Skip to content


कुनै पनि समाज वा सभ्यताको स्तर कति उच्च छ भन्ने कुरा समाजका मानिसहरूको जीवन प्रकृया, संस्कृति, लगाउने पहिरन एवं विभिन्न समयमा गरिने संस्कारहरूमा लगाइने गहनाहरूबाट थाहा पाउन सकिन्छ । यो सन्दर्भमा नेवार समाज एक उच्चस्तरको समाज हो भन्ने कुरा नेवार समुदायमा प्रयोग हुने पहिरन, गहनाहरू एवं श्रृंगारबाट पनि स्पष्ट हुन आउँछ ।

यो छोटो लेखमा सोह्र शृङ्गारको साधनको रूपमा लिइने विभिन्न पहिरन एवं अरू साधनहरू बाहेक मूलतः सुन, चाँदीका विभिन्न गहनाहरूको बारेमा जानकारी दिने प्रयास गरिएको छ ।

नेवार समाजमा गहनाको इतिहास कतिसम्म प्राचीन छ भन्ने कुरालाई गहिरिएर हेर्ने हो भने लिच्छवीकालसम्म पुग्न सकिन्छ ।

लिच्छवीकालमा प्रयोगमा आइसकेको श्रृंगारको साधनको विकास मल्लकालमा व्यापक रूपमा भएको देखिन्छ ।

नेवार संस्कार अनुसार गहनाको स्वरूप पुरूष र स्त्री जातीमा फरक छ । पुरूष र स्त्रीको रूपमा मात्र होइन उमेर, अवस्था अनुसारपनि गहनाको प्रयोगमा फरक छ । जति पनि गहनाहरू छन् ती गहनाहरू पुरूष वा स्त्रीले लगाउने, बच्चा वा बुढाहरूले लगाउने भन्ने निश्चितता भइरहन्छ । कुनैकुनै गहना लगाउन बुढा पास्नी सकेको उमेर पुगेकाले मात्र लगाउँछन् । जस्तो ः पुनाय्चा भन्ने गहना ।

नेवार समाजमा जन्मदेखि मृत्युपर्यन्त गहनाको महत्त्व छ । बच्चा जन्मेर चारदिन वा दश दिन दिनमा बच्चालाई सुनको औंठी, चाँदीको औंठी लगाइदिएर गहना लगाउने कार्यको शुभारम्भ गरिन्छ भने त्यसपछि हुने कुनैपनि कर्मकाण्डमा छोरा वा छोरी जो भएपनि बच्चालाई कुनै न कुनै प्रकारको गहना लगाइदिएको हुन्छ । मृत्यु हुनलाग्दा समेत सुन एकटुक्रा मुखमा राखीदिनु पर्ने चलन छ । त्यस्तै मानिस मरिसकेपछि गर्ने संस्कारहरूमा पनि गहनाको महत्त्व छ । मृत्युपछि वर्षभरि १२ वटा तिर्थस्थलमा गरिने श्राद्धमा कहीँ सुनका गहना, कहिं पञ्चरत्न, कहीँ नवरत्न, अष्टधातु मध्ये एक धातुको भाँडा बनाएर दान दिने चलन छ । नवरत्न र अष्टधातुलाई नेवार समाजमा हुन लागेको अनिष्टलाई रोक्ने, ग्रहदशाले जीवनमा हुने नराम्रा कार्यबाट बच्न प्रयोग गरेको देखिन्छ ।

नेवार समाजमा गहनाको धार्मिक, ज्योतिष शास्त्र अनुसार महत्व भएको साथै सामाजिक, सांस्कृतिक, आर्थिक रूपले पनि ठूलो महत्व छ । कुनकुन गहना कसले कहाँ कहाँ प्रयोग गर्ने भन्ने नेवार समाजभित्र आफ्नै प्रकारको मान्यता रहीआएको छ । संस्कारदेखि जीवन शैली चल्ने नेवार समाजभित्र प्रयोग हुने गहनाको प्रकारलाई उल्लेख गर्नेबेलामा हरेक गहनाको प्रयोगमा आफ्नै प्रकारको अर्थ भएको कुरा यहाँ स्मरणीय छ । त्यसैले जीवनचक्र संगसंगै गहनाको प्रकारमा पनि परिवर्तन हुन्छ । यहाँ गहनाको प्रकार उल्लेख गर्ने क्रममा कुन गहना कसले कहाँ किन प्रयोग गर्छ भन्ने कुरालाई विचार गरी तल उल्लेख गरेअनुसार गहनाका प्रकारहरू छन् ।

शिरमा केशको माथि प्रयोग गर्ने गहना

सिन्चा ः सुनको सिक्रीमा छेउमा चन्द्रमाको वा फूलको बुट्टा भएको, सिउँदोमा लगाउने, इहि (बेलसित विवाह), बाह्राः (गुफा राखेर निकाल्ने दिनमा) राख्ने बालिकाहरूलाई लगाइदिने ।

शिरबन्दी ः सुनको, सौभाग्यको प्रतीकको रूपमा सधुवाहरूले लगाउने, राम्रा साइतका कार्यहरूमा लगाउने, इहि, बाह्राः राखेका बालिकाहरूलाई साथै दुलहीलाई पनि लगाइदिने तीन पट्टा वा पाँच पट्टा भएको फूलको बुट्टा भएको गहना ।

बुलिन ः सिउँदोको बिचमा लगाउने, दायाँबायाँ अण्डा आकारको बुट्टा अलि लाम्चो खालको भएको शृङ्गारकलाले परिपूर्ण एकखाले गहना ।

लुँस्वां ः १२ इन्ची वृत्ताकार भएको यो गहनाको चक्कामा कलात्मक पंक्षीको जोडी भएको बहुमूल्य पत्थर, पन्ना, पुष्पराज, माणिक र भिम्पुले सिंगारिएको कलात्मक र मौलिक गहना । यो गहना अक्सर गरेर नवविवाहिता नारीले लगाउने चलन छ ।

मोतासा(सतफली) ः चाँदीको चिटिक्क परेको कलात्मक बुट्टाले भरेको रातो वा कालो रिबन वा केशमा प्रयोग गर्ने गहना ।

न्यापुसिखः ः विशेष गरेर विवाह हुनेबेलामा दुलहीलाई शिरको केशलाई छोप्नेगरी लगाइदिने सुनको न्यापुसिखः(पाँचसिक्रि) को दार्शनिक रूपले पञ्चतत्वको प्रतकी हो । कसैकसैले च्यापुसिखः(आठसिक्रि) पनि प्रयोग गर्छ, यो अष्टधातुको प्रतीकको रूपमा लिन्छ ।

सप्वःतिसा ः सुन वा चाँदीमा विभिन्न किसिमको रत्न जडित गहना, विशेष गरेर दुलहीलाई केशको जुडो बाँध्नेबेलामा लगाइदिन्छ ।

निधारमा प्रयोग गर्ने गहना

लुँसिन्हः (सुनकोतिका) ः इहि, बाह्राः र विवाहमा लगाइ दिने विभिन्न बान्कीको सुनका तिका ।

लुँचिं ः विवाह, बुढापास्नी बेलामा प्रयोग गर्ने सुनका गहना ।

दृष्टि ः चाँदीको हुन्छ ।

कानमा लगाउने गहना

न्हातिका ः छोरा जातलाई दीर्घायुको कामना गरेर लगाइदिने एक प्रकारको गहना हो । मुन्द्रि जस्तै गहना हो । मुन्द्रि दायाँ बायाँ दुइटै कानमा लगाइदिने गहना हो भने न्हातिका दायाँ कानमा मात्र लगाइदिने गहना हो । पहिले पहिले न्हातिका सुनको तीनपल्ट घुमाइएको हुन्छ भने पछि त्यसकमा भिंपु र मोति पनि राख्ने गरेको छ ।

पँय्ति ः सुनको कलात्मक चारकुने भएको यो गहना केटालाई संस्कार पर्वमा मात्र लगाइदिनु पर्ने परम्परा छ ।

मारवलिचा ः सुनको गोलो आकारको यो गहना बच्चा पास्नीबेलामा लगाइदिने गर्छ । यो गहनालाई सत्यको प्रतीकको रूपमा मानेको छ ।

पुनाय्चा ः बुढापास्नी सकीसकेका बुढाबुढीहरूलाई मात्र लगाइदिने सुनको रिङ्ग हो । नेवार समाजमा आयुको हिसाबले पाँचपटक सम्म बुढा पास्नी गर्ने चलन छ । यो पुनाय्चा जति पटक पास्नी सकेको हो त्यति वटानै लगाएको हुन्छ । यो गहना लगाएबाट नै कतिपटक पास्नी सकीसकेको हो भन्ने कुरा थाहा पाउन सकिन्छ ।

ढुङ्ग्री ः अधँैंशे आइमाइले लगाउने दाफस्वाँ (दुबो राख्ने सेतो फूल) आकारको, प्रत्येक ६ वटा वा त्यो भन्दा बढी पातमा माणिक, पन्ना, मोति र हिरा जस्ता बहुमूल्य पत्थर जडेर बनाइराखेको गहना ।

माकःसि ः कटहरको आकारमा बनाइराखेको चाँदीको एक प्रकारको गहना, जुन ज्यापुनीहरूले प्रयोग गर्ने गहना हो ।

तुकि ः कुनै जात्रापर्व, संस्कार आदि नभएपनि सँधैं जस्ते लगाइराख्ने सादा वा बुट्टा भएको लाइनै लगाउने गहना ।

तायोतुकि ः केटाहरूले दायाँ कानको माथिल्लो भागमा लगाउने आधा तायोतुकि लगाउँछ भने केटीहरूले दुवै कानमा लगाउने सुनको गहना हो ।

विजकनि ः नेपालभाषाको पुराना गीत राजमतिमा उल्लेख भइराखेको गहना विजकनि खास कहाँ प्रयोग गर्ने बारे यकिन छैन । कसैले शिरमा लगाउने गहना भन्छ त कसैले गलामा लगाउने गहना भनेको छ ।

गसि सिखः ः कानको प्वाल ठूलो भएर गहनालाई अडकाउन बनाइराखेको सुनको मसिनो सिक्रि ।

गलामा लगाउने गहना

कंथी ः घाँटीतल सम्म आउने गरी लगाउने सुन चाँदीको गहना । लिच्छवीकालमा राजारानीले प्रयोग गर्ने प्रतिष्ठापूर्ण गहना हो ।

तायो ः मच्छिन्द्रनाथ र जिउँदो देवीको रूपमा मानी आएको कुमारीको गलामा लगाइदिने सुनको गहना तायोको दायाँबायाँ विशेष गरी पंक्षी, फूल आदिको कलात्मक बुट्टा कुँडेर सुनको पातामा जोडीराखेको एक प्रकारको गहना ।

तिख ः नेवार समुदायमा प्राचीन कालदेखिनै सुनका पातामा फूल, गरूड वा अन्य चितिक्क परेको बुट्टा कुँडिराखेको १२ टुक्रा जति जोडेर तल मखमल राखी दुरूष्ट लाफःचा (बच्चाहरूलाई खाना ख्वाउने बेला राख्ने कपडा जस्तो) जस्तै देखिने गरी बनाइराखेको गहना ।

चन्द्रहार ः पूर्ण चन्द्रको आकृति सुनको चक्का चक्का जोडेर दायाँबायाँ तीन देखि पाँच, सात र नौ वटा जोडेर पछाडिपट्ट िमाथितिर जोड्ने तीनकुने पातामा दुइटा र सुनका कलात्मक पुतलीको जोडी राखी बनाउने पुरानो चलन हो ।

तायोमाः ः सुन, निलो रत्न भिम्पु आदिको गहना हो । यो गहनाको बनावटअनुसार बिचमा दमोखिं (एक प्रकारको बाजा) जस्तो तायोमा नागले ओढाइराखेको दायाँबायाँ सुनको बुट्ट भएको पाता कपडामा जोडिराखेको यो गहना विवाहको बेलामा दुलहीले लगाउने गहना श्रृंगारको दृष्टिकोणले मात्र होइन उपत्यका र पञ्चबुद्धको प्रतीकको रूपमा पनि लिने गरेको छ ।

भिम्पुमाः ः बच्चाको पास्नी बेलामा, इहि, बाह्रा र चाडपर्वमा पनि केटा केटी दुवैले श्रृंगारको रूपमा लगाउने गहना ।

हातमा लगाउने गहना

त्व ः सुन, चाँदीको बाला पाखुरामा लगाउने ।

सिंहख्वाः चुल्या ः सुन, चाँदी र पञ्चधातुको बाला ।

पञ्चरत्नको चुल्या (पञ्चधातुको) ः पास्नी, इहि, बाह्राः, विवाहको बेलामा श्रृंगारको रूपमा प्रयोग हुने गहना ।

कल्या ः चाँदीमा सुनको जलप लगाएको सादा फराकिलो बान्किोको गहना । यो गहना विवाह अगाडि कल्यां न्हृयाकीगु संस्कारमा दुलहीहुनलाई वचनको प्रतीकको रूपमा लगाइदिने ।

बाइ ः सुन वा चाँदीको, फराकिलो दायाँबायाँ माथि उठेको ख्वाःस्वय् (दुलही भएर गइसकेको छोरीलाई मुख हेर्न जानें) दिनमा दुलहीलाई भावनात्मक अभिव्यक्तिको रूपमा लगाइदिने गहना ।

६. प्यूचा ः सुन, भिम्पु, मोति आदिको चुरा बान्किको सानो खालको गहना जुन गहना मचाबू लहिगु संस्कारको समयमा केटा बच्चालाई सुरक्षात्मक दृष्टिले लगाइदिने ।

क्वँय् चुरा ः रक्षात्मक हिसाबले लगाउन वा लगाइदिनको लागि बनाइराखेको जनावरको हाडको गहना ।

औँलामा लगाउने गहना

प्याखं अंगू ः चाँदीको पातामा अण्डा आकार आउने गरी बनाइराखेको औंठी । यो औंठी इहि, बाह्राः, विवाह, बुडापास्नी आदि राम्रा संस्कारमा लगाइदिने परम्परा भएको गहना हो ।

अरू औंठीको प्रकारमा विभिन्न किसिमका औंठीहरू छन् । जस्तै ः हिना औंठी, नाम लेखिएको औंठी, तुसिपु औंठी (ाँक्रोको बियाँ), असरफी औंठी, हिरा, नवरत्न जडित औंठी आदि ।

माथि उल्लेखित विभिन्न औंठीहरू, विभिन्न संस्कारमा, जात्रापर्व आदिमा केटाकेटी दुवैले लगाउने गर्छ ।

खुट्टामा लगाउने गहना ः

त्याकं कल्ली ः चाँदीको ।

सिंहख्वाः कल्ली ः चाँदीको जसमा सिंहको मुख उत्कीर्ण गरेको हुन्छ ।

जंगी सेलया कल्ली ः चाँदीको भित्र खाली भएको ठूलो खालको गहना ।

तुती बग्गी ः चाँदी वा अन्य धातुको, विवाहको बेलामा विशेष गरेर ससुराले बुहारी हुने दुलहीलाई लगाइदिने एक प्रकारको गहना ।

माथि उल्लेखित गहनाहरू बाहेक अरूपनि अनेक परम्परागत गहनाहरू पनि छ ।

शनिबार, गोरखापत्र
असार १२, २०६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *