स्थानः बाटोछेउको पोखरी
समयः शनिबार दिउँसो
पात्रहरूः राज, पप्पु र पेम्बा (आठ वर्षे बालकहरू)
काजी र लाक्टी (पाँच वर्षे बालबालिका)
(बाटोमा पुल छ । उत्तरतिरबाट सानो खोल्सो बग्दै आएको छ । पुलको तलतिर निकै ठूलो पोखरी बनेको छ । राज, पप्पु र पेम्बा त्यही पोखरी छेउको पुलमाथि उभिएका छन् । उनीहरू त्यस काठको पुलमाथि कपडा खोल्दै छन् । उनीहरूका साथमा भाइबहिनी पनि छन् ।)
राज ः (पोखरीमा फाल हान्दै) फाल हानौँ साथी हो ! पानी पर्ला जस्तो छ । चाँडै खेलेर घरतिर जानुपर्छ ।
(पप्पु र पेम्बा क्रमशः फाल हान्छन् । उनीहरूका भाइबहिनी टुलुटुलु हेरिरहन्छन् ।)
पप्पु ः (पोखरीमा पौडँदै) राज ! पेम्बा !! अब हामी ‘छोइछोइ’ खेल्ने है त ।
पेम्बा ः (पप्पुतिर हेरेर उत्साही हुँदै) ल, ल हुन्छ । पहिला कसले खेदाउने नि ?
राज ः (खुसी हुँदै) ल, तिमीहरूलाई म खेदाउँछु ।
(पप्पु र पेम्बाले ‘हुन्छ’ भन्ने स्वीकृति जनाएर टाउको हल्लाउँछन् ।)
पप्पु ः (पानीभित्र लुक्दै) ल, म त भागेँ है । तैँले मलाई भेट्न सक्दैनस् ।
पेम्बा ः (पौडेर पर भाग्दै) राज ! ल, मलाई भेट् ।
राज ः (दुवै जनालाई लखेट्दै) ए, तिमीहरूलाई त म एकछिनमा भेटिहाल्छु नि । मलाई त तिमीहरूले भेट्नै सक्दैनौ ।
(पप्पुको भाइ काजी र पेम्बाकी बहिनी लाक्टी पुलमाथि नै बसेका छन् । उनीहरूलाई रमाइलो भइरहेको छ । उनीहरूलाई पनि पानीमा पौडी खेल्न मन लाग्छ । पप्पु र पेम्बा पौडेको देखेर उनीहरू ताली पिट्छन् ।)
काजी ः (पप्पुतिर सङ्केत गर्दै) दाइ ! राजले भेट्नै लाग्यो । छिटो भाग् ।
पप्पु ः (पछाडि र्फकंदै) ला, अब के गर्ने ? राजले भेट्ने भयो ।
राज ः (पप्पुलाई खुट्टामा छुँदै) ल, अब तँ ‘डुम’ बनिस् । म त भागेँ ।
लाक्टी ः(खुसी भएर ताली बजाउँदै) पप्पु ‘डुम’ बन्यो ! पेम्बा दाइलाई त भेट्नै सकेन ।
पेम्बा ः (मुखभित्र निलेको पानी बाहिर निकाली राजतिर हेर्दै) मैले त पानी खाएँ नि ।
राज ः (जिस्क्याउँदै) तलतल डुबेपछि त्यस्तै हुन्छ । गहिरो ठाउँमा तलसम्म जान्छस् अनि पानी खाँदैनस् त । म त धेरै तल जान्नँ ।
(काजी र लाक्टी दुवै टाउको जोडेर सल्लाह गर्न थाल्छन् ।)
काजी ः (लाक्टीतिर सङ्केत गर्दै) हामी पनि पानीमा पसौँ । पौडी खेल्न क्या मज्जा !
लाक्टी ः(खुसी हुँदै) जाऔँ, हामी पनि दाइहरूलाई छुने ।
(पोखरीमा ‘झ्वाम्म’ आवाज आउँछ । राज, पेम्बा र पप्पुले चालै पाउँदैनन् ।)
काजी ः (हात हल्लाई चिच्याउँदै) मरेँ ! मरेँ !!
(राजले काजीलाई डुब्दै उत्रँदै गरेको देख्छ । ऊ पौडेर काजीको छेउमा पुग्छ ।)
राज ः (आत्तिँदै) पेम्बा ! पप्पु !! काजी डुब्यो ।
(पेम्बा र पप्पु पनि पौडेर काजीको छेउमा आउँछन् । उसलाई तीनैजनाले कपाल, हात र खुट्टामा तानेर बाहिर निकाल्छन् ।)
पेम्बा ः (डराउँदै) अनि लाक्टी खै त ?
(राज र पप्पु पेम्बातिर हेर्छन् । उनीहरूले पनि लाक्टीलाई देख्दैनन् ।)
पप्पु ः (छक्क पर्दै) त्यो पनि पानीमा डुबी होली !
(राज, पप्पु र पेम्बा तीनैजना पानीमा फाल हान्छन् । लाक्टी डुबेर निकै पर पुगिसकेकी हुन्छे । राजले लाक्टीलाई देख्छ ।)
राज ः (आत्तिँदै) ऊ लाक्टी !
(तीनै जना लाक्टीलाई समाउन जान्छन् । उनीहरूले निकै दुःखसाथ उसलाई बाहिर निकाल्छन् । ऊ बेहोस भइसकेकी हुन्छे । लाक्टीको पेट फुलेको हुन्छ । पेम्बा लाक्टीको पेटमा हात राख्छ । लाक्टीको मुखबाट पानी निस्कन्छ । ऊ बिस्तारै पेट थिच्दै जान्छ ।)
पप्पु ः (थोरै खुसी हुँदै) काजीलाई त ठीक भयो । अब लाक्टीलाई पो के गर्ने ?
राज ः (निराश हुँदै) अब हामीलाई घरमा मार्छन् । के गर्ने ?
(लाक्टी बिस्तारै टाउको हल्लाउँछे । आँखा पनि खोल्छे । उसलाई दाइहरूले बिस्तारै उठाउँछे ।)
पेम्बा ः (लामो सास फेर्दै) धन्न यार ! यिनीहरूलाई केही भएन । अबदेखि साना केटाकेटी लिएर पौडी नखेल्ने है ।
पप्पु ः (सुस्केरा हाल्दै) घरबाट भागेर पौडी खेल्दा यस्तै हुन्छ ।
(भाइबहिनीको साथमा तीनैजना शिर झुकाउँदै घरतिर लाग्छन् । घरमा यो कुरा कसैलाई थाहा नै हुँदैन । उनीहरू त्यसपछि पोखरीमा कहिले पनि देखा पर्दैनन् )
(पर्दा खस्छ ।)
