धेरै बर्ष पहिलाको कुरा हो कुनै गाँउमा चिरिञ्जीवी नाम गरेका पण्डित बाजे थिए । उनी त्यस ताकाका अति प्रख्यात पण्डित थिए । चिरिञ्जीवी पण्डित भनेपछि उनलाई ठूला ठूला राजा महाराजाले पनि चिन्दथे । पण्डित बाजेको यति ठूलो नाम चल्नुको कारण उनको ज्योतिष विद्याले पनि थियो । ज्योतिष विद्यामा निपूर्ण भएको हुदा जसको पनि भाग्य रेखा दुरुस्त केलाउनु उनको कला नै थियो । उनका तीन वटी श्रीमती थिए । जेठी श्रीमती मनरुपा अठार बर्षको उमेरमा उनका बाबु आमाले नै मागी विवाह गरिदिएका थिए । तीन छोरा जन्मिएपछि विफरको बिमारबाट मनरुपाको मृत्यु भयो ।
मनरुपा ज्वरोले सिकिस्त हुँदा के भयो भनेर सोध्ने फुर्सदसम्म पाएनन पण्डित बाजेले । श्रीमती बिफरबाट थला परिन । घर समाल्ने मान्छेको खाचो टार्न तथा बिमारीको स्याहार गर्न र साना अबोध बालबच्चाको खाना पिन गराउनको लागि बाजेले अर्को बिवाह गर्ने बिचार गरे । सम्पति प्रशस्त आर्जन गरेका पण्डितलाई खान लाउनेमा कुनै सुर्ता थिएन । दैनिक पूजा पाठबाट मात्रै पनि बोराका बोरा चामल घर भित्रिने गर्दथ्यो । मात्र समालिदिने मान्छे चाहिएको थियो पण्डित बाजेलाई । उनको अकुत सम्पति देखेपछि जो कोहिले पनि आफ्नी छोरी दिन आत्तुर भइहाल्दथे । पैतालीस बर्षका चिरञ्जीवी बाजेलाई आफ्नी तेह्र बर्षीय कन्या अन्माउन तयार भए गाउँकै सेतु खनाल मुखियाले । बिवाहको लगन घेरियो र बाजा गाजाका साथ साथै जन्तीको धुइरोले सेतु मुखियाको घर ढाक्यो । गाँउका सबै जना बिवाहको उल्लाासमा लागे । कोही जन्तीतर्फका थिए भने कोही माइतीतर्फका थिए । सबै जना आ-आफ्नै काममा ब्यस्त थिए । ठिटा ठिटीहरू नाच्न गाउँनमा त भन्दा म राम्री हुदै ठाँटिएर आएका थिए । तछाड मछाडको सिमा थिएन । बिवाह धुमधामसँग भइरहेको थियो । सायद यसभन्दा अगाडि कसैले पनि यति ठूलो विवाह भएको देखेका थिएनन । गाउँलेहरू सबै दंग परे ।
उता मनरुपालाई अन्तिम घडीले पच्छ्याई रहेको थियो । ती साना अवोध बालकहरू आमाको वरिपरि बसेर टुलुटुलु हेर्दै थिए । अन्तरहृदयको प्राण बाहिर भाग्नै आँटेको थियो । मनरुपाले अन्तिम बल गरेर आफ्ना तीनै छोराहरूलाई चारैतिर हेरिन र दुवै हातले आफनो अंगालोमा छोराहरूलाई घेर्दै आँखा फर्काइन । उनका खुट्टा तन्किए । शरिर दहरो काठ मुँडा पल्टिए जस्तो भयो उनको मुर्दा शरिर । यो खबरले सबै जना काने खुशी गर्न थाले । खबर दुलाहालाई नसुनाउने कुरा भयो । अवोध बालकहरूको काख छुटाई मुर्दा शरिरलाई शुलीमा चढाइयो । आफ्नी आमालाई कात्रोमा बेरी बोकेर लगेको टुलुटुलु हेर्न बाहेक साना बालकहरू केही गर्न सकेनन । मनरुपालाई घर नजिकैको बनपाखामा खाडल बनाई गाडियो । यसरी एकातर्फ गृहलक्ष्मीको अन्त्य भयो ।
अर्को तर्फ अर्की गृहलक्ष्मीको स्वागतको तयारी भइरहेको थियो चिरञ्जीवी पण्डितको घरमा । घरपारीको डाँडाबाट बाजाको घन्घाहट आयो । सारा मानिसहरूको धुइरो त्यतै तिर लाग्यो । अगाडि अगाडि नौमती बाजा घन्काइएको थियो भने दुलाहा र दुलहीलाई डोलीमा बोकी जन्तीहरू रमाउदै घरको आगनमा आइपुगे । गाउँका महिला बर्गहरू सबै दुलही हेर्न तर्फ भिड थियो । केही समयमा नै डोली भित्रियो । यसरी पण्डित बाजेको दोस्रो घरजाम भएको थियो –उमा सित । ठूला ठूला सप्ताह महायज्ञमा समेत तिनै चिरञ्जीवी पण्डितले प्रवचन गर्दथे । उनको प्रवचन सुन्न भनेपछि ठूला ठूला मन्त्री महाराजा समेत धुइरो लाग्दथे ।
प्रवचन पनि पण्डितको साच्चैकै मुक्त मुग्ध हुने गर्दथ्यो । पुराणका कहावत त उनलाई कतै पनि नअकमकाई सरर मौखिक नै भनिदिन्थे । उनको स्वर र लय सुन्दा भक्तहरू पानी खान समेत भुल्दथे । धन दौलत दान गर्नको सिमा हुदैनथ्यो । गाई दान, सुन दान, भूमि दान त पण्डितले अनगिन्ती । हिसाब किताब नै रहेन । उनको प्रवचन सुनेर उनको भक्त दानवीर तुलाधर शर्माले आफ्नी एघार बर्षीय कन्या दान दिने घोषणा गरे । सत्तरी बर्षका बुढा बाजेलाई दानीले दिएको दान फर्काइयो भने अपमान हुन्छ कि भन्ने दुविधा भयो । केही बेर त उनी अकमकाएका थिए । सोच्न थाले अन्तत उनी कन्यदान स्वीकार्ने निधो गरे । सुभद्राको कन्यदानले पण्डितको तेस्रो घरजाम भयो । अर्थात तेस्री श्रीमती ल्याएका थिए बाजेले ।
बिधिको बिधान मानिस जन्मे पछि बुढो हुन्छ र मर्दछ । यसमा कसैको केही लाग्दैन भने जस्तै ज्योतिषी बाजेले अरुको भाग्य रेखा जस्ताको तेस्तै बताए पनि आफ्नो दुर दशाको केही हेरकेर नै भएन । अन्तत पचासी बर्षको उमेरमा एक दिन बेलुका सुतेका बाजे बिहानबाट उठेनन । सारा गाउँ टोलमा पण्डित चिरञ्जीवी बाजेको मृत्युको ढोल पिटीयो । सारा गाउँले मलामीको लाइन लागे बाजागाजाका साथ फूलमाला पहिराउदै पण्तिको मृत शरिर शुलीमा चढाइयो र मलामीको लस्कर आर्यघाट तर्फ लाग्यो । मलामीको साथमा त्रिपन्न बर्षीय उमा र एकतीस बर्षीय सुभद्रालाई पनि घेरा हाल्दै लगियो । पतीको शोकमग्न नारीमाथि यति ठूलो बज्रपात भयो नै । उसैमाथि मृत श्रीमानको शोलामाथि नग्न बस्त्र गरी जिउदो शरिरमा आगो लगाउन थालियो । ती करुण दुबै नारीहरू आफ्नो प्राण नलिईदिन समाजसँग बिन्ति गरे । दनदन बलेको शोलको आगोबाट आच्छु बाबा पोल्यो भन्दै के बाहिर आएका थिए । सबै मलामीबाट ढुंगा र मुढाले हान्दै निहत्था नारीको जीवन लिला समाप्त गरियो ।
१० मार्च २०१०
बिसासय, सुनवल ६ नवलपरासी
