Skip to content


श्वेत सलाम ! यो कुनै अभिवादनको अर्थमा होइन । गर्नैपरे आफ्नै परम्परा छन् । फरक भएर गर्नेहरू लालसलाम नै भन्छन् तर यो जसले पायो त्यसले गर्दैन र जसरी पायो त्यसरी पनि गरिँदैन । अलिकति भए पनि राजनीतिको चन्दन दलेपछि मात्र लालसलाम गर्ने प्रचलन छ । यसको शैली पनि आफ्नै प्रकारको छ । दाहिने हातको मुठी कसेर कानको छेउछाउसम्म दह्रोसँग उठाएपछि मात्र भन्न मिल्छ लालसलाम । कमजोर भएर वा अल्छे पाराले भन्न मिल्दैन लालसलाम । जतिसुकै बिरामी भएर कमजोर भइरहेको अवस्थामा पनि सेना, प्रहरीले आफूभन्दा बढी फूली भएकोसँग तनक्क तन्किएजस्तै फुर्तिलो भएरै गर्नुपर्छ लालसलाम ।

लालसलाम अर्थात् रातो सलाम । सलाम किन रातो ? अभिवादनको अर्थ आदर हो भने आदरलाई किन रङ्ग्याउनु पर्ने ? त्यो पनि रातै । किन सलाम सेतो, पहेँलो, कालो, हरियो वा अर्को रङको नभएर रातै भएको छ ? उत्तरहरू धेरै हुन सक्लान् तर सार्वजनिक छैन ।

यो वामपन्थी राजनीतिमा लाग्नेहरूको एउटा परिचय हो । रातो विद्रोह र क्रान्तिको रङ हो । भनिन्छ, यो देशलाई माया गर्नेहरूको सलाम गर्ने तरिका हो । हो भने ठीकै छ तर राष्ट्रियताको गीत गाइरहनेहरूले किन नमस्ते वा नमस्कारको अभिवादन नगर्ने ? के नमस्ते वा नमस्कारको अभिवादन सामन्त र शोषकहरूका निम्ति बढी प्रयोग भएकोले हो कि ? हो भने किन अभिवादनको नयाँ शब्द जन्माउन सकिएन । लाल सलाम, हिन्दी र अरबी शब्दको संयोग हो । आयातित शब्दहरूले कहाँ राष्ट्रियता घन्किन्छ र ? समय प्रयोगको छ ।

नयाँ परिणामको खोजीमा प्रयोग हुन खोजेको छ । त्यसैले किन सलामलाई अरू रङ लगाएर प्रयोग नगर्ने ? प्रयोगै त हो । कसैले कालो सलाम भनोस् र रिसाउँदा वा विरोध गर्दा गर्ने सलाम भन्ने अर्थ लगावस्, कसैले गुलाबी सलाम भनोस् र प्रेमी-प्रेमिकाबीच प्रयोगका लागि आहृवान गरोस्, कसैले पहेँलो सलाम भनोस् र वैराग्य लाग्दा गर्ने सलाम भनोस्, कसैले नीलो सलामको प्रचलन बसालोस् र अर्थ बताओस्, कसैले वैजनी सलाम, कसैले सेतो सलाम गरेर सबै रङका सलाम प्रचलित होस् । सलामहरू सबै रङ्गीन हुन् । मात्र त्यसको प्रयोग कस्तो ठाउँमा गर्ने भन्नेसम्म त हो नि । कुनै रङको सलाम प्रेममा गर्ने, कुनै शोकमा गर्ने, कुनै पीडामा गर्ने, कुनै रङको सलाम दुःखमा, कुनै सङ्घर्षमा, कुनै सलाम सफलतामा गर्ने गरी वर्गीकरण गर्ने एउटा आयोग बनाइदिए भइहाल्यो नि । सलामको सम्मान गर्नको लागि सभासद्स्तरको सलाम समिति नै उपयुक्त होला । आखिर ६०१ जनामध्ये धेरै त बेरोजगार नै छन् । कसले थाहा नपाएको कुरा हो र ? जान्नेहरू, बुझ्नेहरू, सक्नेहरू भए किन जनादेशअनुसारका केही गर्न सक्या छैनन् त ? काम नपाएकाहरूलाई काम दिँदा खुसी पनि हुन्छन् नै । फेरि समितिको नाम पनि राष्ट्रियस्तरकै राख्ने सलाम सभासद् समिति । हुन त नाममा के नै हुन्छ र हुनुपर्ने त कामै हो । नत्र क्षयरोग निवारण गर्ने ठाउँलाई सरकारले किन राष्ट्रिय क्षयरोग केन्द्र भनेर साइनबोर्ड राख्थ्यो होला ?

भने पनि नभने पनि सबै सलामका भोका हुन्छन् । सलाम सलाम नै हो । जुनै रङको सलामले पनि खुसी नै बनाउँछ । पछिल्लो चुनावमा थरीथरीका सलाम गर्दागर्दा थाकेका सभासद्हरूका हिसाबकिताब पनि होलान् । मैले अहिलेसम्म कतिलाई सलाम गरेँ र अहिलेसम्म कति सलाम पाएँ भन्नेहरू पनि कम नहोलान् । त्यसैले सलाम सभासद् समितिमा बस्न चाहनेहरू धेरै भइदिएर संविधान बनाउने ठाउँका कुर्सीहरू बढी रित्ता हुने हुन् कि ? सम्भावना हो, नकारी हाल्न पनि मिल्दैन । हुन त सलाम समिति नबन्दा पनि कहाँ कुर्सीहरू भरिएका छन् र ? सयपटकको बैठकमा एकपटक पनि कुर्सी भर्न नपुग्नेहरूको अहं घट्न सकेको छैन । राजालाई निकालेको राजा, राजाजस्तै वा राजाभन्दा ठूलो बन्न पो हो कि ? नभनेर भन्ने कुरा झन् अर्थपूर्ण हुन्छ, नगरेर गर्ने कुराजस्तै । म त सबै कुराको अन्त्यमा टाँचा लगाउने पो हुँ भन्ने कुरा मुखैले नबोले पनि व्यवहारले बुझी हालिन्छ नि । यो कसले नबुझेको नाटक हो र ?

सन्दर्भ सलामकै छ तर श्वेत सलाम कुनै अभिवादनको अर्थमा होइन यो । सलाम बन्दकर्ताका लागि हो र सेतो सलाम गरेर बन्दको समर्थन गरेको पनि होइन । जनताका लागि भनेर राजनीति गर्नेहरूको सबैभन्दा सस्तो अस्त्र र जनतालाई हुनसम्मको सास्ती दिने सबैभन्दा बलियो बहाना बनेको छ बन्द । जनता भएर यहाँभन्दा बढी बुझ्ने ठाउँ पनि केही छैन । बन्दको कुनै अभिलेख त राखेको छैन मैले, राखेर साध्य पनि छैन । राखेर पनि बन्दलाई किन महत्त्व दिनु बेकारमा । मेरी छोरी आठ कक्षामा पढ्दैछे, ऊ जन्मेको दिन बन्दै थियो देश र अहिले नियमित बन्द नै भोगिरहेकी छे । लाग्छ, उसले आफ्नो सन्तानलाई पनि यसरी नै बन्दको कथा सुनाउनेछ ।

त्यस दिन हामी वृत्तचित्रको सन्दर्भमा भैरहवा जाँदै थियौँ । पोखराबाट केही ढिला भएकोले बुटवलमा बास बस्ने तरखर गर्दै थियौंँ । त्यही बेला बाहिर माइकिङ गरेको आवाज सुनियो ‘भोलि तराई बन्द’ । यति नै बुझियो । कसले ? र किन गरेको भन्ने सोधखोज गर्यौँ । सबैको एउटै बोली बन्द भनेपछि पुगिहाल्यो नि, किन चाहियो थप कुरा ।’ आखिर जसले जेसुकै भनेर गरे पनि बन्द भइरहेकै छ, क्यारे । किन चाहियो अरू कुरा ? कुरो मनासिव सोह्रै आनाको । त्यसैले राति नै हुइँकियौँ भैरहवा पुसको मसान्त मान्न । भोलिपल्ट बिहानै सडकमा उत्रियौँ बन्द बुझ्न । बन्दै थिए सवारीसाधनहरू, मात्र खुट्टैखुट्टा खुल्ला थिए । हाम्रो उद्देश्य आजै पूरा गरेर भोलि काठमाडौँ फर्किनै पर्ने । माघे सङ्क्रान्ति परिवारसँग मनाउने सबैको इच्छा । फेरि भोलि नै शताब्दीको सबैभन्दा लामो सूर्यग्रहणको साइत पनि । चाड त बर्सेनि आउँछ तर शताब्दीको इतिहास बोक्ने सूर्यग्रहण रहर गरेर पाउनसक्ने कुरा भएन ।

आपत् परेपछि उपाय जन्मिहाल्छ । त्यतिकै भनिएको होइन अभावले आविष्कार गर्छ भनेर । बन्दकर्ताहरू बन्दको दिमाग चारपाङ्ग्रेमा बढी केन्दि्रत गर्छन् । दुई पाङ्ग्रेमा पनि मोटर भएकोमा चासो राख्छन् । मोटर नभएको साइकल निर्बाध गुडाउने अधिकार पाइन्छ । त्यसो भए साइकल किन नचढ्ने ? चारवटा साइकलको बन्दोबस्त भएपछि मनोहरजीले क्यामरासहित गुडाउनु भो, राजेशजीलाई केही सानो साइकल पर्यो, मेरो भागको साइकल ठूलै थियो । एकजना स्थानीय मित्रले आफ्नै साइकल चलाउनु भो । भैरहवा चोकबाट साढे नौ किलोमिटर टाढा भएको एउटा कारखानामा पुग्नु थियो । मोटर नगुडेको मोटरबाटोमा साइकल चलाउनुको मज्जा सजिलै कहाँ पाइन्थ्यो होला र ? काठमाडौँको भएर तराईको समथर सडकमा साइकल गुडाउने अवसरलाई मैलै ठूलो पुरस्कार नै ठानेँ । यस्तो अवसरको उपयोग गर्न पाएकोमा आफूभन्दा अग्लो माला लगाएको अनुभव गरेँ । त्यसैले एक निमेष पनि खेर नफाल्दै श्वेत सलाम ठोकेको थिए बन्द कर्तालाई । त्यसो त म साइकलै नचढेको मान्छे कहाँ हुँ र ? बयालीस सालसम्म साइकल चढेको भारी अनुभव छ मसँग ।

पञ्चायती व्यवस्था बन्द भएपछि सबै भन्दा मौलाएको बन्द नै हो । मन परे पनि मन नपरे पनि सहँदासहँदै रमाइलो लाग्लाजस्तो भइसक्यो । यो विज्ञापनले जस्तै विस्तारै आकषिर्त गरेजस्तै भएको छ । सदाको सफल र सदावहार बन्दको बेलामा पनि साइकल चढिरहेकै छु । त्यसैले साइकल चढ्नु परेकोमा मेरो गुनासो हुने नै भएन । अरू पनि रमाएकै थिए । यो रमाइलोले जीवनको एउटा थप अभिलेख पनि कोरिदियो भन्छु । काठमाडौँका हामी, भैरहवा पुगेर उन्नाइस किलोमिटर साइकल चढ्ने अवसर नत्र कहाँ जुर्थ्यो र ? त्यसमा पनि राजेश र मनोहरजीसँगै कसरी हुन्थ्यो र ?

झन् साइकल चढेर वृत्तचित्रको सुटिङ गर्ने त पहिलै पो भइयो कि ? गिनिजबुकमा आफ्नो नाम राख्न संसारमा अनौठाअनौठा रेकर्ड बनाएजस्तै कतै हामी पनि नजानिएरै रेकर्ड पो बन्यौ कि ? हो, यसैका लागि मैले सेतो सलाम गरेको हुँ बन्द व्यापारीहरूलाई । त्यस्तै, महिनौदेखिको काठमाडौँको जाडोले शरीरबाट एक थोपा पनि पसिना निकाल्न सकेको थिइँन । साइकल गुडाएर शरीर निथु्रक्क भिज्ने गरी पसिना निक्लियो । यो स्वास्थ्यको दृष्टिले कम उपलब्धि होइन । स्वास्थ्यको हिसाबले पनि श्वेत सलाम ठोकेको हुँ बन्द व्यवस्थापकहरूलाई । बन्दवाला जोसुकै भए पनि बन्द गरिदिएकाले नै यति धेरै फाइदा भएपछि आयोजकप्रति आभार व्यक्त नगर्नुको अर्थ कृतघ्न हुनु नै हो । यति हो कि त्यस्ता बन्दवालाहरूको अनभिज्ञताको कारण लालसलाम, कालो सलाम, नीलो सलाम वा अरू रङको सलाम गर्न सकिनँ । यी सबै रङका सलामभन्दा सेतो सलाम नै सबैलाई समेट्न सक्ने मेरो विश्वास छ । सेतो रङ सादा छ र खुला पनि छ । जसले जसरी प्रयोग गर्न पनि सक्नेछ । जस्तो अर्थ लगाउन पनि कुनै बन्देज हुने छैन । मैले खुसी भएर व्यक्त गरेको सेतो सलामबाट कोही दुःखी भएको भए वा कोही रिसाएको भए पनि खासै फरक पर्ने छैन । सेतो सलामलाई त्यस्ताहरूले श्वेत सलामको वा शोक सलामको रूपमा पनि प्रयोग गर्न सकिने मैले ठानेको छु । अरू रङका सलामहरू अरूले नै प्रयोग गरोस्, मेरो कुनै आपत्ति छैन तर मेरो सलाम श्वेत नै हो र मेरो विश्वास पनि श्वेत सलाममा नै छ ।

बन्दलाई सलामको अर्थ बन्दको समर्थन वा स्वीकार होइन । बन्दकर्ता र बन्दभोक्ता दुवैलाई थाहा छ कि यसको सफलताले वा असफलताले कुनै परिणाम दिन सक्ने छैन । बन्द गरेर बन्द हुने भए बन्द गर्नुपर्ने धेरै विषय छन् । शताब्दीयौँदेखि जराजस्ता गाडिएका कतिपय संस्कारहरूको बन्द गर्नसके असमानताहरूबीच समानता हुने थियो । राष्ट्रियताको नारा लगाएर माटो, पानी बेच्नेहरूको मानसिकता बन्द गराउन पाए देशका सीमास्तम्भहरू चल्ने थिएनन् । विद्यालय गएका बालबालिकाको अपहरण गरेर हत्या गर्नेहरूको फिरौती लोभ बन्द गराउन पाए बाल अधिकार सुरक्षित हुने थियो । अरूको टाउको काटेर आफू अग्लो बन्न चाहनेहरूको कालो सपना, बलात्कार गरेर पुरुषार्थ देखाउनेहरूको नामर्दी सपना, कोठीमा चेली बेच्नेहरूको दुर्गन्धित मस्तिष्क बन्द गर्न पाए कति राम्रो हुन्थ्यो समाज । यस्ता बन्द गर्नुपर्नेहरू कति छन् कति तर जति भए पनि घटाउन सक्ने बहादुर भने कोही देखिएका छैनन् ।

पशुबलिको बन्द हुनुपर्छ भनेर विरोध गरिरहेको समयमा मानव बलिसमेत रोक्न सकेका छैनौँ । मङ्सिर उन्नाइस गते रूपन्देहीको मझगाउँमा आठ वर्षे बालिका मनिषा हरिजनको बलि दिइयो । मान्छे भएर मान्छेको घाँटी सेर्ने मान्छेजस्ता दानवहरू हेरिरहेका छाँै, सुनिरहेका छौँ, पढिरहेका छौँ । इँटा भट्टाको व्यापार बढाउने अन्धविश्वासमा दानवहरू भट्टाको चुल्होमा कलिलो रगत बगाइरहेका छन् । पापी पेटको भोक मार्ने आशामा इँटाभट्टा गएकी मनिषाले कुन अपराधमा बलि चढ्नु पर्यो ? गर्नुपर्ने बन्द यस्ता अन्धविश्वास र अन्धविश्वासीहरूलाई हो । अमानवीयतालाई हो, अराजकतालाई हो तर हुनुपर्ने बन्दलाई चाहिँ सधैँ खुला भइरहेका छन् । गर्नैपर्ने बन्द गर्न नसकेपछि विचरा पार्टीहरू केही गरिरहेको देखाउन बन्द गरिरहेका छन् । जसको जे हैसियत छ, त्यसले त्यही गर्ने त हो । जोसँग जे छ, त्यही दिने त हो नि । राजनीतिक पार्टी भनेका नेताहरू नै हुन् । नेता, कार्यकर्ताबाट बन्ने हुन् र कार्यकर्ता चाहिँ बन्दबाटै बन्ने हुन् । अरू लेखिएका, भनिएका भए पनि जुन सूत्र लगाएर हिसाब गर्दा पनि ठ्याक्कै मिल्ने हिसाब यही हो । त्यसैले बेकारमा बन्दको विरोधमा कति दिमाग खियाइरहनु । बन्द होस् वा खुला, जे हुन्छ त्यसलाई उपयोग गर्नेतर्फ लाग्नुपर्छ । यो भोग्नुपर्ने हाम्रो बाध्यता हो नेपाली हुनुको, जनता हो नेता मान्नुको । यस मामलामा म खाँटी नेपाली बन्न सकेको छु नत्र किन ठोक्थेँ र श्वेत सलाम ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *