोरु र गोवर्द्धन पर्वको पूजाको अर्थ पनि उनीहरूप्रति इमानदार हुनुपर्छ भन्ने नै नभएर के नै होला र? लक्ष्मीपूजाको अर्थ धनसम्पत्तिप्राप्तिको कामना हो । धन कमाउनका लागि शरीर स्वस्थ र निरोगी हुनुपर्छ भने शरीर स्वस्थ र निरोगी रहन सदैव प्रसन्न चित्त रहन सक्नुपर्छ । यतिबेला गरिने दीपावलीको उत्सवले यस्तै प्रयास गरेको प्रस्टै अनुभूत गर्न सकिन्छ । अब आयो दिदीबहिनीले दाजुभाइको र दाजुभाइले दिदीबहिनीको पूजा गर्ने प्रसङ्गको कुरो । यसको अर्थ मान्छले मान्छेको सम्मान गर्न सक्नु र जान्नुपर्छ भन्ने सन्देश दिनु हो । संसार बिग्रेको मान्छेले मान्छेप्रति गर्ने व्यवहार सन्तुलित हुन नसकेर नै हो । जहाँ मान्छेबाट मान्छेको सम्मान हुन सकेको हुन्छ त्यहाँ अहिलेको संसारमा विद्यमान आधाभन्दा बढी समस्या आफैँ समाधान हुन्छ । त्यसैले तिहार पर्व मनाइरहँदा हाम्रा ध्यान त्यतातिर पनि जानै पर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *