‘साँच्चै कहाँ गएको होला त त्यो मान्छे ?’ उसले मनमनै यस्तो सोच्दै आफ्नी पाँच वषर्ीया छोरीतिर हेरी । उसकी छोरी टुलुटुलु उसैलाई हेर्दै थिई । छोरीको अबोध बालापन देखेर उसलाई असाध्यै माया लाग्यो । उसले छोरीलाई काखमा राखेर एकपटक जोडले म्वाई खाई । उसलाई आफ्नो हृदय मातृत्वले भरिएर आएको अनुभव भयो र ऊ झनै छोरीको मायाले द्रविभूत भई । उसकी छोरीले आमाको अकस्मात्को यस्तो क्रियाकलाप देखेर अचम्म मानेर हेरिरही ।

ऊ अन्यमनस्क भई । उसले केही सोच्नै सकिन किनभने यस्तो खबर सुन्नुपर्ला भनेर उसले कहिल्यै कल्पनासम्म पनि गरेकी थिइन । साता दुई सातामा नबिराई फोन गर्ने उसको लोग्नेले यसपटक भने एक महिनासम्म पनि फोन नगरेपछि ऊ आफैँले फोन गरेकी थिई । फोनबाटै ‘तिमीलाई कस्तो छ सानू ?’ भनेर लोग्नेले सोध्नेछ भन्ने सोचेर ऊ मनमनै खुसी भएकी थिई र मनमनै खुसी हुँदै ‘मलाई त सञ्चै छ, बरु हजूरलाई कस्तो छ ?’ भनेर सोधुँला भन्ने सोचेकी थिई उसले । तर, उसले सोचेभन्दा फरक फोनमा अर्कै मानिसले उसको लोग्ने पहिलाको ठाउँमा नभएकाले फोनमा कुरा गर्न आउन नसक्ने भनेपछि ऊ खंगरंग भई र उसका सारा खुसी र उत्तेजनाहरू पनि अकस्मात् खंगरंग भए ।

खबर सुनेर ऊ निकै डराई । डराउँदै उसले लोग्नेको तस्बिरलाई एकपटक नियालेर हेरी । उसलाई नै हेरेझैँ गरेर मुस्कुराइरहेको लोग्नेको तस्बिरलाई हेरेर ऊ पनि अघिको डरलाई बिर्सेर एकपटक मुस्कुराई । उसले विस्तारै लोग्नेको तस्बिरलाई सुमसुम्याई । उसलाई साँच्चै नै लोग्नेकै शरीरमा छोएको मीठो आनन्दको अनुभूति भयो । कताकता शरीरभित्र काउकुतीको अनुभव पनि भयो । अनि, उसको आङ सिरङि्ग भयो । उसले लोग्नेलाई नछोएको पनि चार वर्ष भइसकेको थियो । छोरी पाएको वर्षदिनपछि नै उसको लोग्ने काम गर्न मलेसिया गएको थियो । त्यसपछि ऊ एकपटक पनि फर्केन । कहिलेकाहीँ फोनमै माया र प्रेमका दुई शब्द साटासाट गर्नुबाहेक उनीहरूले एकले अर्कोलाई देख्न र स्पर्शसम्म पनि गर्न पाएका छैनन् । छातीभर िउम्लिएर आउने मायालाई अँगालोमा बाँधिएर एकअर्काको मन र मुटुसम्म पोख्न पनि पाएका छैनन् । यस्तोमा लोग्नेको तस्बिरलाई छुँदा मात्रै पनि ठूलो तृप्तिको अनुभव गरी उसले ।

लोग्नेसित कुरा गर्न नपाउँदा ऊ निराश बनी । धेरै दिनसम्म मनमा गुम्सिएका कुरा लोग्नेसँग पोखेर मन हलुँगो पारुँला भन्ने उसले सोचेकी थिई तर त्यसो हुन नपाउँदा उसको मन झन् बढी भारी भएको उसले महसुस गरी । कताकता केके कुराको अभाव पनि महसुस गरी उसले । त्यो अभाव सायद उसको लोग्नेकै थियो । एउटी वयस्क स्वास्नीमान्छेलाई लोग्नेको सानिध्य सधैँ आवश्यक हुन्छ । तर, परबिन्दले चार-चार वर्षसम्म त्यो सानिध्यबाट टाढा भएकी छ ऊ । त्यसैले घरीघरी लोग्नेको याद आउने गर्छ उसलाई । लोग्नेको त्यही यादलाई साँचेर नै उसले चार वर्ष बिताइसकेकी छ भने अहिले लोग्ने सम्पर्कविहीन भएको थाहा पाएर केही विचलित र भयभीत पनि भई ऊ । मनमा अनेक शङ्का र उपशङ्का पनि उब्जिए । तैपनि, कुनै दिन लोग्नेले फोन गरेर ‘तिमीलाई कस्तो छ सानू ?’ भनेर सोध्ला भन्ने आश भने उसको मनमा लागि नै रह्यो । यही आशाले नै मन बुझाइरही उसले ।

उसको लोग्ने अर्कै सहरमा काम गर्न गएको र उससित सम्पर्क टुटेको भन्ने खबर पाएपछिका थप छ महिना पनि बिते तर उसको लोग्नेका बारेमा कुनै खबर उसले पाइन । एकपटक फोन पनि गरेन उसले । बेलाबेलामा पठाइरहने पैसा पनि पठाएन उसले । लोग्नेले पैसा पठाएपछि तिरौँला भन्दै उसले किराना पसलबाट उधारोमा धेरैपटक सामान ल्याइसकी । अब त उधारो माग्न पनि लाज भइसक्यो उसलाई । उधारो माग्यो कि पसलेले पहिलाकै उधारो सम्झाउँछ । उता छोरीको स्कुलको फिस नतिरेको तीन-चार महिनै भइसक्यो । घरभाडा पनि तीन महिनाको तिर्न बाँकी छ । यी सबै सम्झेर ऊ अत्तालिई पनि । अत्यासले गर्दा कताकता उसको मुटुको धड्कन बढेको महसुस भयो उसलाई । आफ्नै छातीमा हात राखेर उसले मुटुको धड्कन महसुस गरिरही । केही बेरपछि उसले मनमनै भनी, ‘केही खबर छिट्टै आइदिए हुन्थ्यो, केही नभए अलिकति पैसा पठाइदिए पनि हुन्थ्यो, बाँच्नका लागि केही सजिलो हुन्थ्यो ।’

अहँ, उसले पाइन । लोग्नेको खबर पनि पाइन र लोग्नेले पठाउने पैसा पनि पाइन । एक दिन, दुई दिन गर्दै लोग्नेको खबर नपाएको पनि एक वर्ष भयो । अब भने उसलाई साँच्चै नै एक्लो महसुस हुन थाल्यो । केही गरी ऊ आउँदै आएन भने ? अकस्मात् उसको मनमा डर पस्यो । ऊ त्यसैत्यसै अत्तालिन थाली । मुटु ढक्क फुल्यो उसको । गोडा पनि लगलग काम्न थाले । अनायासै आफू निकै कमजोर भएको महसुस भयो उसलाई । अनि ऊ थचक्क खाटमाथि बसी ।

‘अब म के गरुँ ?’ उसको मुखबाट अकस्मात् यस्तो वाक्य निस्िकयो र त्यो शान्त कोठाको शून्यतामा आफैँ हरायो ।

एकातिर उसको हुर्कंदै गरेको सन्तान छ । अर्कोतिर आफ्नै सिंगो जिन्दगी छ । अब कसलाई बढी महत्त्व दिने उसले, सन्तानलाई कि आफ्नै जिन्दगीलाई ? यस्तै बेलामा स्वास्नीमान्छेलाई लोग्नेमान्छेको खाँचो पर्दो रहेछ । जस्तोसुकै भए पनि स्वास्नीमान्छेलाई लोग्नेमान्छेको सहारा चाहिने रहेछ । नत्र जिन्दगी जिउन गाह्रो हुँदो रहेछ । मनको भोक त जसोतसो मेटिएला तर तनको भोक मेट्नलाई त लोग्ने नै चाहिन्छ । उसलाई आज यो कुराको बोध भयो । अनि, उसलाई लोग्नेको झन् बढी अभाव महसुस हुन थाल्यो ।

ऊ सोचमग्न हुन थाली । सोच्दै जाँदा आफ्ना अगाडि अब एक्लै चढ्न बाँकी अग्ला अग्ला पहाडहरू उभिएको भान भयो उसलाई । पहाड चढ्नु रमाइलो हुन्छ हातेमालो गर्दै चढ्न पाए तर अहिले ऊ एक्लै छे, त्यसैले उसका लागि यो पहाड रमाइलोभन्दा पनि पीडाको थुप्रो भएर उभिएझैँ भएको छ ।

छोरीले बेलाबेलामा बा खोजेर उसलाई सताउन थालेकी छ । उसले कसलाई बा भनेर चिनाउने ? यति धेरै दिनसम्म बेखबर भएर बसेको निष्ठुरीको आश पनि मर्न थालिसक्यो । तर, त्यो बेखबर लोग्नेको आश नभए पनि उसलाई आफ्नै तनको प्यासले भने लोग्नेलाई सम्झन बाध्य पारिरहेको छ । तर, सम्झेर मात्र के गर्नु ? सम्झेरै मात्रै पुग्ने भए सम्झेरै बस्नुहुन्थ्यो, शरीरका अंगअंगहरूले लोग्नेमान्छेको हातको मीठो स्पर्श खोज्छ र पो मार्‍यो । हो, उसको छोरीलाई बा चाहिएजस्तै उसलाई पनि अब एउटा लोग्नेमान्छे चाहिएको छ । यो उसले भन्न नसकेको एउटा तीतो सत्य हो ।

परििस्थति यस्तो विषम भइदियो कि उसले अब के गर्ने ? मर्ने कि बहुलाउने ? समाजले त भन्छ मर्नुभन्दा बहुलाउनु निको । ऊ एक्लै छैन । त्यसैले उसले आफू मर्नका लागि छोरीलाई पनि मार्नुपर्छ । तर, बहुलाउन त ऊ एक्लै पनि सक्छे । त्यसैले उसले समाजकै भनाइलाई चरतिार्थ गर्दै बहुलाउने निर्णय गरी । अर्थात् उसले छोरीका लागि एउटा बा र आफ्ना लागि एउटा लोग्नेमान्छे हुन तयार पुरुष रोज्ने भई । तर, समस्या यही छेउ आएर उभिइदियो । उसका लागि लोग्नेमान्छे हुन तयार पुरुष उसकी छोरीका लागि बा हुन तयार हुन्छ कि हुँदैन ? अथवा उसकी छोरीका लागि बा हुन तयार पुरुष उसका लागि लोग्नेमान्छे हुन लायक हुन्छ कि हुँदैन ? यसरी उसका लागि एउटा पुरुष रोज्ने काम पनि चुनौतीकै रूपमा प्रस्तुत भइदियो । तैपनि, ऊ त्यो चुनौतीको सामना गर्न मानसिक रूपले तयार हुन थाली ।

जिन्दगीमा एउटा सम्झौता त गर्नैपर्ने भयो । भीरमा परेको जिन्दगीले सहज मार्ग प्राप्त गर्छ भने त्यो सम्झौता जायज पनि हुन्छ । जिन्दगीको मार्ग सहज बनाउन उसले जुन सम्झौता गर्ने निर्णय गरी, त्यसले जिन्दगीलाई कहाँसम्म सहजै डोर्‍याउँछ त्यो भने उसले सोचेकी छैन । उसको आँखैसामुन्नेको कहालीलाग्दो वर्तमानले उसलाई धेरै नै अत्याएको छ । त्यही भएर उसले वर्तमान जिन्दगीकै लागि भए पनि त्यो सम्झौता गर्ने निर्णय गरी ।

अकस्मात् उसको दिमागमा एउटा पुरुषको सम्झना आयो । एकै गाउँ र एकै ठाउँको त्यो पुरुषले कुनै दिन उसलाई डराइडराई प्रेमप्रस्ताव पनि राखेको थियो तर ऊबेलामा उसले आफ्नो बैँसको उन्मादले मत्त भएर त्यो पुरुषलाई गाली गरेर उसको प्रेमप्रस्तावलाई लत्याइदिएकी थिई । किनकिन र कताकताबाट अकस्मात् आज उसलाई त्यसैको याद आयो । केही दिनअघि मात्रै पनि उसले त्यो पुरुषलाई यही सहरमा देखेकी थिई । बाटोमा हिँड्दाहिँड्दै त्यससित अकस्मात् नै उसको जम्काभेट भएको थियो । त्यसबेला त्यसले हतारमै सोधेको थियो, “सञ्चै छौ ?” विगतका तिक्ततालाई बिर्सेर त्यो मान्छेले त्यति मीठोसित बोलिसकेपछि ऊ पनि नबोली बस्न सकिन । “सञ्चै छु । तिमीलाई कस्तो छ ? अनि, यहाँ के गर्दैछौ ?” उसले यति भनेपछि त्यो पुरुषले आफ्नाबारेमा धेरै कुरा बताएको थियो र परिआउँदा सम्पर्कका लागि आफ्नो टेलिफोन नम्बरसमेत दिएर गएको थियो ।

उसलाई अहिले फेर ित्यो पुरुषको अनुहार याद आयो । त्यसको आनीबानी याद आयो । त्यसको सीधापनको याद आयो र अन्त्यमा त्यसले उससित प्रेमप्रस्ताव राखेको कुरा याद आयो । अकस्मात् उसलाई त्यो पुरुषका सबै कुराको याद आउन थाल्यो । किनकिन भित्री मनदेखि नै उसलाई एकपटक त्यो पुरुषसित कुरा गर्न मन लाग्यो । विगतमा आफूले त्यसको चित्त दुखाएकामा माफी माग्न पनि मन लाग्यो । यति मात्रै होइन, अब उसलाई कताकता त्यही पुरुषमाथि आशा र भरोसा पनि लाग्न थाल्यो । त्यही पुरुषले आफूलाई भीरबाट जोगाउन सक्छ जस्तो लाग्न थाल्यो उसलाई । अनि मनमा यस्तैयस्तै आशा र भरोसा लिएर ऊ त्यो पुरुषको टेलिफोन नम्बर खोज्न थाली ।

एकछिनको खोजीपछि उसले त्यो पुरुषको टेलिफोन नम्बर भेट्टाई । ऊ त्यसैत्यसै खुसी भई । उसलाई अति नै महत्त्वपूर्ण वस्तु भेटेजस्तो खुसी लाग्यो । अनि, उसले मनमनै सोची, ‘अब म मनका सबै कुरा उसलाई भन्छु ।’ उसले यस्तो सोच्नेबित्तिकै उसको मुटुको ढुकढुकी अकस्मात् बढ्न थाल्यो । अनि, उसलाई आफ्नो छाती फुलेर निकै भारी भएजस्तो भयो ।

उसले टेलिफोनको डायरी हातमा लिएर त्यो पुरुषलाई फोन गर्न लाग्दा उसका हात त्यसैत्यसै काम्न थाले । कताकता आफ्नो सिंगै जिउ पनि काम्न थालेको महसुस हुन थाल्यो उसलाई । तैपनि, सकेसम्म आफूलाई सम्हाल्दै उसले टेलिफोनको रििसभर उठाउनै लाग्दा अकस्मात् फोनको घन्टी बज्यो । ऊ तर्सेजस्तै झसंग भई । उसको मुटुको धड्कन झन् बढ्यो । अनि, ऊ लामोलामो सास फेर्न थाली ।

टेलिफोनको घन्टी बजिरह्यो । तैपनि, उसले फोन उठाइन । ऊ टेलिफोनतिर हेरेर एकोहोरो टोलाउन थाली । घन्टी लगातार बजी नै रह्यो । स्कुलको होमवर्क गर्दै गरेकी छोरीले ‘मम्मी फोन उठाउनूस् न !’ भनेपछि बल्ल ऊ झल्याँस्स भई र हतारहतार फोन उठाई ।

“हल्लो सानू, तिमीलाई कस्तो छ ?” अकस्मात् यस्तो भनेको सुनेर ऊ झसंग र अवाक् भई । मुखबाट कुनै शब्द निस्केनन् । उसलाई अकस्मात् आफू निकै कमजोर भएको महसुस भयो र रििसभर हातमा लिएको लियै ऊ थररर काम्न थाली । अनि, काम्दैकाम्दै ऊ भुईंमा थचक्क बसेर घरी लोग्नेको तस्बिरतिर त घरी होमवर्क गर्न लागेकी छोरीतिर हेर्न थाली ।

उताबाट भने फोनमा लगातार ‘हेल्लो… हेल्लो…’ भनेको आवाज आइरह्यो, आइरह्यो ।

नेपाल साप्ताहिक ३९७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *