Skip to content

नेपाली राजनीतिक कथाहरू: लोककथाको महत्त्वपूर्ण कृति

  • by


कथा आजको अत्यन्तै लोकप्रिय विधा हो । कथामा धेरै प्रयोगहरू पनि भएका छन् । आजको सर्वाधिक चर्चा र आकर्षणको विषय राजनीति हो । राजनीतिकै कारण देश र जनताले दुःख पाएको अवस्थामा राजनीति विशेष चासोको विषय हुँदोरहेछ । चासोकै कारण यी विभिन्न समय खण्डमा साहित्यकारहरूले राजनीतिलाई आफ्नो साहित्यिक कृतिहरूमा सम्बोधन गर्दै आएका छन् । कवितामा मात्र होइन गद्याख्यानमा पनि राजनीतिले यथेष्ट सम्बोधन पाएको छ । कथामा त अझ विशेष रूपमै राजनीति सम्बोधित छ ।

राजेन्द्र पराजुलीको सम्पादकत्व अन्तर्गत भर्खरै प्रकाशित कथासङ्ग्रह ‘नेपाली राजनीतिक कथाहरू’ एक पठनीय र सङ्ग्रहणीय कृतिका रूपमा देखापरेको छ । यस सङ्ग्रहमा गुरूप्रसाद मैनालीदेखि नयनराज पाण्डेसम्मका ३७ कथाकारका ३७वटा कथा सङ्कलित छन् । एउटै पुस्तकमा १९९७ सालदेखि २०६३ सालसम्मका राजनीतिक स्थिति, प्रवृत्ति र विशेषताहरू समाविष्ट प्रतिनिधि किसिमका कथाहरू सङ्कलित पाइनु यस पुस्तकको बिर्सिनसक्नुको विशेषता नै हो । २००७ सालदेखि प्रस्तुत ०६६ सालसम्मको समय खण्डमा थुप्रै राजनीतिक कथाहरू लेखिएका छन् । तीमध्ये कति निश्चित समयको राम्ररी प्रतिनिधित्व गर्ने कथाहरू छन् । यस सङ्ग्रहमा ती प्रतिनिधि कथाहरू सबै समेटिएका छन् अथवा छैनन् यो अध्ययनको अर्को पाटो हुनसक्छ । सङ्ग्रहमा जे जति कथा समेटिएका छन् ती प्रतिनिधिमूलक छन् र धेरै महत्त्वपूर्णसमेत छन् ।

झण्डै छ दशकभन्दा बढी समय क्षेत्र समेटेको राजनीतिक कथा साहित्य प्रस्तुत सङ्ग्रहमा सङ्गृहीत छन् । यी कथाहरूले तत् समयका राजनीतिक स्थिति र प्रवृत्तिका विम्बहरू उतारेका छन् । यसै त जुनसुकै र जस्तोसुकै साहित्यमा पनि प्रत्यक्ष अप्रत्यक्षरूपमा राजनीति त रहन्छ नै । राजनीतिक घटनाक्रमलाई नै लिएर रचिएको साहित्य समकालीन राजनीतिको जीवन्त प्रस्तुति र सटिक व्याख्यासमेत हुने गर्छ । यी कोणबाट हेर्दा प्रस्तुत राजनीतिक कथासङ्ग्रहको महत्त्व निर्विवाद नै छ ।

प्रस्तुत कथासङ्ग्रहमा राणाकालदेखि हालसालसम्मका घटना सन्दर्भ समेटिएका छन् । चयनका क्रममा प्रतिनिधि कथाकारका प्रतिनिधि कथाहरू पहिल्याउने र समावेश गर्ने प्रयास गरिएको स्पष्ट अनुभूत हुन्छ । कति कथाहरू अभिव्यक्ति, शिल्प, बुनोट र प्रवृत्ति सबैमा विशिष्ट खालका पनि छन् । कथा चयनमा आवश्यक सबै दृष्टिकोणको उपयोग भएर सबैको चित्तबुझ्दो हुन पुगेको छ भन्न नसकिए पनि चयन समग्रमा कुशलतापूर्ण छ । राणाशासनकालीन उकुसमुकुस पीडा, ०७ सालका बलिदान र शहादतको महिमा, पञ्चायतकालको यातना र ०४६ सालको मुक्तिबोधका साथ ०६६ सम्मका स्थितिहरूसँग सम्बन्धित प्रतिनिधिकथाहरू यस सङ्कलनमा समाहित हुनु नै यसको सर्वोपरि विशेषता हो ।

शासकीय यातना, यन्त्रणा, छट्पटी, सङ्घर्ष, मुक्तिबोध र त्यसपछि पनि परिवर्तित हुन नसकेको राजनीतिक संस्कृति अनि त्यसै परम्परागत संस्कृति अन्तर्गत हुर्कने, फैलिने विकृति विसङ्गतिहरू आजसम्मको नेपाली राजनीतिको चरित्र बनेको देखिँदैआएको छ । प्रस्तुत सङ्ग्रहमा पस्किएका कथामध्ये कति कथाले तिनै विकृति विसङ्गतिलाई पनि उधिनेर छरपष्ट पारिदिएको छ ।

यस सङ्ग्रहमा गुरुप्रसाद मैनालीको ‘शहीद’, भवानी भिक्षुको ‘नयाँ इतिहासको प्रारम्भ’, विश्वेश्वरप्रसाद कोइरालाको ‘एक रात’, गोविन्द गोठालेको ‘त्यो क्रान्तिको प्रतीक’, विजय मल्लको ‘परेवा, कैदी’, दौलतविक्रम विष्टको ‘प्रतिक्रियावादी’, रमेश विकलको ‘एउटा बूढो बकैनाको रूख’, पारिजातको ‘सम्बन्ध’, मोहनराज शर्माको ‘श्रीनाथ’, मनु ब्राजाकीको ‘भविष्य यात्रा’, ध्रुवचन्द्र गौतमको ‘निलडाम’, जगदीश घिमिरेको ‘माम्पा’, परशु् प्रधानको ‘एउटा क्रान्ति पुरुषको जन्म’, भाउपन्थीको ‘सनाखत’, खगेन्द्र सङ्ग्रौलाको ‘हरेरामकी आमा’, भुवन ढुङ्गानाको ‘प्रत्यक्षदर्शी’, हरिहर खनालको ‘चिसो जुनेली रात’, राजेन्द्र विमलको ‘ऐंजेरु’, गोपाल पराजुलीको ‘मुक्तिप्रसाद’, सनत रेग्मीको ‘मेरा कथाका पात्रहरू’, शैलेन्द्र साकारको ‘कालपात्र’, बेञ्जु शर्माको ‘यहाँ किन आएको ?’, पद्मावती सिंहको ‘बहिर्गमन’, भागीरथी श्रेष्ठको ‘भूमिगत’, मधुवन पौडेलको ‘रोशनबहादुर, छत्रप्रसाद र हर्कमानको कथा’ ध्रुव सापकोटाको ‘एउटा अनकन्टार गाउँमा’, ऋषिराज बरालको ‘आतङ्ककारी’, नारायण ढकालको ‘गद्दार ९६’, प्रदीप नेपालको ‘नुन’, राजवको ‘इतरजिल्लावासी’, अशेष मल्लको ‘समीकरण’, इस्मालीको ‘प्रतिगामी’, अविनाश श्रेष्ठको ‘नाङ्गो’, गोविन्द गिरी ‘प्रेरणा’को ‘प्रजातन्त्रमा’, राजेन्द्र पराजुलीको ‘नयाँ नेपाल’ महेशविक्रम शाहको ‘सिपाही र सालिक’, नयनराज पाण्डेको ‘निदाएँ जगदम्बा’लगायतका प्रतिनिधि राजनीतिक कथाहरू सङ्ग्रहित छन् ।

यी कथाहरूद्वारा प्रस्तुत सङ्ग्रहले एउटा समय खण्डको राजनीतिक स्थिति र प्रवृत्तिको खुलासा गरेको छ । कति कथाहरू आजका राजनेता तथा कार्यकर्ताले हेर्नैपर्ने छन् । एकाध कथा परिवर्तन विरोधी र गैरराजनीतिक परे पनि समग्रमा यस कथासङ्ग्रहले एउटा युगखण्डको राजनीतिक उद्घाटन गरेको छ । एक एक कथा इतिहासभन्दा मार्मिक र सटीक इतिहासजस्तो छ । राजनीतिकमा रहेकाहरूले आफू र आफ्नो परिवेशको मूल्याङ्कन गर्न र राजनीतिमा नरहेकाहरूले आफ्नो पर्यावरणको राजनीतिलाई उदाहरणसहित बुझ्न यो कथा सङ्ग्रह पढ्नु वाञ्छनीय छ ।

पुस्तक ः नेपाली राजनीतिक कथाहरू
सम्पादक ः राजेन्द्र पराजुली
संस्करण ः प्रथम २०६७
प्रकाशक ः पाठ्य सामग्री पसल, घण्टाघर, काठमाडौं
पृष्ठ ः २२ ं २२८
मूल्य ः रु. २२५

Leave a Reply

Your email address will not be published. Required fields are marked *