गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र [गजल संवन्धित बहसको नियमित स्तम्भ ]


विषय प्रवेशः

अरविक माटोमा जन्मिएर उर्दु हिन्दी भाषा हुदै भित्रिएको गजल विधाले नेपाली माटोमा आज एउटा लामो काल खण्ड विताइसकेको छ । दसौ शताव्दीमै इरानी अन्धा कवी रौदकीले जन्माएको विस्वास गरिएको यो विधालाई नेपाली माटोमा भित्रिएको पनि आज लामो समय भैसकेको छ । गजललाई नेपाली माटोमा भित्र्याउने श्रेय भने मोतीराम भट्ट वि।स।१९२३ -१९५३लाई जान्छ । मोतीरामले भारतबाट यो विधालाई भित्र्याएको मानिन्छ । यसरी नेपाली मोटोमा भित्रिएर सवा शयको भन्दा लामो काल खण्ड विताइसकेको छ ।

स्थापानकाल देखि नै गजलले ठूला ठूला हाँक र चुनौतिका सामना गर्दै आएको छ । लामो समय सम्म सुसुप्त अवस्थामा वसेको यो विधाले तीसको दशक पछि मात्र मौलाउने अवसर पायो । झाँगिने अवसर पायो । वि। स। २०३६ जसलाई गजलको आधुनिक काल मानिन्छ साल पछि भने गजलले व्यापक रुप नै लिन पुग्यो । त्यसमा पनि वि। स।२०४६ साल पछि त झन गजल लेखनको एउटा लहर नै चलेको पाइन्छ । के बुढा के तन्नेरी आज सवै गजल लेख्नमा त_िम्सएका पाइन्छन । आफ्नो पनि गजलमा छाप छोड्न वा आफ्नो प्रभावलाई कायमै राख्न सवै हत्तारिरहेका देखिन्छन । यति सम्म कि हिजो गजल केही होइन । यो कनिष्ट एवम् तुच्छ विधा हो भन्नेहरु पनि आज चोरी चोरीकन भए पनि गजल लेख्न थालेका छन । कतै यो विधामा आफ्नो नाम नआउने पो होकि । कतै आफू पछि परिने पो हो कि भन्ने डरले होला । त्यसैले हत्तारिएका हुनसक्छन । यो नेपाली गजलका लागि । हामी गजल प्रेमीहरुका लागि सफलताको कुरा पनि हो । यो हाम्रो लागि खुसीको कुरा पनि हो । अझ भन्दा यसलाई गजल प्रेमीहरुले एउटा जीतको रुपमा पनि लिएका छन ।

हुन त यति भएर मात्र गजलको विकाश भएको मानिदैन । नेपाली गजलमा आज त्यस्ता थुप्रै समस्या छन । दुविधाहरु विध्यमान छन । ती समस्या तथा दुविधाको अन्त्य गरिनुको साटो यदि यतिलाई नै गजलको प्रगति भएकॊ ठानियो भने त्यो किमार्थ सत्य हुदैन । त्यो हाम्रो भ्रम मात्र हुने छ । नेपाली गजललाई माथि उठाउन थुप्रै कामहरु वाकी छन । थुप्रै वाटो हिड्नु छ । थुप्रै चुनौतिहरुको सामना गर्नु छ । चुनौतिलाई चिर्नु छ । नेपाली गजलमा आज थुप्रै अवरोधहरु छन । थुप्रै चुनौतिहरु छन । तिनीहरुलाई पन्छाउदै जानु नै आजको आवस्यकता हो । गजलमा देखिएका वाधा अवरोधहरुको निराकरण गर्दै जानु हाम्रो कर्तव्य पनि हो ।

नेपाली गजलमा देखिएका केही समस्या तथा चुनौतिहरु

गजल नितान्त गेय विधा हो । गजललाई यसबाट अलग्याईनु हुदैन । आजभोलि गजलललाई गेय विधाको रुपबाट अलग्याइदै मात्र पाठ्य विधाको रुपमा वदल्ने प्रयासहरु भैरहेको छ भन्ने आवाज पनि आइरहेका छन । गजललाई बहर वा लयबाट टाढा पारिदै छ । कतै यसले गजलको मूल्य मान्यतालाई त खतरामा पर्ने होईन । गजल वीचार हो । तर वीचार मात्र चाही होईन भन्ने कुरालाई भुल्नु हुदैन । वीचारका साथमा लयवीधानमा पनि उतिकै ध्यान दिनु पर्छ । त्यसैले यस्ता शंका उपशंकाहरुलाई पनि ध्यान दिनु पर्ने हुन्छ । यदि साच्चै शंका गरे झै भयो भने यो राम्रो हुने छैन । यसको वारेमा सचेत हुनु आफैमा पूर्व तयारीमा वस्नु सरह हो । यसका वारेमा गजल प्रेमीहरु एक जुट हुनु पर्ने वेला आएको छ ।

साचो कुरो त गजल पाठ्य विधाको रुपमा पनि उतिकै सशसक्त देखिदै आएको छ । तर ती सशस्क वाठ्य तथा वाचन गरिने गजलमा पनि वीचार मात्र छैनन । लयको न्युनतम अनुशासनलाई भने भुलेका छैनन । त्यसैले सफल भएका छन । तर पछिल्लो समयमा आएर गजलले लयविधानको न्युनतम मापदण्डलाई पनि छाड्न खोजेको पाईन्छ । अरु भन्दा पनि पाठ्य वा वचनकलालाई अलि वढी ध्यान दिएको जस्तो आभाष हुन्छ । हालका गजलले शास्त्रीय नियम अर्थात बहरलाई छाडिसकेका छन तर बहरलाई छाडियो भन्दैमा गजलमा भएको गेयत्मबतालाई वा लयअनुशासनलाई नै ध्यान दिनु पर्दैन भन्ने चाँही वुझ्नु हुदैन । गजल वाचन गर्दा होस वा गाउँदा होस त्यसमा एउटा आन्तरिक लय हुन्छ । लयविधान वा लयअनुशासनको एउटा अचुक कडि पनि हो त्यो । त्यसैको आधारमा गजल अगाडि वढेको पाईन्छ तर न्युनतम मान्यतालाई नै छाडेर पूर्ण रुपमा यसलाई पाठ्य वा वाचन विधामै परिणत गर्न खोज्नु चाही गलत हो ।

गजल नेपाली माटोमा भित्रिएको यतिका साल भै सक्दा पनि । गजलमा देखिएका विवाद तथा दुविधाको अन्त्य गर्ने काम हुन सकेको छैन । विवादहरु ज्यूँका त्यूँ छन । अझै पनि हामी अन्योल मै छौ । गजललाई वुझ्ने न वुझाउने । गजलका तत्वहरु र तिनको अनिवार्यताको वारेमा पनि एकमत छैन । बहरको वारेमा उतिकै अन्योल छ । ती अन्योलका अन्त्य गरिनु पर्छ । सामधान हुनु पर्छ भन्ने मान्यता हो ।

हुनत अपेक्षाकृत रुपमा नभए पनि गजलले धेरै ठूलो फड्को मारिसकेको भने पक्कै हो । गजल आज अन्य विधाको तुलनामा एक चर्चित तथा लोकपि्रय विधाको रुपमा स्थापित भैसकेको छ । आज के वुढा के तन्नेरी सवैले यो विधालाई मन पराएका छन । गजलमा आफ्ना मनका भावनाहरु प्ोख्न आतुर देखिदै आएका छन । हुन त गजलमा संख्यात्मक प्रगति मात्र भएको छ । यसमा आलाकाचाहरुको मात्र सहभागिता छ । वढी आकर्षण छ भन्ने गरिन्छ । तर यसमा संख्यात्मक मात्र नभएर गुणात्मक प्रगति पनि प्रसस्त भएका छन । आलाकाचाहरु मात्र नभएर हाल यस विधामा अन्य विधामा स्थापित भैसकेका श्रष्टाहरुको पनि वाहुल्यता रहेको छ । यस विधा तर्फ सवै आकर्षित हुदै छन । यो विधा सवैको आकर्षनको केन्द्र विन्दु वन्दै आएको छ । पछिल्ला समयमा सुन्दर भन्दा सुन्दर गजल कृतिहरु पनि आईरहेका छन र आउने क्रममा छन । यसरी हेर्दा यो विधामा संख्यात्मक मात्र प्रगति भएको छ । यसमा आलाकाचाको मात्र वाहुल्यता छ भन्ने वीचारहरुबाट उन्मुक्ती पाई सकेको छ । त्यसैले गजलको भविष्य उज्जल देख्न सकिने धेरै आधारहरु खडा भैसकेका छन ।

तर दुःखको कुरो के छ भने गजलले यति धेरै प्रगति गरिसक्दा पनि आज सम्म गजललाई एउटा छुट्टै विधाको रुपामा स्वीकार्न कन्जुस्याई भैरहेको छ । हामी गजललाई एउटा छुट्टै विधाको रुपमा चिनाउन चाहान्छौ न कि एउटा उप विधा । आज पनि केही मानिसहरु गजललाई कविताको संज्ञा दिने र त्यही अनुसारको व्यबहार गर्न पनि पछि परिरहेका छैनन । उनीहरुमा पुरातन एवम् अग्रगमन विरोधी सोच हावी देखिदै आएको देखिन्छ । उनीहरु आफ्नो सोचलाई परिवर्तन गर्न चाहिरहेका छैनन । त्यसैले कहि गजललाई कविता र कही गीतकै श्रेणीमा राखिरहेको पाईन्छ । त्यस्तै कतिले छोटो भएकोले मुक्तक वा गाउन सकिने भएकोले गीत भनेर पनि वुझ्ने वा त्यही मुताविक व्यवहार गरिएको पनि पाइन्छ । गाउँदैमा गीत र छोटो हुदैमा मुक्तक हुन्छ भन्ने सोचमा परिवर्तन आउन सकेको छैन । त्यो सोचमा परिवर्तन ल्याउन जरुरी छ ।

हुन त त्यसो हुनुमा हाम्रो पनि ठूलो कमजोरी रहेको छ । हामी हाम्रो रचना प्रकाशन मात्र भए होस भन्ठान्छौ । तर यसको अस्तित्व के छ । यसको प्रभाव कस्तो पर्छ भन्ने कुरामा ध्यान दिदैनौ । अर्थात हामीलाई मात्र हाम्रो रचना छापिदिए पुग्छ । त्यो गीतको नाममा छापियोस या कविताको नाममा । अझ गीत नै भनेर छापिदिइयो भने पनि हामी मख्ख हुन्छौ । मुक्तक नै भनिदिए पनि केही छैन । मेरो रचना छापियो भनेर मख्ख पर्छौ । छाती फुलाऔछौ । तर यो गलत हो । रचना छापिनु नै सवै थोक होइन । एक पटक सोच्नु आवस्यक छ । यदि कसैले हामीलाई अरु नै कसैको नाम लिएर वोलायो भने वा त्यही अनुसार व्यवहार गर्न्र खोज्यो भने कस्तो होला । के त्यो हामीलाई पाच्य हुन्छ के हामी त्यसलाई सहज रुपमा लिन सक्छौ त्यस्तै गजललाई गजल नभनेर कविता वा गीत वा मुक्तक भन्दा कस्तो होला कस्तो लाग्ला के यो न्यायोचित व्यवहार हो त के तपाईलाई यो चित वुज्छ त के यसले गजलको विकाशमा टेवा पुग्छ र यसले गजलको अपमान भएन र अनि गजलको अपमान भए पछि हामी गजलकार भनेर छाती फुलाउनेहरुको चाही के मान भयो र के हामी आफ्नै अपमान भएको मन पराउने ?

हो यसको लागि अव सोच्नु पर्ने वेला आएको छ । यस्ता कुराबाट वच्नु पर्ने वेला आएको छ । यसबाट वच्न के गर्नु पर्ला भन्ने जिज्ञासा आउनु स्वभाविक नै हो । र आउदै गरेका छन पनि । यसको एउटा मात्र उपाय हुन्छ त्यो हो संघर्ष वा तिरस्कार । हामीले त्यस्ता गजलको अस्तीत्व नस्वीकार्ने पत्र पत्रिका वा संचार माध्यमलाई तिरस्कार गर्नु पर्छ । हामी हाम्रा रचनाहरु नदिन पनि सक्नु पर्छ । र जव सम्म गजलको अस्तीत्व श्वीकार गर्दैनन तव सम्म आफ्ना रचना नदिनु नै वेश हुन्छ । वा संघर्ष गर्न सक्नु पर्छ । संघर्ष भन्नाले गजललाई अरु सामु चिनाउने वा यो गजल हो । यो गजल होईन भन्ने हो । गजल र अगजल अर्थात गजल र पजल वीचमा हामीले फरक छुट्याई दिनु पर्छ । वुझाउन सक्नु पर्छ । वुझाउनु हाम्रो पहिलो कर्तव्य पनि हो । गजल गजल नै हो यो न गीत वन्न सक्छ न कविता वा मुक्तक नै भनेर संझाउन सक्नु पर्छ । वुझाउन नसक्नु वा वुझाउनै नखोज्नु भनेको चाही हाम्रो कमजोरी हो ।

हामी कलम चलाउछौ र चलाउदै आएका छौ पनि । तर किन हाम्रो कलम त्यस वारेमा चल्दैन गलत कुराको विरोध गर्न किन डराउने त्यस्ता गल्ती जस्ले सुकै गरोस । ती पत्रिाहरु मधुपर्क या गरिमा जुन सुकै हुन तिनीहरुको कमजोरीको वारेमा लेख्नु पर्यो नि । यहा आएका मधुपर्क वा गरिमा एउटा दृष्टान्त मात्र हुन । आफ्ना रचनाहरु प्रकाशित नगरिदेलान कि भनेर हामी कमजोरीलाई पनि कमजोरी भनेर भन्न डराउ छौ । अर्थात हामी चाकरी चाप्लुसी तर्फ अभिप्रेरित देखिन्छौ ।

अर्को कुरा भनेको हामी हामी विचमा पनि एकता छैन । नेपाली राजनीतिको प्रभाव गजलमा पनि नराम्ररी छिरेको छ । हामी पूर्वमा वस्ने पूर्वेली पश्चिममा वस्ने पश्चिमेली । हामी झापाली झापाली एक हुनु पर्दछ । हामी काठमाण्डौ वस्ने एक हुनु पर्दछ । भनेर गुट उप गुटमा विभाजित छौ । अथवा झापा नै गजलको गढ हो । चितवन गजलको गढ हो । अथवा काठमाण्डौ काठमाण्डौ नै हो भन्ने सोच लिन्छौ । यहा काठमाण्डौ झापाली वा चितवन दृष्टान्तको रुपमा मात्र प्रयोग भएका छन अनि यही अनुसार हामी व्यवहार गर्छौ पनि । नेपाली गजलका हामी पुजारी भएर पनि राजनीतिमा प्रभावित भएर व्यवहार गर्छौ । अनि यसतो कार्यले कहा गजलको विकाश हुन्छ त । यस्तो कार्यले त गजललाई वलियो होईन झन कमजोर वनाउछ । एउटाले उठाएको सही कुरा नै भए पनि हामी विरोध जनाइहाल्छौ । त्यही क्षेत्रीयता र जातीयतामा अडिएर । त्यही अघिल्लो र पछिल्लो पुस्ताको संज्ञा दिएर । क्षेत्रीयता वा पुस्तागत धङ्गधङ्गी हामीबाट कहिलै पनि हराउन सकेको छैन । हामी आफू वसेको स्थानलाई मात्र महत्व दिन्छौ । अर्थात केन्द्रमा वसेकोमा गर्व गर्छौ । त्यहा वसेर रचिएका रचनाहरु अत्कृष्ट हुने र मोफसलमा वसेर रचिएका रचनाहरु कमसल हुन्छन भन्ने हामीमा भ्रम छ । अझ हामी भिडलाई विश्वास गरिरहेका छौ । कतै हामी साहित्यलाई प्रदर्शनीमा राख्ने सामान त ठानिरहेका छैनौ अनि हामी माथि उचाईमा पुगे पछि उधो देख्दैनौ पनि । अर्थात देख्नै चाहादैनौ पनि ।

अनि अर्को कुरा हामी वीच श्रेय कस्ले लिने भन्ने वारेमा लडाई नै हुन्छ । होड नै चल्छ । यदि मैले उस्को कुरामा सहमती जनाएँ भने त उसैले श्रेय लिईजान्छ नि । उस्लाई सवैले चिनिजान्छन नि । म त पछि परि जान्छु नि भन्ने सोचबाट ग्रशित छौ । यही सोचले गर्दा हामी असहयोगी वन्न पुग्छौ । असहमती जनाउन पुग्छौ । सवैलाई थाहा छ यो आवस्यक्ता हो । तर जुँगाको लडाईले गर्दा राम्रै कदमको पनि असहयोग हुन सक्छ । अनामण्डली एवम् पल्लव लगायतका समूह तथा केही व्यक्तीहरुले गजलमा बहर आन्दोलन नै छेडेका छन । कसैले बहरवादी आन्दोलनको नाम दिएका छन भने कसैले परिस्कार वादी आन्दोलन । गजलमा परिस्कार चाहनु भनेको राम्रो कुरा हो । यो आजको आवस्यक्ता पनि हो । नेपाली गजलको चिन्ता हुनु । गजललाई सही बाटोमा लैजान पाए हुन्थ्यो भन्नु । अर्थात गजललाई परिस्कार गरेर अझ सुन्दर पार्न पाए हुन्थ्यो भन्ने सोच आफैमा स्वागत योग्य कुरा हुन । यो सवैमा हुनु पनि पर्छ । त्यस्तै पछिल्लो समयमा आएर बहरले पनि केही स्थान ओगटेको पाईन्छ । । बहरको वारेमा जान्न हतारिएका छन । तर बहरको लेखिएका पाठ्य पुस्तकहरुको अभाव छ । भएका पनि सर्वसुलभ छैनन । बहरको वारेमा जान्न र लेख्नपाउने उनीहरुको अधिकार हो ।

त्यस्तै बहरवादी र बहर विरोधी वीचको टकरवाव पनि देखिन थालेको छ । एउटाले अर्कोको अस्तीत्व माथि प्रश्न चिन्ह उठाईरहेको आभाष हुन थालेको छ । छन्दवादी र छन्दविरोधी वीच वाकयुद्ध भए झै बहरवादी र बहर विरोधी वीच द्वन्द वढ्नु राम्रो होईन । बहरकॊ वारेमा चर्चा परिचर्चा हुनु । त्यसको वारेमा खोजी गर्नु । बहरमा गजल सिर्जना गर्न खोज्नु चाँही राम्रो कुरा हो तर यसरी एक आपसमा लड्नु वा अस्तीत्व माथी नै धावा वोल्नु चाँही गजलको लागि राम्रो संकेत मान्न सकिन्न । यसले गजललाई वलियो नभएर झन कमजोर पो वनाउला कि

यहा अभियानकर्ता भने प्रष्ट छ । उसले कुनै पनि वादको प्रतिनिधित्व गरेको छैन र गर्दैन पनि । मात्र उसले त गजलमा बहरको आवस्यक्ता छ । बहरको प्रयोगले गजललाई विगार्ने होइन अझ सुन्दर वनाउछ । यस तर्फ सोच्नु पर्छ । बहरको वारेमा अध्ययन गर्नु पर्छ भन्ने आसय मात्र लिएको हो । यहा प्रष्ट हुनु जरुरी छ कि यो अवधारणा अर्थात यो अभियान कुनै एउटा वादको मात्र वकालत गर्न भने आएको होइन । कुनै एउटा कुरालाई मात्र प्रश्रय दिन चाहेको पनि होईन । अभियानले सवै कुरालाई स्थान दिन्छ । सवैको प्लेटफम वन्नु पर्छ भन्ने मान्यतालाई नै अंगीकार गरेको छ । तर एउटा कुरा अभियानले कुनै पनि अतिवादलाई भने प्रस्रय दिदैनन । वकालत पनि गर्दैन । बहसको क्रममा धेरै कुराहरु त आउन सक्छन । चर्चा परिचर्चा हुन सक्छन नै । र हुनु पर्छ पनि । सवैलाई आ-आफ्नो वीचार राख्ने स्वतन्त्रता छ । आफूलाई मन परेको वीचार राख्न पाउछन । र राख्दै आएका छन पनि । तर ती वीचारले गजललाई नकारात्मक वाटो तर्फ लैजानु चाही हुन्न भन्ने यो अभियानको आसय मात्र हो ।

त्यस्तै गजलमा आजभोलि अनेकन प्रयोगहरु देखिन चालेका छन । नविनतम प्रयोगले गजललाई सुन्दर वनाउछ । गजललाई व्यापक वनाउछ भन्ने मान्यतालाई गलत भने मान्न सकिदैन । तर प्रयोगको नाममा गजललाई विकृत भने वनाईनु हुन्न भन्ने मात्र अभियानको धारणा हो । गजलमा सुन्दर प्रयोगहरु आवस्यक छन भन्ने पनि अभियानको वुझाई हो । गजललाई पनि गाउँघरमा गाईने लोक गीत सोरठी वालन हाक्पारे जस्तै लोकलयमा ढालेर गाउँनु पर्छ भन्ने आवाज पनि आउन थालेका छन । यो मान्यतालाई गलत मान्न मिल्दैन । जसले गर्दा गजलको प्रवाहमा सवैलाई ल्याउन सकिन्छ । गजललाई व्यापक गर्न सकिन्छ भन्ने वीचारहरु स्वागत योग्य छन । तर नाम मात्रको प्रयोगलाई भने श्वीकार्न सकिदैन । मान्यतालाई नै वदलिएर ल्याईएको प्रयोगलाई भने गजलको मान्यता दिन सकिदैन । र दिनु हुदैन भन्ने पनि आवाज हो ।

नेपाली गजल आजको यो अवस्थामा आई पुग्नमा तमाम गजल प्रेमीहरुको ठूलो योगदान रहेको छ । हाम्रा अग्रजहरुको अथक प्रयासले नेपाली गजल आजको यो अवस्थामा आइपुगेको हो । यस क्रममा गजलले थुप्रै आरोह अवरोहहरु झेल्नु पर्यो । थुप्रै चुनौतीहरुको सामना गर्नु पर्यो । अग्रजहरुले ती चुनौतीहरुको डटेर सामना गरे र गजललाई आजको यो अवस्था सम्म ल्याई दिएका छन । उनीहरुले वचाएको यो विधालाई हामीले पनि वचाउन सक्नु पर्छ । हामीले पनि होष्टेमा हँैसे लगाउनु पर्छ । र लगाइरहेका छौ पनि । त्यसैले त आज गजल गजल भनेर चिनिन सफल भएको छ । गजल गजलको रुपमा स्थापित हुन सफल भएको छ । यस्ले आज आफ्नो छुट्टै आकाशको निर्माण गरिसकेको छ । हुनत अझै पनि गजललाई मननपराउने हरुले यसको विरोधमा आफ्ना अभिमतहरु निमार्ण गरिरहेका छन । यो भेल हो । आउछ जान्छ । यो किर्ने झार जस्तै हो । मौलाउछ चाँडै ओईलाएर जान्छ भनिरहेका छन । तर हामीले वुझेका छौ गजल एउटा भेल मात्र होईन । यो कुनै कमजोर किर्ने झार जस्तै मात्र होइन र हुने वाला पनि छैन पनि । गजल एक सशक्त विधा हो । गजल सफल एवम् वयस्क विधा पनि हो । यसले अन्य विधाका हजारौ पानामा लेखिएको ग्रन्थ या महाग्रनथले पनि उठाउन नसकेका वा वर्णन गर्न नसकेका विषय वस्तुहरुलाई पनि सरल र सशक्त रुपमा उठाउदै आएको छ । यो विधा विचार र विषय वस्तुका दृष्टिले पनि उतिकै सशक्त छ । उतिकै सवल हुदै आएको कुराकॊ प्रमाणित हुदै आएको छ । र भै रहेका छन पनि । त्यसैले पनि उनीहरुका ती गजल प्रतिका वीचार वा धारणा गलत सावित भैसकेका छन ।

आज कहि अस्तित्वको लागि लड्नु पर्ने वेला आएको छ भने कहि सुद्धीकरणको लागि । तर यो हाम्रो आन्दोलन प्रेमपूर्ण हुने छ । आफ्नो अस्तित्वको लागि अरुको अस्तित्वलाई संकटमा पार्ने तरिकाले होईन । यो आन्दोलन सह अस्तित्व र सहयोगको भावले अग्रसर हुनु पर्छ । त्यसको लागि हामीले वोलेर भन्दा पनि सिर्जनामा ध्यान दिनु पर्ने हुन्छ । संख्यात्मकता भन्दा पनि गुणात्मकता तिर अग्सर भएमा नै गजलको अस्तित्व नस्विकार्नेहरु र गजललाई फाल्तु विधाको संज्ञा दिनेहरुका ती धारणाहरु आफ्से आफ हटेर जाने छन । गलत सावित भएर जाने छन । र उनीहरुले पनि यो विधाको अस्तित्वलाई स्वीकार्ने छन ।

आज गजलमा त्यस्ता थुप्रै दुविधाहरु रहदै आएको कुरामा कुनै दुई मत छैन । प्रयोगका नाममा होस या अन्य नाममा होस गजललाई क्लिष्ट एवम जटिल वनाइने कार्यको अन्त्य हुनु पर्छ । गजलमा देखिएका विवाद वा दुविधालाई सवैजना वसेर छलफल गर्नु पर्ने वेला आएको छ । सार्वजनिक बहस चलाउनु पर्ने वेला आएको छ । आज यिनै यावत कुरालाई ध्यामा राख्दै यो अभियानको संचालन गरिएको हो । यीनै माथिका उदेश्य पुर्तीका खातिर यो सार्वजनिक बहस आउनु परेको हो । त्यसैले आउनुहोस हामी एक जुट भएर नेपाली गजल संवन्धी यो माहान यात्रामा अघि वढौ । गजल संवन्धी अनलाइन अर्थात इन्टरनेट बहसमा सहभागी वनौ । बहसमा भाग लिऔ । यो अनलाईन गजल संवन्धी बहस संवन्धी अभियानको प्रष्ट अवधारणा पत्र रहेको छ । बहसको अवधारणाको उद्देश्यको वारेमा तल उल्लेख गरिएको छ ।

यो बहसको उद्देश्य भनेको निम्न लिखित रहने छ

१ यो सार्वजनिक बहसको मुख्य उद्देस्य भनेको नेपाली गजलको प्रचार प्रसार गर्नु । नयाँ तथा सिकारु गजलकारका लागि गजलको सिद्धान्त र संरचनाको वारेमा जानाकारी गराउनुका साथै गजललाई शिष्ट तथा मर्यादित वनाउन एउटा अभियान संचालन गर्नु पनि हो ।

२ नेपाली गजल स्थापना कालको यती लामो समय वितिसक्दा पनि यसमा थुप्रै दुविधाहरु विध्यमान छन । जस्को कारणले गजलको स्तर वृिद्ध हुन सकेको छैन । यो बहसले ती तमाम दुविधाहरुको खोजी गरी तिनीहरुको निराकरणको वाटो पहिल्याउन प्रयाश गर्ने छ ।

३ गजल संवन्धी प्रचार प्रसार गरी सकारात्मक धारणाको विकाश गरिने छ । बहसको क्रममा आएका तमाम जिज्ञासाहरुलाई गजलका विज्ञ सामु प्रस्तुत गरिने छ र यसक्रममा आउने र आउन सक्ने विवादित कुराहरुलाई सामूहिक रुपमा बिज्ञहरुसंगै छलफल गरी त्यसको निचोड निकाल्न प्रयास गरिने छ । साथै उहाहरुवाट प्राप्त वीचार वा सामधानहरुलाई अनलाईन बहसको आफ्नै व्लगका साथ साथै अन्य अनलाइन पत्रिकामा राखिने छ ।

४ यस बहसले नेपाली गजलमा कलम चलाउने वा गजललाई माया गर्नेहरुका वीचमा एउटा पुलको काम गर्ने छ । गजललाई माया गर्नेहरुलाई एउटा पारिवारिक संवन्ध वनाउनमा सहयोग पुर्याउने छ । नेपालमा मात्र नभएर नेपाल वाहिर छरिएर रहेका नेपाली गजलकारलाई एउटै सुत्रमा वाध्नका लागि एउटा अभिभावक संस्था राष्टिय गजल प्रतिष्ठानको निर्माणमा जोड दिने छ । त्यस्का लागि आदरणीय अग्रज गजलकारसंग वसेर छनफल गरी निचोडमा पुग्ने यस्को लक्ष रहेकॊ छ । जुन प्रतिष्ठानले देश विदेशमा छरिएर रहेका तमाम गजलकारलाई एउटै मालामा उनी सवैलाई गजल विरुद्ध हुने आक्रमणमा एक जुट भई डटेर सामना गर्न अभिप्रेरित गर्ने छ ।

५ यस अभियानको मुख्य उद्देस्य भनेको नेपाली गजलको उत्थान तथा संवर्धन नै हो । यसमा गजल संवन्धी सहभागीकै धारणा स्थापित गरी ती धारणालाई सवै सामु पुर्याउनु पनि हो । अनलाइन अर्थात इन्टरनेटकॊ माध्यमबाट गजल प्रेमीका धारणा साटासाट गराउनु तथा ती वीचारहरु सवै सामु पुर्याउनमा यो अभियान लागि पर्ने छ ।

६ बहसमा पूराना तथा स्थापित गजलकारहलाई स्वागत गर्ने तथा उहाहरुको योगदानको उच्च मुल्याङ्कन गर्दै नयाँ गजलकार तथा सिकारुहरुका लागि चाहिने सैद्धान्तिक खुराक पनि उपव्ध गराइने छ । साथै उनीहरुलाई नेपाली गजल तर्फ अभिप्रेरित गरिने छ ।

७ नेपाली गजल संवन्धी बहस संचालन गर्दै आएका संघ संस्था व्यक्ती तथा पत्र पत्रिकाहरु वीच सहकार्य गरिने छ । र सह- अस्तित्वको भावनाका साथ अगाडि वढाईनॆ छ ।

८ अन्त्यमा स्थानीय क्षेत्रीय तथा राष्टिय स्तरमा गजल संवन्धी खुल्ला बहसको आयोजना गर्ने । यसरी खुल्ला रुपमा बहसको आयोजना गर्दा त्यस क्षेत्रमा स्थापना भएका गजल संग संवन्धी विभिन्न संघ संस्थाहरु संग सहकार्य गरिनेछ ।

९ अन्त्यमा यही अभियान संवन्धी सवैको धारणा समिटिएर एउटा छुट्टै बहस संवन्धी पुस्तक तयार गरिने छ ।

बहसमा भाग लिने प्रावधानहरु यस प्रकार रहेका छन

क बहसमा सवै गजल प्रेमीहरुले भाग लिन पाउने छन । त्यसको लागि नेटको सुविधा भने हुनु पर्ने छ । आफू संग नेटको सुविधा नभएका महानु भावहरुको खण्डमा भने यो सुविधा प्राप्त हुने छैन । तर उनीहरुले नेटको सुविधा भएको ठाउँमा गएर पनि बहसमा भाग लिन सक्ने छन ।

ख हुन त बहसको उद्देस्य भनेको बहसकै क्रममा उव्जीएका जिज्ञासा हरुको आधारमा यसलाई अगाडि वढाइनु हो तर सहभागी पाठकको सुविधालाई ध्यानमा राखेर बहसका आएका र आउन सक्ने सवालहरु एक मुष्ट रुपमा पनि उपलव्ध गराइने छ । तर यो सुविधा सवैलाई प्राप्त हुने छैन । यो सुविधा नेटको सुविधा नभएका तर बहसमा भाग लिन चाहाने महानुभावले मात्र पाउने छन । त्यसको लागि भने त्यस्ता सहभागीले आफ्नो इमेल ठेगाना उपलव्ध गराउनु पर्ने छ ।

ग सहभागीबाट प्राप्त हुने सवै खाले जानकारी पत्रहरु जिज्ञासा एवम् वीचारहरु बहसको क्रममा प्रयोग गरिन सकिने हुनाले सहभागीहरुलाई नकारात्मक एवम् व्यक्तीगत आक्षेप लाग्ने खाल्का सामाग्रीहरु नपठाउन अनुरोध गरिन्छ । त्यस्ता वीचार वा लेखहरु बहसमा सामेल गरिने छैन ।

घ यो बहसलाई क्रमैसग वुँदागत रुपमा अगाडि वढाइने छ । बहसका क्रममा आएका जिज्ञासा र जिज्ञासाका क्रममा उव्जिएका विषय वस्तुहरु पनि बहसका वुँदा वन्न सक्ने छन । साथै वीचार माथीको वीचारलाई पनि यस अभियानले मान्यता दिने छ । एउटा सहभागीले राखेको वीचार माथि पनि अर्को सहभागीले आफ्नो मत जायर गर्न पाउने छन । आफ्नो सहमती तथा विमती जनाउन पाउने छन । सहभागीहरुवाट आएका तथा कसैले उठाएका र उठाउदै गरेका गजल संवन्धी वीषय वस्तुलाई पनि बहसको विषय वस्तु वनाईने हुनाले आफ्ना अमुल्य वीचार पठाउन नभुल्नु होला ।

ङ त्यसरी बहसका क्रममा आएका वुँदाहरुलाई पनि क्रमै संग पस्किईने छ । प्रत्येक वुँदामा बहस चलाए पछि । बहसमा आएका वीचार वा धारणामा आधारित रहदै विज्ञहरुको सहयोगमा एउटा एउटा वुादाहरुमा ड्राफ्ट तयार गरिने छन र पछि सवैलाई मिलाएर एउटत मूल ड्राफ्ट तयार गरिने छ । र त्यसरी वनेका ड्राफ्टहरु अनलाइनमा राखिनुका साथै विभन्न विद्धुतीय तथा छापाका माध्यमबाट प्रकाशन गरिने छन । सहभागीहरुलाई ती ड्राफ्टहरु कपी गरेर लिन सक्ने व्यवस्था पनि मिलाइने छ ।

यो अभियान हाल सम्म साहित्यघर डट कम नेपाली गजल डट कम नेपाली गजल वर्डप्रेस डट कम सिर्जना डट कम गजल ग्रुप नेपाली व्लगर ग्रुप नेपाली फेसवुक ग्रुप वुलवुल अनलाईन डट कम नेपाल अरव डट कम मझेरी डट कम दोवाटो डट कम भोजपुरे व्लग डट कम लगायतका दर्जनौ अनलाईन पत्रिका तथा व्लगहरु मार्फत संचालित भएको छ । साथै सय भन्दा वढी पत्र पत्रिकामा तथा विद्धुतीय माध्यममा पनि यो अभियानमा सहकार्यको लागि काम भैरहेको छ ।

बहसमा भाग लिन चाहने संपूर्ण गजल प्रेमीहरुले आफ्नो विचार सोझै लेखक वा अभियान कर्ताको इमेल ठेगाना [email protected] वा [email protected] मा पठाउन सक्न सक्ने छन । इमेल गर्दा युनिकोर्डमा नलगी पि्रति फन्टमा लेखेर फाईल एटेच गरेर पठाउन अनुरोध गरिन्छ । तर वेभ साईटमा भने युनीकोडमा परिवर्तन गरेर मात्र पठाउनु पर्ने छ । साथै बहस संवन्धी जानाकारी वा बहसका वुँदाहरु विभिन्न साहित्यिक अनलाईन पत्रिकामा राखिने छ । त्यस्तै फेसवुकमा रहनु हुने महानुभावले सवै जानाकारी फेसवुक मार्फत पनि पाउनु हुने छ ।

॥ इति ॥

नोटः यो अभियानलाई कसरी अघि वढाउदा राम्रो हुन्छ । यो अवधारणा पत्र कस्तो छ । यसमा अझ थप्न सकिन्छ कि केही छुटेका भए पनि उल्लेख गरिदिनु होला । तपाईहरुबाट आएका सकारात्मक सुझावहरुको म संधै संम्मान गर्ने छु । तपाईको एउटा सही सुझावले यो अभियानलाई अगि वढाउन मलाई सहयो मिल्ने छ भन्ने आसा लिएको छु । आफ्को वीचार भने राख्न नभुल्नु होला है ।
अभियान कर्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *