नेपालको कुनै गाउँमा एक जना रतनलाल नाम गरेको दलित बस्दथे । उनको परिवार ज्यादै गरिब थियो । सधैँजसो कुनै न कुनै खोलाबाट माछा मारेर ल्याउँथे अनि बजारमा बेच्थे र आएको पैसाले बिहान बेलुकाको छाक टार्दथे ।

उनको घरभन्दा अलिक पर एउटा स्कुल थियो । विद्यार्थीहरू उनकै घर अगाडिको बाटो भएर स्कुल जान्थे । विद्यार्थीहरू हातमा किताब- कलम बोकेर स्कुल गएको देख्ता रतनलाल कल्पना गर्दै भन्ने गर्थे -“छोरो जामुने पनि यसैगरी स्कुल गएको कहिले देख्न पाउने खै ! यसो अलि अलि पढाइ गुनाइ गराउन पाए पनि उसले भविष्यमा केही गर्न सक्थ्यो कि ! आफू त कालो अक्षर भैंसी बराबर भनेझैँ भई हालियो……….।”

समय बित्दै गयो । जामुनेकी आमाले जामुनेलाई मातृवात्सल्य दिएर हुर्काइन् । जामुने पनि हुर्कदै गयो । आफ्नै घर अगाडिको बाटो भएर आफूसँगैका साथीहरू कमिलाको ताँतीजस्तै भएर स्कुल गएको देख्ता जामुनेलाई पनि स्कुल जाउँ जाउँ लाग्दथ्यो ।

एक दिनको कुरा हो । हेड सर र अर्का एकजना र गरिबीको कारणले स्कुल भर्ना हुन नसकेकाहरूलाई सरकारले निःशुल्क स्कुल भर्नाको योजना गरेको छ भन्दै विद्यार्थीहरू खोज्न गाउँतिर लाग्नुभयो । जाँदाजाँदै दलित बस्तीको माझी गाउँ आइपुग्यो । एउटा बालक बाटोमा खेलिरहेको थियो । हेड सरले सोध्नुभयो- बाबु तिम्रो नाम के हो ? बालकले उत्तर दियो- जामुने । फेरि हेडसरले सोध्नुभयो- कति कक्षामा पढ्छौ ? “स्कुल जान पाएकै छैन” ! प्रत्युत्तरमा बालकले जवाफ दियो । हेडसर बालकको जवाफ सुनेर गम्भीर हुनुभयो । कति सरल र सरस किसिमको जवाफ ! न कुनै छलकपट न कुनै झर्कोफर्को ।

रतनलाल बजारमा माछा बेचेर घर र्फकंदै थिए । जामुनेले परैबाट देखिहाल्यो । आहा ! बाउ आए ! ! ऊ खुसीले उफ्रन थाल्यो ।

यी बालक तपाइँकै छोरा हुन् दाइ ? हेडसरको प्रश्नले झसङ्ग हुँदै रतनलालले प्रत्युत्तरमा जवाफ फर्काए- “हो हजुर, मेरै छोरा हो ! तर कति कामले छोराको बारेमा सोध्नुभयो कुन्नि ? यसले कतै हजुरहरूलाई……..?” नचिनेको मान्छेले छोराको बारेमा प्रश्न गर्दा आश्चर्य मान्दै रतनलालले हेडसरसँग प्रतिप्रश्न गरे ।

हेडसरले मुस्कुराउँदै भन्नुभयो- “हामी ऊ त्यो परको स्कुलका सरहरू हौँ । डराउनु पर्दैन । म हेडसर हुँ । उहाँ चाहिँ सर । हामी तपाइँको छोराले जस्तै स्कुल जान नसकेका केटाकेटीहरूलाई स्कुल जाने वातावरण बनाउन तपाइँहरूकै गाउँ जान हिँडेका हौँ ……….।”

रतनलालले हेडसरको कुरा काट्दै भने – “हो हजुर ! यो पनि आफूसँगका साथीहरू स्कुल गएको देख्दा जतिबेला पनि स्कुल जान्छु, स्कुल जान्छु मात्र भनिरहन्छ । हामीसँग फुटेको कौडी पनि छैन । यसलाई राम्रोसँग पढाउन पाए यसो ठूलो मान्छे बनाउन सकिन्थ्यो कि ! “मौकामा चौका हान्दै पैसाका अभावमा छोरालाई स्कुल पढाउन नसकेको कुरा हेडसरसँग रतनलालले बेलिबिस्तार लगाए ।

सरकारले अति विपन्न परिवारका छोराछोरीहरूलाई निःशुल्क स्कुल भर्नाको योजना बनाएको छ । त्यसैले हामी विद्यार्थी खोज्दै तपाईँहरूकै गाउँ हिँडेका थियौँ । संयोगले तपाईँसँग बाटैमा भेट भयो । ज्यादै खुसी लाग्यो । छोरालाई लिएर भोलि स्कुल आउनुहोला । हेडसर यति भनेर बिदा हुनुभयो ।

भोलिपल्ट बाबु छोरा स्कुल पुगे । हेडसर अरू सरहरूसँग छलफल गरिरहनुभएको रहेछ । मैले भनेको उहाँकै छोरा हो । कुराको सिलसिला अगाडि बढाउँदै हेडसरले भन्नुभयो- अब स्कुल भर्ना गर्न ढिलो गर्नुहुँदैन ।

सरकारी छात्रवृत्ति कोटाअन्तर्गत जामुने स्कुल भर्ना भयो र नियमित स्कुल जान थाल्यो । हुने बिरुवाको चिल्लो पात भनेझैँ जामुनेले मन लगाएर पढ्न थाल्यो । एस.एल.सी. को परिणाम प्रकाशित हुँदा ऊ प्रथम श्रेणीमा उत्तीर्ण भएको रहेछ । सबै साथीभाइहरूले बधाई दिए उसलाई । छोरो होस् त जामुने जस्तो होस् । बाटोमा धूलोसँग खेल्दै गरेको अबोध बालकलाई शिक्षाको ज्योति दिएर हेडसरले महान् काम गर्नुभयो । उहाँ महामानव बन्नुभयो । सबैले हेडसरको मुक्त कण्ठले प्रशंसा गरे ।

केही दिनपछिको कुरा हो । जामुने पढेकै स्कुलमा दलित कोटामा एउटा शिक्षक दरबन्दी थप भएको विज्ञापन प्रकाशित भएको रहेछ । जामुनेले जागिरको लागि दरखास्त पेस गर्‍यो । ऊ शिक्षक बन्यो छोरालाई हेरेर रतनलाल अहिले भन्ने गर्छन्-

शिक्षा नै त्यो ज्योति हो जसले ज्ञान भर्दछ
शिक्षा नहुँदा मान्छेको ज्ञान शक्ति मर्दछ
शिक्षाले नै साना ठूला सबै एक मान्दछ
“जामुने” को प्रगतिले शिक्षा ठूलो ठान्दछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *