उसले चारैतिर खोज्यो देखेन । अनेक निहुँले भान्सातिर गयो, पछाडि गयो, बारीतिर गयो तर कतैदेखेन । कुना कुइँनेटा सबैतिर खोज्यो, सबै छन् तर जैमली छैन ।

बीस वर्षभयो जैमलीलाई नदेखेको । उभित्र आज इच्छाको अथाह सागर उर्लेको छ जैमलीलाई भेट्ने ।

जैमली किन आइन ? त्यत्रो बिहेमा सारा मान्छे आएका छन् तर जैमली छैन ! ऊ सोध्ने आँट पनि गर्दैन कसैलाई । मान्छेको त्यो भीडमा उसका आँखाले निरन्तर जैमलीलाई नै खोजिरहेका छन् ।

प्रत्येक अनुहारमा उसले आखाँ डुलायो तर कुनै अनुहारमा जैमली देखेन । उसलाई आफैँसँग रिस उठ्छ – आखिर जैमलीलाई नभेटिने रहेछ , म किन आएको होला ? उसलाई आफ्नै आँखासँग रिस उठ्छ – जैमलीलाई हेर्ने यी आँखाको कत्रो रहर थियो, पुरा भएन !

जैमलीलाई सुम्सुम्याएका आफ्ना हातहरूलाई नियाल्छ – आफैसँग उसलाई झन्झन् रिस उठ्छ । यो शरीरले, यो मनले, यी आँखाले जैमलीलाई किन विर्सन सकेनन् ? के म बाँचुन्जेल यो मेरो शरीर, मेरो मन र मेरा अङ्गले जैमलीको सम्झना साँचेर मलाई सताइरहनेछन् ? आफ्नो प्रश्नसँग आफैं अनुत्तरित रहन्छ । ऊ आफैंसँग आगो हुन्छ ।

आफ्नै भदैको बिहे, तर जैमली छैन ! भएभरका सारा गोरुबेचे साइनोका मान्छे छन् तर जैमली किन छैन ? जैमलीलाई पक्कै केही भएको हुनु पर्छ !

एक्कासी उसको मनमा एकप्रकारको चीसो स्याठ पसेजस्तो हुन्छ – कि जैमली मरिसकी ? अघिसम्म चिस्सिएको उसको मन एक्कासी ज्वाला दन्किए जस्तो हुन्छ । केहीबेर अघिसम्म आफंैसँग उठेको भुत्भुते अब अरूतिर खनिन थाल्छ । सबैसँग रिस उठ्न थाल्छ । आगन्तुक मध्येमा ऊ नै महत्त्वपूर्ण हुन्छ । त्यो बाध्यता उसका लागि त्यहाँ ठूलो बोझ र सकस जस्तो भइरहेको छ । केही नखाइ हिँड्नु उनीहरूको सँस्कार र उसको आफ्नो निजी मान्यता विपरित भएकोले ऊ त्यहाँबाट सजिलै उम्कन सक्ने अवस्था छैन ।

उ त्यहाँ अरूभन्दा फरक देखिन्छ । अलि भिन्न खालको पहिरन र सुकिलोमुकिलो, चिल्लो अनुहार ! गाउँका दुःखबाट धेरै वर्ष टाढा भएकोले गाउँलेका फुस्रा र डडेका अनुहार भन्दा ऊ फरक छ । घेरैका आँखा उतिर नै हुन्छन् । बीस वर्षपछि ऊ आफ्नो त्यो पुरानो गाउँमा गएकोले घेरैका लागि अपरिचित पनि छ, तर कौतुहलताको विषय पनि – को होला यो भन्ने ? उसलाई रक्सी पिएर ढल्न मन लाग्छ तर त्यो पनि गर्न सक्दैन, ऊ त्यहाँ ।

केही नलागे पछि आफ्नो पुरानो घरसँगै रहेको बखुवाको घरको दलिनमा गएर गुन्द्रीमा पल्टिन्छ । गाउँका भुरेभारे धूलोमैलो जे जस्तो अवस्थामा छन् सबै छेउमा झुप्पिन्छन् ।

आँखा चिम्लिएर लामो शास फेर्छ । जुरुक्क उठ्छ । फेरि एकपटक वरिपरि आँखा डुलाउँछ … जैमली छैन । आफ्नो खल्ती छाम्छ र जैमलीले भनेको सम्झन्छ – ‘कान्छा मलाई एउटा औंठी किनेर ल्याइदे न !’ ऊ फेरि पल्टन्छ र आँखा चिम्लिन्छ । असारे रोपाइँको हिलोमा लडिबुडी गरेरको सम्झन्छ । बयल झुलेका धानबारीमा लुकामारी खेलेको सम्झन्छ । पटुवाबारीमा लाप्पा खेलेको सम्झिन्छ । घर पछाडिको मकैबारीमा लुकीछिपी भेट्ने गरेको सम्झिन्छ । उसको मष्तिष्कमा गाडिएका स्मृतिका डोबहरू एकएक आफैं उत्खनन् हुदै जान्छन् । ऊ तिनैमा उग्राएर पल्टिरहेको छ ।

गाउँको एउटा आदिवासी परिवारकी छोरी जैमली ! सलक्क परेकी गोरी, हिस्सी परेका दाँत, बाटुला हात खुट्टा ! हेर्दै लछि्छनकी लाग्ने । एक अक्षर नचिनेकी सोझी केटी ! आफ्नो मातृभाषा बाहेक भाका पुर्याएर नेपाली पनि बोल्न नजान्ने !

केटा मान्छे देखेपछि चितुवा देखेर मृग दौडे जस्तो दौडन्थी जैमली । कुनै केटामान्छेको छेउ पर्दैन थिई कहिल्यै । बाटो छेकेर जिस्क्याउन खोज्थ्यो, मृग उफ्रे जस्तो फड्को मारेर भाग्थी । जैमलीको स्वाभाव सम्झेर ऊ मनमनै हास्छ । तर उसालाई थाह छ, जबसम्म जैमलीलाई भेटेर उसको इच्छा पुरा गर्न सक्दैन तवसम्म ऊ हास्न सक्दैन । ‘यो मेरो हाँसो म आफैंलाई जिस्क्याउने हाँसो मात्र हो । जैमली सम्झेर म हास्नु भनेको म पागल हुनु हो । म पागल भएँ भने मात्र जैमलीलाई बिर्सन्छु नत्र .. असम्भव छ ।’

त्यो रात जैमली एकाएक पानीपानी भएकी थि, उसले त्यो पनि सम्झिन्छ । झुक्किएर जैमलीलाई छोइँदा ऊ थर्थर भएको सम्झिन्छ । अब जैमली चिच्याउँछे र साराका सामुन्ने मेरो बेइज्जती हुन्छ भन्ठानेर भाग्न खोजेको सम्झिछ तर परिणाम उल्टो भएको थियो !

गाउँमा नाच हेर्न जम्मा भएका ठिटाठिटीसँगै बसेकी जैमलीको कम्मरमा उसको हातले अन्जानबश के छोएको थियो, जैमली सधैं झैं प्रतिकार गर्नु साटो उसको हातलाई चुम्बकले तानेजस्तो गरी तानेर काखीमा च्यापिथी, बर्कोभित्र लुकाइथी । एकैछिन पछि बर्कोभित्र जैमलीका यौवनपुञ्जहरूसँग उसका हातहरु रमाउन थालेथे । मानौ जैमली बल्छी थापेर बसिथी ! उसलाई त्यो क्षण अहिले पनि अपत्यारिलो जस्तो हुन्छ । सम्झनाहरु उसको मस्तिष्कमा खेलिरहेका छन् । दृष्यहरू आँखाअधि नाचिरहेका छन् । ऊ त्यही गुन्द्रीमा पल्टिरहेछ । उसले आफैंलाई अर्को प्रश्न गर्थ्यो – के आइमाइ मान्छे आँधितुफान हो, भेल हा,े खहरे हो ? कतिबेला कता बहन्छ, कुन मोड लिन्छ थाह हुदैन ?

सोच्छ – मैले भन्दा उसले मलाई बढी माया गर्थी । उ, जैमलीलाई तिमी भनेर सम्बोधन गर्थ्यो तर जैमली उसलाई तँ भन्थी । अर्थात जैमली तिमी वा तपाइँ लाउन जान्दैनथी ! ‘कान्छा, तँ ठूल्लो राती मचानमा आइज, म पनि आउँछु’ वीसवर्ष अधिको जैमलीको त्यो आवाज अहिले फेरी कानमा गुन्जिए जस्तो लाग्छ । त्यो मचान भएको ठाउँतिर हेर्छे, त्यहाँ मचान छैन धान खेत छ ।

‘कान्छा, तँ बाहुनको केटा म तल्लो जातको केटी, तँ मलाई बिहे नगर्ने भए केही नगर, तरो बाउआमाले मान्दैन !’ जैमली कतै बोलिरहेकी छे जस्तो लाग्छ । जैमलीको मध्यरातको त्यो प्रस्ताव पछि ऊ जातपातप्रति धृणा गर्न थाल्छ । आफू बाहुन केटो हुनुको सजाय परिस्थितिले तोकिदिएको ठान्छ – जैमलीलाई गुमाउनु अर्थात नपाउनु !

बेहुली बनेको दिन थोरै घुम्टो उधारेर उतिर छड्के नजर लाउँदै जैमली धुरुधुरु रोएको सम्झिन्छ । जैमलीका ठूलाठूला बाटुला गाजलु ती आँखा आफ्नै आँखाका नानीमा बसिरहे जस्तो लागिरहन्छ ।

जैमली… ! जैमली …! उसको कानमा एक्कासी आवाज आउछ । जुरुक्क उठेर हेर्छ, दुइतीन वालकहरू मासु, चिउरा, तरकारी, आचारले भरिएको थाल लिएर पछाडिपट्टकिो गुवालीतिर जाँदैछन् । सोध्छ – ‘कसका लागि ल्याएको यो खानेकुरा ?’

‘जैमलीका लागि’ – भुराहरूले उत्तर दिन्छन् । ऊ तीनछक्क पर्छ । उसले नसोचेको कुरा फेरि एकपटक हुन्छ । जैमलीसँगको प्रेम, विछोड र अहिलेको भेट यो सबै उसले सोचेभन्दा भिन्न किसिमले भइरहेछ । ऊ दौडदै जैमलीतिर जान्छ ।

केहीबेर एकतमासले जैमलीलाई हेरिरहन्छ ! यहाँ पनि जैमली सोचेभन्दा फरक छे ।

‘जैमली ! जैमली, म कन्छा !’ उसले जैमलीलाई घचघच्याउँछ । जैमलीले न चिने जस्तो, न नचिने जस्तो गर्छे ! जैमली बोलिन, हाँसिरही ! जैमली हेर त यी मैले तिम्रो लागि विदेशबाट हीराको औठी ल्याएको छु । औठी देखाउँछ, बोल्दिन हास्छे मात्र ! म कान्छा हुँ, कान्छा भन्छ, बोल्दिन हाँस्छे मात्र ! ठूल्लो राति भनेर सम्झाउन खोज्छ, बोल्दिन हाँस्छे मात्र ! आफ्नो जीउको खत देखाउँछ बोल्दिन हाँस्छे मात्र ! बीस वर्षअधिको जैमलीको फोटो पर्सबाट निकालेर देखाउछ, हेर्छे बोल्दिन हास्छे मात्र ! आफ्ना् फोटो देखाउँछ, एकहोरो हेर्छे बोल्दिन, खित्का छोडर हाँस्छेमात्र ! डगर, मचान, पटुवारी, मकैबारी, धानखेत, बानडाँडा, देबीथान, ढाबी, खोरिया, माछापोखरी, केराबारी भन्छ बोल्दिन, झनझन् खित्का छोडीछोडी हाँस्छे मात्र !

‘हजूर यो त बौलाही हो यसलाई किन जिस्क्याउनु भएको ?’ छेउमा आएर कसैले भन्छ । ऊ छाँगाबाट खसेजस्तो हुन्छ ।

सोध्छ – यो कसरी बौलाई ? यसको एउटा केटासँग प्रेम थियो रे जातपात नमिलेर त्यो पनि असफल रे, र लोग्ने पनि मरेपछि सायद त्यही

तोडले… ! जैमलीका लागि विदेशबाट किनेर ल्याएको औंठी खल्तीमा राख्छ । अनि सबैसँग विदा भएर गह्रुङ्गो मन लिएर बाटो लाग्छ ।

भोलिपल्ट गाउँमा हल्ला फैलिन्छ जैमलीले आत्महत्या गरी रे ! पर्सिपल्ट जैमलीको चिहानमा गएर त्यो औंठी गाडेर ऊ शहरतिर र्फकन्छ । ‘आखिर मान्छे जातपातको रेखाभन्दा माथि र स्वतन्त्र हुदो हो त जैमलीको यो हालत हुने थिएन । म बाहुनको छोरो नभएर कामी, दमाइ, सार्की नै भएको भए पनि अहिले सायद जैमली मसँगै हुने थिई !’ उसले निष्कर्ष निकाल्छ – आजदेखि मेरो कुनै जात छैन ! अब उसले आफ्नो थर लेख्न छोडेर नाउँ मात्र लेख्न थालेको छ । शिव प्रकाश ….. जस्तै !

शनिबार, गोरखापत्र
मंसीर २७, २०६६

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *