कुनैबेला मिथिलाको राजधानी वरिपरि घुमिने अन्तरगृह परिक्रमा फर्किसकेको छैन। रङ अबिरले राम-जानकीको डोला मन्दिर फर्केपछि मात्र जताततै राताम्य देखिने छ। तर होलीको उमङ्गले भने शहरलाई छोइसकेको अनुभव गर्न गाह्रो छैन।
त्साहित छ अहिले मिथिलाको राजधानी। नेपाल सङ्घीयतामा जाने कुरा सुनिश्चित भइसकेपछि चाहे एक मधेश, एक प्रदेश होस् वा मिथिला, भोजपुरा, अवध, थरुहट बहुप्रदेश; कमसेकम एउटा प्रान्त, राज्य वा उप-केन्द्रको राजधानी जनकपुर हुने कुरा लगभग पक्का छ। त्यसो भएपछि राजा जनक एवं ऋषि याज्ञवल्क्यका पालाको सांस्कृतिक केन्द्र पुनः प्रमुखताका साथ मानचित्रमा देखिने छ। तयारी भने अपेक्षाकृत सुस्त छः चिरनिद्राबाट बिउँतिदा आँखाले उज्यालो ठम्याउन नसकेको जस्तो अवस्थामा हातले अन्दाजको भरमा छामछुम गरेसरी यहाँका युवाहरू परिवर्तनका लागि क्रियाशील देखिन्छन्, तर प्रभाव उत्पन्न हुन सम्भवतः अझै समय लाग्नेछ।
नेपालमा नेपालीपछि दोस्रो सबभन्दा बढी बोलिने भाषा मैथिली हो। काठमाडौँ उपत्यकाको रङ्गकर्म परम्पराको अध्ययन एवं अन्वेषणमा रुचि राख्ने विद्वान् अभि सुवेदीका अनुसार नेवारी नाट्य संस्कारमा मैथिलीको प्रभाव असाध्यै व्यापक छ। प्रत्यक्ष असर ठम्याउन कठिन भए पनि पहाडको डम्फू र मिथिलाको डम्फाका पारम्परिक धूनहरू एकै किसिमका छन्। त्यति हुँदाहुँदै पनि मिथिला क्षेत्रको समसामयिक सांस्कृतिकता उत्साह जगाउने किसिमको रहेन। १३ फागुन २०६६ का दिन लोकार्पण गरिएको कवि-नाट्यकर्मी रमेश रञ्जनको कविता सङ्ग्रह रक्तवर्षा को एउटा पङ्क्ति उल्था गर्ने हो भने यहाँको विद्यमान गतिहीनता ठम्याउन गाह्रो हुँदैनः “दर्शनका व्याख्याता। अनि, लोकजीवनको। मर्मज्ञ भएको दम्भमा। ताउ दिराख्यौँ जुँगामा। तोरीको तेल दल्दै।” व्यक्तिमा जस्तै समाजको पनि आत्मविश्वास हराएपछि मिथ्या आडम्बर एवं अहङ्कार हीनभाव छोप्ने पर्दा भएर अनुहार अगाडि झुण्डिन्छ। यति हुँदाहुँदै पनि मिथिलाको नाउँमा होस् वा मधेशको बहानामा, नेपाली राजनीतिमा काठमाडौँपछि दोस्रो सबभन्दा महत्व बोकेको शहर जनकपुर होभन्दा फरक पर्दैन।
सांस्कृतिक जडता
आर्थिक क्षमता, मुख्यालय बनाउने कारक हुँदो हो त मधेशी राजनीतिको केन्द्र वीरगञ्ज हुनेथियो। सङ्घर्षले मात्र भूमिका निर्धारण हुने भए मधेश आन्दोलन सल्केको लहान र नेपालगञ्जबाट हो र हिंस्रक उत्कर्ष गौरमा प्रकट भएको हो। चेतनाको स्तर विराटनगरमा निकै माथि छ। प्रतिबद्धताको कमी भैरहवामा पनि छैन। तर मधेशी राजनीतिको मर्मस्थल भने अझै पनि जनकपुर छ, जहाँ कुनै उद्योगधन्दा छैन, लडाकू प्रवृत्ति व्याप्त छैन एवं तराईका अन्य ठाउँहरूको तुलनामा उग्रता त छैन भन्दा पनि हुन्छ। शक्तिका पूँजी एवं हिंसा जस्ता स्रोतहरूमा कमजोर पहुँच भए तापनि जनकपुरले राष्ट्रिय जीवनमा आफ्नो प्रमुखता कायम राख्न सक्नुको मुख्य कारण यहाँको सांस्कृतिक परम्परा हो।
जुनबेला विराटनगरका मधेशी परिवारहरू आ-आफूमा नेपाली र भैरहवाकाहरू घरमा समेत हिन्दी बोल्ने बानी बसाल्दै थिए, सम्भवतः जनकपुर मात्र एउटा शहर थियो, जहाँ पहाडी परिवारहरू मैथिली बोल्न पटक्कै अप्ठेरो मान्दैनथे। भाषाले विभाजन ल्याउने नभएर जोड्ने काम गरेको थियो। मैथिली भाषाको अग्रतासम्म स्थानानुरुप भए पनि साहित्य एवं संस्कृतिको समृद्धिका लागि पर्याप्त प्रयास हुनसकेको छैन। स्थानीय एफएम स्टेशनहरू मैथिलीमा पनि कार्यक्रम प्रसारण गर्ने गर्दछन्। तर लोकप्रिय दैनिक अखबारहरू भने एउटा बाहेक जम्मै नेपाली भाषामा छन्।
पूँजीवादले शहरी जीवनशैलीलाई बजारमा प्रभुत्व रहेको वर्गको रहनसहनसँग जोड्दछ। उत्पादनको आधार कृषि एवं नगद आयको स्रोत मूलतः विप्रेषण मात्र रहेको भए तापनि युवाहरू मोबाइल बोक्न चाहन्छन्, कम्तीमा दुईपाङ्ग्रे गाडी चढ्ने इच्छा राख्दछन् र बेलुका बियर बार पुग्ने रहर पाल्दछन्। त्यति गर्न नसक्नेहरू छिट्टै निराश पनि हुन्छन्। निराश युवाहरूको जमात अपराधी जन्मिने उर्वर भूमि हो। स्वभावतः जनकपुरको स्थानीय राजनीतिमा आपराधिक समूहहरूको प्रभाव कहाँ शुरु भएर कहाँ पुग्छ र कुन ठाउँमा गएर टुङ्गिन्छ भन्ने कुरा कमैले मात्र ठम्याउन सक्दछन्। अनकन्टार गाउँहरूमा गरिने अवैध गाँजाखेती, दशगजा वारिपारिको तस्करी, गिट्टी बालुवा निर्यातको सम्पत्ति, राम्रै फस्टाएको अपहरण एवं फिरौती, कुटिर उद्यम जस्ता अनौपचारिक व्यवसायहरूको आधिक्यले जनकपुरको बजारलाई गुल्जार राख्न मद्दत पुर्याएको भए तापनि घरजग्गाको भाउ भने मूलतः विप्रेषणको इरोले गर्दा नै आकाशिएको हुनुपर्दछ।
भाषा र जीवनशैली जोडियो भने संस्कृति बन्छ। संस्कृति र राजनीतिको संयोजन राष्ट्र बन्ने मूल आधार हो। तर त्यस्तो संरचनाले आर्थिक स्वायत्तता प्राप्त गर्न सकेन भने राष्ट्र दिगो रहन सक्दैन। बहुराष्ट्रिय राज्य भनिएको नेपालमा खस-गोर्खाली पछि दोस्रो सबभन्दा व्यापक एवं विस्तृत मानिने मैथिल राष्ट्र अझै पनि आफ्नो पहिचान एवं अस्तित्व खोजीकै चरणमा छ। शायद त्यसैले होला भाषा र साहित्य तिक्तता एवं आक्रोशले लवालव भरिएको छ। राजनीति असहिष्णु बन्दै गइरहेको छ। यो सरुवा रोग हो, जसको औषधि पनि कारक तत्वहरूमै खोज्नुपर्ने हुन्छ। अर्थात् मिथिलाको राजनीतिलाई सुग्घर पार्ने प्रयासहरू सांस्कृतिक जागरणबाट मात्र शुरु गर्न सकिन्छ।
राजनीतिक ऊर्जा
मार्क्सवादको साहित्यिक धारा पनि राजनीति जस्तै सरल रेखामा बग्दछ। समाजमा द्वन्द्व हुन्छ। द्वन्द्वको मूल चरित्र वर्गीय हो। सङ्घर्षले उँचाइ पाउँदै गएपछि सामन्तवादको भग्नावशेषबाट पूँजीवादका महलहरू ठडिन्छन्। अन्ततः ती पनि आफ्नै अन्तरविरोधले धरासायी बन्न पुग्दछन्। र, सर्वहाराको अधिनायकवादद्वारा समाजवाद स्थापना हुन्छ। यो बाटो अत्यन्त सहज छ; वैज्ञानिक र सूत्रबद्ध। त्यसैले वामपन्थी विचारधाराका साहित्यकर्मी एवं कलाकर्मीहरू पनि विना बर्दीका सिपाहीहरू हुन्। स्वाभाविक हो, सिपाही प्रवृत्तिका सर्जकहरूको कृतिमा रगतको प्राधान्य हुन्छ। प्रतिबद्ध, उद्देश्यमूलक तर एक रस।
विविधता र बहुलताको साहित्यिक एवं राजनीतिक संसारमा सामन्त छन्, पूँजीपति छन्, श्रमिक छन् अनि सर्वहारा पनि छन्। त्यहाँ शोषण छ, सङ्घर्ष छ, न्यायको सम्भावना छ, निराशा छ, वितृष्णा छ, उमङ्ग छ, उन्माद छ, अपराध छ, जीवन छ र मृत्यु छ। त्यहाँ भोक छ, रोग छ, शोक छ, र पनि उत्सव छ, समारोह छ, कर्मकाण्ड छ, आध्यात्म छ। त्यसैले बहुलताको साहित्यमा राल, आँसु, मूत्र, रक्त, पसिना, रजस्वला श्राव एवं वीर्य जस्ता सम्पूर्ण जीवन रसहरू प्रवाहित हुन्छन्। उद्देश्यमूलक सिर्जना विविधताको साहित्यमा पनि सम्भव नहुने होइन, तर त्यसले तिक्तता बढाउँछ। समाधानतिर डोर्याउँदैन।
नेपालीय मैथिल संस्कृतिको समृद्ध परम्परामा विविधता एवं बहुलता व्याप्त रहेकाले मार्क्सवाद, लेनिनवाद वा मावाद यस भेगमा कहिल्यै लोकप्रिय हुन सकेन। यहाँका सर्वहारा बरु धर्मान्धतातिर आकर्षित हुने गर्दथे। तर धरातलीय यथार्थ नजानिँदो किसिमले परिवर्तन भइरहेको छ। साहित्यकर्म सुस्त हुँदै गइरहेको छ। स्थानीय सङ्गीत परम्परा बिलाउने अवस्थामा छ। बढ्दो छ त केवल बजार र उपभोक्ता संस्कृति। संस्कार रिक्तताको त्यस्तो अवस्थामा राजनीति उग्र बन्न धेरै समय लाग्ने छैन।
केही दिन अगाडिसम्म वितृष्णा मात्र अनुभव गर्न सकिने मिथिला क्षेत्रका शहरबजारहरूमा सङ्घीयताको बहस मात्रले नयाँ ऊर्जाको सञ्चार गरेको छ। यो वा त्यो निहुँमा सङ्घीयताको मुद्दालाई राजनीतिक धरापमा पारियो भने जनकपुर उग्र बन्न सक्दछ। र, राष्ट्रको दोस्रो सबभन्दा ठूलो भाषिक समूहको सम्भाव्य उग्रता थेग्न सक्ने क्षमता नेपाल राज्यसँग छैन। सरल रेखाको वामपन्थी विद्रोह सम्हाल्न धौ-धौ परेका बेला बहुलताका अनन्त विष्फोट टार्न राज्य र समाज थप सतर्क बन्नुपर्ने आवश्यकता अहिले जस्तो टड्कारो कहिल्यै थिएन।
हिमाल खबरपत्रिका २५९
