प्यारी आमा,
साष्टांग दण्डवत् ।
यो मरुभूमिको प्रचण्ड गर्मीमा म आरामै छु । तपाईंलाई कस्तो छ ? मन जति बिरामी भए पनि शरीर त पक्कै आरामै होला ।
हेर्दाहेर्दै दसैं पनि आइसकेछ । सुन्छु- देशमा महँगी खुब बढेको छ रे । ढुंगैढुंगा मिसाएको चामलसमेत ५० रुपैयाँ केजीभन्दा तल पाइनै छाड्यो रे । तरकारी उस्तै । केही वर्षअघि २० रुपैयाँ किलो पाउने तरकारी पाउकै २० रुपैयाँ भइसक्यो रे । के खाएर कसरी टिक्ने हो ? मलाई त तपाईंकै चिन्ताले सताउँछ । यताबाट पठाउनु हो भने म आफ्नै समस्यामा फसेको छु । सधैं एसीमै बस्न पाइन्छ र इन्जिनियरको पछिपछि हिँडे हुन्छ भनेर त्यो दलालले ल्यायो । यहाँ कतारमा आएपछि घाममा ढुंगा बोकाएर हिँडाए । सोध्दा त्यसको लिडरले भन्यो- ‘तिमीलाई प्राकृतिक एसीमा काम लगाएको छ, बाहिर हावा चल्ने ठाउँमा ।’ अनि इन्जिनियरको पछिपछि हिँड्नुपर्ने भनेको थियो नि भन्दा भन्यो- ‘ठीकै छ, मै हुँ इन्जिनियर, मेरो पछिपछि ढुंगा बोकेर आऊ । तिमीलाई रित्तै हिँड्न त कसले पैसा तिरीतिरी ल्याउँछ ?’
‘मेरो पैसा मैले आफैं तिरेको थिएँ एक लाख २० हजार रुपैयाँ’, मैले भनें, ‘तपाईं कसरी तिरेर ल्याएको भन्नुहुन्छ ?’ ‘तिमीले तिर्यौ होला, मैले पनि तिम्रो लागि तिरें’, उसले भन्यो, ‘बीचमा तिम्रै देशका दलालले खाए होला । मलाई त्यो कुरासँग मतलब छैन । मलाई त तिम्रो काम चाहिएको छ । काम गर, पैसा दिन्छु, हल्ला गर्यौ भने थुनिदिन्छु ।’
पचास डिग्री सेल्सियस तापक्रममा पाकेर मैले त्यो कम्पनीमा ५० दिन पनि काम गर्न सकिनँ । पासपोर्ट कम्पनीकै मालिकसँग थियो । रातारात क्याम्पबाट भागें र अर्कै मालिकका घरमा नोकरजस्तो भएर बसेको छु । ऊ झन् राक्षसजस्तो रहेछ । कुट्नेपिट्ने गर्छ, पैसै दिँदैन । बसेको १० महिना भयो, जम्मा ५ सय दिएको छ । छोडेर भाग्नु भने कहाँ जानु, अर्को ठाउँ झन् खराब पर्ला । फेरि काम गरेको पैसा पनि त उठाउनुपर्यो । साथमा पासपोर्ट नभएपछि र आएको कम्पनी छाडिसकेपछि ‘अवैध’ होइँदोरहेछ । त्यति महँगो ब्याजमा लिएर त्यत्रो पैसा तिर्दा पनि ‘अवैध’ हुनुपर्ने ! यस्तो दुःख भोग्नुपर्ने ! यी म्यानपावरवालाको भरै रहेनछ । म मात्र होइन, धेरै नेपालीले यहाँ यस्तै दुःख भोगिरहेका छन् । भन्नु कसलाई, सुन्ने कोही छैन । पिँजडामा थुनिएको सुगाभन्दा गएगुज्रेको भयो मेरो जिन्दगी ।
मेरो हालत यस्तै छ तर पनि चिन्ता नलिनुहोला । बरु आफ्नो ख्याल गर्नू । तपाईंको स्वास्थ्य अलि खराब छ । बजारमा सडेको मासु छ्याप्छ्याप्ती छ भन्ने समाचार पढ्न पाइन्छ । किन्दा होसियार हुनू । भरसक बजारमा किनेर मासु नखानू । खुला ठाउँमा राखेको मासुमा झिँगा भन्केका हुन्छन् । त्यसलाई सुरक्षित राख्ने प्रचलनसमेत छैन हाम्रो देशमा ।
यता त त्यस्तो छैन । होटल रेस्टुरेन्टमा एउटा साङ्लो भेटियो भने सरकारले बन्द नै गराइदिन्छ । त्यहाँ त खाने कुरामै मुसो भेटिएका समाचार पढ्दा दिक्क लागेर आउँछ, छ्या ! होटल-रेस्टुरेन्टमा खाने ठाउँ सफासुग्घर हुँदैनन् । झिँगा र साङ्ला कुदिरहेका हुन्छन् । मिठाईमा झिँगाका खुट्टा भेट्टछिन् । जे किने पनि दूषित मात्र ! बजारमा किन्न गयो, कुहेका तरकारी हुन्छन् । भाउ सोध्यो, छोइनसक्नु । म आउँदाभन्दा त्यहाँको अवस्था झन् बिगि्रइसकेछ । सुन्छु, पढ्छु, आउनेजानेसँग बुझ्छु- देशको हालतले साह्रै पिरोल्छ । एक मनले सोच्छ- यो मरुभूमिमा किन आइस् ? अर्को मनले भन्छ- आफ्नो देश गतिलो भए हामीजस्ता युवाले किन बिदेसिनुपथ्र्यो ! किन यस्तो दुःख खेप्नुपथ्र्यो !
कालिमाटीको सरकारी फलफूल तथा तरकारी बजारमा समेत दुई खालका दाल पाइन्छ रे- पोलिस लगाएको र नलगाएको । ‘पोलिस लगाएको’ भनेरै त्यहाँ केही सस्तो दाल बेचिन्छ रे । कस्तो छाडा हाम्रो राज्य, सडेको खानेकुरा राम्रो देखाउन अखाद्य वस्तुको लेपन लगाउने ! सरकारी निकायले नै यसो गरेपछि अरूले किन नगरून् ? एकातिर गुणस्तर कम, अर्कातिर परिमाण थोरै । खुला राखिएका सामान फोहोर हुन्छन्, प्याकिङ गरिएकामा तौल कम । जताबाट पनि उपभोक्ता ठगिने ! हाम्रो देश कस्तो कानुनै नभएजस्तो- जेसुकैमा मिसावट । जुनसुकै सामान गुणस्तरहीन । जताततै ठगी । जहाँसुकै बदमासी । जनताको ज्यानको मतलब राज्यलाई फिटिक्कै छैन ।
सम्झ्यो, मन कटक्क खान्छ । साथमा पैसा छैन । आँतमा लुगा छैन । चुलोमा आगो बालेर उमाल्ने वस्तु छैन । गरिबको झुपडीमा खोइ कस्तो दसैं आएको होला, हँ आमा ? हवस् त आजलाई बिदा । यसपालिको दसैं जस्तो सक्नुहुन्छ त्यस्तै मनाउनुहोला । सकियो भने अर्को वर्ष राम्ररी मनाउँला !
तपाईंको छोरो रमेश
akhanda@kantipur.com.np
