Skip to content

जेन कवितामा कवि कृष्ण प्रसाईं

  • by


जापानी हाइकु र तान्काहरूका सादृश्य कोरियाली शैलीका जेन कविताहरूमा ढाँचागत बारबन्देज कम भएकोले कविताहरूमा बौद्धिक र वैचारिक आग्रह एवं भाव प्रखररूपमा परिलक्षित भएको पाइन्छ । कवि प्रसाईंको जेन कविताहरूमा मुटु र मस्तिष्क, भाव र विचार अनि यथार्थ र दर्शनका गणितीय सन्तुलन रहेको छ । जेन कविताको पहिलो प्रयोगमै जीवन र जगत्प्रतिको सम्यक् बोधद्वारा सङ्ग्रहमा सशक्त भाव दिन सक्नुले कवि प्रसाईंको अनुभूत विचार प्रवाह एवं सौन्दर्य चेतलाई इङ्गति गर्दछ । आजको यन्त्रशादृश द्रूत जीवनमा कलाको आकारगत सङ्क्षेपीकरणको अनिवार्यतालाई यसै नकार्न मिल्दैन । थोरैमा सकारात्मक सोच, सम्यक् चिन्तन, समीचीन बोधका धेरै सम्भावनाहरू दिन सक्नु कवि प्रसाईंले चिश्चय नै आफ्ना रचना प्रक्रियामा गम्भीरतासँग विचरण गरेको हुनुपर्छ । घामको बिम्बबाट यथार्थको प्रवृत्तिमा कवितात्मक उच्चता दिन कवि समर्थ बनेका छन् । यहाँ कविताका केही प्रवृत्तिलाई लिएर हेरौँ ।

घामः

घाम सूर्यसँग मात्र हुन्छ
घाम सूर्यले मात्र दिन्छ ।
मेरो सूर्य,
म तिमीलाई थेग्नै सक्तिन
तिमी सधैँ घाम भएर आइरहुँ
म पनि बाँच्न चाहन्छु, तिम्रो ऊर्जामा
तिमीले दिएको घामसँगै । कविता क्रम सं.८९

कवि प्रसाईंले हाम्रो जनजीब्रोको ‘घाम’-को वर्षालाई आफ्नो ध्यान चिन्तनमा लिएका छन् । सूर्यको ऊर्जाद्वारा हाम्रो आङमा वर्षने घामका झुल्काद्वारा प्राप्य सुख, शान्ति, समृद्धिको कामना कविको सूर्यको घाम हो । सूर्यको घाम (आलोक) को वर्षा हामीभित्र सङ्क्रमित हुँदै हामीलाई ओजस्वी अस्मिता प्रदान गरुन् भन्ने नै कविको अभिप्सा हो । जीवनको

क्षणभङ्गुरताको शादृश कालबोध अर्थात् समयको सत्यरूपी महाकालको सार्वभौमता थेग्न असमर्थ मान्छेलाई जीवनको कर्म र आनन्ददेखि विमुख नतुल्याएर तिमी हाम्रो आङमा घाम बनेर आउनु भन्ने कविको अनुनय रहेको छ । कविको घाम यहाँ ग्रह-नक्षत्रको केन्द्र देदीप्यमान सूर्य नभएर एउटा नेपाली गाउँको छाप्रोको छानोको प्वालबाट छिरेर घरभित्रका परिवारसँग रसवस गर्ने घाम हो । खेतमा गाईको खुरले टेकेर बनिएको डोबिल्कामा जमेको डोबिल्काभरिको पानीमा बिम्बित घाम हो । सूर्यको शक्ति, चन्द्रको शीतलता, सागरको गहिराइ हरण गरेर बादशाह हुन खोज्ने निस्सीम आकाशलाई (क.क्र.सं.९८) पनि खुरुक्क गाईको खुरले बनिएको खेतको डोबिल्कोमा जमेको पानीमा खसालिदिने कविको घाम हो ।

मृत्यु प्रवृत्तिः

ऊ आउँछ
आएपछि कसैगरी
मैले जानै पर्छ । (कविता क्रम सं.६०)

जमिन हाँस्यो !
आफूलाई किन्नेको
आयु सम्झेर !! (कविता क्रम सं.१०९)

उक्त दुई कविताहरूमा मृत्युको अनिवार्यतालाई लिएर चिन्तन गरिएका भए पनि कविताहरूमा मृत्युको मूलवृत्ति भने परेका छैनन् । जेन दर्शनअन्तर्गत हाइकु, तान्का, जेन कविताहरूमा अनस्तित्वको देशकाललाई लिएर चिन्तन गरिन्छ, जहाँ चिन्तनले अनुभावहरूसँग, उद्दीपनहरूसँग सामना गरिरहेका हुन्छन् । यसको टीका चिन्तनमा मृत्यु-चेतना, मृत्योन्मुख चिन्तनलाई सपाट मृत्युको मूलवृत्तिमा हेर्न मिल्दैन । यसको विपरीत यस्ता चेतनाहरूलाई वस्तुपरक रूपमा हेर्नु एवं विनापूर्वाग्रह यसको निराकरण गर्नु साथै यसभित्र देखिएका अतार्किकताको समाधान नै यसको मूल उद्देश्य हो । जेन वाङ्मयले मृत्युको संवेगलाई मात्र लक्ष्य नगरेर यस्तो स्तरमा लक्ष्य गरेको हुन्छ, जहाँ चिन्तन स्वयं मृत्युद्वारा अनुप्राणित हुन्छ । जेन साहित्यमा अभाव, शून्यता, अनुपस्थिति, अपूर्णताजस्ता वस्तुहरूले सङ्घटक रूपमा एवं नियामक भूमिका इङ्गति गर्छ । यही नै हो मृत्युको अनुभव जसद्वारा अनुपस्थित सत्ताको -सत्ताको अनुपस्थिति) व्याप्तिको खोजीमा हम्मेसी लागिपरेको हुन्छ । यही मृत्युको निष्पादनलाई ध्यान गर्दै मृत्युको सामना गर्नु नै जेन दर्शनको लक्ष्य हो ।

कस्तो कमजोर छ मान्छे !
ऊ आफैँले खिचाएको
कागजको फोटो जति पनि बाँच्न सक्दैन !! (कविता क्र.सं.४)

यहाँ जीवनको क्षणभङ्गुरतापछिको मृत्युको निष्पादनप्रतिको सामना प्रक्रियामा कवि प्रसाईं भन्छन् ।

मैले स्वागत गरेँ
ताली बजाएर
आफ्नै मृत्युदण्डलाई ! (कविता क्रम सं. १००)

ऊ आउँदा
रोएर आयो,
जाँदा
रुवाएर गयो । (क्रम.सं.९)

अथवा
ऊ आउँछ,
आएपछि कसैगरी
मैले जानैपर्छ (क्रम.सं. ६०)

यस कोटिका मृत्यु प्रवृत्तिका कविताहरू मृत्युको निष्पादनलाई सामना गर्ने जेन चिन्तनहरू नै हुन् ।

प्रसङ्गमा जेन आगतको एउटा आख्यानलाई लिनुपर्दा मृत्यु शययामा थियो निनाकावा । जेन साधक इक्कयु यहाँ आएर निनाकावालाई प्रश्न गरे- के म तिमीलाई मृत्यु सामनाको एउटा ‘दो’ (मार्ग) बताइदिऊँ ?

म एक्लै आएँ अनि आज एक्लै जान लागिरहेको छु । मेरो जीवनको यो अन्तिम क्षणमा तिमीले मलाई के पो मार्ग बताउन सकौला ? निनाकावाले भने ।

सुनेर इक्कयुले भने- यदि तिमी आएका थियौ अनि जाँदैछौ भन्ने ठान्छौ भने यो केवल तिम्रो भ्रम हो । तिमीलाई आउन नपर्ने अनि जान नपर्ने युक्ति भनौ कि म ?

इक्कयुको उपरोक्त वाक्य सुन्नासाथ निनाकावालाई मार्ग सङ्केत प्राप्त भयो । उसको ओठमा मुस्कान देखापर्यो अनि उसले प्राण त्याग गर्यो ।

मृत्युको निष्पादनप्रति मृत्यु सामना गर्ने विधि जेन दर्शनमा यसरी व्याख्या गरिन्छ । मृत्यु प्रवृत्तिका यस्ता सङ्केत प्रसाईंको कवितामा परिलक्षित हुन्छन् ।

अपरिग्रही प्रवृत्तिः

बाँचुञ्जेल पैसा गनिरहन्थ्यो
मरेपछि हेरेको
उसको कफनमा गोजी थिएन । (कविता क्रम. सं. ३)

मुगाका मालाहरू
मोती, माणिक र मणिहरू
सबै-सबै
ढुङ्गाझैँ लागे मलाई
जीवन बुझेपछि । (कविता क्रम.संं.१३)

जेन कवितामा प्रकृतिसँग तदात्म्य स्थापनालाई महत्त्व दिइन्छ । कवि कृष्ण प्रसाईंको यस सङ्कलनमा पनि प्रकृतिको सर्वोपरिता र दिव्यता यत्रतत्र परिलक्षित छन् । यो प्रवृत्तिले प्रकृतिको माध्यमद्वारा जीवन आदर्शको अभिव्यक्ति पाइन्छ । जेन साधकहरू सन्तलेझैँ अपरिग्रही जीवनयापन गर्दै मानव आवासदेखि टाढा पर्वत, वनाञ्चलतिर व्यतित एवं विचरण गर्दै प्रकृतिसँग सहाचार्य स्थापित गर्थे । यसै र जेन दर्शनमा मूलतः प्रकृतिपरक कविताद्वारा प्रकृतिकै गतिविधिमा विवेचन एवं विश्लेषणहरूका समावेश पाइन्छ । त्यहाँ सरलता एवं अभिव्यक्तिको सहजताप्रति विशेष आग्रह रहेको देखिन्छ । यही परिपे्रक्ष्यमा कवि प्रसाईंका उपरोक्त दुई कविता एवं अन्य कविताहरूमा पनि धन-वैभव र भौतिक सुविधाहरूका निरर्थकतालाई स्थान छ ।

सरक्सान !
तिमी अलि होची भए पनि
उमेर उस्तैउस्तै हो भनेर
प्रस्ताव गर्यो सगरमाथाले
लाज लागिरहेछ
बेहुली हुने सम्झेर !! (कविता क्रम.सं.०६२)

यहाँ सगरमाथाको सरक्सान (कोरियाली सर्वोच्च सुन्दर शिखर)प्रतिको यो प्रणय प्रस्तावमा कविको प्रकृतिसँगको तादात्म्य प्रवृत्ति रहेकै छ उसमाथि पनि गौरवशाली संसारकै सर्वोच्च शिखर सगरमाथासँग ऊभन्दा कम उचाइ लिएकी कोरियाली शिखरको पाणी-ग्रहण कल्पना ग्लोवलाइजेसन अझ हाम्रै शाश्वत चिन्तन वसुधैव कुटुम्बकम्को उद्घोषको बेजोड रचना बनेको छ ।

घामको वर्षामा क्रीडाभूमिको फाँट फराकिलो छ, ती फाँटहरूका सम्भावनाले समृद्ध बनिदिएका छन् । यस्ता सम्भावना बोकेका छोटा कविताहरूलाई शीर्षक दिँदा सम्भावनाहरूमा अवरोध आउँछ अथवा क्रीडाभूमिको निकासीले सम्भावनालाई एकार्थी बनाइदिन्छ’ वस्तुतः हाइकु, तान्का र जेन कवितामा शीर्षक दिन मिल्दैन । यहाँ कवि प्रसाईंको कविता क्रमसङ्ख्या १०२ लाई हेरौँ

कस्तो अचम्म !
जति धेरै गह्रौँ हुन्छ!
उति नै छिटो दौडिन्छ नदी
पानीको भारी बोकेर ।

यो छोटो सुन्दर कविताले पानीको भारी मात्र नबोकेर मान्छेको सर्लक्कै जीवनजगत्लाई नै बोकेको छ । मान्छेको बाल्यकालमा आउने चाडपर्व, बिहे-बटुकका रमाइला, पाठशालाको लामो बिदा आदिलाई बालजगत्ले उत्कट उत्सुकता सँगेटेर प्रतीक्षा गरिरहेका हुन्छन् । समयको गतिसँगै मान्छेलाई कर्तव्यको भारी, मिलन-विछोड, हर्ष-अहर्ष, रोग, भोक, शोकजस्ता व्यतिरेकहरूका निवारणार्थ सङ्घर्षको भारी बहन गर्ने बाध्यता आइपर्छ । उमेरको वृद्धिसँगै यी व्यतिक्रमहरूका भारी क्रमशः गह्रौँ हुँदै जान्छ अनि जीवनको सञ्चरणसँगै यस्ता भारीका वृद्धिक्रममा कतिखेर यो नदीरूपी मानव जीवन सागरमा पुग्छ, थाहा नै लाग्दैन ।

ढुङ्गा त ढुङ्गै हो
त्यो ढुङ्गा-
घर बनाउन काम लाग्छ,
सडक कुदाउन काम लाग्छ
समुद्रमा पुल उठाउन विभाजित
त्यो- जब महान् हुन्छ!
अनि सबैभन्दा महँगो हीरा बन्छ ! (कविता क्रम.सं.९६)

हो, ढुङ्गाको एउटा विशाल पहरा शादृश हीरा सानो हुन्छ । त्यही हीरामा तर महत्त्व र मूल्य निहित हुन्छ । तथागतको विशाल बुद्धवाद रूपी पहराको अकृत लीलाको मेटामोर्फोसिस क्रममा प्रसाईंको जेन कविताहरू हीरा बनेका छन् । नरोकियोस् उनका यी माणिक्य जडित जेन आगमका अभिव्यञ्जनहरूका स्रोत । बलिया हाँगाहरू भएका, बाक्ला पात र पौलहरूले झ्याम्म विशाल रूख बनेर नेपाली काव्य क्षेत्रमा स्थापित हुन सकोस् प्रसाईंका जेन मुर्छनाहरू ।

सिलीगडी (भारत)

Leave a Reply

Your email address will not be published. Required fields are marked *