Skip to content


हिँड्दा हिँड्दै
विष्फोट फाटेर
दोबाटोले तिमीलाई निलेको देख्थेँ
कहिले फेरि
अनजान मान्छेले जबर्जस्ती
अनजान ठाउँतिर लगेको पनि देख्थेँ

मेरा काला शङ्काहरूमा
तिमी हराउँथ्यौ पनि
देशको विस्थापित सीमास्तम्भ भएर
मेरो भूगोलबाट

देख्नु परेथ्यो कुनै दिन
नाम्चेको आरक्षणबाट निकुञ्ज भित्र नै
गोली लागेर मृत्यु छट्पटाइरहेको
एउटा कस्तुरी मृग

मायाले सुमसुम्याउनुबाहेक
कुनै उपाय थिएन मसँग
चिसो भयो त्यही क्षण हिउँ भयो कस्तुरी मृग
त्यो चिसो हिउँलाई
अर्थहीन मायाको अन्तिम सत्य प्रतीक सम्झेँ

अचानक
गोलीको रगताम्य घाउ लिएर
कस्तुरी मृगझै आयौ मसम्म तिमी पनि
त्रसित थिएँ उपचार गर्न नसक्ने
छरछिमेकलाई बोलाउन नसक्ने
बन्धित थिएँ काखमा सुमसुम्याउन नसक्ने

त्रसित मेरो मुटुमा
आवाजहीन भक्कानो फुटाउँदै तिमी पनि
चिसो भयौ त्यही मृगझैं हिउँ भयौ
अन्तिम उपहारमा मलाई
कस्तुरी वासना दिएर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *