अमेरिकाको राजधानी वाशिङ्टन डिसीमा हिँडिरहँदा- कुनै अपरिचित अमेरिकन वा विदेशीले सोध्छ- तिम्रो शिरको टोपी कति राम्रो ?

म धन्यवाद भन्छु ।

कोही भन्छन्-कति राम्रो सुहाएको !

म धन्यवाद भन्छु ।

वास्तवमा विशाल अमेरिकाका असङ्ख्य अमेरिकी र विदेशीहरूले भरिएको संसारमा ढाकाको टोपीले मलाई चिनाएको छ ।

एकपल्ट यौटा वाइनसपको ढोकामा यौटा मोटेमोटे अमेरिकनले सोध्यो-‘नमस्कार दाजू ! तपाइँ नेपाली होइन ?’

”हो, म नेपाली हुँ ! कति राम्रो नेपाली बोल्नु भएको !” मैले भनेँ ।

”तपाइँको पूर्वी नेपालको लिम्बू गाउँका अल्लारे लिम्बू केटाहरूसँग हाँस्दै खेल्दै नेपाली सिकेँ नि !” तिनले भने ।

”मलाई नेपाली भनेर कसरी चिन्नु भयो ?” मैले सोधेँ ।

”तपाईंको शीरको ढाका टोपीले !” उनले भने ।

वास्तवमा म नेपालमा पनि यदाकदा टोपी लगाउने गर्थें तर दुई वर्षअघि म अमेरिकामै छँदा मेरो कान्छो भाइ हरिशरण गिरीको बनेपामा मोटर दुर्घटनामा दुःखद निधन भएपछि मैले कपाल खौरिएँ र मुडुलो टाउकोमा टोपी लगाउनु पर्यो । मैले नेपालबाट ल्याएको ढाकाटोपी लगाएँ ।

‘तैले कपाल मुण्डन पारेको कति राम्रो ! तेरो शिरको टोपी कति राम्रो !’ परिचित विदेशी मित्रहरूले मलाई भन्न थाले ।

म शोकमा छु भनेर सबैलाई भन्ने अवसर र आवश्यकता भएन तर शोकको क्षणमा ती विदेशी मित्रहरूले गरेको टिप्पणीले मलाई कताकता घोच्थ्यो, पोल्थ्यो ।

विस्तारै सबथोक सहज हुँदै गयो र नियमित टोपी लगाउने मेरो बानी स्थायी प्रकृतिको हुन गयो ।

हाम्रो ढाकाटोपीको प्रचलन कसले, कहिलेदेखि सुरु गर्यो त्यो मलाई थाहा छैन तर मैले जाने बुझेदेखि यो ढाकाको टोपी राजा-रङ्क सबैले लगाएको देखेको छु । सबै जातजातिकाले लगाएको देखेको छु । सबै उमेरकाले लगाएको देखेको छु । नेपालका सबै ठाउँलाई ढाकाटोपीले ख्याति पाएको देखेको छु ।

म अफिसतिर कारमा गइरहेको हुन्छु तर ट्राफिक लाइटमा कार रोकिँदा अर्को लेनमा रोकिएको यौटा अश्वेत केटोले झ्याल खोल्छ, म पनि झ्याल खोल्छु । भन्छ तेरो शिरको टोपी कति राम्रो !

म धन्यवाद भन्छु ।

मेरो अफिसका सहकर्मीहरू भन्छन्- तेरो शिर टोपीविना अधूरो लाग्छ ।

मेरो अफिससँगै सेवेन इलेभेन स्टोरको बङ्गाली भन्छ- आज किन टोपी नलगाएको ? के भो ?

मैले कुनै दिन टोपी नलगाएको दिनको उसको प्रतिक्रिया हो यो ।

कहिलेकाहीँ गर्मीमा पसिनाले गर्दा टोपीले अलिक असजिलो बनाउँछ तर मलाई नेपाली भनेर चिनाउने यो टोपी म छाड्न सक्दिँन । टोपी मेरो स्वाभिमान भएको छ । टोपी मेरो नेपाली हुनुको गर्व भएको छ । टोपी मलाई पहिचान दिने कारण बनेको छ- नेपाली हुनुको ।

कोही विदेशी मित्र वा अपरिचित सहयात्री सोध्छन्- तिम्रो टोपी धर्मसँग सम्बन्धित छ ?

म भन्छु छैन । टाढाबाट हेर्दा मुसलमानको टोपी र हाम्रो टोपीमा हल्का सभ्यता देख्न सक्छन् कसैले तर नजिकबाट हेर्दा पूरा फरक छ । त्यसैले त कुनै मुसलमानले मलाई अमेरिकामा मुसलमान भन्ठानेर ‘वालेकुम सलाम’ पनि भनेका छन् तर म तिनलाई विनम्रतापूर्वक बताउँछु । ‘नो वालेकम सलाम, नमस्कार !’

साँच्चै नेपाली ढाकाटोपीले कुनै धर्म बोकेको छैन, कुनै जात बोकेको छैन । जसले लगायो उसको शिरको शानदार शोभा भएको छ’ सुहाएको छ ।

हुन त कोहीकोही अल्लारे नेपालीहरूले किञ्चित हेय हिसाबले- ओहो दाइले त नेपाली टोपी ढल्काउनु भएछ नि भन्ने गर्छन् यदाकदा । यस्ता अल्लारेहरूको भनाइलाई म हाँसेर टारिदिन्छु अथवा नेपाली भएपछि नेपाली टोपी लगाउनै पर्यो नि भन्छु !

मेरो ढाकाटोपीको महिमा सुनेर गत फरवरीमा केण्टर्काको लुइभीलमा एउटा सम्मेलनमा युएस-नेपाल अनलाइनका मित्र प्रदीप थापा मगरले निकै रुचि लिएर भन्नुभयो- ढाकाटोपीमा दिवङ्गत राजा वीरेन्द्र विश्व सम्मेलनहरूमा संसारकै हिरो देखिन्थे भन्न नभुल्नुस् है !

मैले नेपालको पूर्वी पहाड, पश्चिम र सुदूरपश्चिमका पहाड पनि घुम्न पाएको छु । पूर्वेली ढाकाटोपी र पाल्पाली ढाकाटोपी अलिक फरक छ । पूर्वेलीहरू ढाकाटोपीलाई सगरमाथाझैँ ठाडो पारेर लाउन रुचाउँदा रहेछन् । वि.सं. २०३७।३८ तिर कवि कृष्णभूषण वल र म धनकुटाबाट हिले, लसुने, खिम्ती हुँदै सङ्क्रान्ति बजार तेह्रथुम पुगेका थियौँ पैदल । उनी नेपाल राष्ट्र बैङ्क निरीक्षण विभागका टोलीका सदस्य थिए, म त्रिभुवन विश्वविद्यालयको आन्तरिक लेखापरीक्षण टोलीको सदस्य थिएँ ।

पूर्वका भारी बोक्नेहरू पनि ढाकाटोपीमा देखिन्थे । उनीहरूको शिरमा ठाडो पारेर लगाइएको नयाँ टोपी हुन्थ्यो । यसलाई देखेर कृष्णभूषण भन्थे- कपडा फाटेको लाए पनि, काँधमा भारी र हातमा तोक्मा भए पनि टोपी चैँ नयाँ र ठाडो लगाउने रहेछन् यहाँका पूर्वेलीहरू !

विशेष गरी विदेशीहरू सहितको जमघटमा ढाकाटोपीले त कमालै गर्छ । नेपाल गएर फर्केका अमेरिकनहरू टोपीकै कारण कुरा गर्न आउँछन् । आफ्नो नेपालप्रतिको माया र निष्ठा बताउन आउँछन् । नेपालको राजनीतिक अवस्थाको कुरा सोध्छन् ।

अब त तिम्रो देशमा शान्ति भयो हैन भनेर चासो लिन्छन् ।

यो सबको कारण मेरो शिरको ढाकाटोपी हो ।

साँच्चै अमेरिकामा ढाकाटोपीले मलाई कमालै गरेको छ । मेरो शिरको टोपीले नेपाल चिनाएको छ । मलाई यौटा नेपालीको पहिचान दिलाएको छ परदेशी भूमिमा !

हाल अमेरिका

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *