आज भन्दै भोलि भन्दै जनता नचाउँदै गर
संबिधानको नाटक गरी भत्ता पचाउँदै गर
खेली राख फोहोरी खेल अझै केही बर्ष
जनता मरे के को पीर कुर्सी बचाउँदै गर ।
देश रोयो जनता रोयौ चोट अझै दिन्छौ किन
सोझा सिधा जनताको जिउने आधार छिन्छौ किन
मानव रुपी दानवहरू जनता नचाउँदै गर
हप्तै पिच्छे बैठक राखी भत्ता पचाउँदै गर ॥
अझै कर्फ्यू लाऊ कहीं धराप थापे पनि हुन्छ
देश तिम्रै नाममा गरी पुर्जा राखे पनि हुन्छ
लोकतन्त्र आयो भनी जनता नचाउँदै गर
जनताकै ढिकुटी रित्याएर भत्ता पचाउँदै गर ॥
नयाँ खाका कोरिने छ हत्या िहंसा छोडिने छ
बर्षौं देखी फुटेको मन सदभावले जोडिने छ
चाहानालाई कुल्चिएर जनता नचाउँदै गर
अलमल गरी गरी सधैं भत्ता पचाउँदै गर ॥
जगत राम बर्देवा घायल
दोहा कतार
