के भएछ कुन्नि, हामी सबैलाई आश्चर्यले निकै जोडले हल्लाउने गरी एक भाइ बाहिरबाट दौडेर आई खातालखुतुल गरी तर्कारी काट्ने चक्कु लिएर कुद्नै लागिसकेको थियो ।
नारायणले रोकिहाल्यो—”ए…ए…के गर्न लागेको ?”
भाइ भने अझै बल गरेर लगभग नारायणलाई पनि ठेल्दै बाहिर दौडिहाल्ने सुर पो देखाउन थाल्यो ।
अब जुरुक्क उठेर गई बलामीले भाइको हातबाट चक्कु खोसेर भन्यो—”यो अर्काको देश हो शङ्कर (भाइको नाउँ रहेछ)…के गर्न लाग्या…यसरी ?”
शङ्करले नारायणबाट फुत्कन जमर्को गर्दै घाँटीका नशा पनि फुलाउँदै बम्क्यो—”के खोज्या त तिनेरुले…? तिनेरुलाई देखाउनैपर्छ हामी गोर्खाली वीरका सन्तति हौँ…। त्यसै हेप्न पाइन्छ !”
केटो भर्खरै यस विदेशी भूमिमा टेकेको थियो, त्यसैले यहाँको चालढाल बुझ्दैन । लाग्दै थियो । हामी त्यहाँ बसिरहनेहरूलाई ।
—”के भो…के भो त के ? किन त्यसै यस्तो…?” नारायणले फकाउने शैली निकाल्यो ।
शङ्कर अब स्वास्वा गर्न थालेको थियो, गल्ने गति पनि देखिँदै गएको थियो । नारायणबाट फुत्के पनि अब दौड्ने मुडलाई मिल्काइसकेको देखिन्थ्यो ।
लौ ! ऊ त थचक्क बसेर रुन पो थाल्यो ।
—”हैन, के भो ?” बलामीले उसलाई अँगाल्दै सोध्यो ।
आँसु झार्दै शङ्करले भन्यो—”आज पनि काम खोज्ने क्रममा अर्को सहरमा पुगेँ, तर त्यहाँ पूर्व २ नं.की एक बहिनीलाई भेटेँ । एउटा घरमा काम गर्न बसेकी…खाना खान पनि नदिई कति कुट्छन् रे । कति फोहोरी काम पनि अह्राउँछन् रे । नमान्दा चुरोटले शरीरका ठाउँठाउँमा पोलिदिन्छन् रे ।”
हरिशले सम्झाउँदै भन्यो—”हेर् शङ्कर…यो अर्काको ठाउँ हो । हामी यहाँ काम गर्न बसेका…। तँ पनि त काम खोज्दै यहाँ आइपुगिस् । यसरी जोसिने हो भने त…।”
बीचमै फेरि ऊ ठूलो स्वरले भन्न थाल्यो, तर यसपालि विद्रोह गरिहाल्ने मुड आएको थिएन—”अनि के हामी कामदार हुँदैमा मान्छे होइनौँ ? यहाँ आइपुगेपछि बाहिर पसलबाट फेरि फोन गरेर ती बहिनीलाई सोधेथेँ, बजारबाट घर पुग्दा रक्सी खाइरहेको थियो रे मालिक भनाउँदो…। शरीरमा हात हालेर हुर्मत लिन खोज्यो रे । मालिक्नी आइहालेर मात्र बची रे…। के ठान्या छ तिनले हामीलाई ?”
त्यसपछि हामीले उसलाई बुझाउने प्रयत्न गर्यौँ, त्यसरी जोस निकाल्ने हो भने हामीले काम पाउँदैनौँ । उसले चित्त बुझायो भन्न त सकिँदैन, तर हामीसितै बसेर बहन भने थालेेको देखियो । धेरै सम्झाउन त हामी पनि सक्तैनथ्यौँ, किनभने हामी सबै कामबाट लखतरान भएरै फर्केका थियौँ । बेलुकीपख खाना नपाकुन्जेल भलाकुसारी गर्थ्यौं, गच्छेअनुसारको रमाइलो गर्ने प्रयत्न गर्थ्यौं, तर हामी सबैलाई थाहा थियो, त्यसै प्रयत्नमा आफ्नो व्यथा भुल्ने बहाना पनि सामेल हुन्थ्यो ।
अजित कहिलेकाहीँ जिउ तताउन रक्सीको पनि व्यवस्था मिलाउँथ्यो । त्यसैमा आफ्ना विरहवेदना थिच्न सक्षम त हुन्थ्यौँ नै, त्यहाँ नाचगानको प्रतिभा पनि देखा पर्थ्यो । हामीले त्यसै बेला थाहा पाएका थियौँ, हामीमध्ये कति जना त साँच्चै नै प्रतिभाशाली रहेछौँ । स्वदेशमा कुनै अवसर नपाएपछि यस्तरी विदेशमा चोइटिन परिरहेको पो रहेछौँ । त्यो पनि आफ्नो प्रतिभा एकातिर, काम अर्कातिर । थकथक त लाग्थ्यो नै । त्योभन्दा बढी केही गर्न सक्तैनथ्यौँ, त्योभन्दा बढी त उही…आफ्नो देश सम्झ्यो, आफ्नो भाग्य सम्झ्यो, रोयो, बस्यो । यही मात्र हिसापकिताप हुन्थ्यो ।
अजितको सौजन्यमा प्राप्त रमझमपछि गौतम भन्थ्यो—”यतातिरको यो त…हाम्रो उताको कोदाको जस्तो मताउने हुँदैन रै’छ ।”
—”यता कोदै पाइन्न अनि कताबाट मताउने ?” नारायण भन्थ्यो ।
—”कोदे मूलाहरू…जता पनि कोदै खोजेर बस्छौ । यति सस्तो खाले रक्सीले के गर्ने…हामीजस्तै त हो, सस्तो खाले भइयो, यसरी अर्काको देशमा गोता खानु परिरहेछ ।” बलामी एकदुई गिलासमै छचल्किन्थ्यो ।
हिक्मत कहिलेकाहीँ कविता लेख्ने गर्थ्यो रे नेपालमा हुँदा, आफ्नो विद्रोहको तोड निकाल्दै प्रस्ट पार्ने प्रयत्न पनि गर्थ्यो—”तपाईंहरूले कहिल्यै सोच्नुभएको छ…यहाँ हामीमा कोही केमा निपुण छौँ कोही केमा, तर हाम्रा नेताहरूले कहिल्यै सोचेनन्, देशका प्रतिभा यसरी विदेशको ढु·ामाटो बोकेर सकिनुमा नै ठूलो प्राप्ति हुने ठान्छन् कि क्या…।”
—”नेताहरूको के कुरा गर्नु…।” धेरै रमरम भएपछि छन्त्याल बोल्थ्यो—”जस्तोसुकै नेता आए पनि विदेशमा कसरी बढीभन्दा बढी स्वदेशी श्रम लगाउने भन्ने योजना बनाएर पो बस्छन् बा…।”
हिजोअस्ति आइपुगेको शङ्कर पनि भन्थ्यो—”त्यतिका युवा श्रम स्वदेशमै खपत गर्न थाल्यो भने आफूहरूलाई सत्तामा खेलिरहन बाधाव्यवधान खडा गर्लान् भनेर होला नि त…।”
अजितले हाँस्न खोज्दै भन्न थाल्थ्यो—”पैसा क्या…विदेशी पैसा । कमाउनलाई अब हाम्रो देशसित के उपाय छ त ? यही त हो ।”
शून्यतिर ताक्तै हरिश भन्थ्यो—”यसरी शिक्षित युवालाई विवशता वा बाध्यतामा डुब्न दिएर भए पनि विदेशमा मुद्रा आर्जन गर्न लगाउने उपाय त…मान्नैपर्छ ।”
गौतम गम्भीर हुँदै भन्थ्यो—”के गरून् त बिचरा नेताहरू…व्यापार गर्नलाई उद्योगधन्दा खोल्नुपर्यो, उद्योगधन्दा खोल्नलाई त्यस्तै हो…। बिजुली र पैसाको कुराभन्दा पनि…कमिसनतन्त्र त हो ।
—”देशलाई नै पछाडि धकेलेर भए पनि कमाउने चलन पो छ त हाम्रो देशमा…।” हिक्मतले उच्छ्वास छाडयो ।
त्यसपछि के ?
त्यसपछि त उही…चढिसकेको नशा अब पोखिन थाल्थ्यो मात्र । कोही आफ्ना अप्ठयारा बर्बराउँथे, कोही के सुनाउँथे । अन्त्यमा धुरुधुरु रुने वि|mया पनि देखा पर्थ्यो ।
लगभग सबै जना लोलाउने बेला आज पनि एउटा सुरिलो स्वर ओमविक्रम विष्टको गीत गाउँदै नजिकनजिक आइपुग्यो—”आमाको काखमा नि बास मात्तै दियौ ए लैलै/कहाँ गई मर्नु छ छेउ काटी रुमाल चट्टै”
यो नरे थियो, भर्खरको केटो, केटो हो कि यन्त्र हो, हामी छुट्टयाउन नसक्ने भइसकेका थियौँ । हुन त हामी सँगै एउटा कारखानामा यो केटो पनि काम गर्थ्यो, तर हामी डेरामा र्फकने बेला अर्को कम्पनीमा आफ्नो क्षमता देखाउन पुग्थ्यो । रात छिप्पिएपछि र्फकन्थ्यो ।
हरिशले एक दिन ठट्टा गरिदिएको थियो—”यति धेरै काम गर्नुको कारण चाँडै मर्न हो कि गाउँका साहिँलीमाहिली घुमाउन ?”
उसले शुष्क मुस्कान छर्ने प्रयत्न गर्दै भनेको थियो—”त्यस्ता काम गर्न पाए त…कस्तो होला दाजै ।”
हामी नजान्ने होइनौँ, ऊ किन त्यसरी सुत्न पनि नमानी काम गरिरहेछ विगत चार महिनादेखि…। बाबुले भएको एक टुक्रा जमिन पनि जाँडमै सक्यो । अब सानो झुपडी छ, त्यो पनि साहू लागेको थियो । बाबुले कुन्नि के गर्न रिन लिएको थियो रे । त्यो झुपडी वर्षदिनभित्र ननिखने खुल्ला आकाशमुनिको बास हुने निश्चित थियो ।
त्यसपछि त के, त्यति कलिलो केटो झुपडीमा एक बूढी आमालाई छाडेर यति टाढा ‘न खानुको ठेगान न सुत्नुको पत्तो’ गरिरहेको थियो ।
हामी छक्कै पनि पर्थ्यौं, कति दलिन सकेको यो केटो हँ !
फेरि गीतको टुक्रा सुनियो—”विरानो देशमा नि मै मरिजाउँला…।”
नजानेको त हैन नै, तैपनि छन्त्यालले सोध्यो—”आज त निकै खुसी छस् जस्तो छ नि ?”
—”खुसी…।” एकचोटि नरे झस्क्यो, मानौँ कहिल्यै नसुनेको कुरा सुन्दै छ, बरु आपै”mले सोध्यो—”सबैले खाना खाइसक्नुभएको हो ?”
हामी त भुइँमै पछारिएछौँ, रक्सीले आज राम्ररी आफ्नो चुरीफुरी देखाएको थियो । भुइँमै उत्तानिएको बलामी ब्यँूझयिो—”भोलि त यहीँ आराम गरेर बस् नरे ।”
—”हो त । यसरी त मर्लास् है…अनि के …के भन्ने ते…तेरी बू…बूढी आ…मालाई उहाँ ?” गौतम लर्बराएकै स्वरमा भन्दै थियो ।
नरे भने चुपचाप उठेरै भित्तातिर हेरिबस्यो ।
नारायणले अँगाल्न खोज्दै भन्यो—”हेर्, हामी तेरा शत्रु होइनौँ । हामी पनि त कमाउन आएका हौँ, तर तेरै मायाले भनेको हो…।”
—”दाइहरू के कुरा गर्नुहुन्छ…उहाँ साहू सधैँ आएर आमालाई दिन गनाएर जान्छ रे । म…म यहाँ के गरूँ त…।” अनि नरेले मुख छोप्यो । भन्नै पर्दैन, ऊ रुन थाल्दै थियो ।
फेरि एक्कासि वातावरण निसासिँदो भयो ।
अन्त्यमा नारायणले नै भन्यो—”यहाँ आएका हामीमा एउटा न एउटा सीप छ, तर ऋण पत्याउने हाम्रो देशमा संस्था छैन । धितै चाहिन्छ । यस्तरी मरेर विदेशमा काम गर्न परिरहेछ । …प्रत्येकपल्ट बन्ने सरकारले किन यता ध्यान दिँदैन होला । हगि ?”
अब धेरै सेलाइसकेको शङ्करले कोट्टयायो—”तपाईंहरूले थाहा पाउनुभयो ? पाँच वर्ष काम गरेर र्फकन लागेका एक दाइ…पश्चिम कता घर भएका हुन्, बदमासहरूले पैसा लुट्ने व|mममा गोली हानिदिए रे नि ।”
एकछिन कोही बोलेन ।
छन्त्याल उठ्दै नरेलाई भन्न थाल्यो—”त्यसैले नरे…होस गरेस् ।”
ऊ भने अझै सुँक्कसुँक्क गर्दै थियो ।
हिक्मत भन्दै थियो—”शरीरमा बाँकी भएको बल पनि आँसु बनाएरै सिध्याउँछस् कि क्याहो ?”
नरेले रुन्चे स्वरमै भन्यो—”आमा बिरामी छिन् रे…।”
एक्कासि हामी सबैको मुहारमा कालो बादल मडारिए । नरेको व्यथासँगै, ढाँट्नु हुन्न, हामीलाई आफ्नोआफ्नो पीडा सलबलाएझैं भएको थियो ।
—”घरमा पानी खुवाउने पनि कोही छैन…। के खान्छिन् होली आमा…कति दिनदेखि भोकै होलिन् ।” ऊ फेरि रुन थाल्यो ।
—”वृद्धभत्ता गा.वि.स.मा ल्याउँदा ल्याउँदै लुटिदिनेहरू अझै पनि ढुक्कले घुमिरहेकै होलान्…।” छन्त्यालले मुख तीतो पार्यो—”कस्तो भयो हाम्रो गाउँठाउँ…!”
नरे घ्वाघ्वा गरेर रुँदै थियो ।
त्यसपछि नरेलाई मलम लगाउन थाल्यौँ, उसलाई के, आपै”mलाई समाल्न टेवा दिने प्रयास थियो त्यो ।
रात…रात त अब के नै बाँकी रहृयो र ! अब एकैछिनमा उज्यालो छ्वास्स चुहिहाल्ने समय भएको थियो ।
उफ्र ! यो केटो…खै, के भन्ने । नरे हामीभन्दा चाँडै पुगेर कारखानामा बिहानै काम गर्न थालिसकेछ । ठूलठूला यन्त्रलाई आफ्नो बसमा लिएझैं फटाफट चलाउँदै थियो ।
के गर्नु, यस्तै रहेछ । लगभग यही मुद्रामा थिचिएर हामी पनि आफ्नो काममा लाग्यौँ ।
अनेकन् विदेशीहरूका माझमा बसेर काम गर्न परिरहेको थियो । भाषा नबुझेको ठाउँमा लाटाझैँ हाउभाउ गर्थ्यौं । कहिले त हाँस्थ्यौँ, बोली भएर पनि कस्तो लाटो हुनुपरेको ठान्दै, कहिले अप्ठेरामा पर्थ्यौं, जब हाउभाउबाट पनि व्यक्त हुँदैनथ्यो, के भन्न खोजेको हो ।
यसरी अनेक देशका विदेशीहरूसित सँगै काम गर्न पाउनु रमाइलो मान्नुपर्छ । यो भन्ने नरे नै थियो । जे कामलाई पनि उत्सुक भएर गर्नुपर्ने उसको उपाय ननिको थिएन ।
झन्डै खानाको समय हुन लागेको बेला एक्कासि खतराको साइरन बज्यो । पर सबै मान्छे दौड्न थाले । हामी पनि दौड्यौँ त्यतै । मान्छेहरू जम्मा भइसकेका थिए ।
भीड पन्छाउँदै हामी अगाडि पुग्यौँ ।
यो के ?
ठूलो यन्त्र पल्टेर नरेलाई थिचेको थियो । हतारहतार मानिसहरूले क्रेनको सहायताले ठूलो यन्त्र हटाए ।
त्यतिन्जेल नरे रगतले नुहाइसकेको थियो । छटपटाउँदै थियो ।
हामी नजिकियौँ—”नरे…नरे ।”
छटपटाउँदै नरेले हामीलाई हेर्दै केही भन्न बल गर्यो—”मे…मेरी बूढी आ…आमा ।” त्यसपछि उसको टाउको एकातिर लत्रियो ।
उसले अरू केही भन्नै पाएन ।
शनिबार, गोरखापत्र
फाल्गुन २९, २०६६
