स्कुल छुट्छ । विद्यार्थीहरू घरतर्फ लाग्छन् । सौरभ र दीपा पनि घर र्फकँदै छन् । स्कुलमा सामुदायिक एकाइ खोलिएको छ । त्यहाँको अध्यक्ष, उपाध्यक्ष पनि यिनीहरू हुन् ।
मानिसहरूको हुलले यौटी अधबँैसे महिलालाई लखेटिरहेको उनीहरू देख्छन् । उनीहरू त्यहाँ गएर विस्तृत विवरण बुझ्छन् । सत्य कुरा थाहा पाउँछन् । लखेटिएकी महिला घ्याम्पे दमाईकी छोरी डल्ली रहिछ । उसलाई आफ्नै पतिले विदेशमा लगेर बेचिदिएको रे ! धेरै वर्ष उता बस्दा उसलाई एड्स रोग लागेको रहेछ ।
अहिले ऊ माइतीमा बस्दै आएकी छे । ‘एड्स लागेको मानिसलाई गाउँमा राख्नुहुन्न, गाउँको बेइजत हुन्छ । अरूलाई पनि रोग सर्छ’ यस्तै कुतर्कहरू गरेर गाउँलेहरूले डल्लीलाई गाउँ निकाला गर्न लागिरहेका रहेछन् ।
दीपा र सौरभ घ्याम्पे दमाईलाई सोध्छन् – किन यिनलाई यसो गरेको ? घ्याम्पे जवाफ दिन्छ – “मैले “छोरी पालिरहेको थिएँ । गाउँले ठूलाठालु मकहाँ आए । मलाई लछारपछार गर्दै ‘तेरी छोरी निकालिदे । नत्र तेरो घरवास उठाइदिन्छु’ भन्नथाले, मैले मेरी रोगी छोरीलाई पनि पाल्न’ पाइनँ । म अब कसो गरुँ ?”
दीपाले ठूलो स्वरमा कराउँदै भनी – “सुन्नुहोस् तपाईंहरू ! रोग लागोस् भनेर कसैले पनि भन्दैन । बाध्यताका कारण रोग सहनुपर्ने हुन्छ ।”
स्कुले बालकहरूका कुरा सुनेर एकजनाले भन्यो – “तिमी साना नानीहरूलाई हाम्रो कुरामा के मतलब” दीपाले भनी – “मतलब हुन्छ । मानिसले मानिसलाई हेप्नु हुँदैन । रोग नलागुञ्जेल होस् गर्नु राम्रो कुरा हो । रोग लागिसकेपछि रोगीलाई माया गर्नुपर्छ । घृणा हैन !”
अर्कोले बोल्यो – “माया गरेर उसको रोग अरूलाई पनि सार्न सकिन्छ र ? यो डल्ली गाउँमा बसिरही भने यो रोग अरूलाई पनि सर्न के बेर ?”
सौरभले भन्यो – “एड्स रोग लागेको मानिसलाई माया गर्दैमा यो रोग सर्दैन । रोगीहरूको जुठो खँादा, अङ्कमाल गर्दा, हात मिलाउँदा, रोगीलाई स्याहार सुसार गर्दासमेत यो रोग सर्दैन । रोगीले पनि समाजमा अरूसरह बाँच्ने नागरिक हक पाउनुपर्छ ।
गाउँलेहरूमध्ये अर्कोले बोल्यो – “डल्लीलाई गाउँमा राख्दा गाउँलेहरूलाई लाज हुँदैन ?”
सौरभले भन्यो – “रोग लुकाउन लाज मान्नुपर्छ । रोग लागेकोलाई हेला गर्न लाज मान्नुपर्छ । मानिसले मानिसलाई दुःख परेको बेलामा सहयोग पो गर्नुपर्छ । डल्लीले दैनिक व्यायाम गर्ने, खानपिनमा विचार गर्ने, समाजमा आफू बाँचुञ्जेल राम्रा-राम्रा काम गर्ने गरेमा उसको आयु केही लम्बिन पनि सक्छ । अझ धेरै वर्ष उसले गाउँमा काम गर्न सक्छे । गाउँलेहरूलाई सहयोग गर्नसक्छे ।”
गाउँलेमध्ये एक गन्यमान्य व्यक्तिले सोध्यो – “तिमीहरूलाई यति बिघ्न कुरा कसरी थाहा भयो हँ ?” दीपाले जवाफ दिई- “हामी स्कुल पढ्छौँ । स्कुलमा साथी-साथी मिलेर समूह बनाएका छौँ । मानिसको हित हुने काम गर्ने, मानिसलाई कुन कुराले असजिलो पर्न गएको छ, त्यो कुरामा कसरी सहजता ल्याउन सकिन्छ भनेर सरसल्लाह गर्नेजस्ता काम गर्छौं । यस्ता कार्यलाई सामुदायिक कार्य भनिन्छ ।”
अर्को एक गाउँलेले सोध्यो- “यो काम कस्तो-कस्तो हो नानी बाबु ?”
सौरभले खुलस्त पार्दै भन्यो – “बाँच्नका लागि आवश्यक पर्ने स्वास्थ्य उपचार, सुरक्षादेखि वन जङ्गलको संरक्षण, सदुपयोग जेमा पनि स्थानीय व्यक्तिहरूलाई जनचेतना जगाउने, सही सदुपयोगको बाटो देखाइदिने, सामुदायिक समूहले स्थानीय समुदायसँग सरसल्लाह गरी समन्वय गर्ने काम नै समुदायको काम हो । स्कुलमा पढाइका साथै हामीले समाजमा सेवा हुने काम पनि गर्दैरहेका छौँ ।”
स्कुले नानी बाबुका यस्ता सहयोगी भावनाका कुराले गाउँलेहरूको पनि चेतना जाग्यो । उनीमध्येका एकजना वृद्धले भने – “ए घ्याम्पे ! तेरी छोरी डल्लीलाई आफ्नै घरमा लैजा । आवश्यक उपचार गरा । यी स्कुले नानी बाबुका राम्रा सन्देशले हाम्रो आँखा खुले । अबदेखि हामीले पनि समुदायमा समूह गठन गर्ने । गाउँमा पर्ने समस्या हामी बसेर नै मिलाउने बुझ्यौ साथी हो !”
