सोचिरहेको कुरा एउटा हुन्छ भइदिन्छ अर्कै । एकसुरमा िहंडिरहेको मान्छेको ध्यान गन्तव्यविन्दु मात्र हो । ऊ गन्तव्यविन्दुमा नपुगीकनै अन्यत्र पुग्यो भने उसको मनमा युद्ध गर्ने योद्धाहरू जन्मिन्छन् । कसैका हातमा भाला हुँदा हुन् कसैका साथमा बम र बन्दुक । आखिरमा युद्ध हुन्छ नै । त्यस युद्धमा ऊ स्वयम् थकित हुन्छ र लत्र्याकलुत्रुक पर्छ । त्यसपछि भने पछुताउँदै पुनः गन्तव्य विन्दुतर्फ लाग्छ ।
त्यस्तै परिस्थितिलाई मैले पनि पिउनुपरेको छ त्यस्तै अवस्थालाई पचाएर जिउँनुपरेको छ । कतै शब्दमा उन्नलाई शिर निहुद्व याउनुपर्ने अवस्था वहन गर्नुपरेको छ । सास रहुँाजेल संसारको फेसनलाई नस्वीकार्दा पाखे भइएला कि भन्ने त्रास पनि बोक्नुपरेको छ । आजको मान्छे भएभरको भार थाप्लोमा बोकिरहेको छ । चाहिँदोभन्दा अचाहिँदो भारले मान्छे निसासिएको छ । त्यही सांसारिक भारले थिचिएर मान्छे नालायक बन्दै छ । नियम मान्छु भन्छ अघि सर्छ । मान्न सक्दैन पछि सर्न जान्दैन । अघि बढ्न पनि सक्दैन र बाटो नै मोडिदिन्छ । मोडिएको बाटोले गन्तव्यमा पुर्याउँदैन । त्यसपछि भने संसारले एक सच्चा मान्छे गुमाउन पनि सक्छ र बदलामा एक पाखण्डी पाउँछ । अतः नाफामा हुनुपर्ने संसार घाटामा पर्न आउँछ ।
मन गुमाएको वखतमा म पुगेँ । मेरो होस नै केही दिन गुम भयो । मनमा आँधी आयो तुफान आयो । मनले मनसँगै युद्ध गर्यो । त्यस युद्धमा धेरै नासिएर मासिएर गए । आखिर सत्य जे थियो पर्दा बाहिर आयो । आउनुपूर्व नै जे नहुनु थियो भइसकेको थियो । होस विनाको जोस पछुतोको कारण बन्दो रहेछ ।
म निजी बोर्डिङ्ग स्कूलमा पढाउँने मान्छे हुन त अचेल निजी क्याम्पसतिर पनि पिरियड पाएको छु । ठूला िवद्वानहरूका शब्द सापटी लिन्छु र भोलिका कर्णधार र आजका निमुखा विद्यार्थीवर्गमा वितरण गरिदिन्छु । मेरा मुखका शब्द पाएर उनीहरू पनि छक्क पर्छन् । सरसँग शब्द र भावका ठूल्ठूला खानी छन् सबै अवस्थालाई पर्गेल्ने सीप र दक्षता छ भन्ठान्छन् । सर भनाउँदोको बुद्धि भुत्तो भएको छ दिमाखमा भुस भरिएको छ रातभरि नपढे दुई शब्द सुनाउन सक्दैन भन्ने कुरा विचाराहरूलाई के थाहा नौलोपन छैन नौलो सिर्जना छैन । एउटा बूढो माझी बनेर नाउ तारिरहेछु तर्नेहरू धेरैले गन्तव्यको दिशा पकि्रसके थोरै मात्र भड्किरहेका छन् । दुबै पक्षलाई हेरिरहेको छु भोगिरहेको छु । भएको कुरा यही हो कि म मुखले बक्ने मान्छे मात्र नभई मस्तिष्कले लेख्ने मान्छे पनि हुन चाहन्थेँ । यसका लागि कसरत गर्दागर्दा एक दशक वितिसकेको थियो र पनि विशिष्ट ठाउँमा मेरो कलमी पौरखले कसैको मुहार हेर्न पाएको थिएन । मन धुम्म थियो । उज्यालो दिन आउला भनेर पर्खी बसेको थिएँ ।
संसार नै घुसपैठ सोस्रफोस्र भ्रष्टचार र भनसुनले चलेको छ । त्यसभित्र नपस्ने र नफस्ने मान्छे विरलै होलान् । घरमा होस् या बाहिरमा । सहरमा होस् या गाउँमा । झुप्री होस् या महलमा । जताततै भ्रष्टचार मौलाएको छ आर्थिक हिनामिनाको भ्रष्टचार नभए पनि नैतिक भ्रष्टचार अवश्य सर्वत्र छ । यही समाजको एक सदस्यको नाताले मैले पनि नैतिक भ्रष्टचारमा फस्ने इच्छा राखेँ । सोझो औँलाले घिउ नआएमा औंलो बग्याउनुपर्छ भन्ने कुरा बूढापाकाबाट सिकेको थिएँ । त्यसैले साहित्यिक पत्रिकाहरूको पूर्ण ठेगाना भेला पार्ने अभियानमा जुटेँ । साहित्यिक मित्र रामविक्रम थापा र पुन्य कार्कीको सहयोगले साहित्यिक पत्रकारिता क्षेत्रको गोजी पात्रो हात लाग्यो र मेरो खोज पूर्ण भयो । त्यसपछि धेरै पत्रिकामा रचना प्रेषण गरेँ । सबै रचनाको तल आफ्नो फोन नं र इमेल ठेगाना पनि लेख्न थालेँ । साहित्य जगतका लागि दुर्गम भेगको मान्छे परियो । रचना प्रकाशन भएको वा नभएको प्रकाशन योग्य रहेको वा नरहेको केही थाहा हुन्नथ्यो । साहित्यिक मान्छे बन्ने लालच बोकेको मान्छे त हुँ तर कतै केही बोल्नुपर्दा शिर निहुरिहाल्थ्यो । बेइमानको खेती त मैले पटक्कै गरेकै थिइनँ र पनि यस्तो किन लाग्छ भित्रभित्रै पाक्नुको विकल्प मसँग थिएन । समग्रमा न यत्ताको मान्छे न उत्ताको मान्छे नै मै हुँ भन्ने निष्कर्ष निस्कन्थ्यो ।
एक दिन मेरो मोवाइलको घण्टी बज्यो । यसो हेरेँ ‘फित्कौली नरनाथ’ लेखिएको थियो । मलाई व्यक्तिको नामभन्दा थर र सम्पादकको नामभन्दा पत्रिकाको नाम पहिले याद हुन्छ । सोही बमोजिम पत्रिकाको नाम पछि मात्र सम्पादकको नाम लेख्ने गर्छु । ‘फित्कौली नरनाथ’बाट फोन आउँदा मन गद्गद् भयो । अब के भनेर बोल्ने के भन्न त्यत्रा ठूला हाँस्यव्यङ्ग्यकारले फोन गरेका हुन् त्यस्ता खुंखारले पक्कै पनि मननीय कुरा नै गर्लान् । चौथो आयाम कविता आन्दोलन सम्बन्धी जिज्ञासा शान्त पार्न कवि दुबसु क्षेत्रीले एक पटक फोन गरेका थिए । त्यसबेला पनि साहित्य क्षेत्रका मनग्यै कुरा थाहा पाइएको थियो । आज पनि हाँस्यव्यङ्ग्यकार नरनाथबाट मनग्यै कुरा सुन्न र सिक्न पाइने भयो भन्ने सोच्दै थिएँ । हिम्मत जुट्दै थियो । समय वितेछ । फोन मिस्ड कलमा परिणत भयो । क्षणभरमै मनमा पीडा वोध हुन थाल्यो । एकै क्षणमा सोही फोन पुनः आयो । रोमािाचत हुँदै फोन उठाएँ ।
‘हजुर नमस्कार’
‘तँ के र को होस् अनि कत्ति पानीमा छस् हामीलाई पूरापूरी थाहा छ । तँलाईं यही धर्तीमा बाँच्नु छ भने होसको दबाई खाएर काम गर् । हैन धर्तीबाटै सुइकुच्चा ठोक्नुछ भने आफ्नो मनमौजी गर् । आफ्नो अहम्ता प्रदर्शन गर्दै हिँड् । मृत्युको मुख देखेको छैनस् जस्तो छ । यो अन्तिम चेतावनी हो अब फुकीफुकी पाइला चालिनस् भने तँ नन्दलालको रुपमा कदापि रहँदैनस् । तँ नन्दलाल हैन गन्देलाल हुन्छस् गन्देलाल बुझिस् पहाडपर्वतका गुहेकिराहरू मैदानमा झरेर गुहुमुत गर्ने जमाना गए…। कुरो सुन्दै छस् हैन…’
मोवाइलमा अरु तथानाम सुन्नै सकिनँ । मन थाम्नै सकिनँ । फोन काटिदिएँ र स्वीच अफ गरी एक कुनामा फ्याकी दिएँ । कत्रो गल्ती गरिएछ । अर्काको लहैलहैमा लागेर मोवाइल किनियो । सबै साथीहरूले मोवाइल नम्बर मागेर हैरान पारेकाले दुई चार पैसाका दरले खाई न खाई जोगाएको रुपियाँ भेला पारेर मोवाइल किनेको थिएँ । आज त्यही मोवाइलको कारणले थामिनसक्नुको पीडा गरायो । मैले सोचविचार गरेर नै ‘फित्कौली’लाई रचना पठाएको थिएँ । हाँस्यव्यङ्ग्यको नियममुताविक नै रचना सिर्जेको थिएँ त । यस्तो गाली खाने काम त मेरो रचनाले पक्कै गरेको थिएन । साहित्यिक मित्र इन्द्रकुमार श्रेष्ठले ‘फित्कौली’को ठेगाना उपलव्ध गराएर र रचना पठाउन प्रोत्साहन गरेकाले मात्र पठाएको थिएँ । फेरि रचना प्राप्त गरेकै आधारमा यस्तो उग्र रोष किन आउँनुपथ्र्यो कि यी राजधानीका सम्पादकहरू गाउँठाउँका कलमजीवीहरूका रचनाहरूलाई फुटेका आँखाले पनि हेर्न सक्दैनन् त्यत्रा ठूलाबडा मान्छेले मजस्तो झुत्रे मान्छेलाई गालीगलौज गर्नु किमार्थ उचित हैन । कि यो पनि एक प्रकारको हाँस्यव्यङ्ग्यात्मक कुराकानी गर्ने शैली हो यस्तै नाना थरीका विचारहरू तँछाडमछाड गर्दै मडारिरहे । जोस जोसमै होस गुमाएर पत्रिकालाई प्रेषण गर्न भनी ठीक्क पारेका आधा दर्जन रचनाहरूको जरो नै नराखी च्यातचुत पारी अगेनामा हालिदिएँ । ज्यान नै जाने कुरो सुनेँ । अब बाँकी नै के रह्यो र पछि सामथ्र्य पुगेछ भने जवाफ फर्काउँला भनेर चित्त बुझाउने कोशिस गरेँ । साहित्य क्षेत्रकै विद्यार्थी भए पनि मलाई त्यस बेला एलर्जी भो साहित्य । मोवाइलको त मुहारै हेर्न मन लागेन ।
दुई दिनपछि मेरा मित्र अभितकुमार चौधरी मेरो डेरामा आएर मोवाइल स्वीच अफको कारण खोतल्न थाले । मैले वृतान्त बताएँ । ठूलाबडा मान्छे कैँटे हुन सक्छन् तर सानातिना मान्छेलाई थर्डक्लासको गालीगलौज गरेर तसा्रउने बानी उनीहरूको हुँदैन भन्ने कुरा उनले बताए । मोफसलले नै साहित्य क्षेत्रको ठूलो हिँस्सा ओगटेको कुरा उनीहरूलाई पनि थाहा छ भन्दै उनी बाहिरिए ।
उनी गएपछि अन्तिम वाक्य पुनः सम्झन थालें पहाडपर्वतका गुहेकीराहरू मैदानमा झरेर गुहुमुत गर्ने जमाना गए…। कुरो सुन्दै छस् हैन फित्कौलीका सम्पादक नरनाथ मैदानवासी त हैनन् । यदि भए पनि उनमा पहाडपर्वतप्रति श्रद्धा त अवश्य हुनुपर्छ । उनले त्यसो भन्नै नसक्नु पर्ने हो । के उनकै मोवाइलबाट आएको हो त फेरि शंका उब्जियो । मोवाइल स्वीच अन गरेँ । मैले सेभ गरेको नम्बर थियो ‘फित्कौली नरनाथ’को नाममा ९८४१५२१७४८ । पछि थाहा पाएँ । गालीगलौजको स्वर सुनिएको रहेछ ०३१५२१७४८ बाट । कुरो बुझ्दै जाँदा शिक्षणरत् रहँदा एउटी छात्रा मदेखि रिसाइछिन् र गुण्डा केटाहरूलाई मलाई धम्क्याउन पठाइछिन् । तिनीहरूकै मुखरावृन्दबाट मैले ती कुरा सुन्नुपरेको रहेछ । त्यो नम्बर पनि एउटा पसलेको रहेछ । कसले कहिले कसलाई के भनेर फोन गर्छ त्यसको हेक्का राख्न नसकिने कुरा पसलेको मुखबाट सुन्न पाउँदा म छाँगाबाट खसेजस्तो भएँ । सेभ नम्बरका अन्तिम अक्षर मिलेमा उक्त झमेला आइपर्ने रहेछ । काम कुरो पहिले नै बिगि्रसकेको थियो । यो मोवाइल महिमाले मेरो मनमा ठूलो हलचल ल्याइदियो । रचना खरानी भए फित्कौली र सम्पादक नरनाथका नाममा साहित्य क्षेत्रमा वितृष्णा जाग्यो । वितृष्णालाई तृष्णामा परिणत गर्न हम्मे पर्यो । कुरो नबुझीकनै मनमा आँधी ल्याउँदा पछुतो लाग्यो पछुताइरहेको छु । जे भए पनि साहित्यिक धार नछाड्ने अठोट लिएँ लिइरहेको छु ।
०६६।१०।२३ शनिवार तपेश्वरी १ गल्फडिया उदयपुर
