Skip to content


भन्छन्, जीवन जिउन सपना हुनुपर्छ । सपना भएन भने के जिउने त्यो पनि थाहा हुँदैन । भन्छन्, चाहना वा कुनै कुराको इच्छा हुनुपर्छ । कुनै कुराको इच्छा नै नभए जीवन जिउने आधार नै के ? म आफ्ना साथीभाइलाई हेर्छु, आफैंलाई हेर्छु, सबैमा चाहना छन्, इच्छा पनि छन् र सपना पनि छन् । जीवन पनि जिइरहेका छौँ । कहिले सुखमा छुट्पटिँदै त कहिले दुःखमा छटपटिँदै जीवन बिताइरहेका छौँ । कहिले होसमा त कहिले बेहोसीमा । सुखले छुन्छ, रातभरि निद्रा लाग्दैन । दुःखले छुन्छ, रातभरि निद्रा लाग्दैन । दिन सबै हतारमा बित्छन् । घरमा हुँदा घरको काम बिर्सन्छौँ र अफिसको कामको सम्झनामा हुन्छौँ र छट्पटिन्छौँ । अफिसमा गयो घरको कामको सम्झना गर्छौँ, त्यसैमा छट्पटिन्छौँ । यसरी एक ठाउँमा हुँदा अर्को ठाउँको सम्झना र कामले छट्पटिँदै हाम्रा दिनरात बित्छन् । भरेको चिन्ता गर्दै बित्छन् दिनहरू । भोलिको चिन्ता गर्दै बित्छन् रातहरू ।

मेरो काम गर्ने ठाउँ एउटा छ । मेरी प्रेमिकाको काम गर्ने ठाउँ अर्कै छ । हामी टाढा छौँ । दिनदिनै भेट्न सक्दैनौँ । शनिबार फुर्सदको दिन एक हप्ता अघिदेखि भेट्ने कार्यक्रम बनाउँछौँ । भेट्न बेचैन रहन्छौँ । एक हप्ताको पर्खाइपछि भेट हुन्छ । भेट हुनेबित्तिकै के हुन्छ, के हुन्छ भरे छुट्टनिुपर्ने कुराले सताइन्छौँ । भोलि के हुने हो ? परिवारले भोलि स्वीकार गर्ने हो वा नगर्ने हो ? आदि इत्यादि कुरामा पर्छौँ, अल्झिन्छौँ, त्यस्तै तनावका कुरा गर्छौँ र प्रेममा मस्त रहनबाट वञ्चित रहन्छौँ । मेरो एक नजिकको मित्रको यस्तो छट्पटी अक्सर म सुनिरहन्छु । भेट हुँदा भोलिको चिन्ताले दिएको छट्पटी र बेचैनी थियो ऊसँग । छुटिएपछि भेटलाई सार्थक बनाउन नसकेको, प्रेमिकालाई गर्नुपर्ने जति माया गर्न नसकेको, प्रेममा जिउन नसकेको आदि इत्यादि अनुभूतिले डसिएको मानसिकता पाउँछु म उसमा ।

पढ्दा, काम गर्दा, खाँदा, पिउँदा र हिँड्दा कहिले हिजोमा पुग्दै, कहिले भोलिमा पुग्दै र बेचैनमा रहँदै, तनावमा रहँदै र छट्पटीमा रहँदै होसमा-बेहोसमा वर्षौँवर्ष बितेका थिए मेरा पनि । हिजोसँगको सम्मन्धले अर्थात् बितेको क्षणका अनेक अनुभूतिले म पनि डसिने गर्थें घरिघरि । किन थाहा छैन, विदेश मोह नभएका व्यक्ति विरलै भेटिन्छन् । आजका प्रायः युवाहरूको खुट्टा त नेपालमा छ तर मनको आँखा विदेशतिर छ । परिवारमा कोही विदेश नगएको त अचम्मैको लाग्ने भइसक्यो तर मेरो परिवारमा सबै उदासिन छन् विदेश जानमा । मुना-मदनको मदन जसरी विदेश जानुमा त दाइ प्रकाश घिमिरेको सधँै विमति रहृयो र मेरो सहमति । म भने होटल म्यानेजमेन्टको प्राध्यापक भएको छु । बिद्यार्थीलाई सोध्छु किन यो विषय पढेको ? सबैको उत्तर हुन्छ विदेश जान । जब मेरो विषयको बारेमा थाहा पाउँछन् सबै भन्छन् यो विषय पढेकोले त राम्रो जब पाउँछ विदेशमा किन नगएको ? म उनीहरूलाई एउटै उत्तर दिँदै आएको थिएँ- नेपाल टुरिजमको राम्रो सम्भावना भएको देश, राजनीतिक अवस्था राम्रो भएमा हामी विदेश जाने होइन, विदेशीहरू नेपाल आउने दिन आउँछ तर सधँैको राजनीतिक अस्थिरताले म अवाक भएको थिएँ । नेपालमा केही गर्न सकिन्छ भनेर बसियो, बेकार भयो । यत्रो समय विनाप्रगति यस्तो अनुभूति हुन थालेको थियो भित्रभित्रै ।

कक्षाकोठामा विद्यार्थीलाई पढाउँदै हुन्छु । बीचैमा एउटाले सोधिहाल्छ- क्ष्च, ष्क तजष्क imउयचतबलत तयउष्अ रु ऊ मलाई सोधिरहेको हुन्छ परीक्षामा यो आउँछ ? परीक्षा आउने कहिले हो कहिले ऊ आजै परीक्षाको कुरा गर्छ । मानौँ, परीक्षाको लागि मात्र ऊ यो सब सुनिरहेछ । परीक्षामुखी यो शिक्षाले के सिक्छ उसले ?, के जान्द छ उसले ? मलाई सदैव शङ्का भइरहन्छ । परीक्षा धेरै टाढा छ, ऊ केही पढ्दैन, केही सुन्दैन । पढाइमा उसको मन अड्दै अड्दैन । जब परीक्षा नजिकै आउँछ अनि छट्पटिन थाल्छ । यो भनेको के हो ? यसको उत्तर के लेख्ने हो ? यति धेरै कुराहरू कसरी सम्झने ? आदि इत्यादि । पठनपाठनको यो शैलीदेखि मलाई एकदम वितृष्णा हुँदै गइरहेछ । यस्तो अनुभूति बोकेर म जिइरहेछु । कहिलेकाहीँ यस्तो वितृष्णामा पुगेपछि म सोच्दथेँ, सपना नभइदिएको भए, चाहना र इच्छा नभइदिएको भए, कति गजब हुने थियो । हामी यसरी भोलिको लागि छट्पटिने थिएनौँ । सपना यसरी भोलि-प्रेमसँग जोडिएको अनुभूति गरेर नै मैले सपनालाई खँुखार कुरा भनेको थिएँ कुनै समयमा तर हामी लक्ष्यको कुरा गर्छौं, सफलताको कुरा गर्छौं र प्राप्तिको कुरा गर्छौँ । यस्ता कुरालाई हामी औधि महत्व दिन्छौँ । ठीक हो, आज दुःख नगरी भोलि सुख हुँदैन । दुःख गर्नु भनेको त कर्म गर्नु न हो ! कर्ममा मन नलगाए, कर्म राम्रो हुँदैन । कर्म राम्रो पार्न पनि मनलाई भोलिको चिन्तामा होइन कर्ममा नै लगाउनु पर्छ तर सक्दैनौँ र भोलिको प्राप्तिको लागि, भोलिको सुखको लागि चिन्तित रहन्छौँ । कर्ममा मन कसरी लगाउने ?

आजको युगलाई म हतारको युग भन्छु । एकसाथ धेरै कामहरू गर्न परिरहेको हुन्छ । यो हतारको युगमा हतारहतार चल्ने प्रवृत्तिले कर्ममा मन लगाउन नसक्ने भएका छौँ । कर्ममा मन लगाउने कुरा सुन्दा पनि अचम्म लाग्ने भइसकेका छौँ । अति व्यस्तताले र सधैँ हतारको मानसिकताले भोलिको लागि आज गर्नुपर्ने कुरामा ध्यान लगाउनै नसक्ने भएका छौँ । आज गर्नुपर्ने काम गर्दागर्दै भोलिको कामको चिन्ता गरेर आजको काम राम्ररी गर्नै सक्दैनौँ । यसैगरी क्षण बित्छन्, दिन बित्छन्, हप्ता बित्छन्, महिना बित्छन्, वर्ष बित्छन् र सारा जिन्दगी । यसरी दिन, हप्ता बितेको जब थाहा हुन्छ, त्यसले पनि छट्पटी दिन्छ । हिजोको दिन, अघिल्लो हप्ता, गएको वर्ष राम्ररी कार्य गर्न नसकेको र लक्ष्यमा पुग्ने योजनाअनुरूप हिँड्न नसकेको अनुभूतिले प्रायः छट्पटिरहन्छौँ । यसरी भोलिको चिन्ताले या हिजो राम्रो गर्न नसकेको अनुभूतिले छट्पटिँदैछट्पटिँदै सारा जीवन बित्छन् ।

काठमाडौँमा कवि कुनो भएजस्तै, चितवनमा पनि कवि कुनो बनाएका छन् केही कविले । एउटा नेवारी खाजा घरमा हामी चितवनका केही कवि हप्तामा नभए महिनामा भेटिन्छौँ । त्यो क्षण अलिकता फुर्सदको क्षण जस्तो देखिन्छ । स्वर्गमा सधैँ फुर्सदमा रहने देवताहरू जस्तै भनौँ । गिलास भरिन्छन् । रमेश प्रभातजी घरमा फोन गर्नुहुन्छ- ल है म्याडम ! आज म ढिलो हुन्छु,………… म उही ठाउँमा छु । ………. । पिउनमा मस्त । कहिलेकाहीँ आउने सुरेन्द्र अस्तफल भन्नुहुन्छ- घर गएपछि गाली एउटा कानले सुनेर अर्को कानले उडाउने हो । आज घर छोडियो, मस्त पिइन्छ । कब्जा गर्नुपर्छ आज । ……….. । पिउनमा मस्त । गणेशजी भन्नुहुन्छ- विद्या, म सानो काममा परेँ आउन ढिलो हुन्छ है । …………. । त्यसपछि पिउनमा मस्त । भूपिन व्याकुल भन्नुहुन्छ- ज्योति, खाना नबनाउ है, म आज आउन ढिलो हुन्छ । यहाँ साथीहरूसँग सानो काममा छु । …………… । पिउनमा मस्त । म एक्लो मान्छे, कसैलाई फोन गर्न नपर्ने । गिलास भर्थेँ र हुन्थेँ मस्त तर आजभोलि मैले पिउन छोडेँ ।

जेहोस्, मित्रहरूको बेहोसीमा एकछिन स्वर्ग र्झछ आजभोलि पनि । त्यो स्वर्ग भ्रमको स्वर्ग हो जहाँ कविहरू सोमरसमा मस्त हुन्छन् र हराउँछन् भ्रमको हुस्सुमा । निदाउँछन् बेहोसीमा र पुग्छन् अन्धकारको जङ्गलमा । जहाँ पुगेपछि जीवन हिँडने बाटाहरू हराउँछन् चेतनतहमा । जीवन निस्कने अनेक ढोकाहरू हराउँछन् चेतनतहमा । चेतनामा जीवनका बाटाहरू र ढोकाहरू हराउनाले पुग्नु पर्दैन कतै । यसरी भोलि र हिजोको चिन्तन मननमा पुग्नबाट ती जोगिन्छन् । ती भोलिले दिने छट्पटी र हिजोले दिने पीडाबाट मुक्त रहन्छन् र आफैंमा मस्त रहन्छन् । अनि सुरु हुन्छ निँदमा सपना देखेजस्तै बेहोसीमा सपना देख्न, स्वप्नमा रमाउन र कल्पनामा रम्न तर क्षणिक हुन्छ बेहोसीको त्यो आनन्द । बेहोसीबाट फर्केपछि झन् बढी पीडा र भय हुन्छ । झन् पीडाको कारक हुन्छ त्यो बेहोसी । भोलि-प्रेम र हिजोको सम्झनाबाट मुक्त हुनुको त्यो आनन्द के होसमा सम्भव छैन् ?

आजभन्दा धेरै पहिले म शिक्षक नभएर किसानी थिएँ । किसानीको घरमा जो जन्मिएको थिएँ । त्यतिबेला खेतमा काम गर्थें फुर्सदको समयमा र विद्यालय बिदा भएको समयमा । आली लगाउन र खेत जोत्नमा औधि मन लाग्थ्यो । ती काम गर्दा मेरो मन काममा नै रहन्थ्यो । के त्यो समयमा आली लगाउँदा, खेत जोत्दा मसँग इच्छा नै थिएनन् अरू ? योजना नै थिएनन् ? हो, आली लगाइरहँदा, खेत जोतिरहँदा थिएनन् । आली लगाउँदा म मात्र आली लगाइरहेको हुन्थेँ, खेत जोतिरहँदा म मात्र खेत जोतिरहन्थेँ पूरा मन मस्तिष्कले । चाहना, इच्छा, योजनालाई लिएर जुन तनाव पैदा हुने गर्छ प्रायः त्यो तनाव र छट्पटी हुन्नथे ती काम गर्दा । त्यसैले ती काम गर्दा मैले त्यतिबेला कहिल्यै दुःख, छट्पटी र तनावको महसुस गरिँन । बरु औधि आनन्द प्राप्त गरेँ । ती काम गर्न भनेपछि बिहानदेखि रातिसम्म म तयार हुन्थेँ । खाना, खाजा खान पनि आमाबुबाले बोलाउन पर्थ्यो मलाई तर घाँस काट्ने, बीउ उखेल्ने र बीउ बोक्नेजस्ता काममा मेरो मन लाग्थेन र ती काम गर्दा म छट्पटिन्थेँ, बेचैनमा रहन्थेँ । यस्ता क्षणहरूलाई केलाएर हेर्दा आज महसुस भइरहेको छ- जब मन गरेको काममा लाग्दछ तब न भोलिको चिन्ताले छुन्छ । न हिजोको असफलताले । चिन्ता र पीडाबाट सधैँ मुक्त रहेर जीवन जिउनु आनन्दमा रहनु हो आज अनुभूति भइरहेको छ । काममा मन लगाउनु नै आनन्द र सुख प्राप्त गर्ने तरिका हो । गर्दै गरेको काममा आफूलाई समाहित गर्नु नै जीवन जिउने ढङ्ग हो, मलाई लागिरहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *