जताततै फोहोरमैलो दुर्गन्ध धेरै फ्यालफ्याल देखियो
कुर्सी नै कुर्सीको किनबेच र मोलमोलाईमा र्यालर्याल देखियो
विनास रोज्न सिपालु इज्जत बस्ने ठाउँ छैन
सिंहदरबारभित्रै पनि धेरै स्यालस्याल देखियो
निम्छरो मान्छे खोज्दो रहेछ विधिविधान संविधानले
सानालाई ऐन तर बडालाई झ्यालझ्याल देखियो
शिर नै मोहमा फँसेर दुई जिब्रे बनेपछि
हातपाउको त के कुरा देशै ख्यालख्याल देखियो
