निबन्धका प्रकारः सैद्धान्तिक स्वरूपमा


१.आमुखः

निबन्ध शब्द अङ्ग्रेजी Essay शब्दको नेपाली रूपान्तर हो । संस्कृतको ‘बन्ध’ धातु धञ् प्रत्यय लागेर ‘बन्ध’ शब्दको व्युत्पादन हुन्छ र त्यही ‘बन्ध’ शब्दमा संस्कृतकै ‘नि’ उपसर्ग लागेपछि ‘निबन्ध’ शब्दको व्युत्पादन हुन्छ । निबन्ध तत्सम शब्द हो र यसले बाँध्नु भन्ने अर्थ दिन्छ । अङ्ग्रेजी Essay शब्दले पनि छरिएर रहेका भावहरूलाई एकै ठाउँमा बाँध्नु भन्ने अर्थ दिन्छ । साहित्यका सन्दर्भमा यो अर्थ साभिप्राय पनि देखिन्छ ।

निबन्धलाई विभिन्न विद्वान्हरूले विभिन्न किसिमले परिभाषित गरे पनि यो आख्याननिरपेक्ष गद्यरचनाका रूपमा देखिन्छ र यसको तात्पर्यगत अर्थ पनि यही हो । वैयक्तिकता निजात्मकता, आत्मप्रकटीकरण, सङ्क्षिप्तता, विषयवस्तुगत स्पष्टता, बौद्धिकता, हार्दिकता, विचारको प्रतिपादन आदि निबन्धका आधारभूत तत्व हुन् भने संवेदना र अनुभूतिको सहजता, भावको सघनता, तार्किकता पनि निबन्धका उपकरण हुन् ।

२. निबन्धको वर्गीकरण ः

निबन्धका प्रकार यति नै हुन्छन् भनेर यसको अन्तिम र सर्वसम्मत वर्गीकरण गर्न सकिँदैन । साहित्यका अन्य विधाजस्तै निबन्ध पनि परिवर्तन शील विधा भएकाले पछिल्लो समयमा यसका नवनव प्रयोगशील रूपहरू देखिएका छन् । यस अर्थमा पनि निबन्धका प्रकारहरू तद्नुरूप परिवर्तित भइरहेको देखिन्छ । विभिन्न विद्वान्हरूले निबन्धलाई विभिन्न किसिमले वर्गीकरण गरेका छन् र त्यसका लागि आधारहरू पनि प्रस्तुत गरेको देखिन्छ । बाहृय तथा आन्तरिक तत्व, विषयवस्तु, भाषा, शैली, व्यक्तित्वको प्रधानता वा गौणता, आत्मपरकता, वस्तुपरकता आदि विभिन्न आधारमा निबन्धलाई वर्गीकरण गरिएको पाइन्छ । पछिल्लो समयमा देखापरेका विधाञ्जन, विधामिश्रण, विधान्तरण आदिका कारण सिर्जित नवविधा प्रवर्तनका रूपमा पनि निबन्धका नवप्रकारहरू सिर्जिएको पाइन्छ । उदाहरणका लागि राजेन्द्र सुवेदीको ‘गुडबाई छोडिजानेहरूलाई’ (२०६५) भित्रका सबै निबन्धमा संस्मरण, समालोचना, जीवनी, निबन्ध, नियात्रा, रिपोर्ताज आदि सबैको त्यत्तिकै उपस्थिति पाइन्छ । यस आधारमा हेर्दा निबन्धको वर्गीकरणलाई एकै किसिमले हेर्न मिल्दैन र स्थूल वर्गीकरणले मात्र पनि निबन्धलाई प्रकारीकरण गर्न सकिँदैन ! तसर्थ विभिन्न आधारमा निबन्धको सूक्ष्म वर्गीकरण गर्नु समीचीन हुन्छ । निबन्धको वर्गीकरणका लागि निम्नलिखित आधारहरू उपयुक्त हुनसक्छन् :

(१) आत्मपरकता वा निजात्मकताका आधारमा,

(२) वस्तुपरकता वा परात्मकताका आधारमा,

(३) शिल्पगत वा शैल्पिक आधारमा,

(४) नवउपविधात्मक स्वरूपका आधारमा, आदि ।

यी आधारहरूका केन्द्रीयतामा निबन्धलाई यस किसिमले वर्गीकरण गर्न सकिन्छः

२.१ आत्मपरकता वा निजात्मकताका आधारमाः

क) भावात्मक निबन्ध, ख) विचारात्मक निबन्ध, ग) वैयक्तिक निबन्ध, घ) संस्मरणात्मक निबन्ध ।

आत्मपरक निबन्धलाई निजात्मक निबन्ध पनि भनिन्छ । यस्ता निबन्धमा आत्मप्रकटी हुन्छ । यसका धेरै भेदोपभेदहरू देखिन्छन् । प्रथमपुरुष शैली वा दृष्टिबिन्दुमा लेखिने सबै किसिमका निबन्धहरू यसअन्तर्गत पर्दछन् । निबन्धको यस स्थूल वर्गीकरणभित्र पर्ने निबन्धहरू धेरै किसिमका छन् तापनि यसअन्तर्गतका प्रमुख भेदहरूलाई यसप्रकार देखाइन्छः

२.१.१ भावात्मक निबन्धः

स्रष्टाको ‘स्व’ बढी सक्रिय हुने र भावुकताको पक्ष प्रबल हुने निबन्धलाई भावात्मक निबन्ध भनिन्छ । यस्ता निबन्धमा हृदयका उदात्त अनुभूतिहरू र तीव्र भावनाहरूले प्रशस्त खेल्ने अवसर पाउँछन् । लेखकका अनुभूति जति गहनरूपमा प्रस्तुत हुन्छन् र उसको अन्तर्निहित हृदय जति प्रबल र तीव्ररूपमा प्रकट हुन्छ। त्यति नै भावात्मक निबन्ध शक्तिशाली हुन्छ । निबन्धकारका हृदयको निश्चल आत्मप्रकाशन नै यस्ता निबन्धको विशेषता हो । यस्तो निबन्धका मुख्य अभिलक्षण यसप्रकार छन् ।

(१) भावनात्मक निबन्धमा भावना र कल्पनाको बढी उपयोग गरिन्छ ।

(२) यस्ता निबन्धमा लेखकका निजी भावना र कल्पनालाई अभिव्यक्त गरिन्छ ।

(३) यस्ता निबन्धमा वैचारिक कार्यकारणको प्रस्तुति हुँदैन आदि ।

२.१.२ विचारात्मक निबन्धः

लेखकका स्वतन्त्र विचार र चिन्तन प्रकट हुने, बुद्धितत्वको सम्बन्ध हुने र गम्भीर विषयमा आधारित निबन्धलाई विचारात्मक निबन्ध भनिन्छ । यस्ता निबन्धमा बुद्धिपक्ष बढी सक्रिय हुने हुँदा यस्ता निबन्धको सम्बन्ध हृदयपक्षसँग भन्दा मस्तिष्क पक्षसँग बढी हुन्छ । धर्म, दर्शन, विज्ञान आदि गम्भीर विषयलाई यस्ता निबन्धले समेटेका हुन्छन् । पाठकलाई विचारको भारी नबोकाई भावना र कल्पनाको आंशिक प्रयोग गर्दा यस्ता निबन्ध सुपाच्य हुन्छन् । यस्ता विचारात्मक निबन्धका मुख्य अभिलक्षण यसप्रकार छन् ः

(१) विचारात्मक निबन्धमा गृहीत विषयका पक्ष/विपक्षलाई तर्कद्वारा प्रस्तुत गरिन्छ ।

(२) यस्ता निबन्धका प्रत्येक वाक्यले ‘स्व’ को विचारलाई प्रकट गरेको हुनुपर्दछ ।

(३) यस्ता निबन्धमा साङ्केतिक, बिम्बात्मक श्लेषपूर्ण भाषिक प्रयोग अपेक्षित हुन्छ, आदि ।

२.१.३ वैयक्तिक निबन्ध ः

व्यक्तिका निजी व्यक्तित्वको प्राथमिकता रहेको भावनात्मक अभिव्यक्ति हुने निबन्धलाई वैयक्तिक निबन्ध भनिन्छ । यस्ता निबन्धमा आत्मपरकता अत्यन्त स्पष्टरूपमा मुखरित भएको हुन्छ र लेखकका आफ्नै नितान्त वैयक्तिक अनुभूति, हर्ष, विचार, सुख-दुःख आदि संवेगहरूको आत्मप्रस्फुटन भएको हुन्छ । साथै लेखकका निजी जीवनका कुराहरूले मूलभूत भूमिका खेलेका लेखकीय वैयक्तिक जीवनका आशा-निराशा, भाव -अभाव आदि अनेकौँ स्वानुभूतिको आत्मप्रकाशन पनि यस्ता निबन्धको विशेषता हो । आत्मकथा वा आत्मसंस्मरणको नजिक रहने यस किसिमका निबन्धमा पाइने प्रमुख अभिलक्षणहरू यसप्रकार छन् ः

(१) वैयक्तिक निबन्ध भावनात्मक निबन्ध र संस्मरणात्मक निबन्धको नजिक हुन्छ र यस्ता निबन्धमा आत्मकथाको स्वरूप हुन्छ ।

(२) यस्ता निबन्धमा गृहीत विषयमाथि लेखकको ‘स्व’ नै प्रकट भएको हुन्छ र त्यो अनौपचारिक एवं रागात्मक रूपमा अभिव्यक्त भएको हुन्छ ।

(३) यस्ता निबन्धमा लेखकले आफ्ना निजी भोगाइहरू कथाकारले कथा भनेझैँ निश्छलतापूर्वक प्रस्तुत गरेको हुन्छ आदि ।

२.१.४ संस्मरणात्मक निबन्ध ः

अतीतका, तात्कालिक वा केही समयपूर्वका अविस्मरणीय स्मृति बिम्बहरूमा आधारित ‘स्व’ को आत्मप्रकाशन भई स्वानुभूतिको आत्मप्रकटीकरण भएका निबन्धलाई संस्मरणात्मक निबन्ध भनिन्छ । यस्ता निबन्धमा स्वकीय जीवनमा घटेका महत्त्वपूर्ण क्षण, घटना, अनुभूति, भोगाइ आदिको शृङ्खलित अभिव्यक्ति हुन्छ । स्मृतिबिम्बहरूको प्रबलता हुनु यस्ता निबन्धको विशेषता हो । यथार्थ स्मृतिबिम्बहरूमा आधारित नभइकन काल्पनिक उडानमा यस्ता निबन्ध लेखिँदैनन् । कल्पनाको प्रयोगले यस्ता निबन्धलाई कलात्मकता भने प्रदान गर्दछ । संस्मरणात्मक निबन्धका प्रमुख अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छः

(१) संस्मरणात्मक निबन्ध स्मृतिबिम्बमा आधारित हुन्छ र यस्ता निबन्धमा लेखकले स्मृति-अनुभूतिहरूलाई यथार्थरूपमा प्रस्तुत गर्नुपर्छ ।

(२) यस्ता निबन्धमा स्मृतिबिम्बहरूको यथार्थपरक शृङ्खलित प्रस्तुति हुन्छ ।

(३) यस्ता निबन्धमा स्मृतिसन्दर्भहरूलाई विवरणात्मक हुनुबाट जोगाउन कल्पना र आत्मकथात्मक शैलीलाई उपयोगमा ल्याइन्छ, आदि ।

२.२. वस्तुपरकता वा परात्मकताका आधारमा ः

(क) वर्णनात्मक निबन्ध (ख) विवरणात्मक निबन्ध ।

वस्तुपरक निबन्धलाई परात्मक निबन्ध पनि भनिन्छ । यस्ता निबन्धमा आत्मप्रकटीकरण नभई कुनै व्यक्ति, वस्तु आदिको वर्णन विवरण प्रस्तुत गरिएको हुन्छ । व्यापक अर्थमा भन्नुपर्दा कविता, आख्यान, नाटक र निबन्ध गरी सैद्धान्तिकरूपमा साहित्यका प्रमुख चार विधा मानिएकाले समालोचनाहरू/अनुसन्धान, प्रतिवेदनहरू/शोधप्रबन्ध र शोधपत्रहरू तथा अन्य सबै किसिमका विवरणात्मक अध्ययनहरू यस्तै वस्तुपरक निबन्धभित्रै पर्दछन्। तर विशिष्टीकृत वा सीमित अर्थमा वस्तुपरक निबन्धभित्र तृतीयपुरुष शैली वा दृष्टिबिन्दुमा लेखिने सबै किसिमका निबन्धहरू यस्ता निबन्धको कोटिमा अटाउँछन् । यस्ता निबन्धका प्रमुख भेदलाई यसप्रकार देखाइन्छ –

२.२.१ वर्णनात्मक निबन्ध ः

गृहीत विषयको वर्णनमा केन्द्रित वा वर्णनप्रधान निबन्धलाई वर्णनात्मक निबन्ध भनिन्छ । यस्ता निबन्धमा वर्ण्य विषयलाई लेखकका अनुभूति र कल्पनाले जीवन्त बनाउँछ र बाहृयपक्षको यथार्थ चित्रण गर्ने पद्धति अँगालिएको हुन्छ । लेखकीय ‘स्व’ को कुनै प्रयोजन नहुनु यस्ता निबन्धको विशेषता हो । वर्ण्य विषयको वर्णनलाई मौलिकता प्रदान गर्न लेखकमा दृष्टिवैचित्र्य हुनु अनिवार्य मानिन्छ र विषयवस्तुको पूर्ण ज्ञान पनि अपेक्षित हुन्छ । यस किसिमका निबन्धका प्रमुख अभिलक्षणहरू यसप्रकार छन् ः

(१) वर्णात्मक निबन्धमा वर्ण्य विषयको शृङ्खलित र व्यवस्थित वर्णन आवश्यक हुन्छ ।

(२) यस्ता निबन्धमा विषयलाई सङ्क्षिप्तताभित्रै पूर्णताका साथ प्रस्तुत गर्नुपर्दछ ।

(३) यस्ता निबन्धमा लेखकले सूक्ष्म निरीक्षणशक्ति र कल्पनाशक्तिलाई असाधारणरूपमा प्रस्तुत गर्नुपर्दछ, आदि ।

२.२.२ विवरणात्मक निबन्ध ः

घटना वा वृत्तान्तको विस्तारपूर्वक वर्णन गरिएको वर्णनप्रधान निबन्धलाई वर्णनात्मक निबन्ध भनिन्छ । झट्ट हेर्दा यो वर्णनात्मक निबन्धजस्तै लागे पनि यी दुईमा फरक छ । वर्णनात्मक निबन्ध स्थिर हुन्छ भने विवरणात्मक निबन्धचाहिँ गतिशील प्रकृतिको हुन्छ । कथात्मकता, ऐतिहासिकता र कार्यकारण शृङ्खला यस्ता निबन्धका थप विशेषता हुन् । यस्ता निबन्धका मुख्यमुख्य अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छ ः

(१) विवरणात्मक निबन्धमा कल्पनातत्त्वको उपयोग गर्दै वृत्तान्तको अन्तर्पक्षलाई केलाइन्छ ।

(२) यस्ता निबन्धमा वृत्तान्तको यथावत वा यथार्थ प्रस्तुति हुन्छ ।

(३) यस्ता निबन्धमा कार्यकारण शृङ्खला र वृत्तान्तको पूर्वापर सम्बन्ध मिलेको हुनुपर्दछ, आदि ।

२.३. शिल्पगत आधारमा ः

(क) व्याख्यात्मक निबन्ध, (ख) तार्किक निबन्ध, (ग) आख्यानात्मक निबन्ध, (घ) वक्तातात्मक निबन्ध, (ङ) रिपोर्ताज निबन्ध, (च) आलङ्कारिक निबन्ध, (छ) हास्यव्यङ्ग्यात्मक निबन्ध आदि ।

शिल्पगत आधारमा देखिने निबन्धको यो वर्गीकरण अत्यन्त स्थूल वर्गीकरण हो । यस किसिमको वर्गीकरणमा पर्ने निबन्धहरू अन्य वर्गीकरणभित्र पनि पर्दछन् । सबै आधारमा वर्गीकरण गरिएका सबै किसिमका निबन्धहरूलाई शिल्पका आधारमा समेत वर्गीकरण गरिने र गर्नसकिने हुँदा यस किसिमको वर्गीकरण एकअर्कामा अन्तर्गर्भित पनि भएको पाइन्छ । शिल्प भनेको शैली वा तरिका भएकाले यस आधारमा निबन्धलाई अत्यन्त सूक्ष्मरूपमा मात्र वर्गीकरण गर्न सकिन्छ । शिल्पका आधारमा निबन्धका प्रमुख भेदलाई स्थूलरूपमा यसप्रकार वर्गीकरण गर्न सकिन्छ ः

२.३.१. व्याख्यात्मक निबन्ध ः

सूक्ष्म विषयवस्तुलाई पनि विस्तृतरूपमा व्याख्या-विश्लेषण गरेर लेखिएका निबन्धलाई व्याख्यात्मक निबन्ध भनिन्छ र यसलाई विश्लेषणात्मक निबन्ध पनि भनिन्छ । यस्ता निबन्ध आत्मपरक र वस्तुपरक दुवै किसिमका हुन्छन् तापनि वस्तुपरकतातिरको झुकाउ बढी हुन्छ । यस्ता निबन्धमा सङ्क्षेप पद्धतिका विपरीत विस्तार पद्धति अवलम्बन गरिएको हुन्छ । व्याख्यात्मक निबन्धका प्रमुख अभिलक्षण यसप्रकार छन् ः

(१) व्याख्यात्मक निबन्धमा सूक्ष्म र सामान्य विषयलाई व्याख्या विश्लेषण गरेर प्रस्तुत गरिन्छ ।

(२) यस्ता निबन्धमा कथ्यलाई पुष्टि गर्न धेरै प्रसङ्गहरू ल्याइएको हुन्छ ।

(३) यस्ता निबन्धमा परिधीय विचारवस्तुको व्याप्ति हुन्छ, आदि ।

२.३.२ तार्किक निबन्ध ः

कुनै विचारको पुष्टिका लागि तर्कहरूको खण्डन/मण्डनका साथ तर्क-वितर्कहरू प्रस्तुत गरिने निबन्धलाई तार्किक निबन्ध भनिन्छ । यस्ता निबन्धमा तर्कशास्त्र वा दर्शनशास्त्रको पद्धति अवलम्बन गरिएको हुन्छ र कुनै विचार वा वस्तुसँगको तुलनामा खण्डन/मण्डनका तर्कहरू प्रस्तुत गरी आफ्नो मतलाई पुष्टि गर्ने अभिप्रायः राखिएको हुन्छ । वादविवादात्मक अभिव्यक्तिको शैलीमा लेखिएका निबन्धहरूलाई तार्किक निबन्धका रूपमा मानिन्छ । यस्ता निबन्धका प्रमुख अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छ ः

(१) तार्किक निबन्धमा आफ्नो विचार वा मतको पुष्टिका लागि तर्कहरूद्वारा अर्काका मतको खण्डन र आफ्नो मतको मण्डन गरिन्छ ।

(२) यस्ता निबन्ध वादविवादात्मक हुनेहुँदा स्वतः तुलनात्मक प्रकृतिका हुन्छन् ।

(३) यस्ता निबन्धमा लेखकको तर्कशक्ति र कल्पनाशक्तिको प्रशस्त उपयोग हुन्छ, आदि ।

२.३.३. आख्यानात्मक निबन्ध ः

आख्यानात्मक शैलीको प्रयोग गरेर लेखिएका निबन्धहरूलाई आख्यानात्मक निबन्ध भनिन्छ र यस्ता निबन्धमा कथाकथनको शैली अवलम्बन गरिएको हुन्छ । यस्ता निबन्धमा प्रयोग हुने आख्यान ‘स्वआख्यान’ वा ‘परआख्यान’ जुनसुकै किसिमको हुनसक्छ । विचारप्रधान हुनु र आख्यानात्मक संरचनाको बान्की हुनु यस्ता निबन्धको विशेषता हो । यस्ता निबन्धका प्रमुख अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छ ः

(१) आख्यानात्मक निबन्ध आख्यानात्मक शैलीमा लेखिएको हुन्छ । तापनि त्यसमा विचारकै प्रधानता हुन्छ ।

(२) यस्ता निबन्धमा शैली मात्र कथाकथनको हुनेहुँदा घटना र पात्रको विकास हुँदैन ।

(३) यस्ता निबन्धमा प्रथम र तृतीय दुवै दृष्टिबिन्दुको प्रयोग हुनसक्छ आदि ।

२.३.४ वक्तातात्मक निबन्ध ः

वक्तात्वकला/वाक्कला/भाषणकलाका रूपमा रहेका अभिव्यक्तिहरूलाई नैबन्धिक रूप दिँदा वक्तातात्मक निबन्धको सिर्जना हुन्छ । यस्ता निबन्धमा निश्चित वा निर्धारित विषयको प्रतिपादन हुन्छ । यस्ता निबन्धको अध्ययन भाषणशास्त्र वा वाक्कलाशास्त्र (वक्ताताशास्त्र) मा हुन्छ । प्राचीन ग्रिसेली साहित्यमा यस्तै किसिमका वक्तातात्मक निबन्धबाट निबन्धको विकास भएको पाइन्छ । यस्ता निबन्धको शैली मूलभूत रूपमा वक्तातात्मक किसिमको हुने भएकाले यस्ता निबन्धलाई वक्तातात्मक निबन्ध भनिएको हो । यस्ता निबन्धका मुख्य अभिलक्षण यसप्रकार छन् ः

(१) वक्तातात्मक निबन्धमा आत्मपरक र वस्तुपरक दुवै तत्वको उपस्थिति रहन्छ ।

(२) यस्ता निबन्ध औपचारिक र अनौपचारिक दुवै शैलीमा लेखिन्छन् ।

(३) यस्ता निबन्धमा तार्किकता र प्रभावकारिताको अपरिहार्यता हुन्छ आदि ।

२.३.५. रिपोर्ताज निबन्ध ः

कुनै घटना, कार्यक्रम, सभा, समारोह आदिका विवरणलाई समेटेर तयार पारिएका निबन्धलाई रिपोर्ताज वा रिपोर्ताज निबन्ध भनिन्छ र यस्तो निबन्ध विवरणात्मक र वर्णनात्मक निबन्धको अत्यन्त नजिक हुन्छ। त्यसैले यस्ता निबन्ध बढी वस्तुपरक हुने गर्छन् । कुनै स्थान, यात्रा आदिको यथावत् वर्णन गर्ने शैली पनि यसमा हुन्छ भने मूलतः पत्रकारिताको शैली यस्ता निबन्धको विशेषता हो । यस किसिमका निबन्धमा पाइने प्रमुख अभिलक्षण यसप्रकार छन् ः

(१) रिपोर्ताज निबन्धमा वर्णनात्मकता र विवरणात्मकताको आनुपातिक प्रयोग हुन्छ ।

(२) यस्ता निबन्धमा सूचना नै मूलतत्वका रूपमा रहने हुँदा सूचनात्मकता यसको प्राणतत्व मानिन्छ ।

(३) शृङ्खलित र औपचारिक प्रस्तुति यस्ता निबन्धका पहिचान हु्न् आदि ।

२.३.६. आलङ्कारिक निबन्ध ः

भाषिक प्रयोगका दृष्टिले अत्यन्त आलङ्कारिक, काव्यात्मक वा साहित्यिक भाषाशैलीमा लेखिने निबन्धलाई शैलीय तत्वका आधारमा आलङ्कारिक निबन्ध भनिन्छ । यस्ता निबन्ध आत्मपरक वा वस्तुपरक दुवै किसिमका हुन्छन् र प्रथम वा तृतीयपुरुष दुवै दृष्टिबिन्दुमा लेखिन्छन् । यस्ता निबन्धमा लेखकीय ‘स्व’ र ‘पर’ दुवैको उपस्थिति हुनसक्छ । भाषाशैलीय दृष्टिले मात्र यी निबन्ध अरूभन्दा बेग्लिन्छन् । यस्ता निबन्धका मुख्य अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छ ।

(१) आलङ्कारिक निबन्धमा निबन्ध आत्मपरक वा वस्तुपरक जुनसुकै किसिमको भए पनि भाषाशैली पूरै आलङ्कारिक वा काव्यात्मक हुन्छ ।

(२) यस्ता निबन्धमा भाषिक विचलनको प्रयोग प्रशस्त गरिएको हुन्छ र मानवीकरण गरिएको हुन्छ ।

(३) यस्ता निबन्धमा सादृश्यविधान बढी हुन्छ र आलङ्कारिक वा काव्यात्मक भाषाशैलीय प्रयोगका कारण यस्ता निबन्ध बढी पठनीय र श्रुतिमधुर हुन्छन् आदि ।

२.३.७. हास्यव्यङ्ग्यात्मक निबन्ध ः

हास्यतत्व र व्यङ्ग्यतत्वको उपस्थिति भएका वा यी दुई तत्व नै प्रमुखरूपमा रहेका निबन्धलाई हास्यव्यङ्ग्यात्मक निबन्ध भनिन्छ । यस्ता निबन्धमा भाषिक कलाका माध्यमबाट हास्यास्मकता र व्यङ्ग्यात्मकताको सिर्जना गरिन्छ । अत्यन्त अनौपचारिक भाषा प्रयोग गरिने यस्ता निबन्धमा विकृति र विसङ्गतिप्रति उपहास गरेर व्यङ्ग्य गरिने हुँदा अत्यन्त आकर्षक, रोचक र प्रभावकारी हुन्छन् । हास्यतत्व र व्यङ्ग्यतत्व दुवैको सन्तुलित संयोजन भएन भने यस्ता निबन्ध प्रभावकारी हुँदैनन् । रोचक र घोचक हुनु यस्ता निबन्धको विशेषता हो । यस्ता निबन्धका मुख्य अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छ ः

(१) हास्यव्यङ्ग्यात्मक शैलीका निबन्धमा हास्यतत्व र व्यङ्ग्यतत्वको समान उपस्थिति रहन्छ र मान्छेका वैयक्तिक कमजोरीलाई पनि देखाइएको हुन्छ ।

(२) यस्ता निबन्धले सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक आदि क्षेत्रमा देखिएका विकृति र विसङ्गतिबाट अन्तर्वस्तु ग्रहण गरेको हुन्छ ।

(३) यस्ता निबन्धमा आत्मपरक, वस्तुपरक, वर्णनात्मक, आख्यानात्मक आदि प्रायः सबै किसिमका शैलीको प्रयोगका साथै आलङ्कारिक भाषिक चमत्कार हुन्छ आदि ।

२.४. नवउपविधात्मक स्वरूपका आधारमा ः

(क) नियात्रा, (ख) निवार्ता, (ग) निसमीक्षा, (घ) निपत्र, (ङ) रुबन्ध, आदि नव उपविधात्मक स्वरूपका आधारमा देखिने यो वर्गीकरण पनि स्थूल वर्गीकरण नै हो र पछिल्लो समयमा देखापरेका विनिर्माणिक प्रक्रियाका विधाभञ्जन (विधामिश्रण/विधान्तरण/विधान्तरप्रभाव)का कारण पनि यस्ता निबन्धहरूको जन्म भएको छ । निबन्ध विधामा अन्य विधा/उपपविधाहरूको अन्तर्मिश्रण हुँदा यस्ता नवउपविधात्मक स्वरूपका नैबन्धिक रचनाहरू सिर्जिन्छन् । सैद्धान्तिक दृष्टिले यस्ता नैबन्धिक रचनाविधानलाई सोझै विधा भन्न सकिँदैन । तापनि बेलाबेलामा विधागत स्वायत्तताका कुरा पनि उठेका छन् । यस्ता नवउपविधात्मक स्वरूपका रूपमा देखिएका नियात्रा, निवार्ता, निसमीक्षा, निपत्र, रुबन्ध आदि रचनाविधानले निबन्धलाई स्वरूपगत वैविध्य प्रदान गरेका छन् र यसबाट निबन्धविधा समृद्ध भएको छ । नवउपविधात्मक स्वरूपका आधारमा देखिने निबन्धका प्रमुख भेदहरूलाई निबन्धका प्रयोगपरक वा प्रयोगशील भेदका रूपमा र अन्तर्विधात्मक प्रभावजन्य परिणतिस्वरूप सिर्जिएका निबन्धका रूपमा मान्न सकिन्छ । यस्ता निबन्धका प्रमुख भेदलाई यसप्रकार देखाइन्छ ः

२.४.१. नियात्रा ः

‘निबन्ध’ शब्दले ‘नि’ उपसर्ग र ‘यात्रावृत्तान्त’ शब्दको ‘यात्रा’ शब्दको योगबाट ‘नियात्रा’ शब्द बनेको छ र यस ‘नियात्रा’ शब्दले यात्रासंस्मरण वा यात्रावृत्तान्तमा आधारित निबन्ध भन्ने जनाउँछ । नेपालीमा नियात्रा शब्दको प्रयोग सर्वप्रथम तारानाथ शर्माको पुस्तकमा बालकृष्ण पोख्रेलले गरेका हुन् । नियात्रा यात्रावृत्तान्त वा यात्रासंस्मरणमा आधारित निबन्ध भएकाले यसमा संस्मरणात्मकता र वर्णनात्मकताको प्रयोग हुन्छ । नियात्रा पूरै आत्मपरक हुन्छ र वैयक्तिक अनुभूति, भोगाइ र अनुभवका साथै यात्रावृत्तान्तका सन्दर्भका सन्दर्भहरूलाई समेत स्मृतिविम्बका आधारमा प्रकटीकरण गर्ने काम नियात्रामा हुन्छ । यस्ता नियात्राका प्रमुख अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छ ः

(१) नियात्रामा यात्रावृत्तान्तका स्मृतिबिम्बहरूको प्रयोग हुन्छ र त्यस्ता स्मृतिविम्बहरूलाई कल्पनाको रङले रङ्गाइएको हुन्छ ।

(२) नियात्रामा लेखकीय ‘स्व’ को आत्मप्रकटीकरण हुन्छ र यसमा वैयक्तिकताको प्रशस्त उपयोग हुनाका साथै वर्णनको मनोहारिता, रोचकता र कुतूहलता हुन्छ ।

(३) यस्ता निबन्ध प्रथमपुरुष दृष्टिबिन्दुमा नै लेखिन्छन् र यस्ता निबन्धमा कोरा वृत्तान्त वा वर्णनात्मकता अपेक्षित हुँदैन, आदि ।

२.४.२. निवार्ता ः

‘निबन्ध’ शब्दको ‘नि’ उपसर्ग र ‘अन्तर्वार्ता’ शब्दको ‘वार्ता’ शब्द मिलेर ‘निवार्ता’ शब्दको निर्माण भएको छ । निबन्धात्मक शैलीमा प्रस्तुत गरिएका अन्तर्वार्तालाई निवार्ता भनिन्छ । नेपालीमा निवार्ता शब्दको सर्वप्रथम प्रयोग नेत्र एटमले ‘सीमान्त आकाश’ मा गरेका हुन् । निवार्ताकार अर्थात् वार्ताकार (अन्तर्वार्ता लिने व्यक्ति) र वार्तानायक (उत्तरदाता) दुवैको एउटै रचनामा उपस्थिति रहनु निवार्ताको मुख्य अभिलक्षण हो । यस्ता निवार्तामा अन्तर्वार्ता प्रत्यक्ष प्रश्नोत्तरात्मक शैलीमा लिइए पनि वार्ताकारको कला, कुशलता र कल्पनाशक्तिको प्रयोगले अप्रत्यक्ष प्रश्नोत्तरात्मक शैलीका माध्यमबाट भिन्नै रचनाविधान तयार हुन्छ । अन्तर्वार्ता लिने क्रममा वार्तानायकबाट आएका उत्तरहरूलाई कल्पनाशक्तिको प्रयोगद्वारा अनौपचारिक शैलीमा प्रस्तुत गर्नु निवार्ताको विशेषता हो । निवार्ताका प्रमुख अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छ ः

(१) निवार्तामा पहिले वार्ताकार प्रथम पुरुषका रूपमा र वार्तानायक तृतीय पुरुषका रूपमा उपस्थित भई पछि दुवै प्रथमपुरुषका रूपमा पनि उपस्थित हुन्छन् ।

(२) निवार्तामा निबन्ध तत्व र अन्तर्वार्ता तत्व दुवै रहे पनि मूलतः अन्तर्वार्ता तत्व र अंशतः निबन्ध तत्वको उपस्थिति भई अन्त्यमा अन्तर्वार्ता तत्वको निबन्ध तत्वमा अन्तर्मिश्रण र विलयन हुन्छ ।

(३) निवार्तामा वार्तानायकको भन्दा वार्ताकारको कला, कुशलता, कल्पनाशक्ति र प्रतिभाको बढी भूमिका र महत्त्व भई वार्तासमेत निबन्धका रूपमा रूपायित हुन्छ र यसमा केहीरूपमा संस्मरणात्मकता पनि हुन्छ, आदि ।

२.४.३. निसमीक्षा/निसमालोचना ः

‘निबन्ध’ शब्दको ‘नि’ उपसर्ग र ‘समीक्षा’ शब्दको योगबाट निसमीक्षा शब्दको निर्माण भएको छ । निबन्धात्मक वा नैबन्धिक शैलीमा लेखिएका समीक्षा/समालोचनालाई निसमीक्षा भनिन्छ । ‘निसमीक्षा’ शब्दको प्रयोग नेपालीमा नपाइए पनि ‘नैबन्धिक समालोचना’ शब्दको प्रयोग भनेे नेपालीमा भएको पाइन्छ । नेपालीमा ‘नैबन्धिक समालोचना’ शब्दको सर्वप्रथम प्रयोग सम्भवतः यसै पङ्क्तिकार (लक्ष्मणप्रसाद गौतम)बाट भएको हो । समीक्षा/समालोचनाको भाषाशैली वस्तुगत हुन्छ र हुनुपर्छ । कतिपय समालोचकहरूले आफ्ना समालोचनामा आत्मगत/आत्मपरक भाषाशैलीको प्रयोग गरेका हुन्छन्। त्यस किसिमका समालोचनामा निबन्धात्मक गुण रहने हुँदा तिनलाई निसमीक्षा/निसमालोचना/नैबन्धिक समालोचना भन्नु उपयुक्त हुन्छ । यस्ता निसमीक्षा/निसमालोचनाका मुख्य अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छ ः

(१) निसमीक्षा/निसमालोचनामा वस्तुपरक र आत्मपरक दुवै शैलीको प्रयोग हुन्छ र समीक्षा/समालोचनामा निबन्ध तत्वको उपस्थिति हुन्छ ।

(२) निसमीक्षामा निबन्धमा समालोचना तत्वभन्दा पनि समालोचनामा निबन्ध तत्व बढी हुन्छ र यसै गुणले गर्दा यो सम्प्रेष्य हुन्छ ।

(३) निसमीक्षामा विषय, कथ्य र समीक्ष्यवस्तुको ठोस नभई तरल विश्लेषण हुन्छ, आदि ।

२.४.४.निपत्र ः

निबन्धात्मक शैलीका पत्र र पत्रात्मक शैलीका निबन्धलाई निपत्र भनिन्छ । नेपालीमा ‘निपत्र’ शब्दको प्रयोग नभए पनि कृतिगतरूपमा पत्रसाहित्यका नामले यस्ता रचना धेरै आएकाले तिनलाई निपत्र भन्नु समीचीन हुन्छ । यस्ता निपत्र आत्मपरक शैलीमा लेखिने हुँदा तिनमा प्रथम पुरुष दृष्टिबिन्दुकै प्रयोग हुन्छ । नेपालीमा वनमाली निराकारको ‘पत्रसञ्चयन’ यसको उदाहरण हो । विशेषतः साहित्यिक स्वरूपमा लेखिने अनौपचारिक पत्रहरूमा यस्तै निबन्धात्मक गुण हुने भएकाले निपत्र नाम उपयुक्त देखिन्छ । निपत्रका प्रमुख अभिलक्षणहरू यसप्रकार छन् ः

(१) निपत्रमा पत्रात्मक शैलीको प्रयोग हुन्छ र निबन्धात्मक गुण हुन्छ ।

(२) यसमा प्रसङ्गअनुरूप वैयक्तिक, दार्शनिक, साहित्यिक, वैचारिक आदि विविध किसिमका अन्तर्वस्तुको अभिव्यक्ति हुन्छ ।

(३) यसमा औपचारिक वा कार्यालयीय पत्रहरू प्रविष्ट हुँदैनन् र वैयक्तिक पत्रहरूमा मात्र निपत्रात्मक गुण हुन्छ, आदि ।

२.४.५ रुबन्ध ः

नाटक/एकाङ्कीलाई बुझाउने ‘रूपक’ शब्दको ‘रु’ र ‘निबन्ध’ शब्दको ‘बन्ध’ शब्द मिलेर रुबन्ध शब्दको निर्माण भएको हो । रूपक वा नाटकीय शैलीमा लेखिएका निबन्धलाई रुबन्ध भनिन्छ । नेपालीमा ‘रुबन्ध’ शब्दको सर्वप्रथम प्रयोग बालकृष्ण पोख्रेलले गरेका हुन् । रुबन्धमा रूपकीय/नाटकीय संरचना र निबन्ध तत्वको सम्मिश्रण हुनेहुँदा यस्ता रचनामा संवाद र आत्मपरकता दुवैको प्रयोग पाइन्छ । रुबन्धका मुख्य अभिलक्षणहरू यसप्रकार छन् ः

(१) रुबन्धमा नाटकीय तत्व र नैबन्धिक तत्वको उपस्थिति रहन्छ ।

(२) यस्ता रचनामा संवादहरूको समेत प्रयोग गरेर निबन्धलाई नाटकीयता प्रदान गरिन्छ ।

(३) यस्ता रचनामा आत्मालापीय र वार्तालापीय दुवै किसिमको संवाद हुन्छ, आदि ।

निबन्धका उपर्युक्त वर्गीकरण /प्रकारहरूका अतिरिक्त सूक्ष्मरूपमा हेर्ने हो भने अन्य धेरै प्रकारहरू देखिन्छन् । रेखाचित्र वा स्केच, आत्मालाप/आत्मकथा, दैनिकी आदिमा पनि नैबन्धिक गुण पर्याप्त मात्रामा हुन्छन् र ती व्यापक अर्थमा निबन्धअन्तर्गत नै पर्दछन् । निबन्धका जतिसुकै भेदोपभेद भए पनि/देखिए पनि मूलतः वस्तुपरक निबन्ध (प्रबन्ध) र आत्मपरक निबन्धभित्र निबन्धका सबै प्रकारहरू समाहित हुन्छन् । जीवनीमा पनि आत्मपरक नैबन्धिक गुण हुन्छ भने टिप्पणीहरूमा पनि नैबन्धिक तत्वको उपस्थिति रहन्छ । यसरी हेर्दा निबन्धका धेरै सूक्ष्म भेदहरू देखिन्छन् ।

३. समापन ः

निबन्ध कुनै न कुनैरूपले आत्मप्रकटीकरण गर्ने सशक्त माध्यम हो र यो अनौपचारिक रचनाविधान हो । साहित्यका अन्य विधाजस्तै निबन्ध पनि गतिशील विधा भएकाले यसको स्वरूप, संरचना र शैलीमा पनि परिवर्तन भएको छ र नयाँ-नयाँ स्वरूप, संरचना र शैलीका निबन्धहरू देखिएका छन् । पछिल्लो समयमा आएर अन्तर्विधात्मक प्रभाव / विनिर्माण / विधाभञ्जन / विधामिश्रण / विधान्तरण / नवउपविधा प्रवर्तन आदिका कारण अबको निबन्ध पारम्परिक छैन ।

आजको निबन्धमा नाटक छ, कविता छ, आख्यान छ, समालोचना छ, दैनिकी छ, पत्र छ, दर्शन र सिद्धान्तहरू छन्, त्यतिमात्र होइन साहित्येतर धेरै सन्दर्भ छन् र विज्ञान छ, अनि प्रविधि संस्कृति पनि छ । यी सबै कारणले अबको निबन्धलाई परम्परित वर्गीकरण गरेर पुग्दैन र निबन्धले मागेका निर्धारक आधारहरूमा आधारित भएर अबका निबन्धलाई वर्गीकरण प्रकटीकरण गर्नुपर्छ । निबन्धमा अन्तर्विषयकता र नवप्रयोगहरूका कारण पनि यसको अन्तिम वर्गीकरण त्यति सहज छैन । समग्रमा भन्नुपर्दा निबन्धका स्थूल र सूक्ष्म वर्गीकरणबाट यसका मानक प्रकारहरू खुट्याउन र छुट्याउन सकिन्छ ।

४. प्रमुख सन्दर्भसूची ः

त्रिपाठी, वासुदेव, साहित्य सिद्धान्त ः शोध तथा सिर्जना विधि, काठमाडौँ ः पाठ्यसामग्री पसल, २०६६ ।
प्रधान, शिव, सम्पा, बृहत् समालोचना, सिक्किम ः गान्तोक प्रकाशन, २०४५ ।
बराल, ईश्वर र अन्य, सम्पा, नेपाली साहित्यकोश, काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०५५ ।
शर्मा, मोहनराज, समकालीन समालोचना ः सिद्धान्त र प्रयोग, काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०५५ ।
सुवेदी, राजेन्द्र, सम्पा, स्नातकोत्तर नेपाली निबन्ध, काठमाडौँ ः पाठ्यसामग्री पसल, २०५० ।
……….., सम्पा, दाडिमको रूखनेर चौथो संस्करण, ललितपुर ः साझा प्रकाशन, २०५९ ।

नेपाली केन्द्रीय विभाग
त्रि.वि. कीर्तिपुर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “निबन्धका प्रकारः सैद्धान्तिक स्वरूपमा”

  1. ठिस बुढा

    धन्यवाद kbs सर
    धन्यवाद kbs सर, डा. लक्ष्मणप्रसाद गौतमरको, मधुपर्क २०६७ जेठ पढ्ने मौका दिनु भएकोमा ।

    मुरि मुरि धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *