धादिङ जिल्ला भौगोलिक, धार्मिक, सांस्कृतिक र जातीय विविधताको धनी मानिन्छ । यहाँ देव-देवीहरूका स्थान र मन्दिरहरू प्रशस्त छन् । जस्तैः मैधीकोट, गोरखाका राजा पृथ्वीपतिका साहिँला छोरा दलु शाहले संवत् १७३० तिर स्थापना गरेका हुन् । मैधीकोटको उचाइ ४ हजार ५ फिट छ । धुवाँकोट भैरवी १७५० सालतिर स्थापना भएको हो । यसको उचाइ ५ फिट छ । धादिङकोट धुवाँकोटकी भैरवी नै धादिङमा लगेर स्थापना गरिएकी हुन् भनिन्छ । त्यसै हुनाले धादिङ भैरवीको स्थापना १७औँ शताब्दीको अन्त्यतिर भएको हुनुपर्छ । यसको पनि उचाइ ५ हजार फिट नै छ । बिन्दुकेशरी नदीको शिरमा तपेश्वर महादेवको स्थान छ । बीचमा (भर्याङ पुरुङमा) बिन्दुकेशर महादेवको मन्दिर छ भने त्रिशूलीमा मिसिएको संगमस्थलमा सिद्धेश्वर महादेव छन् ।

यस लेखमा विस्तृतरूपमा चिनाउन खोजिएको चाहिँ ढोला मण्डलीमाई हो । धादिङ जिल्लामा अवस्थित ५० गाविसमध्ये ढोला गाविस पनि एक हो । धादिङका तीन निर्वाचन क्षेत्रमध्ये ढोला गाविस दुई नम्बर निर्वाचन क्षेत्रअन्तर्गत पर्छ । ढोला गाउँ पञ्चायतलाई खरीसमेत मिलाई ठूलो चौबारी गाउँ पञ्चायत बनेको थियो । २०३३ सालमा चौबारी गाउँ पञ्चायतलाई फोरी पुनः ढोला गाउँ पञ्चायत र खरी गाउँ पञ्चायत गरियो ।

धादिङ जिल्लाको भौगोलिक नक्सा हेर्दा ढोला गाउँ विकास समिति खरी, मैधी, नलाङ, चैनपुर र मुरलीभञ्ज्याङ यी पाँचवटा गाविसले घेरिएको छ । मैधी, खरी र चैनपुर यी तीन गाविसको सीमा बूढीगण्डकी हो । जुन बूढीगण्डकी गोसाइँकुण्ड (धर्मधारा कुण्ड) बाट चार कोस पर पश्चिममा अवस्थित रोप्यशृङ्ग नामक हिमालयमा मरीचि महषिर्ले तपस्या गर्नुभएको थियो । त्यसै हिमालयमा गौरीको शरीरबाट झरेको पसिनाबाट बनेको यशोधारा नामक कुण्डबाट बगेकी बूढीगण्डकी हो । अत्रि महषिर्ले तपस्या गर्नुभएको धर्मधारा -गोसाइँकुण्डबाट बगेकी त्रिशूली गण्डकी र यशोधारा कुण्डबाट बगेकी बूढीगण्डकीको सङ्गमस्थल बेनीघाट हो । स्कन्धपुराणअन्तर्गतको हिमवत्खण्डअनुसार यी दुई गण्डकीको सङ्गमस्थल अत्यन्तै ठूलो तीर्थ मानिएको छ ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि यसको नामकरण ढोला गाउँ विकास समिति गरिएको हो ।  यस गाउँ विकास समितिमा अवस्थित ढोलामण्डलीमाई नेपालकै प्रसिद्ध धार्मिक तथा सांस्कृतिक स्थलहरूमा पर्दछ । ढोला मण्डलीमाईको स्थानमा पुग्न धादिङबेसीबाट लगभग तीन घन्टा पैदल हिँडेपछि पुग्न सकिन्छ । ढोला मण्डलीमाईको स्थानमा नेपालका धेरैजसो भागबाट मङ्गलबार बाख्राका पाठीहरू लिएर मण्डलीमाईलाई चढाउन लानेको लर्को देखिन्छ ।

ढोला मण्डलीमाईको उत्पत्तिको किंवदन्ती विचित्र किसिमको छ । ढोला मण्डलीमाईका पुजारी मगरको भनाइअनुसार ढोलाकी मण्डलीमाईको उत्पत्ति भएको समय लगभग १८५० सालतिर हो । त्यतिबेला एकजना मगरजातिका मानिस घर बनाउनका लागि सालको थाम काट्ने उद्देश्यले बन्चरो लिएर वनमा गए । त्यहाँ सालको रूख काट्न लाग्दा बन्चरोको धार नै झर्यो । सालको रूखमा डोब पनि लागेन । यस्तो देखेर ती मगर आश्चर्य मान्दै घरमा आए । भोलिपल्ट धार झरेको बन्चरो लिएर कामीको आरनमा गई अर्जापेर ल्याए र फेरि सालको थाम काट्न त्यही हिजो काट्न लागेको सालको रूख ढाल्न भनी गएर पहिलोचोटि त्यही सालको रूख काट्नेबित्तकै रूखबाट रातो रगत बग्न थालेछ । त्यो देखेर ती मगर आश्चर्यचकित हुँदै रूख काट्नै छोडेर घर गए ।

बेलुका खाना खाएर सुतेपछि राति सपनामा ‘म मण्डली माई हु्ँ । म यही सालको रूखमा बसेकी छु । यो सालको रूखलाई काट्न प्रयत्न नगर्नू । गाउँ, सहर, राष्ट्र र त्यहाँका निवासी सबैलाई सङ्कट आइपरेको बेलामा संरक्षण गर्नेछु । मेरा पूजाविधि निम्न प्रकारको छ । जस्तैः पूजा गर्नका लागि १२ वर्षभित्रको कुमार केटो हुनुपर्छ । बाख्राका पाठीहरू मेरा निम्ति भोग लगाउनुपर्छ । लावा, चन्दन, अक्षता, फूल, नैवेद्य, फलफूल आदिद्वारा मेरो पूजाआजा गर्नुपर्छ । महिलालाई यहाँ आउन र मेरो प्रसाद खान नदिनु । पूजा गरेपछि प्रसाद घरमा लैजान हुँदैन । भोग दिएको पाठी टाउकोविनाको त्यतै कुनै ठाउँमा भोज गर्नुपर्छ । मेरो पूजा हरेक वर्षको चण्डीपूणिर्माको दिन निमपूजा गर्नु’ भनेर सपनामा दिएको भनाइ प्रचलित छ ।

वर्ष दिनमा एक दिन मात्र निम पूजा गर्दा ज्यादै घुइँचो हुने भएकाले पुजारी मगरको परिवार भेला भएर महिना दिनभरिमा आउने एउटा औँसी र दुइटा एकादशीमा मण्डलीमाईको पूजा नलाग्ने भएकाले ती तीन दिनबाहेक एक महिनामा आउने चार वा पाँच मङ्गलबार बाख्राका पाठीहरूको बलि दिने र चैत महिनाको २२ गतेभन्दा पहिले समक्ष पूजा गर्ने निष्कर्ष छलफलबाट निकालियो । निर्णयानुसार हालसम्म चलिआएको पूजाको चलन पनि यही हो । मण्डलीमाईको पूजा गर्दा आफूले सोचेको कुरा पुगेको छ

त ? भनी प्रश्न गर्दा पुजारी दर्लामी मगरले भने, “सोचेका र मागेका कुरा नपुग्ने कुरै भएन । जनताले सोचेअनुसारका कुरा पुगेकै छन् । त्यसैकारण होला अचेल मण्डलीमाई भन्ने कुरा नेपालका कुनाकाप्चा, दूरदराजसम्मदेखि अन्तर्राष्ट्रियजगत्मा पनि प्रतिदिन प्रख्यात हुँदै दिनमा तीन सयवटा पाठीहरू मण्डलीमाईलाई चढाएको कुरा पुजारी दर्लामी मगरले बताए । मण्डलीमाईले सपनामा बताएको पूजाविधिविपरीत पूजा गर्न गएको बेलामा त्यस्तो किसिमको कुनै अपि्रय घटना भएको छ कि ? भनी सोधनी गर्दा पुजारी दर्लामी मगरले भने, “नलाङ गाविस वडा नं. ९ का रामचन्द्र सिलवालले जुत्ता नफुकालीकनै मण्डलीमाईलाई नमस्कार गरेकाले तत्काल दिउँसै अन्धकार भयो र आफ्नो अगाडि बाघ आई आँखा बन्द भयो । पछि उनले मण्डलीमाईलाई प्रार्थना गरेर मैले मण्डलीमाईको बारेमा केही बिराएको भए मलाई क्षमा गर्नुहोस् । हजुरलाई पाठी चढाउनेछु भनी भाकल गरेपछि उनका आँखा खुले र उनी घरमा गई झाँक्रीलाई आफ्नो ढोलामण्डलीमा भएको घटनाबारे सुनाउँदा तपाईंले मण्डली भगवतीलाई मङ्गलबार एउटा पाठी लगेर चढाउनुहोस् भनी निर्देशन गरेपछि उनले मण्डलीमाईलाई पाठी चढाएपछि उनका आँखा राम्रोसँग खुले भन्ने कुरा पुजारी दर्लामी मगरले बताए ।

७८ वर्ष भएका पुलामी मगरलाई मण्डली भगवतीको सत्यता कत्तिको छ भनी प्रश्न गर्दा उनले भने, “मण्डलीमाईको प्रसादसँगै जाँड र रक्सी मिसाएर खाएकाले केही समयपछि केही अदृश्य व्यक्तिहरूबाट उनले बेस्सरी कुटाइ खानु परेको थियो । मलाई पिट्ने साहस तिनीहरूमा कसरी आयो ? अबउप्रान्त म मण्डलीमाईलाई पाठी चढाउँछु र शुद्ध प्रसाद मात्र खानेछु भन्नेबित्तिकै कुटाइबाट उनलाई राहत मिलेको थियो ।

त्यसपछि मण्डलीमाईको शक्ति र सत्यता रहेछ भनी विश्वस्त भई पाठी, घन्ट र बाघको मूर्तिसमेत हरिबहादुर थापाले चढाएका थिए । त्यहाँको चलनअनुसार महिला जातिले त्यहाँ जान पनि नहुने र पूजा पनि गर्न नहुने भन्ने किसिमको प्रचलन र तरिका ठीक जस्तो लाग्दैन । किनकि पुरुष अर्धाङ्ग हो भने स्त्री अर्धाङ्गनिी हो । देवदेवीहरूको दर्शन गर्न र पूजा गरी प्रसाद खान बन्देज गर्न उचित लाग्दैन । किनकि शिवपुराणअनुसार एकपल्ट भगवान् शिवसँग पार्वती रिसाउनुभएको थियो । शिवजी ताण्डवनाच गर्न थाल्दा उहाँको शरीर आधा मात्र घुम्यो, पूरा घुम्न सकेन । पार्वती रिसाएकीले पूरा घुम्न नसक्नुभएको भन्ने कथा लेखिएको छ । त्यसैगरी अछूत भनिने दलित जातिहरूलाई पनि मण्डलीमाईको स्थानमा जान नहुने र पूजाआजा गर्न पनि हुँदैन भनी निषेध गर्न नहुने हो । एकपल्ट धादिङका पचास साठी जना दलितहरू ढोलामण्डलीमाईको पूजा र दर्शन गर्न भनी जाँदा स्थानीय अन्य जातिहरूसँग भिडन्त भएको थियो । हाम्रा कुनै पनि नियम, कानुन र धर्मग्रन्थहरूमा कुनै पनि जाति जान र पूजाआजा गर्न रोक लगाइएको छैन । दलितहरूले पूजा र दर्शन गर्न पाउनुपर्छ, मण्डलीमाईको स्थानमा जान र पूजा गर्न पाउनुपर्छ भनी जिल्ला अदालत धादिङमा उजुरी पर्दा दलितहरूलाई ढोला मण्डलीमाईमा प्रवेश नरोक्नु भनी आदेश दिइसकिएको छ ।

धर्म र पूजापाठमा पनि समय र परिस्थितिले समयानुकूल पार्दै जाने रहेछ । भनिएको पनि छ, माघ महाकाव्यमा ‘समय एव करोति बलाबलम्’ ग्रीष्म ऋतुमा मयूरहरूको बोलवाला हुन्छ भने शरद ऋतुमा हाँसहरूको बोलबाला हुन्छ । कसैलाई ठूलो बनाउने र सानो बनाउने काम समयको नै हो । मौका गुमाउन हुँदैन । मौका गुमेपछि कुनै पनि चीज सफल हुँदैन ।

पहिले दलितहरूले ढोला मण्डली माईको पूजा गर्न र दर्शन गर्न पाएका थिएनन् । अहिले तिनीहरूले पनि खुलारूपमा मण्डलीमाईको दर्शन र पूजा गर्न पाएका छन् । २०५६ साल वैशाख १४ गतेदेखि २०६२ साल जेठ ३० गतेसम्म पुरानो परम्पराअनुसार चलेको थियो भने २०६२ जेठ ३१ गते दलित सेवा सङ्घका अध्यक्ष गोपाल विश्वकर्माको नेतृत्वमा ५२६ जना दलितका साथ ढोला मण्डलीमाईमा पाठीहरू चढाएर आएदेखि दलितहरूले पनि खुलारूपमा पूजापाठ गर्दै आआफ्नो जेजस्तो भावले चिताएको ढोला मण्डलीमाईलाई पूजा गर्दै आएका छन् । यस घटनाबाट समयअनुसार परिस्थिति पनि परिवर्तन हुँदै जाने कुरा सिक्नुपर्ने रहेछ । राज्यको संरचनामा पनि समावेशी, समानुपातिक नियम लागू मात्र नभई देवताहरूमा पनि समयानुसार लागू हुँदै जाने रहेछ भन्ने बुझ्न सकिन्छ । यसकारण पनि  कुनै किसिमको अनिष्ट भएन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *