सबिताको बिबाह भएको ८ महिना जति भएको छ, तिनको श्रीमान दिपक बैदेशिक रोजगारमा अरब दुबई सहरमा काम गर्छन । दिपक निकै मेहनेती अनि चलाक पनि छ, ऊ पहिलो छुट्टीमा आउदा सबितासँग मागी बिहे भएको हो । आमा बुवाले नै केटा हेरेर दिपकलाई छानेका थिए, आखिर दिपक पनि अग्लो ह्यान्डसम अनि आइ. कम. सम्म पढेको केटो थियो । सबिताको दिपकसँग बिहे भए पछि मुस्किलले ३५ दिन सम्म सँगै बसे होलान, के गर्नु दिपक दुबई सहर काममा फर्कनु नै थियो, आखिर घरको आर्थिक भार उसले नै थाम्नु थियो । घरमा ६५ बर्ष काटेको बुवा अनि सधै बिमारी भइरहने आमा बाहेक कोही थिएनन् ।

सबिता निकै खुशी थिइन दिपक देखि, ऊ निकै रोमान्टिक अनि हँसिलो थियो, बिहे भएको पहिलो दिन नै सविताको मन जित्न सफल थियो उसले । ती बिहे पछिका दिनहरू अनि दिपकसँग बिताएका सम्झनाहरू सविताको मनमा ताजै छ । दिपकसँग बिहे भए पनि पढाई जारी राख्नु भन्ने दिपकको सल्लाह अनि सोचले सबितालाई ज्यादै प्रभाब परेको छ । त्यसैले अझ पनि सासू ससुरालाई स्याहार्दै पनि सबिता बि.कम. पढिरहेकी छे, घरमा कुनै अप्ठयारो छैन, सासू ससुरा पनि बुहारी सबितालाई आफ्नो छोरी झैँ माया गर्छन ।

सबिता आज अलिक दिक्दार छे कारण फोनमा कुरा गर्दा दुबईबाट दिपकले पैसा धेरै खर्च नगर्नु, इकोनोमिक हुनु जान्नु पर्छ भनेको कुरा मनमा गुन्जी रहेको छ, त्यसैले सबितालाई निन्द्रा लागिरहेको छैन । आखिर मैले त्यस्तो के नै खर्च गरे होला, खालि क्याम्पस फी, किताब कापी अनि केही लुगाहरू अनि स्रिंगगार पटारका सामानहरू त होनी । अरुका लोग्नेले आफ्नो श्रीमतीलाई निर्धक्क पैसा चलाउन दिन्छन, आफ्नो लोग्ने चाही यस्तो, सबिता आफै गुनासो गरिरहेकी छे । ऊ चाही त्यहा मस्ती गर्दो हो, मनमनै शंका गरी आफ्नो लोग्नेलाई । हुन पनि नाना भाति कुराहरू सुनेकी छे, दुबई सहरमा गएर धेरै मान्छेहरू बिग्रिएको, बिहे भएको केटाहरू पनि अरु बिदेशी केटीसँग लाग्छन रे, संगै बस्छन रे इत्यादी । के थाहा मेरो दिपक पनि, आफ्नो आँखाले देखेको होइन झन शंकालु बन्छे, यति सोच्दा सोच्दै झन सबिता भावनामा बग्छे, कल्पना गर्न थाल्छिन । आज दिपक आफुसंगै काम गर्ने कम्पनीको एउटी बिदेशी फिलिपिना केटीलाई लिएर अंग्रेजी सिनेमा हेर्न गएको छ, दिपक र त्यो केटी एक अर्कालाई अँगालो मारेर बसेका छन् । त्यो अंग्रेजी फिलिम निकै उतेजक छ, हिरो र हिरोनी एक अर्कामा चुम्बनका दृश्यले दिपक निकै रोमान्चित छ । डु यु लाइक इट? फिलिपिना केटी साथीको प्रश्नले दिपक झस्किन्छ, ” एस एस, इट्स नाइस मुभी” उसले उतर दियो ।

अब सबिता रिसले चुर हुन्छे, तिनी आफै दिपकसँग बदला लिन चाहन्छिन, ऊ भन्दा म के कम, जाबो आइ. कम. त पास गरेको छ दिपकले । म त बि.कम. पढ्दै छु, सबितामा घमण्ड आयो, कोही मन मिल्दो हेन्डसम केटा भेटेमा साथी बनाउनु पर्ला । के दिपकले मात्रै केटी खेलाउनु मिल्ने, मैले केटा साथी बनाउनु मिल्दैन? म पनि मजाले घुमाउला, रमाइलो गरौला । अहिले जमाना नै आधुनिक भएको छ, सकेको मोज त गर्नु पर्छ भन्छन क्याम्पसका साथीहरू । यसरी नै निकै राति सम्म सोच्दा सोच्दै कतिखेर सबिता निदाइन् ।

बिहान, एई! बुहारी ल ल उठ! घाम उदाईसक्यो, भनेर सासूले बोलाउदा पो सबिता झसँग ब्युँझिन् । अनि सासू ससुरालाई हतार हतार चिया बनाई दिइन्, र बिहानको खानाको लागि तयार गर्न थालिन् । सबिताको दिउसोको क्लास थियो पदमा कन्या क्याम्पसमा, दिउसो क्याम्पसमा साथीहरूले सोधे सबितालाई एई! सबिता के छ अनि तिम्रो बुडोको हाल खबर, कतै अरु केटीसँग त लागेको छैन, अलि विचार गर है । विदेशमा त जे गरे पनि हुन्छ रे, कसैले चिन्दैन रे, यहाँ नेपालमा बिहे गरे पनि, म अन म्यारिड छु भनेर भनेर केटी घुमाउछन रे । ” खोइ! ठिकै छ, हिजो फोन गर्नु भएको थियो उहाले” सबिताले छोटकरीमा उतर दिइन् ।

आज पनि किन हो सबितालाई हिजो जस्तै निन्द्रा नै लाग्दैन, त्यो माथि क्याम्पसमा साथीहरूले “अलि विचार गर है” भन्ने शब्द सबिताको मनमा गुन्जीरहेको छ । सबिता सोच्न थाल्छे, दिपक त्यो बिदेशी केटीलाई लिएर समुन्द्रमा घुम्दै होला, अनि समुन्द्र नजिकैको बालुवामा पल्टेर तातो घाममा पल्टिदै त्यो बिदेशी केटीसँग हास्दै होला, तिनले कहिले कही सिनेमामा यस्तै बालुवा अनि समुन्द्र देखेको कुरालाई मनमनै कल्पना गरी । यो छोरा मान्छेको जात नै यस्तो, किन मलाई यहा बिहे गरी राखेर विदेश गएको होला, आफु चाही मोज गर्ने, यता म चाही तड्पिरहेको छु, आफ्नै जवानी देखि, खोइ मेरो जवानी यतिकै खेर जाने हो कि क्याहो, सबिता झस्किन्छे । तिनलाई अचानक रिस उठ्छ, दिपक अर्को बर्ष नेपाल आएन भएन भने मैले पनि सोच्नै पर्ला, मेरो यौबन त्यतिकै खेर जान त दिनु भएन नि । तिनले सम्झी, आफ्ना क्याम्पसका साथीहरू अनि तिनीहरूको बोय फ्रेन्डहरू, कति मोज गर्छन, घुम्छन, संगै बस्छन, आफु चाही सासू ससुरालाई स्याहार गर्यो बस्यो, सविताले इर्श्या गरी आफ्नो साथीहरूसँग पनि । सबिता दोधार परी, आखिर दिपक मेरो लोग्ने हो सबथोक हो तर ऊ मेरो साथमा छैन भने, के यो नै जिबनको सार हो र? लोग्नेको बाहुपासमा बाधिनुको मजा नै अर्कै छ, कतिन्जेल यसरी बस्नु? सबितालाई यौबन, जवानीको मजा लिने बानी परिसकेको छ दिपकसँग बिहे भए पछि, आखिर बिहेको मुख्य उदेश्य नै त्यही हो अनि यौबन र जवानीको मजा लिदै प्राकृतिक रुपमा सन्तान उत्पादन गर्दै जानु । “हे! मेरो मन पनि” सबिता आफैलाई सम्हालिन्छे, जे भए पनि उहा मलाई माया गर्नु हुन्छ, भन्दै सबिता आफैलाई सान्त्वना दिन्छे ।

शनिबारको दिन सबिताको साथी रिनाको जन्मदिनको पार्टीमा सामेल हुन गइन्, साझ ७ बजे बोलाएको थियो, निकै अरु साथीहरू पनि रहेछन । आधुनिक परिबेस पहिलेको जस्तो होइन अहिले, त्यहा केटी साथीहरू पनि वाइन पिउदै रहेछन । सबितालाई पनि वाइन पिउन कर गरे, आ! सबै पिउछन भने म चाही नपिएर के नै हुन्छ र, सविताले पनि वाइनको गिलास समाइन् । वाइनको साथ साथै केही मासुका टुक्राहरू खाइन्, पछि बर्थ डे केक काटियो, केक रिनाले पहिला आफुले टोके अनि आफ्नो बोय फ्रेन्ड ज्याकलाई खुवाए । सबै जना वाइनले मातिदै गए, केटाहरू चाही कोही व्हिस्की अनि बियर पिउदै थिए, सबितालाई पनि वाइनले केही दिमाग रिन्गाएको जस्तो लाग्यो । त्यहा संगीतको धुनसंगै मधुरो प्रकाशमा पार्टी चल्दै थियो, सबिताका साथीहरू आफ्नो बोय फ्रेन्डसँग कम्मरमा पक्रेर नाच्दै, कोही कुरा गर्दै थिए, सबितालाई पनि अब मन लागेको थियो, कुनै केटा भए पनि यसो हात समातेर अंगालिन्दै नाचे जस्तो गर्नु मन लाग्यो । साएद वाइनको नशामा त्यो आँट आयो होला सबितालाई, आखिर संगत न हो, ” एई सबिता आइज न नाच्न” रिनाले कर गरी, ज्याकसँग भिडाई दिइ, अब सबिता ज्याकसँग नाच्न लागि, ज्याकले हातमा पक्रेर घरीघरी फनक्क घुमाउदा सबितालाई निकै मजा आयो, अनि नाच्दा नाच्दै छासछुस हात या औलाले सबिताको नितम्ब छुदा तिनी लाजले रातो हुन्थिन । आखिर निकै समय पश्चात छोरा मान्छेको सामिप्य पाएकी थिइन् सविताले, निकै बेर नाची रहे, ज्याक र सबिता । साझ १० बजे तिर ज्याक अनि रिनाले सबितालाई घर सम्म पुर्याउन आए ।

अब घर आए पछि वाइनले अलि अलि छोडी सकेको थियो, सबिता ओछ्यानमा पल्टी, सोच्न थाली दिपकको बारेमा । दिपक आज साझ त्यो बिदेशी केटीसँग डिस्कोमा नाच्दै होला, नकचरी केटी मेरो लोग्नेलाई अँगालोमा हालेर मस्किन्दै हास्दै होलिन् । दिपक पनि खुशीले त्यो केटीसँग मस्की मस्की कम्मरमा पक्रेर घरीघरी नितम्ब छुदै होला । छोरा मान्छे यस्तै नै स्वार्थी हुदा हुन् अघि ज्याकले सबितासँग नाच्दाको मिठो कल्पना गरिन्, ज्याकले पनि जान अन्जान सविताको शरीर छुदा पक्रिदा तिनलाई निकै रोमान्चित बनाएको थियो, शरीरमा करेन्ट पैदा भएको सम्झीन् । दिपक बियर पिउदै त्यो बिदेशी केटीलाई वाइन पिलाउदै होलिन्, त्यो बिदेशी केटी पनि पातिन्दै मेरो दिपकलाई च्याप समातेर लाडीन्दै ” आइ लभ यु दिपक, डोन्ट लिभ मि अलोन” भन्दै होलिन् । दिपक पनि ” एस बेबी, आइ लभ यु टू” भनेर चुम्बन गर्दै होला । आफ्नो यस्तो नकचरो लोग्नेको यो ताल देखेर सबिता पनि अब एउटा निर्णय गर्न पुगी, अब म पनि बोय फ्रेन्ड बनाउछु । आखिर कतिन्जेल म तड्पिनु, सोची त्यो क्याम्पस जाने बाटोमा क्यासेट पसले सधै मलाई घुरेर हेरी रहन्छ, आखिर ऊ पनि हेन्डसम अनि जवान छ, यति सोच्दा सोच्दै कतिखेर सबिता निदाइन् ।

यस्तैमा एक दिन घरमा दिपकको फोन आयो, म नेपाल फर्कदै छु । यहा हामी काम गर्ने कन्स्ट्रक्सन कम्पनी बन्द भयो, आर्थिक मन्दीले गर्दा सबै कामदारलाई घर पठाउँदै छ । कम्पनीले तलब पनि ३ महिनादेखि दिएको छैन, म सँग बचेको केही पैसाले ” सबिता! म तिमीलाई एउटा मोबाइल अनि राम्रो घडी ल्याई दिन्छु । मैले तिमीलाई एकदमै मिस गरिरहेको छु” भनेर दिपकले भन्दा सबिताको मुटु छिया छिया भएर आयो । कन्स्ट्रक्सनमा काम गर्न कति गाह्रो भयो होला, त्यस्तो बाहिरको गर्मीमा, साएद पैसा कम कमाएर नै अलि इकोनोमिक हुनु जान्नुपर्छ, भनेर फोनमा भनेको कुरा याद गरिन् । मलाई यति माया गर्ने श्रीमानलाई नाना भाति कुरा सोचे, साथीहरूको लहलहैमा कुरा सुनेर, सबिता आफैलाई दोषी ठानी । तिनलाई पश्चाताप भएर आयो अनि हतपत कोठामा गएर हुक्क हुक्क गर्दै रुन थालिन् ।

: बुद्ध चेम्जोंग
राजारानी १ धनकुटा
अक्टोबर २००९

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

14 thoughts on “तिनको नकचरो पोइ (मनोवाद कथा)”

  1. वास्तविक धरातलमा लेखिएका…….
    वास्तविक धरातलमा लेखिएका कथाहरु मलाई पढ्न मन पर्छ | कथाकार बुद्ध चेम्जोंगलाई धन्यवाद,

  2. समय सापेक्ष समकालीन कथा
    यस्ता कथाहरु हाम्रा समाजमा यथास्ट छन्, अनेकौ अलिखित सामाजिक परिवेसलाई….इंगित गरिएको जस्तो लाग्यो |

  3. Keep writing bhai…!!
    होइन भाइ, यो अरब दुबई अनि नेपालको परिवेसमा लेखिएको बैदेसिक रोजगारलाई समेटिएको यो कथा पनि मार्मिक छ,Keep writing Bhai….!!!

  4. Kathakar
    Kathakar Buddha chemjong ka kathharu sathai anya bidhaka sirjana haru pani yas majheri.com ma herne padhne mauka milyo.

  5. नेपाली साहित्यमा एउटा राम्रो कथा थपिएको छ,
    नेपाली साहित्यमा एउटा राम्रो कथा थपिएको छ, नेपालीहरु ग्लोबल नैजेसन हुने क्रमको यो अवस्थालाइ चित्रित ….कथा |

  6. Yaha pani rochak katha
    Hoina ho bhatij, yo katha padhda ta time gayeko pattai bhayena heheeheee hahaa haha hee heehe ajh aru pani lekhdai janu bhatij

  7. तिनको नकचरो पोइ नै किन?
    तिनको नकचरो पोइ नै किन? अरु सिर्सक राख्नु पर्दैन

  8. यस सामाजिक कथाका पात्रले
    यस सामाजिक कथाका पात्रले समाजमा भैरहेकाको वास्तविक अनुहारलाइ बोकेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *