हाँसेको देख्छु सपनी जहिले बिरामी पर्यौ कि
सम्झेर मलाई आँसुको धारा गालामा झर्यौ कि
म पनि यहाँ सम्झेर तिमीलाई रातोदिन गन्दैछु
कहिले भेटी अंगालो हालुँ मनमनै भन्दै छु
गरीबको चोला के यस्तो होला मायाले छेकेन
साथमा रमाई एक छाक खाको साहुले देखेन
साहुको ऋण चुकाउन भनी म आएँ बिदेश
तिमीलाई भुली बसेको छुइन म एकै निमेश
छोरालाई पठाई महान असल सपूत बनाउन
म आए हेर बिदेश प्यारी दुई पैसा कमाउन
कमाई केही लगाईं बुझो साहू र महाजनको
उकासी थैलो रमाउला प्यारी घर र आँगनको
स्वदेशी माटो शहीदको रगत नेताको चकचकी
गाउँघरमा पनि बढेर ब्यासा गर्छन रे अचाक्ली
गरीब दु:खीहरूको दिन आउदैन कि कसो
कसो छ त्यहाँ गाउँघरको कुरा बुझ है लौ यसो
गरेर खान नपाइने भयो स्वदेसी माटामा
बिदेशमा पनि महँगी चुलियो आलु र आटामा
पैसाको दर दिन दिन तल झार्दैछ डलर
सुन चै भने दिन र रात हुदै छ डबल
सुनको चुरा घाटीमा सिक्री सपना जस्तो भो
आमाको बिराम कस्तो छ प्यारी अलिक संचो भो
हाँसेको देख्छु सपनी जहिले बिरामी पर्यौ कि
सम्झेर मलाई आसुको धारा गालामा झर्यौ कि
लखनपुर ३ झापा ,नेपाल
हाल बहराइन
