पानी परेन भने अपनाउने अनौठो प्रथाहरू


आजभोलि दिनहूँ समाचारमा सुन्न र पढ्न पाउँछौ पानी नपरेर कुनै ठाउँ पानी भित्र बसेर अनसन बसेको त कतै भ्यागुतोको बिहे गरेको, कहीँ हरहर महादेव भनेर जुलुल निकालेको आदि ।

हाम्रो देश कृषि प्रधान देश भएको हुनाले अधिकांश क्षेत्र आकाशे पानीको भरले खेतीपाती गर्ने चलन छ । फसल लगाउने बेला आकाशे पानीमा भरपर्नेहरूका लागि पानी परेन भने विभिन्न ठाउँमा आ-आफ्नो तरीकाले इन्द्र भगवान्सँग पानी माग्ने चलन प्राचीनकालदेखि नै चल्दै आएको छ, यस्तै चलन प्रथा विश्वका थुप्रै देशहरूमा पनि विविध तरीकाले वर्षा गराउने प्रथा रहिआएको छ । यसबारेमा हाम्रो देशका विभिन्न क्षेत्र, जातिमा भएको प्रथालाई नियालौं ।

वर्षायाम पानी परेन भने काठमाडौंको बालाजुको छेउमा डुक्रने पानी नामको ठाउँ छ । वर्षा चाँडो नभए त्यहाँको ढुङ्गाको बसाहालाई स्थानिय कृषकहरूले नोलले खुब हिर्काउँछन् मात्र हैन उत्तानो समेत पार्छन् । यसरी कुटेर उत्तानो पारेको त्यो बसाहा राति उठेर डुक्रिन थाल्दछ र वर्षा हुन्छ भन्ने जनविश्वास छ । यस्तै भक्तपुरको चाँगुनारायण क्षेत्रका जनता पनि समयमा पानी परेन भने चाँगुनारायण थानको गरुडमूर्तिको मुखमा गोबर र हिलो माटो छ्याप्न थाल्छन् । बलले भ्याएसम्म नोलले गरुडलाई हिर्काउँछन् । यसरी जतिसक्दो बढी गरुडलाई कष्ट दिएपछि त्यस क्षेत्रमा वर्षा हुन्छ भन्ने विश्वास त्यस क्षेत्रका स्थानिय नेवार समूदायमा छ ।

पश्चिम तराईमा वर्षायाममा पानी परेन भने थारू जातिमा आइमाईहरू रातिको समयमा नाङ्गै भएर खेतमा हलो जोत्ने गर्दछन्, त्यसो गर्नाले वर्षा हुन्छ भन्ने विश्वास यिनीहरूमा छ । यस्तै कञ्चनपुर जिल्लाको बगुन टोलमा भने वर्षा गराउनका लागि भ्यागुताको जोडी खोजेर ल्याई विवाहको विधिअनुसार कर्मकाण्ड गरी धुमधामसँग विवाह गरिदिने गर्दछन् ।

कतै कतै वर्षा गराउनका लागि पशुलाई कष्ट दिएर मार्ने चलन पनि छ । काठमाडौँको क्षेत्रपाटीमा घोप्टे गणेश नाउँका देवता छन् । तिनलाई वैशाख जेठतिर राँगाको बलि दिने चलन अद्यावधि छ । जिउँदो राँगाको गर्दनको छाला काडी मूल रक्तनली काटी घोप्टे गणेशको मूर्तिमा रगतका फोहरा लगाइन्छ । त्यो राँगो मरेको हुँदैन र त्यस कष्टले गर्दा राँगोले आँसुका धारा बगाइरहेको हुन्छ । राँगाले जति धेरै आँसु बगाउँछ त्यति धेरै वर्षा हुन्छ भन्ने विश्वास क्षेत्रपाटीतिरका नेवार बासिन्दाको छ । यसरी पशुलाई दुःख यातना दिएर गर्ने चलन/प्रथालाई केवल अन्धविश्वास र क्रुर व्यवहार मात्र भन्न सकिन्छ ।

अन्धविश्वास पशुका कुरा मात्र होइन मानिसलाई समेत कष्ट दिएर वर्षा गराउने चलन पनि हाम्रै देशमा रहेको पाइन्छ । कञ्चनपुर जिल्लाको दैजी गाविसका थारू जातिहरूले गाउँकै अध्यक्ष वा मुखियालाई पिट्दै घैलाका घैला पानी खन्याउने गर्दछन् । यसरी पिटेमा पानी पर्छ भन्ने विश्वास थारू समूदायमा छ ।

यस्तै अन्धविश्वासकै प्रथा भारतको उडिसा प्रदेशका खोंड जनजातिमा पनि छ । उनीहरूले पनि वर्षा गराउन पशुलाई नभै नरबलि दिने गर्दछन् । नरबलि दिंदा बलि दिइने मानिसलाई नेपालमा राँगालाई यातन दिएजस्तै गरी यातना दिएर मारिन्छ । त्यस्तो यातना दिँदा त्यो मानिसले जति धेरै आँसु बगाउँछ त्यति नै बढी पानी पर्छ भन्ने विश्वास छ । अब नरबलि प्रथामाथि प्रतिबन्ध लागेका कारण आजभोलि देख्न पाइँदैन ।

वर्षा गराउनका लागि हामीकहाँ मात्र नभै विश्वका थुप्रै देशहरूमा आ-आफ्नै रीतिअनुसार समयमा वर्षा नभएमा पूजाआजा गरेर स्वर्गका देवता इन्द्रसँग पानीको माग गर्ने गरिन्छ, आउनुहोस् अब कुन देशमा के कसरी वर्षा गराउनका लागि उपाय अपनाउँछन् जानिराखौँ ।

भारतः भारतको थुप्रै ठाउँमा पानी पार्ने थुप्रै प्रथाहरू अनेकौँ छ । जसमा विहार प्रदेशमा वर्षा गराउनका लागि विचित्र तरिका अपनाउने गरिन्छ । त्यहाँको मुजफ्फरपुर जिल्लाको केही भागमा प्रचलित एक प्रथाका अनुसार, माटोको हाँडीमा भ्यागुतो राखेर गाउँको ५ घरबाट पानी ल्याएर भ्यागुतो माथि खन्याउने गरिन्छ, भ्यागुतो कराएमा गाउँबासी खुशीले पानी पार्ने विशेष प्रकारको लोकगीत गाउने गरिन्छ । विहारकै दरभङ्गा जिल्लामा अर्को प्रथा प्रचलित छ त्यहाँका युवाहरूले अनुहारमा कालो रङग लगाएर भ्यागुता जस्तो हिँड्ने गरिन्छ ।

भारतकै गुजरात प्रदेशका केही गाउँका केटाहरू समूह समूह बनाएर रूखको पातहरूको कपडा बनाएर लगाउने र अर्धनग्न भएर गाउँका घरघरमा जाने गरिन्छ र प्रत्येक घरबाट ती अर्धनग्न केटाहरूलाई पानी छर्किदिने गरिन्छ, यसो गर्दा पानी पर्छ भन्ने आमधारणा रहिआएको छ । यस्तै मध्यप्रदेशमा वर्षा बोलाउने काम आइमाईहरूले गर्ने गरिन्छ, वर्षा नभएको क्षेत्रहरूमा आइमाईहरू इन्द्रको पूजा गर्ने गरिन्छ ।

मिश्रः मिश्रका कबिल युवतीहरू वर्षा गराउनको लागि हातमा फूल लिएर नदी किनारामा जान्छन् । त्यसपछि उनीहरूका गुरु (पुरोहित) ले त्यहाँ मन्त्र पढ्दछन् । मन्त्र पढिसकेपछि युवतीहरूले भक्तिपूर्वक फूललाई नदीमा बगाई दिन्छन् । यसो गर्दा वर्षा हुन्छ भन्ने विश्वास गरिन्छ ।

न्यू क्यालिडोनियाः न्यू क्यालिडोनिया द्वीपमा वर्षा गराउने अनौठो प्रथा छ । त्यहाँ वर्षा गराउन झाँक्रीहरू सक्रिय रहन्छ । उनीहरू कुनै मृत व्यक्तिको चिान खनेर अस्थिपञ्जर निकाल्छन् र त्यसलाई एकान्तमा लगेर जोड्ने गर्दछन् । त्यसपछि उक्त अस्थिपञ्जरलाई अग्लो रूखमा झुण्ड्याएर माथिबाट पानी खन्याउने गर्दछन् । यसो गर्दा सो खन्याएको पानी वर्षामा परिणत भएर वर्षा हुन्छ भन्ने विश्वास गरिन्छ ।

म्यानम्यारः म्यानम्यारका आदिवासीहरू पानी माग्नका लागि हातमा मसाल बोकी हात्तीमा चढेर विशाल जुलुस निकाल्छन् । त्यसको केही निश्चित समयपछि सवै हात्तीलाई एकै ठाउँमा जम्मा गर्दछ् र हात्तीलाई जोडसँग चिच्याउन लगाउँछन् । त्यसरी चिच्याएका हात्तीको चित्कार सुनेर पानी तुरुन्त पर्ने गर्छ भन्ने स्थानिय आदिवासीहरू विश्वास गरिन्छ ।

अष्ट्रेलियाः अष्ट्रेलियामा बाली लगाउने बेलामा पानी नपर्दा केही आदिवासीहरू अग्लो पहाडको टुप्पोमा गएर आकाशतिर बाण चलाउँछन् । उनीहरूको विश्वास अनुसार त्यसो गर्दा बादल फाट्छ र तुरुन्त पानी बर्सन्छ भन्ने धारण छ ।

सुडानः सुडानका आदिम जातिहरूमा यस्तो शक्तिशाली झाँक्री हुन्छन् । वर्षा गराउन विशेष पूजा गर्ने गरिन्छ । जसमा फलाम, ढुङ्गाका टुक्राहरूले देवताको पूजा गर्ने गरिन्छ । पूजा समाप्त भएपछि मानिसहरूले पशु पंक्षीहरूको बलि दिएर सामूहिकरूपमा नाचगान गर्ने गरिन्छ । यसो गर्दा पानी पर्छ भन्ने जनविश्वास रहिआएको छ ।

कोरियाः कोरियामा भ्यागुतो र माछालाई भगवान इन्द्रको सहयोगीको प्रतीक मान्ने चलन छ । जुनबेला ठीक समयमा पानी पर्दैन तब त्यहाँका आदिवासीहरू माछा र भ्यागुताका आकारमा ठूला ठूला पातहरू आकाशमा प्रशस्त मात्रामा माथि माथिपुग्ने गरी उडाउँछन् । आफ्ना सहयोगीलाई नजिकै देखेर भगवान इन्द्र खुशी भइ पानी पारिदिन्छ भन्ने उनीहरूको विश्वास छ ।

जर्जियाः जर्जियामा वर्षा गराउनका लागि कुनै पादरी वा पुजारीको श्रीमतीलाई पानीमा डुबाएर शिरदेखि पाउसम्म भिजाइदिन्छ यसो गर्दा देवताले पानी पारिदिन्छ भन्ने विश्वास छ । जर्जियाकै केही ठाउँमा दुई जोडी विवाह योग्य कुमारी कन्याहरूलाई एउटै हलोको जुवामा नाङ्गै राखेर हलो जोत्ने गरिन्छ, यसो गर्दा पानी पर्छ भन्ने आमधारण रहिआएकोछ ।

न्यूगिनीः न्यूगिनीको प्रायः स्थानमा वर्षा गराउनका लागि कुनै जादूगरको सहयोग लिने गरिन्छ । उक्त जादूगरले कुनै एक रूखको हाँगा भाँचेर लिन्छ र पानीमा डुबाएर झट्कारी दिन्छन् । जसबाट यस द्वीपका वासिन्दाहरूमा यस्तो विश्वास पाइन्छकि यस क्रियाले वर्षा चाँडै हुने गर्दछ ।

फिजीः फिजी द्वीपका वासिन्दाहरू पानी पार्नको लागि अग्लो पहाडको चुचुरोमा गएर सेतो परेवाहरूलाई आकाशतिर उडाउँदै पानी लिएर आऊ भन्छन् । यदि ती परेवा फर्केर फेरि त्यहाँ आए भने साँच्चै नै पानी पर्ने गर्दछ ।

अफ्रिकाः अफ्रिकाको उत्तरी भागमा रहने अरवियनहरू पुरानो कपडाको एउटा ठूलो पुतला बनाउँछन् । जस्लाई ‘घोंजा’ भनिन्छ । यस पुतलालाई मानिसहरू नानाप्रकारले सजाउँछन् र मानिसको समूह बनी सो पुतलालाई गाउँ गाउँमा घुमाउने गर्दछन् । ‘घोँजा’ को लागि पानी माग्ने गरिन्छ । जुलुसमा सहभागीहरूले ‘घोंजा’ र एकअर्कालाई पानी छ्याप्ने गरिन्छ । यस्तो देखेर वर्षा गराउने देवताले देखासिकी गर्दै पानी पार्ने गरिन्छ भन्ने धारण रहिआएको छ ।

पेरूः पेरूमा भ्यागुताका स-साना मूर्ति बनाएर पहाडको टुप्पोमा राखिन्छन् । उनीहरू ती मूर्तिहरू आकाशको जति जति निकट रहन्छन्, त्यति नै बढी वर्षा हुन्छ भन्ने विश्वास गर्दछन् ।

रूसः दक्षिण रूसको एक प्रदेश कुस्कसमा आइमाईहरूले कुनैपनि व्यक्तिलाई (चाहे त्यो अपरिचित किन नहोस्) समातेर नदीमा डुबाइदिन्छ या नदी नभएको ठाउँमा पुरै शरीर भिज्ने गरी पानी खन्याइदिन्छ । उनीहरूको विश्वास छकि यस्तो गरेमा वर्षा चाँडै हुन्छ । यस्तै रूसकै काकेशस प्रान्तमा वर्षा गराउनका लागि एक विशेष कार्यक्रम आयोजना गर्ने गरिन्छ । जसमा युवतीहरूले जुवामा बसेर हलो जोत्ने गरिन्छ, यसरी हलो तान्दै कुनै नदी वा तालसम्म पुग्ने गरिन्छ यसो गर्दा युवतीले हलो जोतेको इन्द्र देवताले हेर्न नसकेर पानी पारिदिन्छ भन्ने आमधारण छ ।

मडागास्करः मडागास्करमा वर्षा गराउनका लागि सिंहलाई ज्यादै दुःख दिएर मारिन्छ । त्यसरी कष्ट भोग्दा सिंहले ज्यादै ठूलो गर्जन गर्ने हुँदा सिंहको गर्जन सुनेर पानीका देवताले पानी वर्षाइ दिन्छ भन्ने विश्वास छ ।

यस्तै स्कटल्याण्डका केही भागहरूमा वर्षा गराउन कुखुराका भाले जुधाउने गरिन्छ भने बल्गेरियामा सर्प र न्याउरी मुसाको युद्ध गराइन्छ ।

देश विदेशमा वर्षा गराउनका लागि जेजस्तै उपाय, प्रथा अपनाएपनि आधुनिक विज्ञान प्रविधिको शिखरमा पुगेपनि प्रकृतिको नियमलाई भने आजसम्म परिवर्तन गर्न सकेको छैनन् । पानी पर्ने सङ्केतहरू प्रकृतिद्वारा, पशुपंक्षीद्वारा र तिथि नक्षत्रद्वारा सङ्केतहरू दिने गरिन्छ जुन कुरा हामी आम मानिसहरूले थाहा पाउन सकिंदैन र चासो राखिदैन पनि, यसबारेमा केही जानकारी लिनु फाइदाजनक नै होला ।

प्रकृतिबाट वर्षा गर्ने सङ्केत

सूर्योदयको बेला अत्यधिक चहकिला चहकको महसूस भई जमीनबाट वाष्प समान धूँवा उडेको देखियो भने शीघ्र नै पानी पर्नेछ । कुनै ताल, नदी आदिमा इन्द्रेणी देखिए पनि पानी पर्छ । यस्तै सूर्यमा घेरो देखिए पानी पर्छ । घेरो कम देखिएमा २४ घण्टामा र घेरो फराकिलो देखिएमा ७२ घण्टामा पानी पर्छ । साथै घरिघरि पूर्वतिर बिजुली चम्किए वर्षाको सूचना हो ।

पशुपंक्षीबाट वर्षा गर्ने सङ्केत

कमिलाहरू छिटो छिटो रूख चढ्न थालेमा अर्थात् आफ्नो अण्डालिई बथान हिँडेमा पानी पर्ने संकेत हो । राति जुनकिरी अग्ला अग्ला रूखमाथि उडेर चम्किएमा पानी पर्ने निश्चित सङ्केत मानिन्छ । यस्तै घरि घरि भ्यागुतो उच्चस्वरले कराएमा र पशुले खासगरी गाईले ठाडा ठाडा कान पारेर आकाशतर्फ हेरेमा वर्षा हुने सङ्केत बुझ्नु पर्दछ ।

तिथी, नक्षत्रबाट वर्षा गर्ने सङ्केत

चैत्र द्वितीयाका दिन आकाशमा बाक्लो बादल लागे श्रावणमा प्रशस्त पानी पर्छ । चैत्र शुक्ल चतुर्थीका दिन दक्षिणवायु चल्यो भने तथा बादल उत्तरपूर्वतिर जाँदैछ भने असोजमा केही पानी पर्छ । यस्तै वैशाख संक्रान्तिमा पानी पर्‍यो भने जेठमा पानी पर्छ र साउनमा सुख्खा हुन्छ । जेठमा पानी परेन भने साउन र भदौमा खुब पानी पर्छ । र असार शुक्ल षष्ठीमा दक्षिण वायु बहृयो भने तिहारमा पानी पर्छ । साथै असार शुक्ल द्वितीयादेखि षष्ठीसम्म पानी परिरहृयो भने त्यो वर्ष अतिवृष्टि हुन्छ । तृतीयाको दिन पश्चिम वायु चले भदौमा वर्षा कम हुन्छ ।

तर आजको विश्व मौसममा आएको परिवर्तित उतार चढाव (ग्लोबल वार्मिङ्ग) ले गर्दा यी प्रथा र भनाई के कति मिल्न सक्छ त्यो आफ्नो ठाउँमा छ नै तर पनि तिथी, नक्षत्र र पशुपंक्षी र प्रकृतिबाट हुने लक्षणलाई सतप्रतिशत विश्वास गर्न नसकेपनि केही प्रतिशत मिल्छ भन्ने कुरा सहि छ वा छैन यसबारेमा तपाईंले पनि अनुभव गर्नुभएकै होला ।

स्रोतः हाम्रो समाज एक अध्ययन, नेपालका जनजाति, देश विदेशको अनोखी प्रथाएँ, अन्य पत्रपत्रिकाहरू

शनिबार गोरखापत्र
२०६७ श्रावण १

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “पानी परेन भने अपनाउने अनौठो प्रथाहरू”

  1. मझेरीलाई धन्यवाद ।
    मझेरीलाई धन्यवाद । गोरखापत्रमा प्रकाशित मेरो लेखलाई आफ्नो मझेरीमा पुन: प्रकाशित गरिदिनु भएकोमा आभारी छु । तपाईको मझेरीलाई मेरो साइटमा लिंक गरिदिने छु ।
    http://www.tcspublication.webs.com
    http://www.tcspenpal.webs.com

  2. मझेरीलाई धन्यवाद ।
    मझेरीलाई धन्यवाद । गोरखापत्रमा प्रकाशित मेरो लेखलाई आफ्नो मझेरीमा पुन: प्रकाशित गरिदिनु भएकोमा आभारी छु । तपाईको मझेरीलाई मेरो साइटमा लिंक गरिदिने छु ।
    http://www.tcspublication.webs.com
    http://www.tcspenpal.webs.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *