माथि माथि आकासको कुनै ग्रहमा स्वर्ग नाम गरेको एउटा देश थियो । त्यो देशका नागरिकहरूमा इमानदारी र अनुशासन भगवान्ले कोची कोची हालिदिएका थिए । सबैले सबैलाई आदर गर्थे । देशले बनाएको व्यवस्था अनुसार सबै नागरिकहरूले ठीक समयमा ठीक काम गर्थे । मान्छेहरू लगायत त्यहाँका जीवहरू जन्मनासाथ नवजवान हुन्थे र नवजवान नै रहिरहन्थे । त्यहाँ सधैँ वसन्त ऋतुमात्र भइरहन्थ्यो । अँध्यारो कहिल्यै हुँदैनथ्यो । यहाँ जस्तो धूवाँ, धुलो, विभिन्न प्रकारको ग्याँस, रसायन ओकल्ने सवारी साधनहरू त्यहाँ थिएनन् । उनीहरूका शरीरमा पखेँटा उमि्रएका हुन्थे । अलि टाढा जानु पर्दा उडेर जान्थे । उनीहरूले अलप हुने विद्या पनि सिकेका थिए । धेरै टाढा जानुपर्दा अलप भएर मनले चिताएका ठाउँमा पुग्न सक्थे । त्यहाँ भोक, प्यास, रोग व्याधि नभएकोले कसैलाई केही पनि खानु पर्दैनथ्यो । उनीहरू पुतली जस्तै फुरफुर उड्दै नाचगान गरेर एक आपसमा माया दर्शाएर रमाइलो गरी दिन बिताउँदथे । त्यो देशका केटीलाई परी र केटालाई देव भनिन्थ्यो ।
एक दिन त्यो देशको एउटी परीलाई माथिमाथि उड्न मन लागेछ । उनी उड्दै उड्दै धेरै माथि पुगिन् । त्यहाँ उनको देशको जस्तो उज्यालो नभई चारैतिर अन्धरकार नै अन्धकार थियो त्यहाँ माथि उड्न मन नलागेर उनी आफ्नो देशतिर र्फकन खोजिन् । उनले आफ्नो अलप हुने विद्या प्रयोग गर्न खोजिन् तर त्यहाँ त्यो विद्याले काम गरेन । अँध्यारोमा उनले बाटो भुलिन् । उनी उड्दै उड्दै पृथ्वीमा आइपुगिन् । उनले यहाँका हिमाल, पहाड, मैदान, खोला, समुद्र, ताल तलैया, वन-जङ्गल, उपवन सबै ठाउँ डुलिन् । यहाँका पशु, पक्षी, मान्छे पनि देखिन् । उनलाई मान्छेका अगाडि पर्न मन लागेन । उनलाई आफ्नो देशभन्दा त पृथ्वी नै राम्रो लाग्यो । किनकि उनको देशमा पृथ्वीका जस्ता कुराहरू थिएनन् । यहाँ उनलाई भोक, प्यासले पनि सताउन थाल्यो । उनले बगैँचाका फल टिपेर खाइन् । झरना, खोलाका पानी पिइन् । उनलाई जीवनमा पहिलोपटक खानेकुराको स्वाद थाहा भयो । उनी वनमा चराहरूको गीत सुनेर रमाइरहेको बेलामा उनको आँखा ढकमक्क फुलेको पारिजातको बोटमाा पुग्यो । त्यस्तो फूल त उनको देशमा पनि थियो । उनलाई आफ्नो दोश स्वर्गको सम्झना आयो । यहाँ भने उनको अलप हुने विद्याले पनि काम गर्यो । उनी पृथ्वीको सौन्दर्य आँखा र मनभरि लिएर मन नलागी नलागी आफ्नो देश स्वर्ग फर्किइन् ।
पृथ्वीबाट फर्किएकी परीले स्वर्गमा गएर आफ्ना साथीहरूलाई पृथ्वीको बयान गर्दै आफूले घुम्दा बिताएका रमाइला दिनहरूको बेलिबिस्तार लगाइन्् । उनको एउटी साथीले सोधिन्- ‘के पृथ्वी स्वर्गभन्दा पनि राम्रो छ त ?’ उनले भनिन्- ‘हो त पृथ्वी त हाम्रो स्वर्गभन्दा पनि राम्रो रहेछ । तर त्यहाँका मान्छेहरू भने यहाँका जस्ता रमाइला छैनन् जस्तो छ ।’ पृथ्वीबाट फर्किएकी परीका कुरा सुनेर अन्य परीहरू पृथ्वीमा घुम्न जान पाए हुन्थ्यो भनेर कल्पन थाले । एकदिन उनीहरू सबै मिलेर आफ्ना नेतालाई पृथ्वीको बखान गर्दै पृथ्वीमा घुम्न पठाइदिन अनुरोध गरे । नेताले पनि पहिल्यै पृथ्वीको बयान सुनेर सुटुक्क घुमेर पृथ्वीबारे आवश्यक जानकारी लिइसकेका थिए । उनले सबैको अनुरोधलाई स्वीकार्दै ‘पृथ्वीका मान्छे लोभी, इष्र्यालु हुन्छन् । त्यसैले उनीहरूमा अनेक दुर्भावनाहरू छन् । तसर्थ पृथ्वीका मान्छेदेखि सावधान हुनु । उनीहरूको सङ्गत नगर्नु ।’ भन्ने चेतावनी दिँदै पृथ्वी घुम्न जाने अनुमति दिए ।
पूणिर्माको जुनेली रात थियो । आकाशमा पूर्ण चन्द्र जगमगाई आफ्नो ज्योत्स्ना फैलाइरहेका थिए । सारा धर्ती चाँदीको जलप लगाएको जस्तो सेतो देखिन्थ्यो । एउटा नौजवान व्यापारी व्यापारमा घाटा लागेकोले निद्रा नपरेर झ्याल बाहिर हेरिरहेको थियो । उसले बाहिर चउरमा केही स्वास्नी मान्छेहरू कुरा गरिरहेको सुन्यो । उसले नियालेर हेर्दा चउरको चौतारोमा शरीरमा पखेटा भएका राम्रा राम्रा परीहरू एक आपसमा कुराकानी गर्दै थिए । तीमध्ये एउटी उसलाई असाध्यै राम्री लागिन् । उसले ती राम्री परीलाई जसरी भए पनि आफ्नो बनाउने अठोट गर्यो । एकैछिनपछि ती परीहरू अन्त कतै गए ।
भोलिपल्ट साँझ परेपछि व्यापारी चौतारो नजिकैको झाडीमा लुक्यो । आकाशमा जून लाग्न थालेपछि परीहरू घुम्दै त्यही चौतारौमा बसी कुरा गर्न थाले । एक दिनपछि परीहरू एक/एक गर्दै उडेर अर्को ठाउँमा जान थाले । उड्ने क्रममा व्यापारीले मनपराएको परीको लुगा झाडीको काँडामा अल्झियो । उनी काँडाबाट आफ्नो लुगा निकाल्दै थिइन् । त्यही बेलामा व्यापारीले उनको हात समात्यो । पहिले त परी झस्किन् । पछि आफ्नो अगाडि राम्रो नौजवान देखेर उनी जिल्ल परिन् । व्यापारीका मीठा मीठा कुराले उनी मख्ख परिन् । व्यापारीको कुरामा लठ्ठिएकी परीले आफ्नो नेताले ‘मान्छेको सङ्गत नगर्नु ।’ भनेको कुरा पनि उनलाई मन परेन । उनलाई मान्छे त राम्रा पो हुँदा रहेछन् भन्ने लाग्यो । परी व्यापारीसँगै बस्न लागिन् ।
स्वर्ग र्फकने बेला भइसकेको थियो । सबै परीहरू जम्मा भइसकेका थिए । व्यापारीसँग बसेकी परी भने आइनन् । सबै परी जम्मा नभए स्वर्ग र्फकन नपाउने भएकोले सबै मिलेर हराएकी परीलाई खोज्न थाले । व्यापारीसँग लागेकी परी दिनभरि व्यापारीसँग घुम्ने र रातभरि घरभित्र हुने भएकोले साथीहरूले खोजेर कहाँ पाउँथे र । स्वर्गका शासकले पृथ्वीमा घुम्न गएका परीहरू समयभित्र नफर्केकाले यथार्थ बुझ्न पठाएका दूतले एउटी परी मान्छेको मोहजालमा फँसेर अरू परीहरू पनि स्वर्ग र्फकन नसकेको खबर दिए । स्वर्गका शासक रिसाएर त्यही शरीरमा स्वर्ग र्फकन नसक्ने श्राप दिए ।
श्रापले गर्दा परीहरूका पखेटा र अलप हुने विद्या दुवै हराएपछि आफ्ना नेताले श्राप दिएका कुरा उनीहरूले बुझहिाले । उनीहरू सबै मिलेर आफ्ना नेतालाई एकजनाको गल्तीले सबैले सजाय भोग्नु परेको गुनासो गर्दै श्राप फिर्ता लिन अनुरोध गरे । नेताले भने ‘तिमीहरूले अनुशासन भङ्ग गर्यौ, श्राप त भोग्नै पर्छ । तिमीहरू पृथ्वीप्रंति ज्यादै मोहित भयो । सतर्क गराउँदा गराउँदै पनि मान्छेका सम्पर्कमा आयौ । तसर्थ तिमीहरू पृथ्वीमा फूल बनेर बस्नु । तिमीहरू पवित्र एवं महìवपूर्ण कार्यमा प्रयोग हुनेछौ । शीत तिमीहरूका गहना हुने छन् । फुलेर हाँगाबाट झरेपछि मात्र तिमीहरू स्वर्ग आउन पाउने छौ ।’ भनी फर्किए । भाइबहिनीहरू बिहानीपख । शीतकालमा फूलहरू कति राम्रा हुन्छन् हगि ? हो त्यसैले तिमीहरू बगैँचामा घुम्दा फूलहरू हाँसेको बोलेको जस्ता लाग्छन् ।

ma lai man pariyo yo katha
ma lai man pariyo yo katha ashdai ramro 6………….aru pani yestai katha haru lekhna safal hunu hola mero subhakamana.