श्री ३ को दर्शन गर्यो भने तीन पाप पखालिने र श्री ५ को दर्शन गर्यो भने पाँच पापबाट मुक्ति पाइने भन्ने जमाना थियो त्यो । त्यसबेला राणाहरू र उनीहरूको शासनविरुद्ध बोल्न ठूलै आँट चाहिन्थ्यो । तर, विचित्र के थियो भने पढेलेखेका र समाजमा केही नाम भएकाहरू सबै राणाविरोधी थिए । कुनै निश्चित दर्शन र उद्देश्यले अभिप्रेरति नभए पनि राणा शासन खत्तम गर्ने हो भने अवश्य पनि राम्रो व्यवस्था आउँछ भन्ने विश्वास उनीहरूमा थियो ।
त्यसबेला उपत्यकाको नेवार समुदायभित्र के पनि आक्रोश थियो भने, राणाहरूका चेलीबेटीलाई हेर्यो भने सजाय सुनाउँछन् तर हाम्रा हकमा त्यस्तो हुँदैन । यसकारण पनि उपत्यकाभित्रको त्यो समुदाय राणाविरोधी अभियानमा सरकि भएको थियो । पृथ्वीनारायण शाहप्रतिको आक्रोश पनि उनीहरू राणाहरूका प्रति नै खन्याउन चाहन्थे । यस्ता अरू धेरै कारणहरू पनि थिए, जसले राणाविरोधी अभियानमा मानिसहरूलाई सरकि गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
त्यस्ता मानिसहरूलाई संगठित गर्नु ज्यादै अप्ठ्यारो थियो । साथसाथै, चुनौती पनि । किनभने, मानिसका अपेक्षा र आकांक्षाहरू अनेक किसिमका थिए । प्रजापरष्िाद् र कांग्रेसबाहेक कुनै पनि राजनीतिक दलको अस्ितत्व थिएन । प्रजापरष्िाद्का मानिसहरूमाथि मुद्दा चलेको थियो । र, पछिल्लो समय त चार सपुत (गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री)ले जीवन उत्सर्ग गरसिकेको अवस्था थियो ।
२००४ फागुन १३ गते पद्मशमशेरले वैधानिक कानुनको घोषणा गरे । अर्कोतर्फ, नेपाली राष्ट्रिय कांग्रेस विभाजित भएको थियो, रेग्मी र कोइराला गुटमा । नेता-कार्यकर्ता सबै अन्योलमा थिए । हामी पनि अन्योलमै थियौँ । यसैबीच, भारतमा बसी नेपालको राजनीति गर्नु कुनै दृष्टिकोणले पनि वाञ्छनीय नहुने ठहर गर्दै गोपालप्रसाद रमिाल भारत गए र डिल्लीरमण रेग्मीलाई भेटी काठमाडौँ फर्किए ।
२००५ असोज २६ गते विजयादशमीका दिन भूगोलपार्कमा एउटा भव्य आमसभाको आयोजना गरयिो । नेपाल सरकारको वैधानिक कानुन २००४ ले दिएको अधिकार अनुरूप एउटा संगठन काठमाडौँमा नै स्थापना गर्ने र त्यसैको ब्यानरमा आन्दोलन चर्काउन नेपाल प्रजा पञ्चायत नामको संगठन स्थापना गरएिको बेहोरा पढेर सुनाइयो । त्रिपुरवरसिंह प्रधान र विजयबहादुर मल्लले भाषण गरे । हामी दर्शकदीर्घामा थियौँ । त्रिपुरवरसिंह प्रधानले गोपालप्रसाद रमिालले लेखेको भाषण पढेर सुनाए । त्यत्तिकैमा हीरादेवी यमी (धर्मरत्न यमीकी श्रीमती)ले मञ्चमा आसीन व्यक्तिहरूलाई शुभटीका र फूलमाला लगाएर स्वागत गरनि् ।
मानिसहरूको ज्यादै ठूलो भीड जम्मा भएको थियो । कौतूहल पनि थियो । किनभने, मानिसहरूले विश्वास गरेको कांग्रेस विभाजित भएको थियो । अब के गर्ने, कसो गर्ने भन्ने चिन्ता नेता-कार्यकर्ता सबैमा थियो । यसैबीच कुनै ‘लुज अर्गनाइजेसन’का माध्यमबाट पनि क्रान्तिलाई अघि बढाउन सकिन्छ भन्ने टुंगोमा पुगेर यस संगठनको अवधारणा आएको थियो, जसमा कांग्रेस विभाजनपछि अलमलमा रहेका हामीजस्ता धेरै कार्यकर्ताहरू समेटिएका थियौँ । साथसाथै, अन्य विचारप्रति आस्था राख्ने मानिसहरू पनि यसमा समाहित भएका थिए ।
त्यसो त नेपाल प्रजा पञ्चायत भन्ने नामकै विषयलाई लिएर पनि अनेकथरीका मत सार्वजनिक भए । कसैले के भने, कसैले के ! तर, रमिालको स्पष्ट धारणा थियो, “महात्मा गान्धीले ग्राम पञ्चायतका नाममा भारतमा जसरी संगठन गरे, त्यसैको नाममा हामीले यहाँ प्रजा पञ्चायत भनेर संगठन गर्दा सजिलो हुन्छ । र, उनलाई नेपाल ल्याउन सजिलो हुन्छ ।” किनभने त्यसबेला गान्धीलाई नेपालीहरू ईश्वर मान्थे । अर्को कुरा, त्यसबेला गान्धीसँग आफ्नो संगठनलाई जोडेर अघि बढाउँदा राणाहरूको कठोर निगरानी र यातना खेप्नु नपर्ने अवस्था पनि थियो ।
त्यसैको केही दिनपछि इस्ितहार जारी गरी वैधानिक कानुन लागू नभएको जनाइयो । मानिसहरू आक्रोशित भए । त्यसैबीच, पुरानो राजनीतिक मुद्दाका आधारमा विजयबहादुर मल्ललाई गिरफ्तार गरयिो । त्यसपछि त के थियो, मानिसहरु सडकमै उत्रेर सत्याग्रह गर्न थाले ।
यसैबीच, नेपाल प्रजा पञ्चायतको व्यानरमा नेपालमा भव्य आन्दोलन सुरु हुने खबरहरू भारतका केही अखबारहरूले प्रकाशित गरे । ००५ कात्तिक २५ गतेपछि आफ्ना मागहरू प्रस्टसँग जनताको बीचमा राख्ने निर्णय भयो । र, सोहीबमोजिम उपत्यकाका तीनै सहरमा आन्दोलनको बिगुल फुक्ने निर्णय भयो । काठमाडौँको ठहिँटी, ललितपुरको नागबहाल र भक्तपुरको टौमढी टोलमा एकै दिन सत्याग्रह सुरु भयो । सबै गिरफ्तारीमा परे । त्यस्ता सत्याग्रह पटकपटक भइरहे र मानिसहरू पक्राउ पर्ने क्रम जारी रह्यो ।
प्रजा पञ्चायतले केही समय आफ्नो आन्दोलनलाई जारी राखे पनि लामो समय निरन्तरता दिन सकेन । मानिसहरू सबै छिन्नभिन्न भए । बाँकी रहेकाहरू पनि गिरफ्तारीमा परे । त्यसपछि गोपालप्रसाद रमिाल, धर्मरत्न यमी, तुलसीलाल अमात्य, नरबहादुर कर्माचार्य, दमनराज तुलाधर, जयवरसिंह प्रधान, कृष्णप्रसाद रमिाल आदि पनि भारततर्फ लागे र प्रजा पञ्चायतले विश्राम लियो ।
यसरी कुनै घोषणापत्र, पद्धति र प्रणालीबिनै स्थापना भएको त्यो संगठनमा सूर्यबहादुर भारद्वाज, धर्मरत्न यमी, तुलसीलाल अमात्य, चन्द्रशेखर रघुवंशी, नरबहादुर कर्माचार्य, दमनराज तुलाधर, कृष्णप्रसाद रमिाल, विष्णुभक्त भुजु, सूर्यबहादुर पिवाजस्ता काठमाडौँ, पाटन र भक्तपुरका धेरै प्रतिष्ठित मानिसहरू सुरुदेखि नै आबद्ध थिए । तर, कुनै पद र जिम्मेवारी बाँडफाँट भने भएको थिएन ।
पछि डिल्लीरमण रेग्मीले आफ्नो पुस्तक ए सेन्चुरी अफ फेमिली अटोक्र्यासीस इन नेपालमा मलगायत गोपालप्रसाद रमिाल, सूर्यबहादुर, धर्मरत्न र कृष्णप्रसाद रमिाल रहेको एक्सन कमिटी बनेको थियो भनेर लेखेका छन् । तर, त्यस्तो केही भएको थिएन ।
यसरी पद्मशमशेरले ००४ फागुन १३ गते घोषणा गरेको वैधानिक कानुनद्वारा प्रदत्त अधिकार उपभोग गरेर सुधारवादी आन्दोलन गर्ने अभिप्रायले स्थापना भएको यो संगठन मोहनशमशेरको अभ्युदयपश्चात् त्यस कानुनको उपादेयता रहन्छ कि रहन्न भन्ने परीक्षण गर्दागर्दै सकियो । यसले गर्दा राजनीतिक संगठन निर्माण गरेर नेपाली जनतालाई क्रान्ति र आन्दोलनको माध्यमबाट जागरुक बनाउने गोपालप्रसाद रमिालको अभियान बीचमै सेलायो । त्यसअघि पनि उनले ००३ सालमा नेपाल नेसनल लिग नामको संगठन स्थापना गरेर आन्दोलनको सुरुवात गरेका थिए । अछूतको पानी चलाउनुपर्ने, उपत्यकाबाहिर जान र भित्र आउनुपर्दा लिनुपर्ने राहदानी प्रथाको अन्त्य, नेवार र तराईका मानिसहरूलाई पनि सेनामा भर्ना गर्नुपर्ने र राष्ट्रिय झन्डालाई सार्वजनिक गर्नुपर्ने चार माग राखेर सुरु भएको उनको त्यो आन्दोलन उनको गिरफ्तारीसँगै हराएर गयो । यसरी साहित्यमा गरमिामय उचाइ प्राप्त गरेका गोपालप्रसाद रमिाल राजनीतिमा भने असफलप्रायः रहे ।
नेपाल साप्ताहिक ३७३
