नेपाल यो देश विचित्र कै छ
संसार सारा यस भित्र नै छ ।
अनेक छन् पर्यटकीय ठाउँ
नवीनता नाच्द छ गाउँ गाउँ ॥
सर्वोच्च हाम्रो हिम टाकुरा छ
डाँफे छ राम्रो यहीँ गुराँस ।
अथाह छन् स्रोत यहाँ लुकेका
हामी भने खोज्न अझै चुकेका ॥
अनेक छन् जमात मनुष्य एक
अनेक छन् मन्दिर भाव एक ।
विहार छन् नस्जिद छन् अनेक
अनेकता भित्र समस्त एक ॥
दृश्यावली सुन्दर एक एक
छन्खोँच भाज्याङ र उच्चलेख ।
पहाड मैदान सबै सुरम्य
देखेर भन्छन् सब धन्य धन्य ॥
हिमाल यो भन्दछ आउ आऊ
टेकेर मेरो शिरमा रमाऊ ।
इनाम औ नामतिमी कमाऊ
सर्वत्र मेरो महिमा फिँजाऊ ॥
फेवा परी गम्म बसी रहेछ
सेती सुसेल्दै दगुरी रहेछ ।
त्यो सुन्तला वाग हराभरा छ
हो साँच्चिकै सुन्दर पोखरा छ ॥
मुस्ताङका गौरव मुक्तिनाथ
देशी-विदेशी सब साथ साथ ।
आई यहाँ मख्ख परेर जान्छन्
स्वर्गीय हो ठाउँ भनेर मान्छन् ॥
प्यूठानमा सुन्दर स्वर्गद्वारी
पुगी नयाँ दृश्यहरु निहारी ।
उत्फुल्ल भै लोचन पद्म खिल्छ
स्वर्गिय आनन्द त बल्ल मिल्छ ॥
उता छ त्यो खप्तड क्या मजाको
हो ज्ञानको स्रोत सदा-सदाको ।
भन्छन् सबैले धक क्यै नमानी
निसर्गको सुन्दर राजधानी ॥
हो लुम्बिनी क्षेत्र निकै प्रसिध्द
हत्या र हिँसा जहाँ निषिध्द ।
अज्ञानको बास त्यहाँ हुँदैन
त्यो ठाउँमा झन् नपुगी हुँदैन ॥
यस्तै छ अर्को मिथिला प्रदेश
भनौँ तराइ अथवा मधेश ।
हो माइती यै त विदेहजाको
पुगी नियाल्दा छ निकै मजाको ।।
अध्यक्षः पोखराथोक साहित्य सङ्गम,
पोखराथोक तान्सेन पाल्पा ।
छन्दः उपजाति,११ अक्षर ५ र ६ मा विराम
।ऽ।.।ऽऽ.ऽ॥.ऽ।ऽ. र ऽऽ।.।ऽऽ.ऽ॥.ऽ।ऽ.
ज.त.ज.ग.गु + त.त.ज.ग.गु.
