Skip to content


सिर्जनाजस्तै सशक्त व्यक्तित्व लिएर अहिले पनि ठमठम हिँडने उहाँलाई देख्दा एउटा सिङ्गो नेपालीको झलक पाइन्छ । ढाकाटोपी र राष्ट्रिय पोशाकको पहिरन त छँदैछ । उमेर अनुसार बृद्धावस्था नदेखिने रातो पिरो अनुहार अनि बोल्दै जाँदा जोशिँदै बोल्न सक्ने तागत छ उहाँमा । अझ ठूलो तागत त उहाँको सिर्जनामा छ । कैयौँ पाठक स्रोताले मुखाग्रभन्नसक्ने कविता रच्न सक्नु कम्ति तागतको कुरो होइन । पाठकको, स्रोताको मन छुने लेख्नु पो लेख्नु, कसैले पटक्कै नसम्भिmने रचना रच्नुको के अर्थ रहला ! आफ्नै सिर्जनाको तागतले उभिनुको पो अर्थ छ अर्काको टेको लिएर उभिनुको के अर्थ छ र ?

आउँदो बिहीबार असोज ७ गते ९२ वर्षको उमेर टेक्दै हुनुहुन्छ उहाँ र पनि अझै लेख्दै हुनुहुन्छ । किताबको सङ्ख्या गनेर रमाउने स्रष्टामा पर्नु हुन्न उहाँ । लेख्नुहुन्छ मन छुने लेख्नुहुन्छ, प्रणय र प्रेमका कुरा लेख्नुहुन्छ, विछोड र वेदनाका कुरा लेख्नुहुन्छ, राष्ट्र र राष्ट्रियताको कुरा लेख्नुहुन्छ, माया र स्नेहका कुरा, मानिस र समाजका कुरा तागतका साथ लेख्नुहुन्छ । एउटा साधारण गाउँमा जन्मिएको मान्छे यतिखेर असाधारण व्यक्तित्व बनेर चिनिनु भएको छ, राष्ट्र र राष्ट्रिताका लागि लेख्ने उहाँले राष्ट्रकविको उपाधि पाइसक्नुभयो । एउटा भाग्यमानी स्रष्टाको रूपमा पहिचान बनाउनुभएको छ – माधव घिमिरेले ।

माधव घिमिरे, माधवप्रसाद घिमिरे, राष्ट्रकवि पद्य कविताका अनुपम कवि, गौरीका स्रष्टा, मालती मङ्गलेका रचनाकार, नोबेल पुरस्कारका लागि सिफारिस गरिएका साहित्यिक व्यक्तित्व, बालबालिका, युवायुवतीका कुरा लेख्न सक्ने स्रष्टा धरती माता, पापिनी आमा, किन्नरकिन्नरी, राष्ट्र निर्माता जे पनि लेख्न सक्ने र लेखेपछि सफलता पाउने सफल सहज र सशक्त स्रष्टाको सम्मान पाउनुभएको छ उहाँले । गीत, कविता, काव्य, नाटक, गीति नाटक निबन्ध संस्मरण अनुवाद, सम्पादन जताततै छरिएर पनि एउटा शिखर व्यक्तित्व बनेको छ उहाँको साहित्य ।

माधव घिमिरेको जीवनको आरम्भ वि.सं. १९९० सालमा गोरखापत्रमा मार्फत भयो । वि.सं. २००२-२००४ सम्म गोरखापत्रमै पण्डितका रूपमा जागिर खाने माधव घिमिरेले ‘गौरी’ जस्तो सशक्त खण्डकाव्य गोरखापत्रमै बसेर लेख्नुभयो । २००४ सालको पहिलो कवि सम्मेलन (सरस्वती सदन) मा राष्ट्रिय झण्डा शिर्षकको कवितामा पहिलो पुरस्कार पाउने उहाँले उक्त कविता ‘गोरखापत्र’ मै बसेर लेख्नुभएको हो ।

काठमाडौँको लैनचौरमा ९२ वर्ष टेक्नै लाग्दाको अवस्थामा ६३ वर्ष पुरानो कुरा उप्काउनुहुन्छ उहाँ – ‘त्यतिखेर म गोरखापत्रमै थिएँ, गोरखापत्रका सम्पादक प्रेमराज शर्माले पण्डितजी राष्ट्रियताका कविता लेखेर दिनुस् भनेपछि मैले ‘राष्ट्रिय झण्डा’ प्रतियोगितामा दिएको हुँ । ‘पछि यही कविता पहिलो भयो ।’ गोरखापत्रबाट पत्रकारिता, साहित्यिक पत्रकारिता थाल्ने माधव घिमिरेले पछि इन्दे्रणी (काव्य प्रतिष्ठान), कविता (नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान) जस्ता साहित्यिक पत्रिकाको सम्पादन गर्नुभयो ।

थुप्रै थुप्रै कृतिका स्रष्टा, ७७ वर्षको साहित्य साधना, विभिन्न पदक, पुरस्कार, अभिनन्दन, उपाधि, सम्मानबाट सम्मानित, साधारणदेखि बौद्धिक पाठकसम्मले रुचाइएका स्रष्टा, मन छुने मीठा गीतका गीतकार माधव घिमिरेको ९१ वर्षको अतीत वि.सं. १९७६ सालको असोज ७ गते लमजुङको प्रस्तुत गाउँबाट सुरू भयो । त्यसपछिको यात्रा र सफलताले उहाँ ‘राष्ट्रकवि’ बनिसक्नुभएको छ । यिनै व्यक्तित्व अचेल के लेख्दै हुनुहुन्छ ? स्वभाविक जिज्ञासा हो यो ।

लामो समय रुघा खोकीले दुःख दिएर भर्खरै तङ्गि्रनु भएका कविवर घिमिरे भन्नुहुन्छ -‘अचेल म महाकाव्य लेख्दैछु । त्यसैले फुटकर रचनासमेत यता केही वर्षदेखि प्रकाशमा आएका छैनन ।’

‘तपाईंहरूलाई त थाहै छ म लगातार लेख्दिन । आएको बेला मात्र लेख्ने हो । यसरी लेख्दै जाँदा अबको दुई वर्षसम्ममा मैले सुरू गरेको ‘ऋतम्भरा’ महाकाव्य पूरा गर्न सक्छु ।” उहाँ भन्दै हुनुहुन्छ ।

यतिखेर माधव घिमिरेले भगवानले साथ दिए भनेर आफ्नो बुढयौलीलाई सङ्केत गरेपनि उहाँको साधना, शरीर, स्वास्थ्य र सत्कर्मले माधव घिमिरेको ‘ऋतम्भरा’ महाकाव्य उहाँकै उपस्थितिमा सार्वजनिक हुने विश्वास मात्र होइन कामना गर्नेहरू असङ्ख्य छन् ।

देश र देशवासी सम्झेर देशका लागि जीवन अर्पने राष्ट्रकवि माधव घिमिरेलाई अहिले चिन्ता राजनीतिको छ । युग परिवर्तनलाई स्वभाविक रूपमा लिने उहाँ हामीकहाँ आएको राजनीतिक परिवर्तनले अझ बाटो नपाएकोमा चिन्ता छ उहाँलाई । साहित्यकार स्रष्टाहरू राम्रो नराम्रो जस्तो भएपनि निरन्तर अघि बढिरहेजस्तै राजनीति अघि नबढेको ठम्याइ छ उहाँको । उहाँको आग्रह पनि छ हामीले धेरै अलमलिने काम गर्यौँ हामीसँगैका मुलुकहरू अघि बढिसके, हामी भने अघि बढ्न सकेनौँ । देशमा आएको परिवर्तनले बाटो पाओस् र देश अघि बढोस् ।

गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली.

….. ……. …….

पारिन्छ सत्ता जब खण्ड खण्ड
रहन्छ के राष्ट्र त्यहाँ अखण्ड ?
थुतिन्छ पत्ता जब खात खात
सिद्धिन्छ शोभा अनि फूलबाट

जस्ता रचना मात्र होइन उहाँ लाग्दछ मलाई रमाइलो, मेरै पाखा पखेरो जस्तो गीत पनि लेख्नुहुन्छ । गीत कविता काव्य मार्फत् राष्ट्र, राष्ट्रियता सोच्ने र लेख्ने राष्ट्रकवि माधव घिमिरे यतिखेर राष्ट्रकै बारेमा सोचिरहनुभएको छ ।

शनिबार, गोरखापत्र
आश्विन ८, २०६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *