Skip to content

सधैँको लागि आउने भए (गजल)

  • by


सधैँको लागि आउने भए मेरी बनाउँला
फकाउँला, फुलाउँला, गिज्याउँला, हँसाउँला

वसन्ती फुलबारीमा बढाई प्रेम प्यारीमा
चमेलीको छहारीमा बसी माला गुथाउँला

घुमाई हातमा पङ्खा टहल्दै गृष्म मैह्नामा
फोहोराको किनारामा गजल गाई सुनाउँला

बिजुली मेघ गर्जन्छन् कडा वर्षा ऋतु लामो
बगैँचा बङ्गलामाथि कविता नै पढाउँला

शरदमा शान्त जङगलको खुला मैदानमा जाई
हजारौं काइदा चुम्बनकला जम्मै सिकाउँला

ऋतु हेमन्त, शिशिरमा अति एकान्त खोपीमा
जनम्भर संझना रहने मिठो प्रीति लगाउँला

Leave a Reply

Your email address will not be published. Required fields are marked *