नाम सुन्दैमा पनि अचम्म लाग्ने — घोडाघोडी ताल । केही वर्षअघिसम्म जीवित पुस्ताको कुरा मान्ने हो भने पनि करिब दुई सय वर्ष पहिले कैलालीको मध्यभागमा अवस्थित यो तालको रमणीयता हेर्न घोडा र घोडीमा सवार भएर आएका राजारानीले तालको वरिपरि घुम्न नपाउँदै सवार घोडाघोडी थाकेर मरेकोले यस तालको नाउँ घोडाघोडी रहन गएको हो । यो एउटा ताल मात्र होइन, यहाँ त १४ वटा ठूला साना ताल सामुहिक उपस्थिति रहेको छ । हवाई दृश्यबाट अवलोकन गर्दा एउटा तालको सीमा टुङ्िगन नपाउँदै अर्को ताल सुरु हुने तालै तालको माला झैं लाग्छ, घोडाघोडी क्षेत्र ।
पूर्व पश्चिम राजमार्गको छेऊमै रहेको यो ताल क्षेत्र दुर्लभ चराचुरिङ्गीले विचरण गर्ने शान्त भूमि अनि सुरक्षित बासस्थान हो । तर कस्तो बिडम्वना । तराई क्षेत्रमा बढ्दो बसाई सराईको चापले पर्यटकीय, धार्मिक तथा प्राकृतिक सम्पदाको दृष्टिले निकै महत्व बोकेको यो ताल क्षेत्र दिनप्रतिदिन अतिक्रमणको चपेटामा पर्दै गइरहेको छ । तालका माछा हुन वा जैविक विविधताका लागि महफ्वपूर्ण मानिएका दुर्लभ वनस्पति हुन, ज्ञानको अभावमा ताल क्षेत्र वरिपरिका बासिन्दाबाट जोगिनै मुश्किल भएको छ । आज देखिएको चरा भोलि देखिदैन, अहिले विचरण गर्न लागेको हरि हाँस र ओत केही छिनपछि शिकारीको पञ्जामा गइसकेकेा हुन्छ ।
‘जाने श्रीखण्ड,नजाने खुर्पाको बीड’ भनेझैं विश्व जलचर इतिहासमा सङ्कटापूर्ण अवस्थामा पुगेका दर्जनौ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ मानिने चराचुरुङ्गीहरूलाई अझसम्म पनि यो तालले संरक्षण दिइरहेका पाइएपछि सन् २००३ अगस्त १३ गते विश्व रामसार सूचीमा सूचिकृत भएको छ । यूरोप, अमेरिका तथा दक्षिण एसियाली मुलुकका कतिपय प्रकृति संरक्षणविद्, अनुसन्धानकर्ताका लागि यो क्षेत्र ज्यादै महत्वपूर्ण भएपनि नजिकको तीर्थ हेला भनेझैं घोडाघोडी ताल वरिपरिका बासिन्दाको क्रियाकलापबाट दिनदिनै क्षतविक्षत हुँदै गएको छ । प्राकृतिक सम्पदा लोप हुन लागेकाले नै यसलाई रामसार साइटमा सूचिकृत गरिएको कुरा वन तथा भू संरक्षण मन्त्रालयका प्रवक्ता तथा सहसचिव डा. अन्नपूणर्ानन्द दास बताउनुहुन्छ ।
नेपालको सन्दर्भमा भन्नुपर्दा तराई क्षेत्रमा पाइने प्राकृतिक तालहरूमध्ये सबैभन्दा ठूलो क्षेत्रफल ओगटेको ताल क्षेत्र यो नै हो । घोडाघोडी सिमसार क्षेत्रमा तालैतालले ओगटेको क्षेत्रफल मात्र एक सय ३८ हेक्टर जमिन रहेको छ । यसको कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर रहेको छ । प्रवक्ता डा. दासका अनुसार अर्को महत्वपूर्ण कुरा विश्वभरका एक हजार ३१४ वटा रामसार क्षेत्र मध्य केही विशेष स्थानीय प्रजातिका माछा र पुतली यो ताल क्षेत्रमा मात्र पाइन्छन । त्यसैले पनि विश्वका सङ्कटापन्न जलचर, स्थलचर तथा जैविक विविधताको दृष्टिले यो ताल क्षेत्रको संरक्षण गर्नु जरुरी भएको हो ।
हालसम्मको अध्ययन अनुसार यहाँ ४५० प्रजातिका वनस्पति मात्र पाइने गरेका छन । प्रवक्ता डा. दासका भनाइमा यो क्षेत्रमा गहिरो र पूर्ण रुपले खोज र अध्ययन हुन बाँकी छ । सालका प्रजातिमा निकै बहुमूल्य मानिने र औषधिका रुपमा पनि प्रयोगमा आउने सतिसाल, साज, खयरको घना जङ्गल यहाँको विशेषता हुन ।
चारैतर्फबाट ताल क्षेत्र अतिक्रमणको चपेटामा पर्न थालेपछि सरकारी तवरबाट सानो रुपमा भएपनि नेपालका कोसी टप्पु र घोडाघोडी सिमसार क्षेत्रको संरक्षणका लागि सिमसार संरक्षण तथा सदुपयोग परियोजना सुरू भएको छ । बन तथा भू संरक्षण मन्त्रालय अन्तर्गत संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र विश्व वातावरण कोषको सहयोगमा सञ्चालित यस परियोजनाका कार्यक्रम यहाँको सङ्कटापन्न प्राकृतिक सम्पदाका संरक्षणका लागि पर्याप्त भने मान्न सकिदैन ।
विश्वमा नै दुर्लभ मानिने १४० प्रजातिका चरा, २९ स्थानीय जातका माछा, ३२ प्रजातिका पुतलीको सुरक्षित बासस्थान वरिपरिका बासिन्दाबाट भत्कने डर भएकाले परियोजनाले जनचेतनाका अभिवृद्धि, ताल क्षेत्रको प्राकृतिक सम्पदामा निर्भर रहेका केही मानिसलाई वैकल्पिक उपायको रुपमा बायोग्यास, आर्थिक उपार्जनका लागि बिभिन्न तालिम, सीप तथा आर्थिक सहयोग प्रदान गर्ने गरिएको परियोजना प्रवन्धक टोपबहादुर खत्री बताउनुहुन्छ । यहाँ पाइने मलाहा चिल, ओत, भूँडीफोर गरुङ, माछाकुल चिल, सुन गोहोरो छेपारो, अजिङ्गर, ढोङ माछा र हरि हाँसलाई विशेष संरक्षणको अभियानमा स्थानीय बासिन्दालाई सहभागि गराई घोडाघोडीलाई बहुपक्षीय पर्यटकिय स्थलको रुपमा विकसित गर्न सिमसार संरक्षण तथा सदुपयोग परियोजनालाई सरकारले पनि सहयोग गर्ने मन्त्रालयका प्रवक्ता डा. दास बताउनुहुन्छ ।
घोडाघोडी तालको छेउमा भगवान शिवको मन्दिरका कारणले यो क्षेत्र धार्मिक दृष्टिले समेत आस्थाको केन्द्रका रुपमा रहेको छ । माघे सङ्क्रान्ति, शिवरात्री, मङ्सिर पञ्चमीका दिनमा यो क्षेत्रमा ठूला धार्मिक मेला समेत यहाँ धार्मिक पर्यटनको महत्व बढ्नु स्वभाविक हो । परियोजनाका प्रवन्धक खत्रीका अनुसार ताल क्षेत्रमा पाइने एउटा जङ्गली धानको संरक्षणका लागि अध्ययन, अनुसन्धान र वीऊ जोगाऊ कार्यक्रम सञ्चालन गरिएको छ । धार्मिक अनुष्ठानमा प्रयोगमा आउने रातो कलमको बासस्थानको संरक्षणका लागि स्थानीय बासिन्दासँग मिलेर ताल सरसफाई कार्यक्रम नियमित रुपमा हुँदै गरेको छ ।
संरक्षणका साथै प्रचार प्रसार हुन थालेपछि हिउँदमा साइवेरियन चराको अध्ययन गर्न र लोपोन्मुख बिभिन्न जातिका जलचर, स्थलचर तथा जैविक विविधताको दृश्यावलोकन र खोज अध्ययन गर्न विभिन्न मुलुकका अध्ययनकर्ता तथा पर्यटकहरूको ओइरो लाग्न थालेको छ । भारतको नैनिताल, देहरादुन, शुक्लाफाँटा र घोडाघोडी तालसम्म र राजधानी भएर बर्दिया राष्ट्रिय निकुञ्ज पुग्न जो कोही विदेशी पर्यटकहरूले यस क्षेत्रसम्म पुग्ने गरेका छन ।
शनिबार, गोरखापत्र
मंसीर २७, २०६६
