सूर्यबहादुर शिक्षक बन्न चाहन्थे । शिक्षक बन्न त निकै पढाइ चाहिन्छ । उनले त दुई कक्षा पढेर स्कुल छाडेका थिए । उनीसँग पढ्ने पैसा पनि थिएन । उनले मनमनै सोचे- “अब शिक्षक बन्ने कसरी हो ?”
सूर्यबहादुर गाउँमा सूर्यको जस्तै प्रकाश छर्न चाहन्थे । उनी प्रायः कमिज-सुरुवाल, इस्टकोट, टोपी र चप्पल लगाउने गर्थे । खेतमा हलो जोत्दा उनी सुरुवाल घुँडाभन्दा माथि तान्ने गर्थे ।
सूर्यबहादुरले खेतीमा निकै मिहिनेत गरे । उनले केही किताब पनि किने तर किताबको के के कुरा पढ्ने भन्ने कुरा उनले बुझेनन् । उनले किताबका पाना पल्टाएर बुझ्ने प्रयास त गरे तर केही बुझेनन् ।
तराईको गाउँमा सूर्यबहादुरको सानो झुप्रो थियो । उनको घरबाहिर आवाज आयो- “ए सूर्यबहादुर दाइ, एकछिन बाहिर आउनुस् न ।”
सूर्यबहादुरले भने – “को हो ? भित्रै आउनुस् न ।” खुट्टो खोच्याउँदै उनले घरको ढोका खोले । सानैदेखि उनको एउटा खुट्टो केही छोटो भएकाले खोच्याउने बानी नै परेको थियो ।
बिहानै आफ्नो घरमा शिक्षक हरिशरणलाई देख्दा उनी छक्क परे । उनले भने- “अनि बिहानै कति कामले आउनुभयो त हौ शिक्षक बाबु ?”
हरिशरणले भने- “तपाइँसँग मकैको बीउ छ रे भन्ने थाहा पाएँ, त्यसैले आएको हुँ ।”
हरिशरण पच्चीस वर्ष उमेरका थिए । उनी एस. एल.सी. उत्तीर्ण गरी गाउँकै विद्यालयमा पढाउँदै थिए ।
सूर्यबहादुर भने तीस वर्ष उमेरका थिए । उनी केही पुड्का, टाउको अलि ठूलो र नाक थेप्चो थियो । उनको अनुहारको रङ भने सेतो थियो ।
सूर्यबहादुरले हरिशरणलाई मकैको बीउ निकालेर दिए । उनले भने- “शिक्षक बाबु ! तपाइँ मलाई पनि पढाउनुहोस् न । म पनि तपाइँजस्तै शिक्षक बन्न चाहन्छु ।”
हरिशरणले भने – “शिक्षक बन्न त घरमा पढाएर सम्भव हुँदैन । यसका लागि त विद्यालय नै धाउनुपर्छ । फेरि तपाइँ सबै विषयका शिक्षकलाई घरमा बोलाउन पनि त सक्नुहुन्न । फेरि भेटौँला है दाइ, म त घरतिर लागेँ ।”
सूर्यबहादुरले निकै सोचे । उनले मनमनै भने – “अब म बिहान र बेलुका खेतमा काम गर्छु अनि दिउँसोचाहिँ विद्यालय जान्छु ।”
सूर्यबहादुरले सिमसिम प्राथमिक विद्यालयका प्रधानाध्यापकलाई भेटे । उनले भने सर म तपाइँको विद्यालयमा पढ्न चाहन्छु । निकै पढेपछि म शिक्षक बन्छु ।
सूर्यबहादुरको कुरा सुनी प्रधानाध्यापक छक्क परे । उनले भने- “तपाईँ स्कुलमा पढ्न चाहनुहुन्छ !”
सूर्यबहादुरले भने – “हो सर !”
प्रधानाध्यापकले भने- “तपाइँ भोलिदेखि नै स्कुल आउनुस् । स्कुलमा स्वागत छ ।”
सूर्यबहादुर आफ्नो खेतमा बुख्याँचा राखी बजारतिर लागे । उनले कक्षा तिनका किताब किने अनि कापी, कलम र झोला पनि किने ।
‘छोरा गोविन्द, आजदेखि म पनि तिम्रै कक्षामा पढ्न जान्छु है ।’ सूर्यबहादुरले भने ।
गोविन्द आश्चर्यमा पर्यो । उसले बुबालाई भन्यो – “नाइँ बुबा, मलाई त साथीले जिस्क्याउँछन् । तपाइँ त स्कुल नजानुस् है ।”
‘छोरा, पढ्नलाई पनि लाज हुन्छ त । अस्ति भर्खर ७० वर्षका वृद्धले एस.एल.सी. उत्तीर्ण गरेको कुरा त तिमीले सुनिहाल्यौ ।’ सूर्यबहादुरले भने ।
बाबुछोरासँगै स्कुल गए ।
तीन कक्षामा सबैभन्दा ठूला विद्यार्थी उनी नै थिए । कतिपय साथी त उनलाई देखेर हाँस्थे पनि । धेरैले उनलाई ‘अङ्कल’ भनी बोलाउने गर्थे ।
उनको शिक्षक बन्ने रहलाई केही कुराले रोक्न सकेन । सात वर्ष पढिसकेपछि उनले एस.एल.सी उत्तीर्ण गरे । उनले छोरासँग भने- “बाबु, मिहिनेत गर्दा जे पनि सम्भव हुँदो रहेछ । अब मैले शिक्षकको तालिम पनि लिनुपर्छ । तिमी पनि तालिम लेऊ छोरा ।”
छोराले भन्यो – “म त धेरै पढिसकेपछि मात्र तालिम लिन्छु । अहिले त मेरो पढ्ने उमेर छँदै छ नि ।”
सूर्यबहादुरलाई सिमसिम प्राथमिक विद्यालयका प्रधानाध्यापकले शिक्षक बनाए ।
सूर्यबहादुर बिहान र साँझ खेतमा काम गर्छन् अनि दिउँसोचाहिँ विद्यालयमा पढाउन जान्छन् । उनी आफूले सोचेको कुरा पूरा भएकोमा दङ्ग छन् ।
