Skip to content

सुजाता, एक पेग कोग्न्याक र नयाँ वर्ष


इमेलमा उनको पत्र आउँदा लगभग पौने बाह्र बजिसकेको थियो ।

पौने बाह्रको त्यो समय मेरा निम्ति प्रियकर हुन्छ । मलाई सम्झना छ….पौने बाह्रको यही समय नै मैले सम्भवतः पहिलोपटक चुरोटको स्वाद लिएको थिएँ । त्यसलाई मैले त्यतिबेलाको ठूलो शिखरारोहण मानेको थिएँ र अझै पनि सम्झिन्छु, त्यस रात हामी केही साथीहरू एकसाथ बसेर फुटबल हेर्दै थियौँ ।

त्यो समूहको नाम कलेजमा व्यापक रूपमा चर्चित थियो- हीभ एइटी फोर भनेर । हीभको पूर्ण अर्थ थियो- एचआईभी । एचआईभी त्यतिबेला एउटा रोगको नाम भइसकेको थिएन, मात्र समाचारको शीर्षक थियो । विशेषतः अङ्ग्रेजी साप्ताहिकले त्यसको फलो-अप न्युज बनाएर युवाहरूमाझ लोकप्रिय बनाइसकेको थियो र ती युवाहरूमध्ये सुधाकर पत्रकारिताको त्यो विद्यार्थी थियो, जसले त्यस रोगका बारेमा पत्ता लगाएर हामीलाई पहिलो खबर सुनाएको थियो ।

समयान्तरमा उसले त्यस रोगबारे लेख्यो पनि तर समाचार होइन, कविता लेख्यो । अचम्मसित ऊ कवितासहित प्रकट हुँदा ऊभित्रको नयाँ व्यक्तित्वसित हामी परिचित भयौँ र नेतृत्वगुण भएका कविलाई हामी साराले एक्कासि आइडलको रूपमा स्वीकार्यौँ ।

यो घटनाले पछि नयाँ स्वरूप लियो- त्यो रोगले सुधाकरलाई कविको रूपमा भन्दा प्रेमिकाका रूपमा स्थापित गर्यो । सुधाकरको काव्य व्यक्तित्वमा कविताको अनुच्छेद बनेर सुजाताले प्रवेश गरी ।

सुधाकर असलमा एउटा कुशल राजनीतिज्ञ व्यक्तित्व भएको विद्यार्थी थियो, सुजातासितको भेटपछि उसले आफ्नो राजनीतिक जीवनलाई नेपथ्यमा धकेलिदियो । जसरी सुजातासित भेटेपश्चात् सुधाकरले आफ्नो क्यारियर बदले त्यसरी नै मनोविज्ञान पढ्न आएकी सुजाताले सुधाकर महोदयलाई भेटेपश्चात् पत्रकारिता पढ्न थाली र आफ्नो चयनको विषयलाई तिलाञ्जली दिई ।

भन्नेहरू अझै पनि भन्छन्- त्यही कारणले सुधाकर र सुजाताको सम्बन्ध भएको हो तर एक साक्षीका रूपमा हेर्दा मलाई त्यति मात्र कारण पर्याप्त हो जस्तो लाग्दैन ।

सुधाकरसित निकटता भएको चार वर्षपछि सुजाता एकदिन मलाई भन्छिन्- “शरदजी…..। मेरो जीवनमा यतिबेला दुईजना पुरुषको एकैपटक आगमन भएको छ । दुवैले मलाई राम्रो इम्प्रेसन दिएका छन्, एकजना सुधाकर र अर्को विनय । तपाइँ भन्नुहोस्, ती दुईमध्ये कुनमा बढी मेरो पति बन्न सक्ने गुण छ ?”

प्रश्नको गोबरझ्याउलोमा तिनले मलाई यसरी अल्झाइन् कि म निर्दिष्ट उत्तरभन्दा त्यस दुईजनामा एक थपिएर तेस्रो नाम किन हुन सकेन, त्यतातिर आकृष्ट हुन पुगेँ । तिनले फेरि सोधिन्, “तपाइँ त मभन्दा बढी कन्फ्युज हुनु भो त….।”

परिस्थितिको गलत अनुमान हुँदाहुँदै पनि मैले आफ्नो मनोभावलाई एक विदूषकलेझैँ प्रस्तुत गरेँ, “होइन, सुजाता ! म त तेस्रो नाम पो खोज्दै थिएँ । मेरो नाम…….?”

मेरो पङ्क्तिले पूर्णता ग्रहण नगर्दै उष्णता दिँदै हाँसिन् । तिनको हाँसो कलेजमा सर्वव्यापी मानिन्छ । त्यो हाँसो दीर्घकालसम्म मेरो निम्ति कर्णकटु बनिरहृयो । म भन्दै थिएँ, तिनले मेरो स्वरलाई बलाघात पुर्याएर भनिन्- “यो एउटा अर्को रोमान्टिक कुरा हो । यो विनोद-चर्चाको लागि ठाउँ छैन आज……।”

मेरो एउटा महत्ताभास भनौँ वा भाग्ने सर्टकट बाटो म स्वयंले पनि त्यतिबेला त्यस बहसमा पैरवी गर्न चाहिनँ, सम्भावना नदेखेर होइन सुजाताबाट सज्जनता पाउन र त्यसलाई आफ्नो पराजयभन्दा महानता ठानेर मैले हात झकिेँ ।

म विनयभन्दा तल परेँ वा कति अङ्कले म सुजाताको नजरमा अनुत्तीर्ण भएँ, मैले त्यसपछि कहिले सोचिनँ । यो विनोद-चर्चाको लामो समयपछि सुजाताले विवाह गरिन्- सुधाकरसित होइन, विनयसित ।

विवाहमा सुधाकर पनि सहभागी थियो तर निम्तालुका रूपमा नभई ऊ त आफैँ एउटा आयोजक जस्तो रूपमा थियो । पार्टीमा उसले डि्रङ्क्स डिपार्टमेन्ट जिम्मा लिएको रहेछ र दिलोज्यानले ऊ खट्दै थियो । साथीहरू उसमाथि स्मोकिङ जोक्स बनाउँदै थिए, स्मोकिङ जोक्स हाम्रो कलेजको दिनदेखि लोकप्रिय विधामा पथ्र्यो । कुनै पार्टीमा पुरुषलिङ्गीहरू स्त्री पक्षबाट बचेर कुनै अश्लील ठट्टा गर्नुपर्यो भने चुरोट खाने बहानामा कुनामा गएर एकपक्षीय भएर अड्डा जमाउँथे । त्यसका सूत्रधार त सुधाकर महोदय नै थिए तर आज उसमाथि नै त्यस्तो वषर्ापात हुँदै गरेको देखेर मलाई दया कम रिस बढी उठ्यो । मलाई हेर्दै कसैले भन्यो- “हेर्नोस्, शरद’ जी ! सुधाकर पहिले दिल लगाएर माया गथ्र्यो, आज पसिना बगाएर माया देखाउँदैछ । यसको पसिनाको चमकले काम गर्यो भने वैकल्पिक उम्मेदवार यही हो ।”

मिर्जा गालिबका परमभक्त सुधाकरमाथि पालैपालो गालिबकै अन्दाजे-बयानमा शेरोशायरी भन्दै उनीहरूले प्रहार गर्दैगर्दा म स्वयं पनि पसिनापसिना भइसकेको थिएँ, कतै मैमाथि पनि यो प्रहार हो कि भन्ने सोच्न विवश भएँ ।

“…..वैट एण्ड वाच शरदजी, एकदिन यो सुधाकर यही महानगरको कुनै कुनामा सुधाकर भएर होइन, सुजाताधर भएर देखा पर्नेछ, भक्त भो यो सुजाताको । नेपाली साहित्यमा पीएचडी गर्नेले एउटा नयाँ विषय पाउने भो- गजलकार सुधाकरको साहित्यिक जीवनीमा सुजाताको देन…..ब्लाह !……ब्लाह ! सुन्नु’भो, शरदजी ! नेपाली साहित्यको महान् जोक् ….।

तिनीहरूलाई थाहा थिएन, शरदजी पनि यस कथाको एउटा त्यस्तै दयनीय पात्र हो भनेर तर नेपथ्यमा भएकाले मात्र ऊ आज यो विनोद-चर्चाबाट बाँचेको हो । यस दुर्घटनाग्रस्त हालतबाट बचाउनुमा त्यस अघिल्लो विनोद-चर्चाको पूर्वाभासले मलाई सेफल्याण्डिङ् गर्यो । म खुसी भएँ तर त्यति होइन जति उनीमाथि पालैपालो सलाई कोर्नेहरू भइरहेका थिए । म त तिनीहरूभन्दा दुरुह अवस्थामा थिएँ, तर त्यति पनि होइन, जति सुधाकर थियो होला । सुधाकरको खटाइ हेर्दा ऊ पनि त्यति दुःखी जस्तो लागेन । हुनसक्छ, उसले आफूभित्रको पञ्चवटीलाई बचाइराखेको होस् । यी सारा प्रकरणपछि मलाई सुजातालाई भेट्न मन लागेन तर एउटा प्रश्न चैँ सोध्न मन लागेको थियो, “किन सुजाताजी ! किन यस्तो रि-सफल ? राजनीतिमा जस्तो ….।”

तर सोधिनँ । बरु अर्को एउटा प्रश्न सोध्न मन थियो । त्यो पनि सोधिन । त्यहाँसम्मै पुग्नै मन लागेन ।

फर्किनै लागेको थिएँ, करिडोरमा सुधाकर नै भेट भयो । मैले केही भन्न नपाउँदै त्यो आफ्नो छविमा ओर्लिहाल्यो- “हमेँ मालूम है हकिकत कि जन्नत लेकिन….।”

त्यसको मिर्जा गालिबको पुनर्वाचन नसकिँदै मैले सोधेँ- “यो तेरो सेल्फ कम्प्िलमेन्टरी हो कि कन्फेशन ?”

”वाहियात कुरा नगर् । तँलाई सुनाएको गालिबको यो गजल परवेजले गाएको छ, को परवेज भन्लास्, पाकिस्तानको आजको मेहन्दी हसन । तिमीहरू सुन्दै सुन्दैनौ, समकालिकताको चेतना ख्वै ?”

आफ्नो अपूरो लेक्चरबाजी नसक्दै त्यसले मलाई पोडियममा पुर्याइसकेछ, जहाँ सुजाता र विनय पात्रगत रूपमा उभिरहेका थिए, एकअर्कासित टाँस्सिएर ।

म यति असमञ्जसमा परेँ, जसको निमित्त कत्ति पनि तयार थिइनँ म । सुधाकर यस किसिमको नाटक गरिरहन्छ, आफू पनि फसिरहन्छ, अरूलाई पनि विनासूचना फसाइरहन्छ । मलाई यसै क्रममा त्यसले यहाँ उभ्याइदियो । “भेटिस् सुजातालाई ? हेर्नोस्, विनयजी ! यो पार्टीमा आएको-नआएको थाहा नदिई सुटुक्क भाग्न लागेको थियो । मैले पक्डेर ल्याएँ ।”

मलाई पक्डेर ल्याएको भए पनि सुधाकरको अनुहारमा देखिन्थ्यो, त्यो चोरीको डर । सम्वाद बोल्दै गर्दा उसको अनुहारमा एकैपटक नवरसका दुई भाव स्पष्ट देखिन्थे- करुणा र बीभत्स । दुवै रसमा पनि उसको अभिव्यक्ति स्पष्ट हुन नसकेकाले ऊ सफल पनि देखियो ।

दुवै दम्पतीलाई बधाई दिएर म घर फर्कें तर मनमा एउटा विशाल खिन्नता रहिरहृयो । किन सुजाताले सुधाकरलाई विफल तुल्याई त ? मसँग सुझाव मागी, दुईमा को ठीक होला ? मेरो जवाफका विरुद्ध विनयलाई छनोट गरी । यो फेरि अर्को मजाक मैमाथि ।

विवाहपश्चात् सुजाता पाश्र्वभूमिमा हराई, कलेज पनि छोडिदिई ।

विनयसित मेरो मित्रताको विकास एम.ए. गरिसकेपछि भयो । सुधाकरको ज्यादा जागरुकताले नै भएको मान्दछु । एम.ए.को परिणाम घोषित हुनुपूर्व नै मलाई युनिभर्सिटीको रिसर्च स्कलरसिप मिलिसकेको थियो । यसको श्रेय दृश्य-अदृश्यरूपमा डा. वत्सलाललाई जान्छ, जो त्यतिबेला फ्याकल्टी चिफ थिए । म ती दिनमा युनिभर्सिटीको रिसर्च टेबिलमा बस्ने गर्दथे । विनयले प्राक्टिस सुरु गरिसकेका थिए तर कहिले उनीसित फर्किंदै गर्दा घरसम्म आउने जोडजबरजस्ती गर्थें ।

एकदिन कलेज जाँदै गर्दा बिहानै पानीले भिजेँ निथु्रक्कै । धरतीको गुरुत्वाकर्षणमाथि सराप्दै हिँडेँ किनकि हातमा लिएको छालाको झोला पाखुरालाई नै विभक्त गर्ला जस्तो गरेर तन्किरहेको थियो । बसमा एकछिन सवार भएँ, तर सुविस्ता भएन, बीच बाटोमा ओर्लें ।

ब्ााटोमा सुजाता भेट भइन्, रक्ताम्बराजस्ती भएर । हठात् मैले नमस्ते गर्न पुगेँ । लजाए जस्तो गरिन् । सोधिन्, “चिन्नु’भो ! मलाई त तपाइँले नचिन्नुहोला भन्ने पो डर लागेथ्यो ।”अवसरको अत्यन्त कमजोर फाइदा उठाएर मैले एउटा घन फ्याकेँ- “आज चिनेँ तर सुजाताजी, त्यो दिन तपाइँलाई मैले चिन्न सकिनँ, जुन दिन तपाइँ…..।”

मेरो प्रश्नको सङ्केत तिनले सहजै बुझनि् वा नाममा अप्रत्याशित रूपमा जी शब्दको प्रयोगले झस्किन् ।

“हेर्नोस्, सर ।”

सर शब्दको प्रयोग उनी सायद पतिलाई पनि गर्दी हुन् त्यसैले उनी त्यसमा सहज देखिइन् ।

“सरहरू भनेको मर्द । याने कि एमसीपी- मेल चोवनिस्ट पीग, हामी पनि कहिलेकाहीँ आफ्नो च्वाइसमा बाँच्नुपर्यो नि, परेन । धेरै अर्थमा विनयको तुलनामा सुधाकर वेस्ट हो तर प्राक्टिकल पनि हुनुपर्यो, सर ।” यसपालिको सर मलाई अत्यान्तिक व्यङ्ग्योक्ति लाग्यो ।

“….सुधाकर डेफिनेट्ली प्रेमी मान्छे हो तर प्रेम जीवनको एउटा अङ्ग मात्र हो, शरदजी ! सम्पूर्ण अङ्ग होइन ।” उनले भनेका कुरा जेसुकै भए पनि त्यसको जे-जस्तो अर्थ भए पनि पछिल्लो ‘जी’ शब्दले दर्दमा मल्हमको काम गर्यो । त्यसपछि यदाकदा सुजातासँग भेट त भइरहन्थ्यो तर सुधाकरको चर्चा न्यूनोक्ति हुँदै गयो । विश्वसनीय स्रोतका अनुसार सुधाकर अझै पनि विनय-सुजाताको जोडीलाई लक्ष्मणसरह सहयोग गर्ने गर्छ रे । म खबर पाउँछु- सुधाकर त कहिलेकाहीँ रात्रिभोजन त्यहीँ गर्छ । के कति कारणले यो राम्रो हो, के कति कारणले यो नराम्रो हो मैले त्यतापटि्ट ध्यानै दिइनँ । यो कथाको नायक म नभएको हुनाले यसलाई कलेजमा बहुतायत साथीभाइहरू सुधाकरलाई सुजाताको मानस-पतिका रूपमा व्याख्या गर्न थालेपछि मैले त्यसलाई एकदिन सम्झाएँ ।

हाम्रो गालिब अङ्ग्रेजी उवाचमा मलाई सम्झाउँछ- “आइ वुडन्ट मैरी अ गर्ल । आइ वुड म्यारी अ वुमन- म्याम्योर एण्ड अण्डरस्ट्याण्डिङ् ।”

कलेज सकिएपछि सुधाकर कविताको छन्द र गन्धबाट हुर्रिर्एर ईंट्टा र पर्खालको बनावटतिर लागेछ । ठेकेदार ! छयालीसको आन्दोलनपछि ऊ एउटा पार्टीको महाधिवेशनमा पोखरामा देखापर्यो बिल्ला लगाएर ।

जतिबेला म सुजाताको इमेल पढ्दै थिएँ, सुधाकर काठमाडौँको राजनीतिक सरगर्मीमा पौडी खेल्दै थियो ।

ऊ मन्त्री वा कुनै सानो मुलुकको राजदूत हुने पनि व्यापक हल्ला साँझको खबरकागजले फ्याँकिरहेको थियो तर म चक-डस्टरको जिन्दगीसित गाँसिएपछि यस्ता सभासङ्गतबाट टाढै रहेँ ।

पहिले २१ म्ाार्च, सन् १९९४ भन्दा पूर्वको कथा यति मात्रै हो । यसभन्दा अघिल्लो प्रसङ्ग यहाँ जोडिनु कथालाई अस्पष्ट बनाउनु मात्र हो । प्रिय पाठकहरू ! म अनन्त क्षमा माग्दछु, बारम्बार यसलाई म कथा भन्दैछु । कथा जस्तो लागे पनि यो मेरो जीवनको एउटा नछुट्टनिे सम्झना मात्र हो भन्न मन पराउँछु ।

सुजाता विवाहपछि लामो समयको लागि मलेसिया गइन् ।

त्यसपछिको कथा म जान्दिनँ । अज्ञानताको कारणले मैले रुचि पनि राखिनँ । थाहा पाएअनुसार उनको विनयसित बिनाकुनै विवाद पारपाचुके भइसकेको छ । इमेल पाएको तेस्रो दिनमा तिनी काठमाडौँमा देखा परिन्- कलेजकै दिनको उत्साह बोकेर ।

नयाँ वर्षको एक साँझ मलाई राजधानीको एक भव्य चिनियाँ होटलमा डिनरमा बोलाइन् । म समयभन्दा पहिल्यै पुगेँछु, ठाउँ पो गलत परेछ कि भनी फर्किन लाग्दा सुजाता कपाल फैलाउँदै प्रवेश गरिन् । उनलाई देखेर म आश्चर्यचकित परेँ । समयले उल्टो खेल पो खेलेछ । उनी त पहिलेभन्दा दस वर्ष सानी पो देखिइन् । सायद फेसनले हो कि ?

नयाँ वर्षको शुभकामना र अन्य कुराकानी चलिरहृयो ।

सोधेँ- “विनयसित के भो ?”

भनिन्- “एउटा गलत काम, एउटा गलत विराम, जिन्दगीको अर्थ कति घातक रूपले बदलिन्छ, त्यो मैले बल्ल बुझेँ ।”

लामो समयपछि मैले सोधेँ- “अब यसपछि के सोच्नुभएको छ ?”

“जिन्दगी एउटा प्रयोग हो, शरदजी । हेरौँ ।”

“हो र !” मेरो प्रश्नले उनलाई आनन्दित तुल्याएछ र भनिन्- “तर पनि मेरो सूचीमा दुईवटा नाम अझै बाँकी छन् । पहिलो नाम सुधाकरको र दोस्रो तपाइँको….।”

मेरो अनुहारको भावमण्डल नबदलिँदै तिनी जोडले हाँसिन् र आफ्ना हातको कोग्न्याक एक घुट्कामै सखाप बनाइन् ।

कथाकार के जान्दछ भने सुधाकर जत्तिकै कोग्न्याक पनि सुजाताको पहिलो प्रेम हो ।

1 thought on “सुजाता, एक पेग कोग्न्याक र नयाँ वर्ष”

Leave a Reply

Your email address will not be published. Required fields are marked *