Skip to content

अन्तिम पत्र तिमीलाई

  • by


खै कसरी सम्बोधन गरौ मैले सम्बोधन गर्ने शब्दनै सकिसकेछन् । फेरि पनि जसो तसो सिला खोजेर सम्बोधन गर्ने जमर्को गर्दै छु । बैगुनी आई ……। निरासा र भावविह्वल मनलाई बियोगको डोरीले कसेर केही हदसम्म भए पनि अन्तिम बिदाईको हात हल्लाउनु अगाडी केही शब्द कोर्ने दुस्साहास गरेको छु । हो आई । मान्छेको जिन्दगी बिसाल र त्रासयुक्त सुनामीको छाल सरह रहेछ । झन् त्यसमा पनि गरीबको यो संसारमा खुलेर जिउने अधिकार यहीको संस्कारबाट नै खोसिएको रहेछ । जहाँ जातभात सानो ठूलो बिभाजित गर्ने कुसमाजले गर्दा सोझोपनको फाईदा उठाउनेहरू भेटिन टाढा धाउँनु नपर्ने रहेछ ।

आज तिमी पनि मेरो चोखो र निश्चल मायालाई माटोमा मिलाउन सहभागी भएकीमा कोटी कोटी धन्यवाद दिनै पर्छ मैले । म आफै भन्ने गर्थे बिगतलाई थाती राखी वर्तमानमा संघर्ष गर्दै भविष्यको लागि जिउनु नै जिन्दगी हो । तर हैन रहेछ, त्यो सुन्दर अतितलाई कसरी सजिलै बिर्सन सकिंदो रहेछ। र बिगतमा बिताएको रमाईलो पल अनि एक अर्काको हातमा हात थमाएर गरेका बाचाहरू त्यति सजिलै भुल्न कठिन हुदो रहेछ ।

बिगतको गहिरो नाताले वर्तमानमा लत्याएर गए पनि जानेलाई त फरक पर्दैन तर ………। लत्तिएर बस्नेलाई जीवन जिउनुको कुनै औचित्व नहुदो रहेछ । हर पल त्यही यादमा मुटु चर्किएर आउँदो रहेछ । मुटुमाथि ढुंगा राखेर रोदनको आँशु जबरजस्ती लुकाएर सकी-नसकी हाँस्नुपर्दो रहेछ । जब आफ्नैबाट धकेलिएपछि आफ्नैबाट अपहेलित भएपछि लंगडोलाई बैशाखीले धोका दिए पछि जुनी-जुनी साथ दिन्छु भन्नेले अक्करको भीरमा छोडेर अर्कै मुलबाटोको तय गरेपछि । सुन्दर भविष्यको कल्पना कसरी गर्नु? हो आई आज यो उजाड मरुभूमिमा तिम्रो सम्झना नै मेरो जिउने आधार भएको छ । कल्पनाको महलमा रमाउनुभन्दा यथार्थकै झुपडीमा रम्नु बेस हुन्छ ।

पलभरिको हाँसोभन्दा जीवनभरिको रुवाईनै मन पर्छ मलाई । हो म आज यही बिचारलाई आत्मसाथ गर्दै अलिकति जिउने रहर सगाल्न विवश छु । फेरि कुनै मोडमा सपनाको संसारबाट याथार्थको धरातलमा आइपुग्छु अनि त सारा अर्थहिन कल्पानामा हराउनु निर्थक लाग्छ । तिमीले बिच सडकमा अलपत्र बनाएर गए पनि तिम्रो याद यो मन मस्तिस्कमा सलबलाई रहेको हुन्छ ।अनायासै आँखाबाट मुसलधारे बर्षा हुँदा पो झसंग हुन्छु। उनी त मेरो मायालाई लत्याएर कुनै सुकुमारको काखमा चैनको निद्रा निदाउँदै होलिन् ।

यता मेरो हालत कस्तो छ म कसरी यो धर्तीमा अढिएको छु । उनको पथ्थरको मुटुमा मेरो लागि थोरै पनि ठाउँ भैदिएको भए मेरो जीवनभरि नै नमेटिने दाग लगाएर उनी किन पर हुन्थिन् ……। म पागल अहिलेसम्म यही सोचेर जीवन बिताउन विवश छु । केवल तिमी नै मेरो मुटुभित्रको ढुकढुकी हौ……। तिमी नै मेरो जिउने आधार हौ। तिमी र मेरो सामिप्यको अगाडी नङ र मासुको नाता पनि धेरै पर होला ……। फेरि तिमी नै भन त, जब मुटुनै साथमा नभए पछि केवल म जीवित कसरी रहन सक्छु र? फेरि, चाहेर एक मुठी प्राण फाल्न पनि त सम्भव छैन नि………! तिमीलाई मेरो मायामा अधुरो अपुरो महसुस हुन्छ भने मेरो भन्नु केही छैन। तिमी मदेखि हजारौं कोस पर जान सक्छ्यौ। तर तिमी त्यहाँ खुशीसाथ रमाउनु पर्छ। किनकि फेरि मैले तिम्रो नयनमा आँशु भरिएको पाएँ भने म आजको यो बियोगको घडीमाभन्दा पनि हजारौं गुणा ज्यादै दुःखी हुनेछु । म चाहन्छु त्यो मुहारमा अबका दिनहरूमा कुनै अबस्थामा पनि बादल नछाओस्। म त सबै कुरामा अपुग भएर पो खुशी राख्न नसकेको! अहिलेको तिम्रो मनको राजकुमार त जून मानवमा हुनुपर्ने गुणयुक्त हुनुहुन्छ रे भन्ने सुनेको छु। सायद हुनुहुन्छ होला।

हो म आज यति मात्रै भन्छु कि, कुनै मोडमा जीवनको यात्रामा जम्का भेट भयो भने यो अपुग र अपुरोतिर नजर नलाउनु। किनकि मेरो नयनबाट पनि साउने भेल बनेर आँशु बर्बती खस्न गाह्रो हुँदैन । म यहाँ रहरले आएको हैन। मेरो सानो परिवारको मुहारमा हाँसो र शरीरमा एकसरो बस्त्र फेरिदिने अठोट बोकेर यहाँसम्म आएको हुँ। मैले नसोचेको कहाँ हो र? मैले मेरी अर्धांगिनीलाई सुख नदिउँला ……। सबैलेभन्दा धेरै मायाले सजाउँला ………! सानो झुप्रो भए पनि आफ्नै पसिनाले बनाउला……। साहुको मुखमा पैसाको बिट्टोले हिर्काएर बन्धकी खाएको बाजेको पुर्ख्यौली थलो उकासौंला । अनि त एक पेट खान र एक सरो लगाउनको निम्ति स्वदेशमा पसिना बगाउँला। बिदेशी भूमि स्वच्छ नेपालीको पसिनाले भिजाउनुको सट्टामा नेपाली माटो खनी-खोस्री गरेर थोरै आर्थिक उपार्जन गरेर मिठो मसिनोको बदलामा गुन्द्रुक ढिंडोले छाक टारौंला तर नेपालबाट पसिनाले पैसा साट्ने धोको लिएर यो खाडीमा यी पाईला बढाउँने छैन । मेरो लागि परिश्रम त केही हैन, मेरो घरपरिवारको भविष्यको निम्ति मैले मेरो पूरै जीवन बगरमा सडाउँन तयार छु। तर बस तिमीले मन मोडेर अनैतिक कार्य गर्ने छैनौ …………!

तर अफसोच आज ठिक बिपरीत भएको छ । मैले तिम्रो खुशीको निम्ति मेरो रगत पसिना एक गराएर हरदम तिमीलाई खुशी र सुखी राख्न चाहें तर……। आज तिमीले सदा-सदाको लागि तिमीबाट टाढा-टाढा बनाई सकिछौ । भन्न त भनेकी थियौ नि, म बिदेश हिड्ने बेलामा। मेरो संसार हजुरै हुनुहुन्छ, हजुर बिना म नितान्त एक्ली हुनेछु । तपाई नहुँदा मेरो मुटुनै रोकिएको आभाष हुन्छ। तपाईं बिनाको मेरो जीवन पानी बिनाको माछा जस्तै हुनेछ। त्यसैले मेरो प्राण आफ्नो ख्याल गर्नु अनि चाडै फर्किएर आउँनु। म तपाईं कै हुँ र तपाईं कै रहनेछु । धन्य छ तिमीलाई, मेरो काखमा ढल्किएर आँशु खसाल्दै खाएको कसम दुई वर्ष पनि नबित्दै स्वहा बनाएकीमा । तिमीलाई कसरी धन्यवाद नदिनु र मैले । सुन्दैछु आजभोलि त तिमी सबैकी हाई-हाई भएकी छौ रे । म यसैमा खुशी छु किनकि तिमी मबाट टाढा भएर पनि मैले दिन नसकेको खुशी बटुलेकी छौ। यदि तिमी मेरो बाटो कुरेर बसेकी भए पनि एउटा खद्धरको साडी र ठुटे भोटो सिवाय अरु मैले दिन सक्ने थिइन। सायद यही सोचेर तिमीले बाटो बदलेकी हौली। तर तिमीले मलाई जस्तै अहिलेको तिम्रो मनको राजालाई अलपत्र नबनाउन आग्रह गर्दै तिमीबाट सदा सदाको लागि बिदाईको हात हल्लाउँने अनुमति चाहन्छु।

उही तिमीबाट लखेटिएको
जे आर बि घायल
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *