त्यतिखेरै नारायणगोपाल सँगसँगै गीतकार नगेन्द्र थापाको पनि त्यत्तिकै चर्चा हुनेगर्थ्यो । यतिखेर नगेन्द्र थापाको त्यति चर्चा हुँदैन । गीतकार व्यक्तित्वले मर्कामा पारेको छ उहाँलाई । अर्थात् कवि व्यक्तित्व, लोक सङ्गीतका अध्येता नगेन्द्र थापालाई गीतकार नगेन्द्र थापा भनेर घ्वाप्लाक्क छोपिदिएको छ । गीतकार नगेन्द्र थापा पनि मर्कामा पर्नुभएको छ । गीतकारको रूपमा उहाँले नाम त कमाउनुभएको छ तर पुरस्कार र सम्मानमा उहाँ ‘गीत र गीतकारकै लागि स्थापित पुरस्कारबाट समेत टाढै हुनुहुन्छ । धाउन नजाने स्वभावले हो वा सही व्यक्तित्वको छनौट गर्न नसकेर हो उहाँ पुरस्कारबाट टाढै हुनुहुन्छ । कवि र अध्येताको त कुरै छाडौँ ।
‘चिनारी हाम्रो धेरै पुरानो ..’ नारायण गोपालको सुमधुर स्वरमा गुञ्जने नगेन्द्र थापाको मीठो गीत जस्तै उहाँको चिनारी पनि पुरानो हो । चिनारी मात्र होइन योगदान पनि पुरानो हो । गीतबाट कैयौँ स्रोता पाठकको मन जित्ने नगेन्द्र थापाले आफ्नो ५० वर्षे साहित्यिक यात्रा तय गरिसक्नुभएको छ । वि.सं. २०१८ सालमा ‘रूपरेखा’ मा पहिलो रचना छापिएको हिसाबले पनि उहाँको साहित्यिक यात्रा पाँच दशकको पुगिसक्यो । प्रतिमा (२०१९) हाम्रो प्रीति बस्यो रे (२०२३) र सिन्कौली माया (२०२४) कविता सङ्ग्रह र गोपालको बाँसुरी (२०२३) गीत सङ्ग्रह प्रकाशित भइसके उहाँको । वि.सं. २०२३ पछि भने कृति प्रकाशनमा खासै उत्साहित हुनुभएन उहाँ ।
वि.सं. २००२ सालको असार ९ गते धनकुटाको मुगामा जन्मिनु भएका नगेन्द्रबहादुर थापा साहित्यिक क्षेत्रमा नगेन्द्र थापाको रूपमा परिचित हुनुभयो । १५-१६ वर्षको उमेरदेखि नै लोकसङ्गीतको क्षेत्रमा सक्रिय रहेर उहाँले यस क्षेत्रप्रति आफ्नो रुचि देखाइसक्नुभएको थियो । देशभित्र र देशबाहिर बसेका नेपाली नेपालीबीच सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले स्थापित भानु मोरङ सांस्कृतिक समिति (२०१७) का अध्यक्ष भएर नेपालको १४ अञ्चल, भारतका विभिन्न क्षेत्रमा सांस्कृतिक कार्यक्रम आयोजना गर्नुभयो उहाँले । चतुर्भुज आशावादी, नगेन्द्र थापा, गोपाल योञ्जन र नारायण गोपालको समूहको त्यतिखेरको सक्रियता निकै थियो । कविता पनि लेख्ने नगेन्द्र थापालाई नारायण गोपाल, गोपाल योञ्जनले नै गीत लेख्न पे्ररित गरे ।
वि.सं. २०१२-१३ सालतिर पढ्नका लागि काठमाडौँ आउनुभएका नगेन्द्र थापा त्यतिबेलादेखि काठमाडौँमै बस्नभएको छ । काठमाडौँको माली गाउँको रमणीय स्थलमा सुन्दर र शान्त निवासमा नगेन्द्र थापा आफ्ना अतीत बारे जति उत्साहित र रोमाञ्चित हुँदै अभिव्यक्त हुनुहुन्छ त्यति उत्साह अहिलेको सन्दर्भमा उहाँमा देखिँदैन । नगेन्द्र थापाका कविता, मुक्तक पढेर नारायण गोपाल, गोपाल योञ्जनले उहाँलाई गीत लेख्न पे्ररित गर्नुभयो । यसपछि भने नेपाली गीति जगत्मा नगेन्द्र थापाका एकसेएक गीत प्रसारित भए । नारायण गोपालको स्वर, गोपाल योञ्जनको सङ्गीत, नगेन्द्र थापाको गीतको उत्कृष्ट त्रिवेणी ।
सङ्गीत क्षेत्रको यी तीन जोडीमध्ये गोपाल योञ्जन र नारायणगोपालको निधन पछि उहाँलाई सङ्गीत क्षेत्रमा काम गर्ने जाँगर पनि चल्न छोड्यो । गाडी चलाएर हिँड्दा मात्र गीत सुन्नमा सीमित हुनुहुन्छ रे उहाँ अचेल । ‘बागिना’ जस्तो उत्कृष्ट पत्रिकाको सम्पादनमा पनि संलग्न नगेन्द्र थापाको सक्रियता सङ्गीत क्षेत्रमा एकताका निकै थियो अहिले तिनै नगेन्द्र थापा गीत सुन्नमा पनि खासै रुचि लिनुहुन्न । स्तरीय र सुमधुर गीतकार मात्र होइन गीति क्षेत्रमा सक्रिय भएर लाग्ने गीतकार नगेन्द्र थापाको सिर्जनाको, साधनाको, सक्रियताको कदर कसले गर्यो ? तातो न छारोका गीतका माध्यमबाट सङ्गीत क्षेत्रमा लाग्नासाथ चर्चा पाउने र अघि सारिनेहरूको भीड बढेपछि नगेन्द्र थापाजस्ता सङ्गीत पक्कै पनि ओझेल पर्छन् यहाँ ।
दुईवटा कविता सङ्ग्रह प्रकाशन गर्न सकिने अवस्थामा भएर पनि कृति प्रकाशनमा रुचि नलिने नगेन्द्र थापाको सक्रियता साहित्यमा पनि स्वात्तै घटेको छ । एकताकाको सक्रियता साहित्यमा देखाउने उहाँ “खै वातावरण नै त्यस्तै भयो ।” भन्दै आफ्नो निष्त्रिmयताको स्पष्टीकरण दिनुहुन्छ । कविता पढ्न समारोहमा जानसमेत त्यति रुचि छैन उहाँलाई कविता लेख्ने काम भने छाड्नु भएको छैन उहाँले ।
गीतकार कवि नगेन्द्र थापाको चर्चा परिचर्चा पनि त्यतिभएको छैन । ठूलाठूला लेखक, अन्वेषक, समालोचकका कृतिमा समेत उहाँ त्यति समेटिनुभएको छैन । चर्चित निबन्धकार एवं समालोचक राममणि रिसालले आफ्नो पुस्तक ‘नेपाली गीतिस्रष्टा अनेक घटक’ मा भने गीतकार नगेन्द्र थापाको चर्चा गर्नुभएको छ ।
“गीतकार नगेन्द्र थापालाई गीति संरचनाका उनका अनवरत तथा सततः यात्राहरूले नेपाली गीतिसाहित्यका चिरञ्जीवी स्रष्टा बनाइदिएको छ । अनेकन विविध अभिव्यक्तिका स्रष्टा नगेन्द्र थापा जीवनकै लेखक हुन् । जीवनका मोहमर्म र तापसन्ताप रहुन्जेल उनको गीतिरचना पनि सापेक्षतामा शाश्वत रहने नै देखिन्छ ।
जीवनका कठोरता र विरोधाभासहरू नगेन्द्र थापाका रचनागत अभिव्यक्तिका माध्यम हुन् । त्यतिमात्र होइन, पे्रम र सुकुमारता पनि उनका गीतहरूमा प्रशस्त पाइन्छन् ।”
कवितालाई जीवनको अभिव्यक्ति मान्ने नगेन्द्र थापा भन्नुहुन्छ -“मैले कविता किन लेखेँ यो मलाई थाहा छैन । नजाने मलाई कुन शक्तिले कुतकुत्यायो म व्यक्ताउन सक्तिन, यत्ति हो मलाई कविता लेख्न मन लाग्छ ।” २०४५ सालमा पाटन औद्योगिक क्षेत्रमा भेट हुँदा उहाँले दिनुभएको अभिव्यक्ति हो यो । २०६७ सालमा काठमाडौँको मालि गाउँमा भेट हुँदा पनि नगेन्द्र थापाले कविता लेख्न छाड्नुभएको छैन, बाँकी सबै अर्थात् लोक सङ्गीत, सङ्गीत क्षेत्रमा सक्रियता, सम्पादन सबै छोडिसक्नुभयो ।
दार्जीलिङ्गमा रहँदा ‘देवकोटा पुरस्कार’ पाउनुभएको उहाँले २०६६ मा देवकोटा काव्य सम्मान पाउनुभएको छ । अरु खास पुरस्कार, सम्मान पाउनुभएको छैन । कविता लेखिरहेको मान्छे गीत लेख्न थालेपछि गीतकारकै रूपमा धेरैले चिनेपनि गीतकार नगेन्द्रले कवि नगेन्द्रलाई ओझेल नपारिदेओस्जस्तो लाग्छ रे उहाँलाई र पनि सत्य हो गीतकार व्यक्तित्वले कवि नगेन्द्र थापालाई ओझेल पारेको छ । नगेन्द्र थापा मात्र होइन उहाँकै समकालीन कतिपय स्रष्टाहरूको कुनैबेलाको सक्रियता यतिखेर सम्झँदा पनि अचम्म लाग्छ । द्वारिका श्रेष्ठ, मदन रेग्मी, कृष्णभक्त श्रेष्ठ, कुमार नेपाल, पे्रमा शाह, कुन्दन शर्मा, पुरुषोत्तम बस्नेत आदि अचेल फाटफुट कविता लेखनमा मात्र सीमित हुनुभएको छ ।
कवि, गीतकार, लोकसङ्गीतका अध्येता नगेन्द्र थापाजस्ता स्रष्टा मौन बस्नुको कारण हामीले कहिले खोज्ने प्रयास गर्यौं ? अहिलेलाई यही प्रश्नमै टुङ्ग्याउनुपर्ला । र अन्त्यमा भन्नैपर्छ “चिनारी उहाँको धेरै पुरानो भएझैं लाग्दछ ।”
असार ५, २०६७
