नेपाल जातीय-सांस्कृतिक विविधता र बहुलताको मुलुक हो। नेपालको विविधताको यो चित्र आगन्तुक र अल्पसङ्ख्यकहरूबाट तयार भएको छ। विभिन्न ठाउँबाट बसाइँ सर्दै आएका समुदायले यस भू-भागमा आ-आफ्नै किसिमका सभ्यता र संस्कृति हुर्काए; शासन प्रशासनका रूपरेखा कोरे; राज्य बनाए वा अर्काको राज्यमा ठाउँ खोजे, मिसिए र बसे। राज्य भएपछि सेना, सेना भएपछि बल, बल भएपछि युद्ध हुने त्यस समयमा हारजित पनि भए नै। राज्यहरू एकअर्कामा गाभिन्थे। त्यस्तै क्रममा ठूलो र सम्पन्न राज्य बनाउने प्रबल चाहना भएका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारको अभियान थाले। जिते, त्यसैले उनको अभियानले राष्ट्रिय एकीकरणको नाम पायो। उनले नजितेका भए के हुन्थ्यो? यो एकदमै अनुमानगम्य प्रश्न हो― शायद अर्को कसैले नेपाल एकीकरण गर्ने थियो, वा यो भूखण्ड नेपाल का रूपमा जन्मिनुअगावै अर्कै कुनै नाम वा मुलुकको मानचित्रमा समाहित हुनेथियो।
नेपालको एकीकरणको अभियान करिब ५० वर्ष लामो थियो। नेपालीपन निर्माण अभियान भने पूरा भएको छैन। नेपाल भौतिक सिमाना भएको निकाय हो भने नेपालीपन बृहत्तर नेपाली जातीयतालाई जनाउने अमूर्त अवधारणा हो। विशेष परिस्थितिमा बाहेक नेपाल (को सिमाना) अपरिवर्तनीय हुन्छ, तर नेपालीपन गतिशील र परिवर्तनशील। गएको पचास वर्षमा पनि टुङ्गो नलागेको सुस्ताको सानो भूखण्डको मुद्दा देशको अपरिवर्तनीयताको एउटा उदाहरण हो भने, १० वर्षयता जन्मे-हुर्केको गैरआवासीय नेपाली (एनआरएन) नेपालीपनको गतिशील स्वरूपको पछिल्लो नमुना हो।
अल्पसङ्ख्यकहरूको सम्मिश्रण
संसारका कतिपय देशमा एउटा जाति वा सभ्यताको वर्चस्व हुन्छ। तर नेपाल ऐतिहासिककालदेखि नै अल्पसङ्ख्यकहरूको मुलुक हो। अहिले, शिक्षा र सञ्चारको यतिको विकास भएको अवस्थामा समेत मातृभाषाका रूपमा नेपाली बोल्नेहरूको जनसङ्ख्या ४८ प्रतिशत मात्र छ। नेपाल एकीकरणका बेला यो अल्पसङ्ख्यकता अझ् बलियो थियो।
अल्पसङ्ख्यकताको राम्रो पक्ष सहिष्णुता र सहअस्तित्व हो। बाठाले लाटालाई, बलियाले निर्धालाई र ठूलाले सानालाई गर्ने थिचोमिचोबाट नेपाली समाज पनि पीडित थियो, तर यहाँ कहिल्यै पनि सङ्गठित जातीय थिचोमिचो र हुलदङ्गा भएन। सबैजसो परम्परागत मान्यताहरूमा प्रश्न उठेको र सशस्त्र द्वन्द्वको चपेटामा परेका बेला पनि नेपाल जातीय कलहमा फँसेन। नेपालीपन यही अल्पसङ्ख्यकताको सम्मिश्रण हो र नेपालीहरू जहाँ गए पनि यसैका आधारमा नेपालीपनका कित्ताहरू तयार हुने गरेका छन्।
नेपाली जनताले राष्ट्र निर्माताका सन्तानलाई नै विना प्रतिरोध गद्दीबाट ‘रालेको घटना नेपालको मात्र होइन, विश्वकै समसामयिक राजनीतिक परिदृश्यमा देखिएका सबैभन्दा टड्कारा, परम्परामा प्रश्नचिह्न लगाइएका घटनाहरू मध्येको एउटा हो। गएको केही समयमा हामीले धर्म, संस्कृति, परम्परा, रीतिरिवाज मात्र होइन, देशको एकीकरणको अभियानमा समेत प्रश्न उठाएका छौँ, र अधिकांश पुराना मान्यतालाई अस्वीकार गरिसकेका छौँ। नेपालीले आफ्नो पहिचानकै प्रतीकका रूपमा स्थापित चन्द्र-सूर्याङ्कित राष्ट्रिय झ्ण्डामा समेत विवाद उठेको अहिलेको समयमा विवाददेखि मुक्त दुई वटा कुरा मात्र देखिएका छन् वर्तमान नेपालको नक्सा (पृथ्वीनारायण र उनका सन्तानहरूको देन भए पनि) च्यात्न कसैले चाहेको छैन। र, जस्तोसुकै हेपाइँमा परेको समुदायका सदस्यले पनि आफूलाई नेपाली होइन भनेको छैन।
सोझ्ो रूपमा स्वीकार गरिएको नेपालीपन हानिरहित हुनसक्ला तर फाइदाजनक पनि हुन सक्दैन। त्यसैले अब नेपालीपनलाई सक्रियतापूर्वक नै बलियो बनाउनुपर्छ। त्यसको पहिलो पूर्वाधार हो, नेपालभित्रका कुनै पनि नेपालीले आफूलाई दोस्रो दर्जाको नेपाली ठान्नुपर्ने परिस्थितिलाई सचेत रूपले अन्त्य गर्ने। फराकिलो नेपालीपनको दोस्रो आधार हो, नेपाल बाहिरका नेपालीलाई उनीहरूको नेपालसितको सम्बन्धको सम्भावना र सीमा बुझ्ाउनुपर्छ। अनि मात्र नेपालले नेपालीपनलाई र नेपालीपनले नेपाललाई बलियो बनाउने अभियान अघि बढ्छ।
नेपालीपन अमूर्त मात्र नभएर, अनौपचारिक र असङ्गठित अवधारणा पनि हो। अमूर्त रहँदारहँदै पनि दश वर्ष यता नेपालीपनकै आयामहरू सम्भवतः इतिहासमै सबैभन्दा द्रूत गतिमा विकसित भएका छन्। त्यसैले नेपालीपनको परिभाषा हामी आफैँले, खोज्नुपर्ने भएको छ।
पहाडे नेपालीपन
नेपालको पहाडी क्षेत्रमा शताब्दीयौँ अघिदेखि चलेको, खासगरी पश्चिमबाट पूर्व बसाइँ सर्ने मेहरोमा खस र मध्यपहाडी क्षेत्रका जनजातिका बीचमा व्यापक अन्तरक्रिया र अन्तरसम्बन्ध शुरु भयो, जसलाई उनीहरूबीचका धार्मिक वा सांस्कृतिक भिन्नताहरूले रोक्न सकेनन्। बरु धर्म र संस्कृति नै समाजअनुरुप ढल्दै गए। मनुस्मृतिका अनुयायी र जनजाति समूहका बीचमा हुने वैवाहिक सम्बन्धबाट जन्मेका सन्तानको सामाजिक सांस्कृतिक अवस्था के हुने भन्ने बारेमा निर्णय लिन राज्य र धर्माधिकारीहरू बाध्य भए। जातिभेद प्रबल रहेको त्यो अवस्थामा पनि त्यसका सीमाहरू भत्काउँदै मितेरी सम्बन्धहरू विकास भए। इतिहासकार बाबुराम आचार्यले बाहुन/छेत्रीहरूलाई उदार बनाएको जस जनजातिहरूलाई दिएका छन्। अन्तरक्रियाका क्रममा बाहुन/क्षेत्रीबाट पनि राम्रा नराम्रा दुवै कुरा जनजातिले सिके। फलस्वरूप समाजमा साक्षरताको प्रसार भयो। छुवाछूत जस्ता विकृति जनजातिहरूमा पनि छिरे।
यसै क्रममा जनजातिहरूले हिन्दूधर्मका मत्वहरू आत्मसात् गर्दै गए भने वेदवेदादिमा उल्लेखै नभएका देवदेवी र चाडबाडहरू थपिँदै हिन्दूधर्मको नेपाली संस्करण तयार भयो। फलतः सनातनी हिन्दू चाडपर्वमा शास्त्रीय हिन्दूहरूले जान्दै नजानेका रीतिरिवाज र परम्परा थपिएर नेपाली चाडपर्वका रूपमा स्थापित भए। शास्त्रीय पर्व यमपञ्चकमा देउसी खेल्न नेपालीहरूलाई कर्णालीतिरका बलिराजले अह्राए। समाजमा वनक्राँक्री छिरे, बिजुवा आए, महारानी थपिए। न त ढ्याङ्ग्रो बजाएर झ्ारफुक गर्दा कुनै बाहुनले मतवाली संस्कारमा गएको हीनता अनुभव गर्यो, न त बाहुनलाई बोलाएर ग्रहशान्ति गराउँदा कुनै जनजातिले जातीय आधिपत्यको कुरा सोच्यो। नेपाली जनजीवनमा यसरी सिर्जना भएका परम्पराका सुन्दर उदाहरणहरू धेरै छन्। पत्रकार तीर्थ कोइराला लेख्छन्, “जनजातिले लगाउने गरेका चामलका सादा टीकामा बाहुन-क्षेत्रीले गङ्गाको मैदानबाट ल्याएको रङ थपिदिए।”
तराईप्रतिको अर्घेलो
तर यो सामाजिक अन्तरक्रियामा तराई भने अलग्गै रह्यो। नेपाल एक भयो तर सबै नेपालीलाई एक बनाउने अभियान चल्न सकेन। सबै कुराको निर्णय लिने काठमाडौँले जानेर वा नजानेर खस र मध्यपहाडका जनजातिको मिश्रणलाई मूलधारका नेपाली मान्न थाल्यो। तराई-मधेशका नेपालीलाई मौका परेसम्म भारतीय मूलका नेपाली ठान्नमा सुविधा मान्यो। तराईका काठ बेचिए, जमिन बिर्ता बाँडिए। तराईमा सिकार खेलेर शासकहरूले अहङ्कारको तुष्टि लिए, तर नेपालीपनको कोलाजमा तराईको अनुहार मिसाउने काम भएन। सीमापारको भारतीय भूभागसित मिल्दो रूपाकृति, भाषा र भेषभूषाका कारण तराईलाई नेपालको सीमाभित्र परेको भारत का रूपमा हेरियो। अलिपछि विकास भएको भारतको विरोध गरेर नेपाली राष्ट्रियता चम्काउने मानसिकताको साँघुरो विवेकले देशी (भारतीय) र मधेशी का बीचको अन्तर छुट्याउन जानेन पनि, सिकाएन पनि। फलतः तराई-मधेश आफ्नै देशमा शरणार्थीका रूपमा खुम्चिन बाध्य भयो।
यो अर्घेल्याइँमा तथाकथित मूलधारका नेपाली (पहाडे)हरू मात्र नभएर नेपाललाई बुद्धि र सम्पन्नताको मन्त्र सिकाउने विदेशीहरू पनि जिम्मेवार छन्। विदेशीका क्यामेरा र कलमबाट निस्किएका उच्च हिमाली शृङ्खलाका रोमाञ्चकताहरूले मधेशको सादापनलाई थिचिदिए। विदेशीको सिको गरेर कुमारीलाई जीवित देवी भन्न थाल्ने मानसिकताले क्रमशः नेपाललाई पनि पर्यटकहरूकै भाषामा उच्च पहाड र हिमशृङ्खलाहरूको मुलुक मान्न थाल्यो। सरकारी कार्यालयहरूमा हाकिमका रूपमा दौरा-सुरुवाल-कोट-टोपीमा सजिएको पहाडे नेपालीपनका सामु धोती र कछाडलाई हीनताबोध हुनु स्वाभाविक थियो।
पृथ्वीनारायण शाहभन्दा अघिदेखि यस भूभागमा बसेका पुर्खाका सन्ततिहरूलाई समेत नेपाली नागरिकताका लोभी बिहारी का रूपमा शङ्का र केरकार गरिन थालेपछि तयार भएको आत्महीनता र आक्रोशको लेपले तराईको अनुहारको कान्ति खोस्यो। फलतः तराईका बासिन्दाले आफूलाई मन फुकाएर नेपाली दाबी गर्न सकेनन्। केही वर्षअघि कपिलवस्तुको मर्चवार क्षेत्रमा एउटा नामी गैरसरकारी संस्थाले चलाएको कार्यक्रमको भ्रमणका क्रममा यस पङ्क्तिकारलाई गाउँलेले भनेका थिए, “यहाँको मोटिभेटर नेपाली हुनुहुन्छ।” उनीहरूले स्थानीय कर्मचारीहरूलाई भने लोकल भन्ने नाम दिएका थिए।
हिमालहरूका कारण र इण्डिया फ्याक्टरसित टाढा रहेका कारण होला मुस्ताङ र डोल्पा नेपालको सीमाभित्र परेको तिब्बतका नागरिकलाई बरु सजिलै नेपाली मानियो। तराईका नागरिकलाई आफू जस्तै सर्वाधिकारसम्पन्न नेपाली मनाउन चाहिँ ठूलै आन्दोलनको खाँचो पर्यो।
पहाडे नेपालीपनको अर्को सिर्जना मुगलानमा भयो। समयक्रममा मधेश-पहाड दुवैतिरबाट नेपालीहरूको बसाइँसराइ चल्यो। चिया रोप्न दार्जीलिङ जाने, जङ्गल फाँड्न आसाम जाने, ब्रिटिस इण्डियाका सैनिक हुने सबै त्यही खस-जनजाति मिश्रणका पहाडेहरू थिए। उनीहरू भारतीय समाजमा मिसिन सकेनन्, बरु पानीमा परेको तेलको तुर्को जस्तो छुट्टै, आफ्नै समुदाय बनाएर बस्न थाले। उनीहरूले पुर्ख्यौली जातका कुरालाई गौण राखेर गोर्खाली वा नेपालीका रूपमा पहिचान बनाए। खासगरी भारत, भुटान, बर्मामा नेपाली को नाममा पहाडे नेपालीहरू मात्र पाइनुको कारण यही हो।
सप्तरी भारदहका उदितनारायण झ्ा तराईबाट भारत गएर नेपालीपन कायम राख्दै प्रगति गर्ने थोरै नेपालीमध्येका हुन्। उनले बम्बईको फिल्म उद्योगमा हासिल गरेको सफलता नाम र समयावधिका हिसाबले कुनै नेपालीले भारतमा हासिल गरेको सबभन्दा ठूलो सफलता हो। तर नागरिकता र देशप्रतिको निष्ठा जस्ता विषयमा नेपालका सञ्चारमाध्यमहरूले उदितनारायणलाई पटकपटक खेदो गरेका छन्। तर त्यही उद्योगमा रहेका विनोद प्रधान, लुई ब्याङ्क्स, रञ्जित गजमेर जस्ता कलाकर्मीहरूको कुनै व्यवहार र भनाइ कहिल्यै पनि समाचार बन्दैन। मनीषा कोइरालाका नेपालप्रतिको निष्ठामा प्रश्नचिह्न लगाइँदैन।
तराईको भाषा, भेषभूषा, रङ, आचार-व्यवहारलाई व्यक्त-अव्यक्त ढङ्गले दोस्रो दर्जाको ठान्ने प्रवृत्ति भने पहाडमा, कतिपय पढेलेखेका र शिक्षित भनाउँदा समूहहरूमा समेत छ। पहाडे नेपालीपनको कसीमा अरूको नेपालीपनको स्तर निर्धारण गर्ने यो प्रवृत्ति नै समग्र नेपालीपनको बाटोको खाडल बनेको छ।
सभ्यताको नारायणीकरण
यो नेपालीहरूलाई जोड्ने तत्व र प्रतीकहरूको खोजी गर्ने समय हो। नेपाल र नारायणी नदीमा एउटा ठूलो समानता छ र त्यो नै नेपालीपनको सबभन्दा बलियो सूत्र हो। सप्तगण्डकीका रूपमा गनिने नदीहरूको नामकरण अनौठोसित भएको छ। ती नदीहरू एक्लाएक्लै बगुन्जेल मिसिन आउने नदीहरूको नामलाई एउटाको नामले थिचेको छ। तिब्बतबाट आउने भोटेकोशी र लाङटाङ हिमालबाट आउने लाङटाङ खोलाको नाम तिनीहरूभन्दा सानो त्रिशूलीले खाइदिन्छ। उपल्लो गोरखाबाट बगेर आउने बूढीगण्डकी, मनाङको मर्स्याङ्दी, कास्कीको सेती- सबै त्रिशूली भएर बग्छन्। देवघाटमा कालीगण्डकीसित मिसिनेबित्तिकै नयाँ नाम पाउँछ, नारायणी।
नेपाली पनि नारायणी जस्तै हो, जो कुनै समूह वा समुदाय-विशेषको नाम होइन तर सबै मिसिएपछि तयार हुन्छ। सप्तगण्डकीमध्ये कुनै पनि एक्लैमा नारायणी होइनन्, तर ती सबैको जलले मात्र नारायणी तयार हुन्छ। भाषाशास्त्री प्रोफेसर योगेन्द्र यादवको विचारमा नेपालीपन एउटा यस्तो धारणा हो जसले व्यक्तिलाई निजी वा सामुदायिकताको घेराबाट माथि उठाउँछ। उहाँको जाति वा समुदायबाट कोही पनि गोर्खा पल्टनमा जाँदैनन्। त्यस हिसाबले गोर्खालीहरूसित उहाँको कुनै सरोकार नहुनुपर्ने हो। “तर गोर्खाली भन्नेबित्तिकै मभित्र आफ्नोपनको भावना आउँछ, त्यही हो नेपालीपन”, प्रोफेसर यादव भन्नुहुन्छ।
प्रोफेसर यादवले लाखौँ नेपालीहरूको भावनालाई शब्द दिनुभएको छ। किनभने हामी बौद्ध नभइकन पनि बुद्धलाई आफ्नो ठान्छौँ। मिथिला कलाले सिँगारिएको ठाउँ मन पराउँछौं। नेपाली क्रिकेट टोलीले जितोस् भन्ने कामना गर्न टीममा कहाँ कहाँका को-को खेलाडी छन् भन्ने कुरा थाहा पाइराख्न पर्दैन। जानकी जनकपुरकी मात्र चेली होइनन्, नारायणगोपाल वा बच्चुकैलाशको जात-थरको कसैलाई मतलब छैन। यस्ता साझ्ा मैदान हजारौँ छन् जहाँ हाम्रा साझ्ा विचार र भावनाहरू मिलेका छन्।
नेपालीपनका शर्त
नेपालीपन भनेको हाम्रो साझ्ा स्वार्थ हो जसको मूल आधार दक्षिणएसियामा, भारत र चीनका बीचमा च्यापिएर रहेको नेपाल भन्ने भूखण्ड हो। नेपाललाई आफ्नो मातृभूमि, पितृभूमि वा कर्मभूमि ठान्नु नेपालीपनको पहिलो शर्त हो। आफू नेपाली नागरिक भए पनि वा नभए पनि; नेपालीले नेपाललाई कुनै न कुनै किसिमले माया गर्छ।
नेपालको प्रतिष्ठासित आफ्नो प्रतिष्ठा जोडेर सकभर यसको भलाइका लागि वा आफूलाई नेपाली भन्ने समूह र समुदायको लागि काम गर्नु नेपालीपनको दोस्रो शर्त हो। डा. उपेन्द्र महतो भन्छन्, “नेपाल समृद्ध हुनु मेरो स्वार्थ हो किनभने नेपाल समृद्ध नहुञ्जेलसम्म मैले कमाएको पैसाले मलाई संसारमा कहीँ पनि पूर्ण प्रतिष्ठा दिन सक्दैन (हे. लेख)।” नेपाल बलियो नभएकैले नेपालीले अरब-मलेसियामा कम ज्याला पाएका हुन्, नेपाली राहदानीवाहकले विदेशका अध्यागमन कार्यालयहरूमा बढी केरकार खप्नु परेको हो र नेपालमा राजनीतिक परिपक्वता नभएकैले भुटानका नेपालीभाषीहरूले बीचको भारत छिचोलेर नेपालमै शरणार्थी हुनु परेको हो।
पारस्परिक आदर नेपालीपनको तेस्रो शर्त हो। आफूलाई नेपाली ठान्ने वा दाबी गर्ने कुनै पनि व्यक्तिको नेपालीपनमा शङ्का गर्ने नैतिक अधिकार कसैलाई पनि छैन। हामी नेपालीका रूपमा संसारमा दह्रो हुन चाहन्छौँ भने अर्को नेपालीको रीतिरिवाज, खानपान, कला-साहित्य, भेषभूषालाई आदर गर्न सिक्नै पर्छ।
यहाँ कवि धीरेन्द्र प्रेमर्षिका केही पङ्क्ति स्मरणीय छन्, जसले पारस्परिकताको स्वरलाई मुखर गरेको छः
तिम्रो मनको खोपीमा नि मेरो गुच्चा पिल्नुपर्छ
अनि पो त भन्न पाइयो साथी-साथी मिल्नुपर्छ।
डाँडाभरि लालीगुराँस फक्रिएर मात्र हुन्न
मैदानको पर्तीमाझ् चम्पा पनि खिल्नुपर्छ।
शान्तिरूपी अमृत पाउन समुद्र यो मथिँदै छ
केहीले त यो यज्ञमा विषै पनि निल्नुपर्छ।
हिमाल खबरपत्रिका पूर्णांक २६२
