Skip to content

राम्रो ‘म’ को महात्मय


कपुरी ‘क’, भकारी ‘भ’ को त्यती गुणगान नगाए पनि राम्रो ‘म’ को प्रयोग भने नेपालमा अधिकतम रुपमा नै भइरहेको छ । खै भ लाई पुकार्दा भकारी बोक्नु पर्ला भनेर हो कि ? अनि ‘म’ राम्रो भएर नै ‘म’ लाई जताततै सजाएको हो, एकछिन त अलमल मै परें । जे होस यो ‘म’ भन्ने शब्दको प्रयोग नहुदो हो त आज नयाँ नेपालको गन्ध नै नपाउने थिए हुँला सायद । बालकदेखि बृद्धसम्म सबलाई मन पर्ने “म’ लाई हामीले मात्र कसरी नकार्ने त होईन त्यसैले ‘म’ लाई नै पुकार्दै यो गुणगान गाउन लागेको छु ।

हामी भन्दा पनि ‘म’ र मलाई भन्ने थेगोले आज नेपाली शब्दकोषलाई नै चुनौती दिलाएको छ । मस्ट पपुलर र मस्ट रिपिटेडको सुची बनाउने हो भने ऋ र ज्ञ ले त स्थान नै नपाउने भै सक्यो । कसरी भन्नु होला फेरि, ऋषि र ज्ञानी बन्न लायक नेपाली को छन त ? यदि सबैले ज्ञानीको भाव ब्यक्त गरेका भए अहिले जस्तो बर्षकै दुई पटक सरकार फेर्नु पर्थ्यो त ?

लुइ चौधौले “म नै राज्य र राज्य नै ‘म’ हुँ” भनेर प्रचार गर्दा जे परिणाम भोग्नु पर्यो आखिर नेपाली हालत पनि त्यो भन्दा कम नहोला जस्तो लाग्छ । किनभने यहाँ ‘म’ को प्रचार हरेक क्षेत्र अर्थात “नुनदेखि सुन”सम्म नै फैलिएको छ । अझ राजनीतिमा त झन ‘म’ बिना केही पनि हुदैन । कतै ठुलो पदपूर्ति गर्नु पर्यौ कि मेरो मान्छे, कतै चोर, गुण्डा छुटाउनु परे पनि मेरै मान्छे। अनि चिल्लो कुर्सी चुम्न त ‘म’ भन्दा अरु योग्य नै छैन भन्ने भावना यत्रतत्र सर्वत्र छाईसकेको छ । “मै खाँऊ,मै लाऊँ मोजमस्ती मै गरुँ अरु सवै मरुँ” भनेर त्यसै भनेका हैन रहेछन् । गिरिजाबावुले सुजतालाई उपप्रधानमन्त्रीको कुर्सीमा बसाउदा अनौपचारीक रुपमा विरोध भए पछि सूर्यको अगाडी चन्द्रमाको प्रकाश जस्तै विलाउन बाध्य भए । विजय कुमार गच्छदारले आफ्नो गच्छे भन्दा बढी अरबौको पुल बनाउन तम्सिए । प्रधानमन्त्रीज्यूले त झन ‘म’ को ठाडै स्वीकार गर्दै भाइहरूको समेत भलाइ गरिदिनु भयो ।

यो त केही यसो उदाहरण मात्र हो । उता भारतले पनि ‘म’ कै अनुसरण गरेर झन्डै झन्डै नेपाल मेरै हो भन्न लागि सक्या’ थे । आखिर गौतम बुद्ध भारतमा जन्मेको भनेर तार्यो । ‘म’ को प्रयोगले केहीले राहत पाए पनि कोहीले भने नरकको दुःख भोग्न बाध्य छन् । मेरै श्रमती हो भन्दै भारतको कोठीमा पुर्याइएका नेपाली चेलीको वेदना पनि ‘म’ भित्रको रामकहानी नै हो । अनि मेरै मान्छे भनेर बिश्वास गर्दा दलालीले सर्वस्व पचाइदिएको घटना पनि कम दुःख दायक पक्कै छैनन् । अनि आफ्नै मान्छे भनेर विश्वास गर्दा आफ्नो सर्वस्व सहित अर्कैको दुलही भएको घटना पनि सहि सक्नुको छैन ।

त्यसैले ‘म’ शब्दको चमत्कारी उपयोग अझ भनौ बहुउपयोगले त नेपाली समाजमा निकै भुइचालो ल्याई सकेको छ । ‘म’ बिना अब नेपालीहरू बाच्न पनि असर्मथ छन् । ‘म’ को भरमा नै दैनिकी चल्ने हुनाले नै नेपालमा स्वार्थ र अस्थिरता जस्ता कुराहरूले आश्रय पाईरहेका छन । अनि एकअर्कामा दोषारोपन गर्दै अमूल्य समयको दुरुपयोग गरिराखेका छन् । यस परिवेशमा फाइदा पुग्ने भनेको त्यही ‘म’ लाई नै हो अनि जो इमान्दार छ, जो सहयोगी र अर्काको हित चाहन्छ त्यसलाई यो समाजले कुल्चेको छ । अनि माथि उक्लिने भर्याङको खुटकिलो फुटकाइदिएको छ र खुट्टा तान्ने प्रवृतीले स्थान जमाएको छ । फलस्वरुप नयाँ नेपालमा ‘म’ शब्दको उपयोग ब्यवहारिक र लिखित रुपमै सदुपयोग होस ता कि विदेशी प्रभ’हरूको आँखा नलागोस ।

ब्ज्रवाराही २ मकवानपुर
हालःजनमैत्री बहुमुखी क्याम्पस,कुलेश्वर
rbalami2008@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *