ओहो ! समय पनि कति चाँडै बित्दो रहेछ । हिजो मात्र जस्तो लाग्छ यस ठाउँमा उभिएर संसारको गतिविधि निहाल्न थालेको युगै बितिसकेछ । अब त बूढो पनि भइएछ कि क्या हो शरीरमा चाउरीहरू देखिन थालेका छन्, हागाबिगा पलाउन पनि छाडेका छन् । न पहिले जस्तो चहलपहल छ, न नयाँ पालुवा नै आउन सकेका छन् । क्रमशः पातहरू झर्दै गएका छन् र नितान्त रूखासुखा देखिन थालेको छु । सबै बलेको आगो नै ताप्छन् भनेको सायद यही रहेछ कि पहिलेपहिले त निकै मानिस आएर वरिपरि झुम्मिन्थे, शीतल ताप्थे र कुराकानी गरेर घण्टौँ बिताउने गर्थे । यहीँ बसेर ठूलाठूला राजनीतिक गफ गरेका छन्, समाजसेवाको कुरो भएको छ । कतिले साहित्य, सिर्जना गरेका छन् कतिबाट सङ्गीतसाधना भएका छन् । चाहे बाटो हिँड्ने बटुवा हुन् चाहे भारी बोक्ने भरिया, चाहे घाँसेगोठालाहरू हुन् चाहे खेताला सबैका सबै एकछिन् मेरो फेदमा नबसी जाँदैन थिए । अझ यहाँसम्म कि गाउँलेहरू मुद्दामामिला छिन्नसमेत यहीँ आएर छलफल गर्ने गर्दथे तर अब त आउन छोडेका मात्र छैनन् वास्तै गर्नसमेत छोडिसकेका छन् । कतिले त देख्नै छाडेका छन् कति चाहिँ देखेर पनि नदेखे जस्तो गर्न थालेका छन् । मानिसहरू खोलो तरेपछि लौरो बिर्सन्छन् भन्ने सुनेको थिएँ साँच्चै हो रहेछ । जवानीमा सबैको हाईहाई थिएँ बूढो भएँ सबैको बेवास्ताको पात्र बनेको छु ।
ठीकै छ कसैलाई केही भन्नु पनि छैन, कसैसित केही गुनासो पनि छैन । सकेसम्म सबैको सेवा गरेकै हुँ । दुनियाँ साक्षी छ जडजीवनमा थिएँ जो मिलेको रूखासुखा खान्थेँ तैपनि स्वच्छ हावा दिएर सेवा प्रदान गर्ने प्रयास गरेकै थिएँ । सबै आउँथे बस्थे, गर्ने काम पनि गर्थे नगर्ने काम पनि गर्थे । भन्ने पनि भन्थे नभन्ने पनि भन्थे । कोही टुप्पो काटिदिन्थे । कोही हाँगा काटिदिन्थे । कोही बोक्रै लोत्क्याएर फाल्न पनि पछि पर्दैन थिए । कतिले जरा उधिनेर काटेकै पनि हुन् र कतिले आरो, बञ्चरो लगाउने काम पनि गरेकै हुन् । तैपनि न कसैलाई केही भनेँ न ऐया आच्छु नै गरेँ । वेदव्यासजीले भनेका आफ्नो प्रशंसा वा आफूले गरेको शुभकर्मको बखान आफैँले गर्न हुँदैन रे । पौराणिक राजा यायातिलाई आफूले गरेको शुभ कामको बखान गर्दा सशरीर स्वर्गमा पुगेर पनि धर्म नष्ट भई यतै र्फकन परेको थियो रे । यहाँनेर आफूबाट भएका राम्रा काम तत्कालै बिर्सन पर्छ र नराम्रा काम जति सधैँ सम्झिरहनु पर्छ भन्ने अन्य गुरुजनहरूको वाक्य पनि राम्रै सम्झना भइरहेछ । तर वास्तविकता के हो भने यहाँ आत्मप्रशंसा गरिरहेको पनि छैन र शुभकर्मको बखान गर्ने हेतुले बोलिरहेको पनि छैन । जीवनमा जे भोगिएको थियो त्यही नै निवेदन गरेको हुँ ।
घाम पनि सहेँ पानी पनि सहेँ । न दिन भनेँ न रात भनेँ । निरन्तर खडा रही ‘सर्वेभवन्तु सुखिनः’ को मन्त्र जपेर सकेको सेवा गरी नै रहेँ । अझ कतिसम्म भने मानिसहरू एउटा हाँगा काट्थे म त्यहीबाट दुईटा हाँगा उत्पादन गरेर सेवा प्रदान गर्ने प्रयास गर्दथेँ । जतिजति उनीहरू मेरा अङ्गभङ्ग गराउँथे त्यतित्यति पलाएर त्यसको आपूर्ति मात्र गर्दिन थिएँ दुनियाँलाई अरूलाई नबचाइ आफू बाँच्न सकिन्न भन्ने सन्देश पनि दिने गर्दथंँे । निरन्तर अरूको हित मात्र चाहेँ र त्यसैमा लागिरहेँ । अञ्जानमा भएको भए बेग्लै कुरो जानीजानी कसैको पनि अहित गरेको छैन । अझ अन्यथा अर्थ लाग्दैन भने भन्न मन लाग्छ अहित गर्नु त के सोचेकोसम्म पनि छैन तर कतिले त मेरो सन्देश बुझ्दा पनि बुझेनन् । जसले बुझे उनीहरूले बुझेर पनि बुझ पचाइदिए । फल खान त सबैले खोजे बोटको संरक्षणतर्फ कसैले ध्यान दिएनन् । सबैका निम्ति कल्पवृक्ष बन्न सकिएन होला सही । सबैका निम्ति मनचिन्ते झोलाको रूप लिन पनि सकिएन होला त्यो पनि सही । तैपनि यथार्थ के हो भने आत्मा साक्षी छ सकेसम्म सबैको भलो चाहेकै हुँ र सकेको सेवा पनि गरेकै हुँ । कमिलाले ज्यान दिँदा पनि हात्तीलाई केही नहुन सक्छ त्यो कुरो बेग्लै हो तर कमिलालाई केही पनि गरेन भन्नु सत्यलाई नस्वीकार्नुबाहेक केही होइन ।
थोरै नै सही आफूले सकेको अक्सिजन प्रवाहित गरेर यथासम्भव सबैको प्राण बचाउने प्रयास गरेकै थिएँ । थोरैलाई नै सही यथासम्भव छहारी प्रदान गर्ने प्रयास पनि गरेकै थिएँ तर कसैले पनि त्यसलाई देखेनन् । अरू त अरू आफ्नै हाँगामा आश्रय लिएकाहरूले समेत ठुङ्ने, घाउ लगाउने र चिमोट्ने काम मात्र गरे । कसैले पनि ‘संगच्छध्वं संवदध्वं’ र ‘सहना भवतु सहनौ भुनक्तु’ को मेरो भावनालाई बुझेनन् वा मेरो आवाजलाई सुनेन । म चिच्याइरहेँ, रोइरहँे, कराइरहेँ र अहर्निश दुनियाँको आँखा खोल्ने प्रयास गरी नै रहेँ तर दुनियाँ रमिते बनेर हेरी मात्र रहे कसैले पनि टेरेनन् वा सुनेनन् । न केही बोले न केही गर्ने चेष्टा नै गरे । मेरा हरप्रयास अरण्योरोदनमै सीमित भए । सायद नसीव नै यस्तै रहेछ कि जति गरे पनि सर्वत्र असफलता मात्र मिलिरहे, अपजस मात्र हात लागि भए । चन्द्रमा छुने प्रयास पनि गरेकै हुँ । आकाशजस्तै विशाल बन्ने प्रयास पनि गरेकै हुँ । नदीहरू जस्तै उपकारी बन्ने प्रयास पनि गरेकै हुँ तर केही गर्दा पनि केही लागेन । हर प्रयास बालुवाका पानी मात्र बने ।
थाहा छैन संसार किन यति बढी स्वार्थी बनेको छ । मानिस स्वार्थमै जन्मेका छन् र स्वार्थमै मरेका छन् । मानिसका लागि स्वार्थमै उज्यालो भएको छ र यसैमा अँध्यारो भएको छ । स्वार्थबाट ऊ एकबित्ता पनि माथि उठ्न सकेको छैन । हुन त यहाँ आएर प्रवचन दिएको बेला स्वयं महर्षिवेदव्यासको मुखबाट सुनेको छु हरेक मानिस आफ्नै लागि आएका हुन् रे । संसारमा कोही पनि अरूका लागि आएका होइनन् रे । साथसाथै महर्षि याज्ञवल्क्यले वृहदारण्यक उपनिषद्को व्याख्या गर्ने क्रममा विदुषी मैत्रेयीलाई दिनुभएको सन्देश पनि यहाँनेर राम्रै सम्झना भइरहेछ । उहाँले भन्नुभएको थियो- ‘मैत्रेयी ! चाहे पतिले पत्नीलाई गर्ने माया होस् चाहे पत्नीले पतिलाई गर्ने माया । त्यस्तै चाहे बाबुआमाले छोराछोरीलाई गर्ने माया होस् चाहे छोराछोरीले बाबुआमालाई गर्ने माया नै किन न होस् सबै उनीहरूका निम्ति नभई आफ्नै लागि हुन् ।’ तथापि व्यावहारिक पक्ष के हो भने हरेक कुराको एउटा सीमा हुन्छ र त्यही भित्र मात्र त्यसको शोभा हुन्छ । सुदूर अतीतदेखि अहिलेसम्म देख्दै र सुन्दै आएको छु दुनियाँलाई पद र पैसा नै सबै थोक हुन पुगेको छ र त्यसैका लागि मार्ने मर्नेसम्मको खेल खेलिरहेका छन् । दुनियाँमा भाषण गर्नेहरू धेरै आएका छन् र आदर्शको कुरा पनि धेरै नै भएका छन् तर सबै नारा र भाषणमै सीमित हुँदै आएका छन् । भाषण गर्नेको स्वरूप परिवर्तन भएको छ व्यवहारमा परिवर्तन आएको छैन । उनीहरूको स्वरूप कसैको अग्लो छ कसैको होचो छ, कोही काला छन् कोही गोरा छन् तर व्यवहार भने करिब सबैको उस्तैछ । सबैले यस्तो गर्छौँ त्यस्तो गर्छौँ भनेका पनि छन् र यस्तो गर्न हुन्न त्यस्तो गर्न हुन्न भनेर अर्ती उपदेश दिएका पनि छन् तर जुन जोगी आए पनि कानै चिरेका भनेजस्तो जति आए सबै जसरी आए त्यसैगरी गएका छन् । आउँदा केके न गर्छु भन्नेजस्तो गरी मुठी बाटेर आउनेहरू समेत जाँदा त्योसमेत खोलेर गएका छन् । न केही लिएर आएका छन् न केही लिएर जान नै सकेका छन् । त्यति हुँदाहुँदै पनि खोइ कुन्नि किन हो मानिसले स्वार्थबाहेक केही हेरेकै छैनन् । स्वार्थकै कारण कसैले परहितका लागि केही गर्न खोज्यो भने उसलाई कि गर्नै दिइएको छैन कदाचित गर्न पायो भने सबैको एक मात्र उद्देश्य उसलाई असफल पार्ने नै रहँदै आएको छ ।
हुँदाहुँदै अब त मानिसकै मुखबाट सुन्न थालेको छु- स्वार्थपरक चिन्तनकै कारण प्रत्यक्ष जीवन ऊर्जाका संवाहक हावा, पानी, माटोसमेत प्रदूषित बनिसकेका छन् । मानिसकै कारण प्राकृतिक वातारण असन्तुलित हुन पुगेको छ भने यसैको कारण कतिपय जीवनदायिनी जडीबुटी र पशुपक्षी लोप हुन थालेका र हिमाल फुट्ने तथा हिमताल पग्लिने क्रमले कतिपय समुद्री किनारका सहरहरूले जलसमाधि लिनुपर्ने अवस्था आइसकेको छ रे । मानिसकै भनाइमा विश्वास गर्ने हो भने हालकै अनुपातमा प्रदूणको मात्रा बढ्दै गएको अवस्थामा एकदिन पृथिवी सुख्ााग्रस्थ भई दुनियाँमा पानीको निम्ति ठूलाठूला युद्ध हुनसक्ने अवस्था एकातिर देखिएको छ भने अर्कोतिर ओजोन तह पातलिएर अनेक समस्या निम्तिन सक्ने सम्भावना पनि त्यति नै बढेर गएको छ । स्वार्थकै कारण हिरोसीमा बलेको छ, स्वार्थकै कारण नाकासाकी जलेको छ । धर्मगुरुहरूले भनेको सुनेको मानिसको स्वार्थ बाझिँदा बितेका पाँच हजार वर्षमा पन्ध्र हजारपटक युद्ध भइसकेको छ रे । अहिलेकै कुरो गर्ने हो भने पनि यही स्वार्थ नमिलेका कारण दुई पटक विश्वयुद्ध नै भइसकेको छ भने कुनै पनि बेला तेस्रो विश्वयुद्ध छेडिने सम्भावनासमेत त्यति नै बढेर गएको छ । तैपनि विडम्बना नै मान्नुपर्छ मानिस भने अझै कुम्भकर्णे निद्रामै ।
मानव गतिविधिकै कारण संसारको सर्वाधिक अग्लो चुचुरो सगरमाथा प्रदूषित भएको सुनेको त धेरै नै भयो । अब त अन्तरिक्षमा समेत प्रदूषण बढेको छ रे । अस्तितिर हो क्यारे अलौकिकजस्ता लाग्ने दुई व्यक्ति देखा परेका थिए । उनीहरूको थिए देवदूत थिए कि यमदूत मैले पनि सोधिन र उनीहरूले पनि बताएनन् । सायद यहाँका गतिविधि बुझ्न आएका देवदूत नै हुनुपर्छ । उनीहरू आपसमा भनिरहेका थिए- ‘मानिस किन यति बढी स्वार्थी भएका होलान् । मान्छेले आफ्नै वासस्थान पृथिवीको स्वरूपलाई त बिगारे बिगारे मान्छेकै कारण अन्तरिक्षसमेत प्रदूषित हुन थालेको छ ।’ उनीहरूका अनुसार प्रदूषणको लप्काले हालसम्म चन्द्रलोकलाई छोइसकेको छ र यही नै क्रम जारी रहने हो भने कुनै पनि बेला मङ्गल, बुध र वृहस्पतिलोकलाई समेत आफ्नो पकडमा लिन सक्ने अवस्था आइसकेको छ । उनीहरूका अनुसार बेथितीमा अभ्यस्थ मानिसले यमलोकमा गएर पनि यस्तै गरे भने के गर्ने भन्ने चिन्ताले यतिबेला देवलोकमा समेत खलबली मच्चिएको रहेछ र यसैका लागि ब्रहृमलोकमा बैठक बसी केही चरणको वार्ता पनि भइसकेको रहेछ । कतिले त यदि त्यस्तै अवस्था आयो भनेे आफूले गरेको फोहर सफा गर्न वा आफूहरूले बसाएको बेथितिको नतिजा भोग्न उनीहरूलाई पुनः मत्र्यलोकमा पठाइदिने प्रस्तावसमेत ल्याइसकेका रहेछन् ।
भन्न त मानिस आफूलाई शिक्षित भन्छन् र प्रकृतिको सर्वश्रेष्ठ चेतनशील प्राणी पनि ठान्छन् तर उनीहरूको व्यवहार भने यति गैरजिम्मेवार देखिन्छ कि एउटा सामान्य पशुलाई पनि नसुहाउने खालको छ । मानिस आफूलाई अलिकति लाभ हुन्छ भने आफै बसेको रूखको फेदमा बञ्चरो लगाउन पनि बेर लगाउन्नन् र कसैले एक पाथी खरानीको एक हजार दिन्छु भन्यो भने घरै पोल्न पनि बेर नलगाउने अवस्थामा पुगिसकेका छन् । न लाज छ न शर्मकै कुनै नाम छ । जे गरे पनि हुने जे भने पनि हुने । दयाधर्म त कुन चराको नाम हो भन्नेसम्म थाहा छैन । सबैलाई आफै राम्रो लागेको छ र अरूले पनि जबरजस्ती तिमी नै राम्रो भनिदिन परेको छ । अन्यथा भन्न सकिन्न कतिबेला कसको थिति के हुने हो । शक्ति हुनेहरू मच्चिएका छन् नहुनेहरू पिसिएका छन् । आफूले बोले जे बोले पनि ठीक अरूले बोले जे बोले पनि बेठीक ठान्ने मानसिकताले सबैलाई गाँजेको छ । भन्न त सबै आपसमा मिल्न पर्छ । एकले अर्कोलाई सहयोग गर्न पर्दछ अनि मात्र संसार चल्छ भनिरहेका हुन्छन् तर व्यवहारमा भने आफूले बोलेको कुरोमा अरूले सहमति जनाउँछन् भने मात्र सहमति हुन्छ अन्यथा हुन सक्दैन भनेर कुर्लिरहेका हुन्छन् । बन्द, हडताल, तोडफोड र आगजनी, हत्या, हिंसा, आतङ्क, मच्चाएर समाजमा बेथिति पैदा गर्नु मानिसको संस्कृति नै भइसकेको छ । अवस्था असहज हुँदा आफूले बोकेको भारी अरूले बोकिदिन पर्दछ तर अलिकति अवस्था सहज हुनासाथ भारी आफैले फिर्ता पाउनुपर्छ भन्ने मान्यताले पनि राम्रै स्थान पाएको छ । साँच्चै मानिसले स्वार्थको पछि लागेर संसारलाई यति बढी आतङ्कति बनाएका छन् कि यसबाट मुक्ति पाउन स्वयं सृष्टिकर्ता ब्रहृमाजीलाई पनि सायद हम्मे पर्दछ । हुन त यसअघि पनि हिरण्यकशिपु नामक दानवले यसैगरी स्वर्ग, मत्र्य, पाताल सर्वत्र आतङ्कति नबनाएको होइन तर त्यतिबेला हिरण्यकशिपु अर्थात् आदिम असंस्कृत क्रूरमानवले गरेको फोहर नरसिंह अर्थात् अर्धमानव वा अर्धसंस्कृत मानवले सफा गरेका थिए तर अहिले त पूर्णमानव अर्थात् पूर्ण संस्कृत मानव आफै आतङ्क मच्चाउन कम्मर कसिरहेका छन् भने यसको उपचार कसले गर्ने ? कतै मानिसले महाप्रलयकै लागि महाकाललाई निम्त्याइरहेका त छैनन् । महापुरुषहरूबाट सुन्दै आएको छु जब संसारमा सम्हाल्नै नसक्ने गरी बेथिति बढ्छ तब त्यसको उपचारको लागि कि महाकाली आउँछिन् कि वीरभद्रको रूपमा महाकाल आफै अघिसर्ने गर्छन् । यदि त्यसै हो भने त केही छैन होइन भने मानिसले आफूलाई सम्हाल्नै पर्ने देखिन्छ ।
