Skip to content

म त सधै एक्लै छु


सानो एउटा घर अनि घरमा निरासता बोकेर बसेका दुईजना मानिस – एउटी आमा जुरेली अनि एउटा गर्भे टुहुरो छोरा सन्ते । मेलापात र ज्यालादारी काम गरेर दुई प्राण धानेर बालख छोरो हुर्काएर बसेकी …। एकदिन छोराले सोच्यो, मैले पढेको पनि छैन र धन-सम्पत्ती पनि छैन । यहाँ बसेर पनि सधैभरी साहुको कमारो हुनु भन्दा बिदेश गएर केही दिन दुःख गरे भने त मेरो जीवन यापन गर्ने बाटो हुन्छ … ।

उसले आफ्नी आमालाई भन्यो – “आमा म बिदेश गएर केही पैसा कमाएर आउछु !”

छोराको कुरा सुनेर आमाको आँखामा आँशु बग्न थाल्यो । आमाले भन्न थालिन् – “बाबु ! तेरो बाबुले गर्भमा छाडेर गए पनि मैले अरुको मेलापात गरेर तँलाई हुर्काए। अब त छोराले मेरो रेखदेख गर्छ भन्ने आशामा बाँचेकी थिए । तैंले पनि छाडेर गए मेरो साहारा को नै हुन्छर …?”

आमाको यो आवाज सुने पछि सन्तेले भन्यो – “आमा! हजुरको रेखदेख गर्नको लागि म बिबाह गरेर बुहारीलाई अह्राएर जान्छु … ।”

छोराको बिबाह गर्ने कुराले जुरेलीलाई अर्ध खुसी बनायो र उसले सन्तेका कुरा स्वीकार गरिन् । केही दिन मै सन्तेको राम्रैसँग बिबाह भयो । सन्तेले घरका सारा कुराहरू श्रीमतीलाई जिम्मा लगायो अनि भन्यो – “मेरी आमाले कुनै दुःख बेहोर्न नपरोस् ।”

सन्तेका यस्ता कुरा सुनेर राधाले सहमति जनाउँदै भनिन् – “तपाईंले आमा, घर र मेरो कुनै चिन्तै गर्न पर्दैन। म सबै मिलाइहाल्छु नी!”

बिचरा सन्ते श्रीमतीको कुराले खुसी भयो र दङ्ग पर्यो । यसरी केही दिनपछि नै उ बिदेसिएर कतार पुग्यो । घर छाडेको एकहप्ता भित्रै कतारमा काम गर्न लाग्यो । मैना दुई मैनामा घरमा फोन गर्थ्यो र फोन गर्दा श्रीमतीलाई पनि फोनमा खोज्ने गर्थ्यो । जुरेलीले यहाँनेर छैन भन्थी र आर्फै कुरा गर्थी ! यसरी धेरै पटकसम्म आफ्नी श्रीमतीसँग लामो समयसम्म पनि कुरा गर्न नपाएपछि सन्ते रिसायो र भन्यो – “आमा! के हजुरले सासूको अहमता देखाएर मेरी श्रीमतीलाई फोनमा कुरा गर्नबाट बिच्छेद गर्न खोज्नु भा’को हो ?”

छोराको यस्तो कुरा सुनेपछि आमाले रुँदै आफ्नो घरको गोप्य कुरा खोलिन् – “बाबु सन्ते ! तेरी श्रीमती राधा त तँ गएको एक महिनापछि नै वनबासी किस्नेसँग पोइल गै हाली नि ! त्यसपछि देखि नै म त सधै एक्लै छु ।”

गजल कुटेरी
बिशालमार्ग नारायणगढ ।

1 thought on “म त सधै एक्लै छु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *