निबन्ध साहित्यभित्रको मौनताले आज यो विधाका सबै रचनाकारहरूलाई नयाँ किसिमले लेख्न आहृवान गरिरहेको छ । के यो आहृवानअनुसारका निबन्धहरू लेखिएलान् ? अलमल र उल्झनहरू प्रशस्त छन् ।

वास्तवमा हामीले पढ्ने अधिकांश निबन्धहरू विषय-वासनाले भरिएका छन् । पाठकलाई या यो ठीक लाग्दोरहेछ या त्यो । हामी प्रायः यस्तै निबन्ध पढ्दा रहेछौँ । निबन्धहरू पनि यसरी नै लेखिँदा रहेछन् । निबन्ध साहित्यभित्रको मौनता ! यो के भनेको हो ? मनको कुनै एउटा कुनामा स्फुरण आउँछ-रहस्यको अँध्यारोतिर नलाग । बनिबनाउ बाटो हिँड्यो, गन्तव्य पुग्यो, बस् ।

अब एउटा-एउटा हाँगो समात्यो, कलम चलायो । फलस्वरूप निबन्धको रूपमा हामी वाद लेख्दा रहेछौँ, द्वन्द्व लेख्दा रहेछौँ, विवादको चाहनालाई पुष्ठ बनाउन हाम्रो कलमले ठूलो भूमिका खेल्दोरहेछ र समस्याहरूको बग्रेल्ती फिँजाइफिँजाइ सबैलाई जानकारी दिन हामी पोख्त रहेछौँ । हाम्रो स्वतन्त्र अस्तित्व खोई ? के हो त्यो विषय जसले हामीलाई स्वतन्त्रताको भ्रम दिएर बन्धनमा पार्‍यो ? किन हामीले नयाँ किसिमले लेख्न सकेनौँ ?

निबन्धको अर्को पक्ष पनि छ जसअन्तर्गत रहेर लेख्दा हामी समाधान दिन खोज्दारहेछौँ । यस्तो बेला हाम्रो मस्तिष्कमा आग्रहको बाँध भत्किन्छ । शब्दहरू कुनै खास विषयमा केन्द्रित भएर आफैँ बगिदिन्छन्, मिलीमिली अटुटरूपले आइरहेका ओजनदार शब्दबाट बनेको लेख स्वतः निबन्ध हुन्छ । लेखकलाई लाग्छ मैले केवल वाद लेखिन, समाधान दिएँ । पाठकहरूले मन पराएर पढिदिन्छन्- वाह ! यस्तो पो समाधान । के नयाँ निबन्ध यस्तै हुन्छन् ?

निबन्ध रसले झन्झन् गति लिन थाल्यो । अब हामी विवाद लेख्न थाल्छौँ । वादहरू निर्वाद होइनन् । त्यसैले वादहरूलाई विवादको घेरामा राखेर आलोचना, खण्डन, निन्दा र सुझाव दिँदैदिँदै उर्वर बनाइराख्नुपर्छ । विवादबाट कुनै वस्तु, कुनै सिद्धान्त, कुनै प्राणी र कुनै विषय बच्नुहुन्न । बदलिने रूपको पछि निर्वाद भएर लाग्न सकिन्न । गन्तव्यतिर धेरै काँडाहरू छन् । यहाँ साखुल्ले भएर के काम । लेखौँ धुँवादार- बरु सुरुमै छर्लङ्ग बोल्नु र लेख्नु राम्रो हो । अब काँडाका असङ्ख्य प्वालबाट बच्दैबच्दै आएको सिद्धान्त नै राम्रो मानिने छ । जीवन नै विवादित छ सिद्धान्त कसरी निर्विवाद हुन्छ । विवादलाई केन्द्रबिन्दु मानेर निबन्ध रचना गर्नु नै वस्तुपरक हुनु हो ।

क्रम यसरी नै अगाडि बढिरहेको छ । निबन्धले नयाँ विषय पाउन छाडेको छैन । अब हामी समावेसी लेख्छौँ । हामीमा निरन्तरको के विश्वास, के साधना, के ध्यान र के तपस्या छ र ‘अहं ब्रहृमास्मी’ भन्नु । ‘अहं समावेसी’ नयाँ कुरा हो । मीठामीठा कुराहरू सबैका साझा हुन् । सबै समावेसी भएर उपभोग नगरे तिनीहरूको महत्त्व हुँदैन ।

नजिकैको टड्कारो फाइदामा सबैले निबन्ध लेख्नुपर्छ । हामी भन्छौँ-जीवन रक्षाका सूत्रहरू समावेसी खालका छन् । त्यसैले पनि हामी सबै स्वतःस्फूर्त ढङ्गले समावेसी हुन खोजेको हो । हावा, पानी, आकाश, भूमि, जङ्गल, जडीबुटी, उत्पादन, आम्दानी, बचत सारामा हाम्रो समावेसी अधिकार सुरक्षित हुनुपर्छ । गङ्गास्नान पनि आफैँले गर्ने, मोक्ष पनि आफैँले प्राप्त गर्ने । यहाँ उपभोगको कुरा छ! प्रत्यक्ष लाभको कुरा छ । मनको लड्डु खाएर गफको गुड्डी हाँक्ने कुरा यो होइन । यो रहस्य बताएर जनतालाई झुलाइरहने, झुक्याइरहने कुरा पनि यो होइन । त्यसैले अर्काले गरेको गङ्गास्नानलाई प्रशंसा गर्दा पुण्य पाइन्छ भनी लेखिने निबन्धहरू अब्बल दर्जाका मानिँदैनन् ।

ओहो ! कति सजिलै लोकप्रिय बन्यो यो विषय । हेर्दाहेर्दै छायो । बुझ्नेले बुझेकै थिए, अब त नबुझ्नेले पनि बुझे । दिल्लीलाई टाढा भन्दै आफू भने बारम्बार भ्रमण गर्ने कुटिल र स्वार्थपूर्ण खेलका विरुद्ध समावेसी निबन्धहरू चट्टान बनी उभिएका छन् । बेजिङलाई कहाँकहाँको अगम्य ठाउँ बनाएर आफ्नो दुनो टेढो बन्ने सम्भावनाको जरैदेखि उन्मूलन गर्न तम्सिने चाल र प्रवृत्तिलाई पनि मुखभरिको जवाफ दिन्छन् हाम्रा समावेसी निबन्धहरू ।

वास्तवमा कुनै ठाउँ टाढा छैन । संसार साझा हो, त्यसैले समावेसी हो । भ्रमको खेती नगरौँ । बरु लेखौँ समावेसी, बोलौँ समावेसी! यो एउटा पुष्ठ अभियान हो । बनारस, कलकत्ता, दिल्ली, मुम्बई, ल्हासा, साङ्घाइ बेजिङ, पेरिस, लन्डन, न्यूयोर्क, वासिङ्टन, जेनेभा जहाँ पनि आफैँ जानुपर्छ । अर्काले देखेको संसारलाई प्रशंसा गर्दैमा राम्रो लेख हुँदैन । समावेसी निबन्ध जिन्दावाद !

यो एउटा वासनादार तात्ततो खाना हो । हाम्रो शैली अब यसैमा जम्छ । कला फुर्छ, साहित्य बन्छ, नयाँनयाँ प्रयोग हुन्छन्, आलोचना हुन्छ, बहस हुन्छ! दुनियाँभरिका सर्जकहरूको साझा प्रयोगशालाजस्तो छ यो । वास्तवमा यो वासनादार खानाले हामीलाई समावेसी पारामा तानिरहेको छ ।

हामी निबन्ध लेखिरहेका छौँ । विषय-वासनाले हामीलाई तानिरहेको छ । के उद्देश्य यही हो, गन्तव्य यही हो, सारांश यही हो ? हामी निबन्ध लेख्छौँ कि विषय-वासनाले हामीद्वारा निबन्ध लेख्छन् ? कम्तीमा नयाँ चीज, नयाँ हुन्जेलसम्म नयाँ नै हुने हुनाले समावेसी निबन्धका बारेमा अहिलेलाई कुनै द्विविधा छैन किनकि निबन्ध रचनाको पाङ्ग्रा पनि नयाँ विषयबाट नै गतिशील भइरहेको छ ।

यसरी हामी अर्कै आकर्षणमा परेका छौँ । महान् चिन्तक रुसो पनि पूर्णस्वतन्त्र लेखन अस्मिता वरिपरि छाइरहने यस्ता आकर्षणहरूको जालोलाई-मानिस स्वतन्त्र जन्मिए पनि ऊ सर्वत्र बन्धनमा छ-भनेर सरक्क उम्किएका छन् । हामी भने यसरी उम्किन सक्दैनौँ । लाग्छ समसामयिक स्वतन्त्रताले आज जे दियो त्यो समावेसी हो । निबन्धहरूलाई समसामयिक बनाउन नै हामी समावेसी लेख्छौँ । के समावेसीमा नअटाउने कुनै त्यस्तो भाषा, भाव, चाहना, इच्छा, विषय र शीर्षक संसारमा छ, जसमा समासामयिक चर्चा हुन सकोस् ?

वास्तवमा समयको अनन्त प्रवाहमा विषयहरू आइदिएर विषय बन्ने हो कि मुक्त सोच र चिन्तनले केही नौलानौला कुराहरूलाई ठम्याउँदैठम्याउँदै विश्वब्रहृमाण्ड, मानव-सम्यता, जगत् हित र सन्तुलनका निम्ति नयाँनयाँ विषय उत्पन्न गर्छ ? सागर नदीतिर आउँदैन । नदी नै सागरतिर जान्छ । यो नियम हो । चिन्तनले पनि विषयहरूलाई तानेर तिनीहरूलाई घोट्छ! कुन विषय कति मूल्यवान् छ, चिन्तनबाट खारिएर आएपछि मात्र थाहा हुने कुरा हो । त्यसैले निबन्ध साहित्यभित्र रहेको मौनताले आज नयाँ किसिमका रचनाहरू खोज्नुको पछाडि पनि विषयहरूलाई यसरी नै घोटेर चेतनशील मानव जातिका निम्ति कुन विषय कति मूल्यवान् छ ? छर्लङ्ग पार्न संसारमा स्वतन्त्र चिन्तनहरू भइरहुन् भन्ने भाव रहेको देखिन्छ ।

त्यसैले सबै कुराहरू आउन् । निबन्धले नछुने कुन विषय छ र ? अरबौं मान्छेका खर्बौँ समस्याहरू छन् यहाँ । जे लेखे पनि भयो । स्कुले जीवनमा गाईको, हात्तीको, खरायोको, मान्छेको, वातावरणको आदि जेजे विषयमा लेखे पनि निबन्ध लेखनबाटै हाम्रो कलमले गति पाएको हो । त्यसैले निरन्तर लेखौँ! वाद लेखौँ, विवाद लेखौँ र समावेसीमा त झन् लेखौँ किनकि यो नै आजको विषय हो ।

अनगिन्ती विषयहरूको भेलमा यसरी बगिरहेका छन् हाम्रा निबन्धहरू । लेखकहरू अत्तालिने मान्छे होइनन् । सबैलाई थाहा छ, लेखकहरूलाई पनि थाहा छ- विषयहरूको भुँवरीबाटै हाम्रा निबन्धहरूले अझ परिष्कार पाउँछन् । निबन्धको सम्बन्ध जीवनसँग छ, मनसँग छ, चेतनासँग छ, चिन्तनसँग छ र सोचको कुनै त्यस्तो अवस्थासँग पनि छ जहाँ समस्त विषयहरू एउटै कुरामा समाहित भएर कागतमा लेखिन थाल्छ विश्व-ब्रहृमाण्डको साझा अभिव्यक्ति ।

मेरो स्वतः नभए सबैको साझा हुन सक्तैन जसरी देश स्वतः मेरो देश हो र स्वतः सबैको साझा हो । त्यसैले हामी समावेसी लेखेर पनि देशमै पुग्छौँ । गन्तव्यको उज्यालोले आकर्षण गर्न कहिल्यै छोड्दैन । कामना गरौँ – देश सुन्दर होस्, समुन्नत होस् र ओजस्वी होस्! धनमा पनि, विचारमा पनि, एकतामा पनि, कर्मको गतिशीलतामा पनि र शालिनतामा पनि नेपालले अब चुमोस् लक्ष्य ! हामी निबन्ध लेख्दै जाऔँ । निबन्धहरूले नै हामीलाई समावेसी पार्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *