यो वर्ष नेपाली आधुनिक सङ्गीतले १०१ वर्षमा प्रवेश गरेको छ भने यही वर्षबाट नारायणगोपालले गाउन सुरु गरेको पनि एकाउन्न वर्ष पूरा भएको छ । नेपाली सुगम सङ्गीतमा नारायणगोपालले गाउन प्रवेश गर्दा नेपालमा रेडियोको स्थापना भएको भर्खर १० वर्ष पुगेको थियो । १० वर्षे रेडियोमा आफ्ना साथी माणिकरत्न स्थापित र प्रेमध्वजको सङ्गीतमा गीत गाएर स्वर परीक्षामा उत्रेका गायक नारायणगोपालले पाँच वर्षभित्र रेडियो नेपालका एक स्तम्भ नारायणगोपाले सौभाग्य हासिल गरे । उनी कम समयमा रेडियो नेपालका चर्चित गायक र सङ्गीतकार नै भए । उनले आफ्नो सङ्गीतमा गाएका गीतले नै उनलाई नाप्त नसकिने प्रसिद्धी दियो जसका हकदार उनी स्वयम् नै थिए तर उनको ख्यातिको पहिलो अंश उनका गीतकार रत्नशम्शेर थापा, उनका सहगायक र सहगायिका तारादेवी र दिलमायालाई पनि जान्छ ।
नारायणगोपालले सुरुमा गायक भएर त्यसपछि नायक भएर र पछिल्लो वा अन्तिम चरणमा सहायक भएर गाउन थालेको इतिहास पाइन्छ ।
नारायणगोपालको सुरुआती गायन
नारायणगोपालले पहिलो पटक त्रि-चन्द्र कलेजको चालिसौं वाषिर्कोत्सवमा आफ्ना परमप्रिय मित्रका आग्रहमा मञ्चमा उत्रिने आँट गरे । जसमा उनी पहिलो पटक तबलाबादक भएर प्रस्तुत भए । काठमाडौँ किलागलमा जन्मेका गायक नारायणगोपालको स्वरको पहिचान गर्ने उनकै मित्र माणिकरत्न स्थापित थिए, नजिकैको टोल प्युखामा बस्ने माणिकरत्न र भेँडासिंग बस्ने प्रेमध्वज प्रधानको साथमा धेरै हिन्दी गीतमा स्वराभ्यास गरे । तलत महमुद र केएल सहगललाई अति मनपराउने नारायणगोपाल अनि करण देवानलाई मनपराउने माणिकरत्न स्थापित र मन्ना डेको गीत गाएर स्वर परीक्षामा उत्रेको प्रेमध्वजबीचको तालमेलमा सङ्गीतकै कारण सुरु भयो र तीनै जना माणिकरत्नको घरमा आएर सङ्गीताभ्यास गर्न थाले । माणिकरत्नको घर एक किसिमको सङ्गीतशाला जस्तै थियो कारण उनका काका सिद्धिरत्न स्थापित स्ययम् पनि एक कुशल बाद्यवादक थिए । गायक नारायणगोपालको घरमा शास्त्रीय सङ्गीत बाहेक आधुनिक सङ्गीतमा रम्न उनका पिता आशागोपाल गुरुवाचार्यका कारण मनाही थियो । उस्ताद आशागोपाल गुरुवाचार्य आधुनिक सङ्गीतलाई हलुका र रङ्गहीन मान्दथे ।
प्रेम-माणिकले आफ्नै सङ्गीतमा गाउन सुरु गरिसकेका थिए, त्यसैले नारायणगोपाललाई एउटा नयाँ शैलीको सङ्गीतको जरुरत थियो । त्यसैले उनले आफ्नै सङ्गीतमा छ ओटा गीत तयार भए, ती सबै गीतका गीतकार उनकै सहपाठी कवि रत्नसम्शेर थापा थिए । उनले त्यस सङ्कलनमा चार ओटा एकल -स्वर्गकी रानी, आँखाको भाखा आँखैले, भो भो मलाई नछेक, मधुमासमा यो दिल) र दुइटा युगल विछोडको पीडा र ए कान्छा ठट्टैमा यो वैंश जानै गाए । यस गीतका सम्पूर्ण रेकर्ड भारतवर्षको कोलकतामा सम्पन्न भयो । त्यसपछि यो गीतले विस्तारै नेपाल र नेपालबाहिर नेपालीको जनस्थानमा प्रभाव जमाउन थाल्यो । उनी एकाएक नेपाली मूलका प्रमुख स्वर भएर देखा परे ।
राणाकालबाट मुक्त भएर नयाँ परिवर्तनको लहरमा उभिरहेको नेपालको नयाँ स्वरलाई उनले विस्तारै प्रेम, जीवन र राष्ट्र निर्माणका हरेक गीतबाट उच्चता दिए । पूर्व पश्चिम राजमार्ग बन्दै गर्दा उनले ‘जाग, जाग चम्क हे नौजवान हो’ वा देशप्रेमबाट प्रभावित भएर ‘आमा Û तिमीलाई जलभरिका औँलाहरूले चुम्न’ जस्ता गीत गाए । यी गीतले नारायणगोपालको गीतको गायन र स्वरको गमकलाई मात्र होइन उनको घनत्वभरि आवाजलाई प्रत्येक नेपाली युवासित परिचित गरायो । उनी युवा हृदयका प्रिय गायक नै मानिए । उनले त्यसपछि विस्तारै आङखनो गायनमा परिवर्तनको स्वर ल्याए, उनले गीतको चयन, शब्दको छनोट र भावस्थितिको अध्ययन गरेर नयाँ गीत गाए जसले गर्दा एक्कासी नेपाली गीतको स्तर हिन्दी गीतको तुलनामा अक्कासिँदै गयो । यस समय नेपाली सङ्गीतमा जम्जमाएर आइरहेका पुष्प नेपाली, बच्चु कैलाश, तारादेवी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, नातिकाजी, शिवशङ्कर आदिका गीतसित स्पर्श गर्दै नारायणगोपालले नेपाली गीतको आधुनिकतामा एक विशेष आयाम थपे । उनले सुरुआती चरणमा गाएका गीतबाट बढी जसो श्रोतापछि विस्तारै कवि लेखक प्रभावित हुँदै गए । उनले आफ्नो गायन शैलीलाई व्यापक बनाउन आफ्ना प्रशंसक, आफ्ना प्रतिस्पर्धी र आफ्ना समकालीनसित विचारविमर्श गर्न थाले । यसै क्रममा उनको भारतको पश्चिम बङ्गालस्थित पहाडी राज्य दार्जीलिङको भ्रमाण भयो, बीचको दशकको सुरुआतमा भएको यो भ्रमणले उनले दार्जीलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमीको रूपमा पाए भने त्यही सङ्घर्ष गरिरहेका एक होनहार सङ्गीतकर्मी गोपाल योञ्जनलाई एक मीतका रूपमा पाए ।
गोपाल योञ्जनसितको मितेरी साइनोपछि उनको गायनमा स्वतः परिवर्तन आएको कुरापछि उनका पत्नी पेमला गुरुवाचार्यले स्वीकारेका छन् ।
नारायणगोपाललाई मीत लगाइदिने ईश्वरबल्लभको भाषामा नारायणगोपाल त्यसपछि नेपाली हृदयका गायक भए । उनले युवा हृदयलाई कोमल तवरले स्पर्श गर्दै प्रेमका, वियोगका र विरहका गीत गाउन थाले । उनी यस समय साँच्चै नेपाली सङ्गीतमा नायक भएर देखा परे ।
बीसको दशकमा उनको शालीनता
नेपाली सुगम सङ्गीत बीसको दशक स्वणिर्म युगमा प्रवेश गरिसकेको थियो । यो समय नेपाली गायक गायिकाले मौलिकताको खोजीम्ाा आफ्नै भाव, शैली र जगतका गीत खोजेर रचेर गाउन थालिसकेको कालावधि थियो । यही समय पश्चिम जगतबाट बब डायलन, बिटल्सका गीतका उधुम सुरु मात्र भएको थिए त्यसको प्रभाव पनि आइसकेको थियो । यसलाई जित्न वा छोप्न नेपाली गीतजगतमा नयाँ बोध र नयाँ परिधानको खाँचो थियो, यही क्रममा नारायणगोपालले गोपाल योञ्जनसित मिलेर असाध्य लोकप्रिय शैलीमा आधुनिक गीत गाए । बिर्सेर फेरि मलाई नहेर, चिनारी हाम्रो धेरै पुरानो, तिम्रो मुटु मेरो पनि, लौ सुन म भन्छु मेरो रामकहानीजस्ता गीतले गोपाल योञ्जनलाई नयाँ जीवन दियो भने नारायणगोपालले नेपाली सुगम सङ्गीतमा एउटा विशेष स्थान बनाए र उनी एकाएक नेपाली युवाका नायक नारायणगोपाल पुगे । उनको गायनको स्तरलाई छुन सक्ने प्रतिस्पर्धी देखिए नारायणगोपाल र उनले मानक खडा गरे । यही समय उनी हरेक सङ्गीतकार प्रिय गायक भए । त्यतिबेला उनले युग बनिसकेका सङ्गीतकार नातिकाजी, शिवशङ्कर, अम्बर गुरुङ, धर्मराज थापाजस्ता साधकका गीतलाई कण्ठबाटै गाए र उनी नेपाली सुगम सङ्गीतका एक छवि बन्न पुगे । उनलाई चेतनाका गायक पनि भन्न थालियो ।
बीस दशकमै उनले आफ्ना प्रशंसिका पेमलासित विवाह गरे पनि उनको बसाइँ केही समय पोखरा, केही समय हेटौंडा भयो, यसै सन्दर्भमा उनको पोखरामा कवि भूपी शेरचनसित र हेटौंडामा गीतकार सङ्गीतकार भीम विरागसित उठबस सुरु भयो। यसको परिणामतः उनले ती स्रष्टाका गीतलाई पनि आफ्नै र उनकै सङ्गीतमा गाएर कालजयी बनाए, भूपी शेरचनको सानै हुरीमा बैंसको सपना, अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामा र भीम विरागको रचना र सङ्गीतमा तिमीले पनि मजस्तै माया दिएर हेर’ गाए ।
प्रेम विवाहपछि नारायणगोपालको गायनमा आएको परिवर्तनको आधा श्रेय उनकी पत्नी पेमलालाई र आधा श्रेय उनका मीतज्यू गोपाल योञ्जनलाई जान्छ । यी दुवैले उनलाई आ-आफ्नै तवरले सघाएका छन्, एकजनाले राम्रा गीत छान्न र अर्कोले राम्रो गीत गाउन ।
नारायणगोपाल परिवर्तनको सङ्घारमा
हेटौंडाको छोटो बसाइँपछि नारायणगोपाल काठमाडौँ आए र जागिरे भए नाचघरमा । आफ्नो मित्र माणिकरत्न र जनार्दन समको सहयोगले । नाचघर पस्दा उनी वाद्यवादकका रूपमा गएका थिए र उनी विस्तारै त्यहींका हाकिमसम्म भए । उनले त्यही रहँदा आफ्ना धेरै साथी गुमाए वा उनले विस्तारै आफ्ना सहकर्मी साथीलाई छोड्दै गए । त्यसका धेरै कारणमध्ये उनको प्रसिद्धी, सफलता र उनीसित हुर्कदै आएको अहम् प्रमुख कारण नारायणगोपाल पुग्यो । उनी चर्चित हुँदै गएपछि आफ्ना पुराना गीतकार साथी रत्नसम्शेर थापाबाट टाढिँदै गए र उनका गीत गाउनै छोडिदिए । उनी हाकिम भएपछि आफ्ना दोस्रो गुरु माणिकरत्नसित बोलचाल बन्दको अवस्था नारायणगोपाल पुग्यो । उनले मित्रता तोड्ने क्रममा आफ्ना बालसखा प्रेमध्वज प्रधानसित पनि दूरी बढाए । आफ्ना मीतज्यू गोपाल योञ्जनको विवाहपछि उनको गोपालसितको सम्बन्धमा पनि चिसोपन आयो । उनी एक्कासि परिवर्तनको नयाँ सङ्घारमा पुगे जहाँ उनका सामु आफूपछिको नयाँ पुस्तासित भेट भयो । त्यसमध्ये दिव्य खालिङसित उनको जोडी जम्न पुग्यो र उनले खालिङका रचना र सङ्गीतमा आफ्नो दोस्रो इनिङ सुरु गरे । त्यो दोस्रो इनिङमा उनले सधैं नै म हाँसे तिमीलाई रुवाई, मायाको आधारमा सम्झौता नै हुन्छ, बिपना नभइजस्ता गीतले उनलाई पुनरुस्थापित हुने मौका दियो । यसैसमय उनको गीतकार क्षेत्रप्रताप अधिकारी, कालिकाप्रसाद रिजाल, नोर्देन रुम्बा, दिनेश अधिकारी, विश्वम्भर प्याकुर्यालसित उठबस सुरु भएपछि पुराना साथीसङ्गाती छुट्दै गए । सङ्गीतकारमा नयाँ पुस्तमा शम्भुजित बाँस्कोटा, भूपेन्द्र रायमाझी, शुभबहादुर आदि देखापरे ।
यस ख्यातिको समय नारायणगोपालको गायनको मूल्याङ्कन गर्दा उनी यतिबेला सङ्गीतजगतमा स्थापित हुन चाहने नयाँ पुस्ताका सहायक मात्र नारायणगोपाल पुगेको पनि देखिन्छ । उनले धेरै युवापुस्तालाई जगदिन कमजोर गीत पनि गाए भन्न सकिन्छ ।
त्यसमध्ये रञ्जित गजमेरको वीरताको चिनो, पहाडको माथि माथि जस्ता गीतबाट उनले आफ्नो लागि भन्दा अरुका लागि जग बनाइदिए । यो जसमय उनी सहायक भएर देखा परेको बुझिन्छ । अन्ततः नेपाली सङ्गीतजगतका एक महान साधक र एक परिपूरक व्यक्तित्व नारायणगोपालले चलचित्रमा परिवर्तनमा भी. बलसाराको सङ्गीतमा गाउन सुरु गरेर अन्तिममा चोट चलचित्रमा भूपेन्द्र रायमाझीको सङ्गीतमा ‘बिरही माया अधूरो भयो’ सम्म गाएर आफ्नो सफल यात्रा तय गरे कुल मिलाएर अठ्ठाईस वर्षको निरन्तर गायनमा नारायणगोपालले डेढ दर्जन चलचित्रमा गाए भने १५७ ओटा गीत गाए । उनले आफ्नो सङ्गीतमा चार जना गायक र तीनजना गायिकाको गीत बनाए ।
एक सफल गायक मानिने नारायणगोपालको जीवनमा असफलता लस्कर पनि थिए । उनी पहिलो पटक स्वर परीक्षामा अनुत्तीर्ण भए भने भारतको बरौडामा महाराज फिरदौस सङ्गीत महाविद्यालयमा पढाइ अपूरो छोडेर पर्केर आए । चलचित्र माइतीघरमा पाश्र्वगायकको रूपमा गीत गाउन जाँदा उनी गाउन नसकेर अस्वीकृत भए । चलचित्र कोसेलीमा एउटा गीत उनले स्वास्थ्यका कारण अपूरो अवस्थामा गायन छोडिदिए । उनी सांस्कृतिक संस्थानका महाप्रबन्धक हुँदा उनको कारवाहीका कारणले धेरै कलाकार दसैंको मुखमा बेरोजगार भए । यसको दाग उनलाई जीवनभर लागिरहृयो ।
चुनौती र परीक्षामै आफ्नो गायनलाई स्वीकार्ने गायक, सङ्गीतकार नारायणगोपाल इतिहासका ज्ञाता थिए । फुटबल खेलका पारखी थिए । चेसका खेलाडी थिए । उनी भान्सामा कुशल भान्से थिए र शौखिन फोटोग्राफर थिए ।
उनले गायनबाहेक कार्यक्रम आयोजना गर्ने संयोजन गर्ने काममा पनि आफ्नो धेरै लगानी गरे । उनले आफ्नो एकल गायन स्वणिर्म सन्ध्या छोडेर भारतको दार्जिलिङ, दुवर्स, साम्ची बाहेक नेपालमा पोखरा, नारायणघाटमा कार्यक्रम आयोजना पूरा खटे । उनले आफ्नै सम्पादकत्वमा बागीनाको प्रकाशनसमेत गरे । यी सबै इतिवृत बाहेक नारायणगोपालको स्वरलाई हाम्रो जनसमाजले भुल्न नसक्ने एउटा पङ्क्ति छ,
नारायणगोपालको, उनी भन्थे- म गाउँछु केवल जनताका लागि गाउँछु ।
शनिबार, गोरखापत्र
मंसीर २०, २०६६
