उनले विवाह गरे । उनले विवाह गर्नै पनि पथ्र्यो र अझ भन्ने नै हो भने उनको विवाह केही ढिलो भएको भन्नुपर्छ । यस उमेरमा पनि उनले विवाह नगरेको भए कहिले सन्तान जन्माउने ? कहिले हुर्काउने ? यस्ता धरै प्रश्नचिन्हहरू आउन सक्दथे । वर्तमानमा विवाह उनको लागि अपरिहार्य नै थियो । उनले विवाह गरेकोमा मलाई किञ्चित दुःख छैन तर मेरो आफ्नो स्वार्थले मलाई उनको विवाहमा हर्सोल्लास मनाउन दिएको पनि छैन । मान्छे कति स्वार्थी हुँदोरहेछ, म आफैँलाई हेरेर बुझ्दैछु ।

 मलाई एकचोटि फेरि डर लाग्न थालेको छ आफ्नो भविष्यसँग । जुन उद्देश्य प्राप्तिका लागि मैले यो कदम उठाएकी थिएँ, त्यो उद्देश्य पूरा नहुँदै कतै म फेरि एक्लिने पो हुँ कि भन्ने डरले म उनको विवाहको कुरो चलेदेखि नै राम्ररी निदाउन सकेकी छैन । मैले उठाएको यो कदमलाई समाजले नितान्त घृणा गरेको छ । हो, म समाजको आँखामा वितृष्णाको पात्र बनेकी छु । म आफैँलाई पनि सुरुसुरुमा अपराधबोध नभएको होइन तर बाध्यताले कि त मान्छे आफैँलाई मार्छ, कि त आफ्नो मनलाई मार्छ । आफैँलाई मार्न सक्ने क्षमता ममा कहिल्यै हुर्कनै सकेन, कोढीलाई पनि जिउ प्यारो हुन्छ भन्ने उखान त्यसै बनेको होइनरहेछ । त्यसैले मैले आफ्नो मनलाई मारेँ । हो म मनविहीन मान्छे हुँ । त्यसैले मलाई समाज र सामाजिक मान्यताले कुनै असर पार्न सक्दैन । म त केबल एउटै सपना बोकिरहेकी छु, त्यो सपनालाई मैले कुनै अस्थामा पनि पूरा गरेरै छोड्नुपर्नेछ तर उनको विवाहले त्यस सपनाको जग धरमराउने हो कि भन्ने किनकिन शङ्का लाग्न थालेको छ ।

 बुबाले गति नछाडेको भए मुमाको जिन्दगी भत्किने थिएन र मुमाको जिन्दगी नभत्किएको भए म भग्नावशेषमा परी अपाङ्ग हुने थिइन । एक जनाको गल्तीको परिणाम सिङ्गो परिवारले भोग्नुपर्ने यो कस्तो मानव नियति ? बुबालाई रक्सी स्वास्नीभन्दा प्यारो र रक्सीलाई घृणा गर्ने मेरी आमा उनको आँखाको जार । कहिल्यै मेल भएन बुबाआमाको । म केही बुझ्न र केही सोच्न सक्ने भएदेखि नै मैले परिवारमा केबल कलह बुझेँ, सन्त्रास सोचेँ । आमाको आँसु पुछ्न मेरो साना हात उनको आँखासम्म नपुगे पनि जिउको निलडाम भने प्रायशः दिनदिनै सुम्सुम्याइ रहेँ । बुबासँग प्रतिकार गर्न भने कहिल्यै आँट गरिनँ र यद्यपि ममा त्यो आँट छैन । मलाई बुबाका ती राता आँखा र मुखबाट निस्कने हुस्स गन्धसँग बुझ्ने भएदेखि नै सधैँ डर लागिरहृयो र यद्यपि पनि लाग्छ । त्यसैले म अहिले पनि बुबा हाम्रो कोठातिर नआइदिए हुन्थ्यो भनी ईश्वर पुकार्छु हुन त बुबाकी कान्छी स्वास्नी आएदेखि उहाँको आगमनमा रोक पनि आएको छ । त्यो मेरी आमा होइन, बुबाकी कान्छी स्वास्नी मात्र हो ।

 दुई महिना भयो बुबाकी कान्छी स्वास्नी घरमा आएकी तर म आजसम्म ऊसँग बोलेकी छैन । न त ऊ बोल्न अएकी छे न बुबाले नै बोल भनी कसैलाई भन्नुभएकै छ । जेठी छोरी पहिलो लोग्नेको रे, अर्को छोरो मेरै बुबाको भन्छन्, सत्य के हो मलाई थाहा छैन । मेरो बुबा त भैगो बोका नै हुनुभयो, मानौँ तर त्यो आइमाई कस्ती हो ? बिहानैदेखि धोकेर हिँड्ने झाँझरे अनुहारको मेरो बुबालाई के देखेर पछ्याएकी हो कुन्नि ? सम्पत्ति प्रशस्त भएको भए पनि एउटा कुरा, डेढ आनामा बनेको एउटा दुई तल्ले चार कोठाको घर र एउटा नाङ्ले पसल । सुनिन्छ, मेरो बुबा त्यसको तेस्रो पोई हुन् रे । होस्, जे होस््, त्यो मेरो सरोकारको विषय नै होइन । मेरो सरोकारको विषय भन्नु यति नै हो कि बुबाकी कान्छी स्वास्नीको आगमनले आमामाथिको अत्याचारमा नियन्त्रण ल्याएको छ तर के गर्नु बुबाको कुटाइले भाँचिएको त्यो करङ्ग, मेरी आमाको अपाङ्गता उपचारविहीन नै छन् । आमा जिन्दगीभरको लागि नै अपाङ्ग बन्नुभयो ।

 म स्कुल पढ्थेँ, आमा बिहान-बेलुकी तरकारीको व्यापार गर्नुहुन्थ्यो । बुबाको नाङ्ले पसलको आम्दानी उहाँलाई रक्सी पिउनै नपुग्ने थियो । आमाको आम्दानीले नै घर चल्थ्यो, मेरो स्कुल खर्च चल्थ्यो र त्यही आम्दानी नै बुबाको रक्सीको लागि पूरक बजेट पनि बन्थ्यो तर बुबा चाहनुहुन्थ्यो, म स्कुल नजाउँ, आमासँगै लागेर तरकारी बेचुँ र उहाँको लागि पर्याप्त रक्सीको खर्च जुटाइदिउँ तर आमा यो कुरामा कहिल्यै सहमत हुनु भएन भने म त झन् आफ्नो कक्षाको मात्र नभई सिङ्गो स्कुलकै प्रतिभावान् विद्यार्थी । मेरो लागि त त्यो असम्भव नै थियो । मेरो कक्षा दसको अन्तिम जाँच थियो र मेरो तीन महिनादेखिको फी तिर्न बाँकी थियो । आमाले जसोतसो जुटाएर एकदिन मेरो हातमा फी तिर्ने पैसा थमाइदिनुभयो तर मेरो बुबालाई त्यो दृश्य पाच्य भएन । उहाँ बाजले परेवा झम्टेझैँ गरी हामीसामु आउनुभयो र मेरो हातको रकम झ्याप्पै थुत्नुभयो । म त डरले थररै काँपे तर आमा प्रतिकारमा उत्रनुभयो । त्यो दिन घरको ठूलो महाभारत मच्चियो । छोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपनामा अनायासै तुषारापात भएको आमाले सहन सक्नुभएन । जड्याहा लोग्नेप्रतिका उहाँको वितृष्णा त्यस दिन राम्ररी नै पोखियो । स्थिति कुटाकुटमा पुग्यो, मारामारमा पुग्यो । ईश्वरले पनि खै किन स्वास्नी मान्छेलाई पुरुषको दाँजोमा शारीरिक कमजोरी दियो, उसले बुझेको होला तर त्यसको प्रतिफल भने मेरी आमाले भोग्नुभयो । बुबाको साँढेझैँ शरीर र रक्सीको बल, आमा उहाँसामु टिक्न सक्नुभएन । ढोकाको कठवारले बुबाले आमाको राम्ररी नै मर्मत गर्नुभयो । छुट्याउन गएकी म पनि उहाँकै चोटले टाउको फुटाउन पुगेँ । भाग्य नै दागी भएर होला मेरो निधारमा पनि त्यही चोटको ठूलो दाग छ । बुबाको कुटाइले आमाको मृत्यु हुन सक्ने देखेपछि मैले झ्यालबाट गुहार माग्न थालेँ । क्षणभरमै टोले जम्मा भए । छिमेकी देखेर बुबा लुसुक्क हिँड्नुभयो । आमा अचेतप्रायः हुनुहुन्थ्यो र आमाको अवस्थादेखि छिमेकीहरूले अस्पताल लाने निर्णय गरे ।

 आमाको करङ भाँचिएको रहेछ । निकै समय अस्पतालमै बस्नुपर्ने गरेर । उपचारको लागि मसँग सुको थिएन । म किंकर्तव्यविमूढ आफ्नो नियति हेरिरहेकी थिएँ । मेरो स्कुलमा पनि तुरुन्तै हल्ला पुगेछ । केही साथीहरू आई केही रकम जुटाइदिए तर ती सहयोग नितान्त अपर्याप्त थिए र उपचारको लागि । घरमा जाउ, खाना पकाउ, खाना लिएर अस्पताल जाउँ र आमा कुरेर बस । न पढ्ने समय रहृयो, न फी तिर्ने पैसा रहृयो । मैले भविष्यको नाममा केवल अँध्यारो मात्र देख्न थालेँ । यत्रो ठूलो संसारमा मैले आफूलाई नितान्त एक्ली पाएँ तर विनोददाइको त्यसबेलाको सहयोगले मलाई मानौँ नयाँ जन्म नै दियो । विनोददाइ मेरी साथी रीताको जेठादाइ थिए । रीताको घरमा जाँदा उनको मप्रतिको हेराइ मलाई बिझ्ने गथ्र्यो । एउटा अदृश्य लोलुपता, एउटा अदृश्य कूटीलता उनको अनुहारमा सधैँ प्रतिबिम्बित पाउँथे म । उनी बोल्न आए म सकभर पन्छिन्थेँ, सकभर उनको दृष्टिमै नपरुँझैँ लाग्थ्यो भन्ने हो भने मलाई किनकिन अलिकति घीन लाग्थ्यो उनीसँग तर के गर्नु परिस्थितिले मलाई उनको नजिक पार्दै लग्यो । विनोददाइले मेरो फी तिरिदिए । आमाको उपचार आफ्नो जिम्मामा लिए । त्यति मात्र होइन, आमालाई दिनभर कुर्नु, स्याहार गर्नका लागि कहाँबाट जाने हो एउटी आइमाई पनि ल्याइदिए मेरो पढाइ नबिग्रोस् भनेर । मेरो विरोधलाई उनले कुनै अर्थै दिएनन् । उनको त्यो सहयोगको पछाडि लुकेको स्वार्थलाई मैले राम्ररी बुझेकी थिएँ । थोरै मूल्यमा नारी अस्मिताको खरिदको त्यस प्रयत्नसँग म अनभिज्ञ थिइन तर मसँग उनलाई पन्छाउन अन्य कुनै विकल्प पनि थिएन । म लाचार उनको कुटिल चक्रब्यूहमा फँस्दै गएँ तर आफ्नो नारीत्व गुमाउन्न भन्ने आत्मविश्वास पनि म बोकी नै रहेकी थिएँ । करिब दस दिनपछि आमालाई घरमा ल्याइयो । यसबीच बाबु एकचोटि पनि अस्पताल आउनु भएन । घर जाँदा यदाकदा देखिन्थ्यो तर कहिल्यै कस्तो छ ? भनी सोध्नुसम्म भएन । हामीबीच बोलचाल नै भएन । मलाई देख्दा उल्टो टाउको बटार्नुहुन्थ्यो । आत्मग्लानि उहाँमा पटक्कै थिएन, या त उहाँको आत्मा नै मरिसकेको थियो, या स्वास्नी पिट्नुलाई उहाँ पुरुषार्थ मान्नुहुन्थ्यो, त्यो बुझ्नै सकिनँ । आमालाई घरमा त ल्याइयो तर खाने के ? खुवाउने के ? मेरो यो समस्या पनि विनोददाइले नै समाधान गरिदिए । मेरो विरोधका बाबजुद पनि दाल-चामलदेखिका सम्पूर्ण सामान घरमा आउन थाल्यो । उनी मैले नचाहँदानचाहँदै पनि मेरो घरको मूलीझैँ बन्दै गए । म किंकर्तव्यबिमूढ, लाचार र मौन बस्न बाध्य भएँ ।

 अंशबण्डा नभइकनै हाम्रो घर विभाजित भयो । तलको दुई कोठामा बुबा खाना बनाएर खान थाल्नुभयो र माथिल्लो तलामा पाइला नै राख्दिनझैँ गर्नुभयो । आमा उठ्न नसक्ने हुनुभयो । उठेकी चस्केर सहनै नसक्ने । दिसा-पिसाब पनि कोपरामै गर्नुपर्ने, तापनि जसोतसो पढेर परीक्षा दिइयो ।

 परीक्षा सकिएको त्यो दिन मेरो जिन्दगीको अविस्मरणीय दिन बन्यो । राति पल्टिन मात्र के लागेकी थिएँ विनोददाइ आए । आमा निदाइसक्नुभएको थियो । विनोददाइको अनुहार गम्भीर थियो । उनले एकचोटि आमापट्ट िहेरे र इसारैले मलाई अर्को कोठामा डाके । मनमा अनेकौँ कुतर्कनाहरू जन्मिए पनि उनीसँग अर्को कोठामा गएँ । कोठामा पसेकी मात्र के थिएँ, मेरो अनुमान साँचो निस्किहाल्यो । विनोददाइले तुरुन्तै बत्ती निभाए र मलाई अँगालामेा गाँजिहाले । आमा ब्यँूझिने डरमा मैले सानो स्वरले उनीसँग धेरैचोटि आफूलाई छाडिदिने अनुनय-विनय गरेँ । अपशब्द बोलेर गाली पनि गरेँ । कामुकताको त्यो पिसाचलाई नैतिकताको बाँधले बाँध्नै सकेन । समाउने र छुट्टनिे क्रममा मेरो कपडा च्यातिन थाल्यो । उनको आवेशको अगाडि मेरो विरोधको कुनै औचित्य नरहेको र मेरो शक्ति उनको तुलनामा ज्यादै न्यून भएको अनुभव गरेपछि मैले आफूलाई शिथिल छाडिदिएँ । उनले मेरो शरीरको कुनै अङ्गलाई पनि छुन र चुम्न बाँकी राखेनन् । उनी उन्मुक्त ममाथि राज्य गरिरहे र म पीडा र ग्लानिले छट्पटाइरहेँ त्यो रात त्यसरी नै बित्यो । विनोददाइ भोलिपल्ट पनि आए, पर्सिपल्ट पनि आएँ, आउँदै गए म मिचिइरहँे, गिजलीरहेँ । पहिले त सिकसिक लाग्थ्यो विनोददाइको छुवाई तर पछि बानी पर्दै गयो र पछि त विनोददाइलाई मेरो पनि रातको आवश्यकता बन्दै गए ।

 ढिलोचाँडो हुन सक्ला तर सत्य लुक्दैन भन्ने कुरासँग हामी परिचित नै थियौँ र टोलभरि हामीलाई लिएर हुने टीका-टिप्पणी हाम्रा लागि अर्थहीन भइसकेका थिए । तल्लो जातकी केटीले बाहुन केटो फसाइ लवस्तरी, वेश्ये, फुँडीजस्ता यावत् शब्दहरूले म टोलमा परिचित हुँदैगएँ । स्थिति त यतिसम्म आयो कि एकदिन रीता, उसकी आमा र अन्य अपरिचित केही स्वास्नी मान्छेहरू घरमा आए र किन आए भन्ने स्थिति बुझ्न नपाउँदै सबै मउपर जाइलागे । तँ कसाइकी छोरी, पानीसमेत नचल्ने जातले मेरो छोरो फसाउने, मेरो बुहारी बन्ने सपना देख्ने ? भनी यावत् गालीका साथ मउपर हातपात गरे । टोल, छिमेकी सबैको सामु म तामासा बनेँ । पहिलो गल्ती कसको थियो ? त्यो बुझ्न कसले चाहेन । मैले उनीहरूको छोरोको इज्जत लुटेकी थिएँ कि उबाट म लुटिएकी थिएँ ? त्यो सत्य कसैले जान्नै चाहेन । गरिब हुनु र समाजले तोकेको जातीयतामा म तल्लो जातकी हुनु नै मेरो अपराधको मुख्य प्रमाण बनेको थियो । त्यस दिनदेखि मलाई यो समाजसँग अझै वितृष्णा उत्पन्न भएको छ । जसले जे भने पनि, परिवारले जति छेके पनि विनोददाइ भने मकहाँ आउन छाडेनन् ।

 विनोददाइले मलाई स्पष्ट नै भनेका थिए, उनी मसँग विवाह गर्ने छैनन् भनेर । म रखैल बन्न त योग्य थिएँ तर स्वास्नी बन्न प्रमाणपत्र मसँग थिएन । विनोददाइले मेरो अस्मितासँग खेले पनि मलाई बाँच्न भने प्रोत्साहित गरी नै रहे । कम्तीमा पनि तिमीले स्नातकसम्म पढ्नै पर्छ अनि भाग्यले साथ दिए मुख्य सचिवसम्म बन्ने बाटो खुल्छ । तिमीले कम्प्युटर सिक्नै पर्छ, अन्यथा यो प्रतिस्पर्धाको युगमा पछि पर्नुपर्ने हुन्छ । तिमीले अङ्ग्रेजी फरर बोल्न सक्नुपर्छ । टोफल, आई.एल.टी.एस. दिनैपर्छ र पो विदेश जाने सम्भावना बढ्छ भन्नेजस्ता सपना देखाइदेखाइ विनोददाइले मलाई लुटेका थिए तर ती सम्पूर्ण कुराको व्यवस्था आफ्नै खर्चले जुटाइदिएका पनि थिए । मैले पनि बीबीएस पास गर्ने सपना देखेकी छु र कुनै हालतमा पनि एउटा सम्मानित जागिर खाएर बाँच्ने इच्छा पालेकी छु । त्यही सपना साकार पार्न मैले मलाई बेचेकी थिएँ । अझै एक वर्ष छ मैले बीबीएस पास गर्न तर विनोददाइको विवाहले मेरो सपना बीचैमा टुक्रिने हो कि भन्ने आशङ्काले म तर्सिएकी छु । जागिर खोजेको वषार्ँै भयो । लगाइदिने कोही निस्किएनन् । एक-दुई जनाले आश्वासन नदिएका होइनन् तर तिनीहरू जागिर लगाइदिनु अगाडि नै विनोददाइ बन्न खोजे । यदि अब विनोददाइले पहिलेझैँ व्यवहार गरेनन् भने मेरो स्थिति के हुने हो ? मनै जिरिङ्ग हुन्छ । कि मैले अर्कै विनोददाइ फेरि खोज्नुपर्ने हो सपनाको निरन्तरताको लागि ? सम्भिmदै घीन लाग्छ । वस्तुतः दायित्वहीन बाबुको कुलमा जन्मनु नै मेरो दुर्भाग्यको मुख्य कारण बनेको छ । मेरो लाचारीको कारण बनेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *