छोराको तेह्र दिने काजकिरिया हिजो मात्र सकियो । घरमा आउने-जाने मानिसको हूल अब रहेन, बिहान एकछिन तेह्र दिनभरि भएको खर्चको हिसाब-किताब सम्झाउन छिमेकी नरेशमान आएको थियो । ऊ पनि गएपछि बूढा दिनभरि आफ्नो कोठाबाट बाहिरै निस्केनन् । साह्रै खुम्चेजस्तो, हातखुट्टै कक्रिएजस्तो भएपछि बेलुकीपख भने उनी एक्लै टहल्न भनेर बाहिर निस्के ।

तर उनलाई कहीँ कतै जान मन लागेन- एक्लै कहाँ जानु र ? सूर्य पश्चिमी क्षितिजमा अस्ताइसकेको देखेर उनको मुटु ढुकढुक भयो । एउटा अत्यासलाग्दो लामो मुख ‘आँ’ गर्दै सारा चराचरलाई निल्न उद्यत् भएर दौडँदै आफैँतिर आइरहेझैँ लाग्यो । रातसँग कृष्णध्वजलाई त्यसैत्यसै डर लाग्छ- उनको आफ्नो मनको निस्पट्टता, निशब्दता, निरवता र निस्सारता रातको अनन्त फैलावटसँग जब एकाकार हुन्छ, उनलाई ऐँठन भएजस्तै हुन्छ, उकुसमुकुस र ऐँ ऐँ हुन्छ- होसहवास गुम भएर उनी विक्षिप्तजस्तै बन्छन् । आउँदै गरेको यो भयङ्कर रात सम्झेर उनको शरीरमा काँढा उम्रन्छन् र आत्तिएझैँ उनी घरतिर लम्कन्छन् मानौँ उनी रातसँग भाग्न खोज्दैछन् तर पाइला त्यति छिटो चालिँदैनन् र विस्तारै हिँड्छन् एउटा एमानको तौल खुट्टामा बाँधिएझैँ गरेर । कति फूर्तिला थिए उनी, छरछिमेकीहरू भन्थे ‘छोरोभन्दा बाउ तन्नेरी र जोसिला छन्’ तर कसले, कहिले र किन हर्‍यो उनको त्यो जोस र फूर्ति ?

उनी लर्खराउँंदै घरभित्र पसे । छेउको कोठाको ढोका अलिकति खुल्लै थियो, विनाउद्देश्य उनले ढोका अलिकति अरू खोले र भित्र हेरे – भित्रबाट उनकी श्रीमती र विधवा बुहारीले उनलाई टुलुटुलु हेरे । दुखियाको दुःख दुखियाले बुझ्छ – कसैले केही बोलेनन् तर सबैले, सबैको कुरा बुझे । कृष्णध्वजले बुहारीको दुर्दशायुक्त स्वरूपलाई केहीबेर आँखा टिकाएर हेरे … त्यति चञ्चल, सुन्दर र हँसिली उनकी बुहारी कति बिघ्न दुब्लाइसकिछ, कति पहेँलो, कान्तिहीन र शुष्क भएको उसको अनुहार, सफेद वस्त्रमा बेरिएको उसको शरीरमाथि जिङ्रिङ्ग जगटा फिँजिएको कति नसुहाउँदो लागेको । उनले बुहारीलाई धेरैबेर त्यसरी हेरिरहन सकेनन् र केही चल्मलाउँदै आँखा कोठा वरिपरि घुमाए । “बुहारी त्यो आसन यता ओछ्याइदेऊ” अत्यन्त झिनो स्वरमा उनकी श्रीमतीले बुहारीसँग बोलिन् । कृष्णध्वजले आफ्नी श्रीमतीतर्फ हेरे- सजीवताको नाममा केही पनि नभए जस्ती र सारा जिन्दगीको रसिलोपन सुकेर खोष्टिएकीजस्तो देखिने उनकी श्रीमती उनका लागि बस्ने आसनको प्रबन्ध गर्दै थिइन् । बुहारीमा कुनै उत्साह, फूर्तिलोपन वा ससुरालाई देख्नेबित्तिकै उनले अपनाउने गरेको सतर्कता वा अदवको कुनै अंश छैन, ओठ वा अनुहारमा कुनै …भावभङ्गीमा छैन- मानाँै उनी जिन्दगीसँग थाकिसकेकी छन्, पाकिसकेकी छन् । बसीबसी थकित र यन्त्रवत् चालले उनले अलि परको पराले आसन अलि पर सारिन् र चुपचाप स्थिर भइन् । कृष्णध्वजले के गर्ने कसो गर्ने केही मेसो पाएनन् र एकछिन ढोकामै अन्य मनस्क भावले उभिइरहे । श्रीमतीले ‘बस्न खोजेको होइन ?’ भन्ने आसयको दृष्टिले लोग्नेलाई हेरिन् र अन्योलमै कृष्णध्वज त्यस आसनमा बसे ।

तर खै के बोल्नु ? अरू केही कुरा गरौँ भने यस्तो गम्भीर र डम्म पीडा भरिएको वातावरणमा असङ्गत लाग्छ, फेरि त्यस्तो अरू नै केही कुरा उनको दिमागमा तयार पनि कहाँ छ र ? छोराकै कुरा गरौँ भने पनि कुन चाहिँ प्रसङ्ग कसरी निकाल्नु ? तीनै जना बसेर रुन थाल्नु कि, छोराको कुनै रमाइलो प्रसङ्ग निकालेर खुसी हुन बल गर्नु ? कृष्णध्वज झन् अन्योलमा परे । एउटा बडो असहज मौनता छायो कोठामा । उनलाई के गरौँ र कसो गरौँ जस्तो असुविधा भयो र उनी जुरुक्कै उठे । फेरि पनि कसैले केही बोलेन बरु दुवैका आँखाले प्रश्नवाचक आसयले बूढालाई पछ्याए । बूढाको होस सुद्धि केही भएन र ढोका खोलेर फुत्त बाहिर निस्के ।

बूढा भित्र किन आएका हुन्, किन केही बोलेनन् र किन तुरुन्तै बाहिर निस्के भन्ने कुरा सासू बुहारी दुवैले बुझे । बूढाले भोग्दै गरेको असहृय दर्द उनीहरूले पनि महसुस गरे तर उनीहरू एकअर्कालाई हेर्ने साहस गरेनन् र त्यसै शिर निहुराएर सुख्खा भइसकेका आँखाबाट पुनः बररर आँसु खसाले ।

कृष्णध्वज भने माथिल्लो तलामा चढे फेरि पनि विनाउद्देश्य । माथ्लो तलाको पहिलो कोठाको ढोका अगाडि टक्क अडे उनी । उनलाई ढोका खोलेर भित्र पस्ने आँट तुरुन्तै आएन । यो उनको स्वर्गीय छोराको कोठा थियो तर उनले आफैँलाई रोक्न पनि सकेनन् र विस्तारै ढोका खोले । उनको शरीर सिरिङ्ग भयो एकपटक जब उनको छोराको ठूलो तस्बिरले अगाडि टेबलबाट एकटकसँग उनैलाई हेरिरहेको पाए । कति उज्यालो, हँसिलो र बोलिहालौँला जस्तो तस्बिर । केश छोटो गरी काटेको, ठूलो निधार, तेजयुक्त मुखाकृति र चम्किला आँखा, शारीरिक व्यायामले सुगठित बनेको शरीरमा चटक्क मिलेको सैनिक पोसाक लगाएको उनको आफ्नै छोराको तस्बिर !तर कठै, यति दुरुस्त र लायकको देखिने छोरो अब उनीसँग छैन, यो दुनियाँमै छैन । एकटकले तस्बिर हेर्दाहेर्दै बूढाले झण्डै आफ्नो सन्तुलन गुमाए र लड्न खोजे । उनले आफैँलाई सम्हाले र लड्नबाट त बचे तर उनको सारा शरीर लुलो र गिलो भएझैँ लाग्यो उनलाई र थचक्क छोराकै पलङमा बस्न पुगे ।

कोठामा हल्का अँध्यारो प्रवेश गर्न खोजिरहेको थियो, अलिकति खुलेको झ्यालबाट हावा छिरेर पर्दा हल्लिरहेकोले निस्किएको एउटा अरू चिकर फटफट आवाजबाहेक कोठामा नमिठो शान्ति छाएको थियो । बूढाले सर्सर्ती कोठा हेरे – हृयाङ्गरमा झुण्ड्याइएका छोराका लुगाहरू, छोरोले सुन्ने गरेको क्यासेट प्लेयर, छोरोले पढ्ने गरेका टेबलका केही किताबहरू, उसले बोक्ने गरेको झोला, उसका दुई जोर जुत्ताहरू … । बूढाले हेर्न नसकेर आँखा चिम्म गरे र धेरैबेर गरिरहे ।

तीन वर्ष अगाडि एकदिन अचानक क्याम्पसबाट फर्किएर छोरोले उनलाई भनेको थियो “बुबा, सैनिक अधिकृतमा भर्ना खुलेछ, मैले त र्फम भरेर आएँ ।” आफ्नो छोरो सैनिक अधिकृत हुने लायकको भइसकेछ, उनले त यादै नगरेका । कृष्णध्वज खुसी भएका थिए तर त्यसदिन बेलुका खाना खाने बेलामा उनकी श्रीमतीले यो कुराको ठाडै विरोध गरिन्, “कहाँ हुन्छ, देश दुनियाँमा आगो सल्किरा’छ, गोला बारुद चलेर मान्छे नमरेको दिन छैन, आफ्नो एउटा भाको छोरो, म त कुनै हालतमा जान दिँदै दिन्न ।” उनको यो डर अनावश्यक ठानेर दुवै बाबुछोरा एकपटक हाँसेका थिए र बाबु छोरा भएर धेरै बेर उनलाई सम्झाएका थिए । बूढीले सम्झिरहेकी थिइनन् र कुनै हालतमा मानिरहेकी थिइनन् तर छोराको जिद्दी र बाबुको स्वीकृतिका अगाडि उनले केही गर्न सकिनन् र हार खाएर छोडिदिइन् । उफ, कति जाति हुन्थ्यो उनको कुरा बाबुछोराले मानिदिएको भए !

नभन्दै ऊ सैनिक अधिकृत भयो, तालिम सक्यो र काठमाडौँ बाहिर खटेर गयो । यद्यपि कतिखेर के होला भन्ने डर मनमा रहिरहन्थ्यो बाबुआमाको तर छोरोेले “यत्रो लाखौँको फौजमा तपाइँहरूकै छोरोलाई चैँ कसले ताकीताकी गोली हान्छ र ?” भनेझैँ आखिर केही पनि भएन छोरोलाई । बरु बाबुआमालाई बडो गर्व लाग्दै गयो आफ्नो छोरो बेलैमा इलममा लाग्यो, त्यही पनि सरकारी अफिसर भएर भन्ने सम्झेर । अझ सात महिनाअघि ऊ बिदामा आउँदा जब उनीहरूले छोरोको विवाह पनि धूमधामसँग गरे र एउटी सुन्दर र सुशील बुहारी घर भित्र्याए – उनीहरूलाई लाग्यो उनीहरूको परिवारलाई भगवान्ले सबै कुरा पूरा गरिदिए ।

अनि आयो त्यो कालो रात जब कालिकोटको पिलीमा रहेको सैनिक बेशमा लडाकुहरूले आक्रमण गरे र धेरैको साथमा उनीहरूको छोरोलाई पनि गोली लाग्यो । आखिर लाखौँको फौजमा पनि उनीहरूको छोरोलाई गोली लाग्यो र वीरगति प्राप्त गर्‍यो ।

कृष्णध्वजले आँखा चिम्लिरहेकै थिए एक्लै छोरोको कोठामा बसेर ।

“बुबा, सुतिसक्नु भएको ?” छोराको स्पष्ट आवाज अचानक उनको कानमा परेझैँ लाग्यो र झसङ्ग भएर आँखा खोल्दै यताउति हेरे उनले तर उही उजाडउजाड कोठा, उही पर्दाको झर्कोलाग्दो फट्फट् आवाज, उही गुम्म पीडा भरिएको परिवेश । बूढाको आँखा फेरि छोरोको फोटोमा परे- उनले हेरिरहन सकेनन्, आँखा धमिला भए, प्लावित भए र लगातार बग्न थाले । एकछिनसम्म त चुपचाप आँसु खसाए तर त्यतिले पुगेन उनलाई र तकियामा घोप्टो परेर क्वाँक्वाँ रोए ।

बुहारी माइत गएको दुई महिनाभन्दा बढी भयो । तेह्र दिनको काम सकेको भोलिपल्टै उनको दाइ लिन आएका थिए । जब बुहारीले, “दाइ लिन आउनु भएछ, म के गरौँ ?” भनेर सोधेकी थिइन्, बूढाबूढी एकपटक झस्केका थिए, आफ्नो अगाडिको अजङ्गको एक्लो र सुनसान भविष्यको कल्पना गरेर हतास भएका थिए तर बुहारीलाई कसरी रोक्न सक्थे र उनीहरू ? बिदा गरेर पठाए । त्यति कलिलो उमेरकी बुहारी सेतो वस्त्रमा बेरिएर लुखुरलुखुर दाइको पछि लागेर हिँडेकी बूढाबूढीले हेरिरहे- यस्तो लाग्यो उनीहरूको आफ्नै छोरो उनीहरूबाट टाढाटाढा गइरहेछ- त्यतिखेर बूढाबूढी पिँढीमा टक्र्‍याकटुक्रुक बसेर फेरि रोएका थिए ।

दुई जना बूढाबूढी मात्र भएको त्यति ठूलो घर र त्यो घनघोर एकान्त अनि जतिखेर पनि रोइरहन पुग्ने छोराका सम्झनाहरू । समयको गति तर जे भए पनि रोकिएन । दिन बित्दै गए, बूढाबूढी पनि विस्तारै तङ्गि्रएर दुनियाँदारीमा संलग्न हुँदै गए । बूढा खानेपानी संस्थानका सुब्बा- दिउँसो अफिस जान थाले । बूढी घरमै धानधान धुनधुन गर्थिन् । जब अफिस छुट्टी हुन्थ्यो, बूढा हतारहतार घर पुग्थे बूढीलाई अत्यास लाग्यो होला भन्ने सम्झेर । त्यसो त बूढीको छेउमा नपुगुञ्जेल उनी आफैँलाई अत्यास लाग्थ्यो । डुब्न लागेको मानिसले परालको त्यान्द्रो भेटे पनि जोडले समातेभैं”m यो संसारमा एक्लो भएका बूढाबूढीले एक आपसलाई बलियो गरी समातेका थिए ।

एक दिन अचानक सैनिक मुख्यालयबाट फोन आयो । कृष्णध्वजलाई भोलिपल्ट दस बजे त्यहाँ आउन भनियो । किन हो, कसो हो, केही नबुझेकोले छिमेकी नरेशमानसमेतलाई साथ लगाएर भोलिपल्ट उनी समयमै बोलाइएको ठाउँमा पुगे ।

तर उनले देखे उनीभन्दा पहिल्यै उनकी बुहारी र बुहारीको दाइ त्यहाँ पुगिसकेका रहेछन् । धेरैपछि बुहारीलाई देख्दा कताकता एउटा झिनो सुखको महसुस भयो उनलाई ।

त्यहाँका सैनिक अधिकारीले भनेपछि पो थाहा भयो बोलाइनुको कारण । छोरोले शहादत प्राप्त गरेकोमा राज्यका तर्फबाट दिइने क्षतिपूर्तिको रकमका लागि बुहारीको तर्फबाट आवेदन परेकोले उनलाई पनि सोको जानकारी दिन वा यसबारेमा उनको के राय छ ? बुझ्नलाई बोलाइएको रहेछ । उनले त यस बारेमा सोचेकै रहेनछन्- उनी छक्क परे तर बुहारीले आफूलाई एकपटक पनि नसोधी यति हतार गरेर किन त्यो रकम झिक्न खोजेकी होलिन् ? बुहारीप्रतिको कृष्णध्वजको दृष्टिकोण हलुका धमिलो भयो अहिले ।

कृष्णध्वज वास्तवमा अलमल्ल परे । उनीसँग प्रस्तुत गर्नलाई तयारी राय नै भएन । के भन्नु ? त्यहाँका सैनिक अधिकारीलाई बुहारीलाई त्यो पैसा नदेऊ भन्नु कि, त्यो मैले मात्र पाउनुपर्छ भन्नु कि- नियममा कस्तो छ- अरूले कसो गर्छन्- उनले आफ्नो तर्क निर्माण गर्नै सकेनन् तर बूढा चुपचाप लागेको देखेर बरु नरेशमानले विरोध जनायो ।

“हैन मेजरसाब, बुहारीको तर्फबाट त्यो रकमका लागि आवेदन पर्दैमा उनैलाई दिने निर्णय भयो भने त बाबुआमाप्रति पूरापूर अन्याय भइहाल्यो नि । मलाई थाहा भएसम्म बुहारीले सासूससुरासँग यसबारेमा कुरा पनि गरेकी छैनन्- यस्तो कसरी हुनसक्छ ? यत्रो वर्ष जम्माएर, हुर्काएर, पढाएर, बढाएर जागिर खान योग्य बनाउने बाबुआमा, अनि अहिले राज्यले क्षतिपूर्तिचैँ छ/सात महिना अगाडि सम्बन्ध जोडिएकी बुहारीलाई दिने – कस्तो नियम हो यो ?”

तर नरेशमानले बोलिसक्न भ्याएको पनि थिएन, बुहारीको दाइले कडा प्रतिक्रिया दिइहाले, “ए त्यसो भए मेरी बहिनी छ/सात महिनाअघि मात्र त्यो घरसँग सम्बन्धित भइन् भन्दैमा उनी स्वर्गीय रणध्वज खत्रीकी पत्नी नै होइनन् भन्न खोजेको ? पतिको सबैभन्दा नजिकको हकदार भनेकै पत्नी हो, उसले नपाएर कसले पाउने त क्षतिपूर्ति ? एउटी विधवालाई आफ्नो खाइजीविकाको लागि सरकारले दिएको क्षतिपूर्ति हो यो, कसैले लोभी नजर नडुलाए हुन्छ ।”

कृष्णध्वजलाई बुहारीका दाइका शब्दहरूले तीक्ष्ण तवरले घोचेजस्तो भयो- उनको अनुहार अचानक उत्तेजनाको प्रवाहले रातो भयो र उनले तीखा आँखाले बुहारीका दाइलाई हेरे- तैपनि केही बोल्न सकेनन् वा बोलिहालेनन् ।

नरेशमानले नै जवाफ फर्कायो, “त्यसरी जथाभावी नबोल्नुस् दाइ लोभी नजर डुलाएको भनेर । तपाइँकी बहिनी रणध्वजकी पत्नी थिइनन् भनेर कसैले भनेको छैन ।” उसले फेरि मेजरतर्फ फर्किएर भन्यो, “यो तर्कातर्की गर्ने कुरा हैन मेजरसाब, थपक्क त्यो रकम मृतकका बाबुआमालाई दिनुपर्छ, बुहारी सासूससुरासँग बस्छिन् भने उनले पनि त्यसको भोग गर्छिन्- होइन भने त्यसमा बाबुआमाको बाहेक कसैको अधिकार हुन सक्दैन ।”

बुहारीका दाइ फेरि पड्किए, “मेरी बहिनी कहाँ र कोसँग बस्छिन् भन्ने कुराले यो रकम उनले पाउने वा नपाउने कुरासँग केही सम्बन्ध राख्दैन- उनी मसँगै बस्छिन् र क्षतिपूर्तिको रकम पनि उनैले पाउँछिन्, हेरौँ कसले के गर्न सक्दोरहेछ … ।”

नरेशमानलाई पनि बुहारीका दाइका तीखा, चुनौती दिनेखालका र रिस उठ्दा कुरा सुनेर झोँक चल्दै गयो र उसले पनि कडा प्रतिवाद गर्दै गयो । दुवैबीच घमासान चर्काचर्की र वाक्युद्ध चल्न थाल्यो तर क्षतिपूर्तिको रकमका मुख्य हकदारहरू ससुरा र बुहारी दुवै चुपचाप रहे । बुहारी त घोसेमुन्टो लाएर बसिरहिन् तर ससुरा भने रिस, ग्लानिबोध, अपमानबोध, आफ्नो तार्किक असक्षमताबोध र यो हठात परिस्थितिको सामना आदिको कारण अज्ञात उत्तेजनाभावले रातो भएको अनुहार लिएर किंकर्तव्यविमूखरूपमा प्रस्तोताहरूको तर्क सुन्दै र त्यसको प्रतिक्रिया मेजरमा हेर्दै गरिरहेका थिए ।

साँच्चै यो पूरै वादविवादको अवधिभर कृष्णध्वजले केही बोल्न सकेनन् । उनलाई आफ्नो छोराको मृत्युसँग सम्बन्धित यति गहन र संवेदनशील विषयलाई तुच्छ पैसासँग सम्बन्धित बनाएर अत्यन्त निम्नकोटिको किचलो र झगडा भइरहेको अनुभव भइरहेको थियो ।

उनलाई बुहारीका दाइका शब्दहरूले क्षुब्ध र मर्माहत त बनायो नै तर त्योभन्दा बढी यो सारा वादविवाद नै उनलाई अत्यन्त घीनलाग्दो लाग्यो । छोरो मरेको छ आफ्नो, आफ्नो मृत छोराको मूल्य तोक्छ अर्कै कोही र त्यो मूल्य मेरो हो भनेर दावी गरिरहेछ अर्कै कोही । आफ्नो छोरोको मृत्यु वा शहादतको यो हदसम्मको निकृष्ट अवमूल्यन भएको बोध भएर उनलाई खपिनसक्नु पीडाको अनुभूति भयो ।

अबचाहिँ अति नै भयो । उनलाई एकैछिन त्यहाँ बसिरहन मन लागेन । उनलाई त्यो क्षतिपूर्तिको रकमप्रति पहिलेदेखि नै कुनै आशक्ति वा लगाव पनि थिएन र त्यसका लागि अहिले यहाँ कुनै दावी प्रस्तुत गर्न पनि मन लागेन । यहाँ अरूकै स्तरमा गिरेर यो किचलोमा सम्मिलित हुनु भनेको उनलाई छोराको लाश काटेर भाग लगाउँदै बेचेको जस्तो र आफू पनि त्यसैमध्येको एउटा भाग लिन खोसाखोस गरिरहेकोझैँ हुन्छ होलाजस्तो लाग्यो र उनी आफ्नो सिटबाट अचानक जुरुक्क उठे । उपस्थित सबैले प्रश्नवाचक दृष्टिले बूढालाई हेरे, बूढाले काँपेको स्वरमा बलैले केही शब्दहरू निकालेर अडी अडिकन भने, “मेरो अमूल्य छोरो मरेर गयो, … यो जावो रकमले कुनै अंश पनि उसको क्षतिपूर्ति गर्दैन मेरो लागि, मलाई चाहिँदैन यो, जसलाई दिनु पर्ने हो दिए हुन्छ तर बिन्ती मेरो छोरोको बलिदानलाई बगरेको मासुजस्तो सस्तो नबनाइदिनुस्, मलाई असहृय हुन्छ … ।” यति भनिसक्न बूढालाई हम्मेहम्मे पर्‍यो उनका आँखाबाट आँसुका थोपा खसे र आँसु पुछ्दै कसैको प्रतिक्रिया नपर्खी सरासर ढोकाबाट बाहिर निस्किए ।

साँझपख हैरान भएर कृष्णध्वज घर पुगे । शोकबाट बल्लबल्ल तङ्गि्रएका उनलाई यस घटनाले पुनः तीव्र शोकमा डुबायो । बूढाले सबै कुरा श्रीमतीलाई सुनाए । उनीहरू दुवैको खाटा बस्दै गएको घाउ कसैले निर्दयतापूर्वक गिजोले जत्तिकै भयो । बूढाबूढीहरू आज पनि धेरैबेर रोए ।

राति बूढालाई पटक्कै निद्रा लागेन । उनलाई कताकता आफूले गल्ती गरेजस्तो लाग्यो त्यो रकमका लागि आफूले दाबी नगरेकोमा । उनलाई लाग्यो त्यो रकम उनको छोराको मृत्युको क्षतिपूर्ति नभएर छोराको सम्झनास्वरूप प्राप्त हुने छोराको नामको अन्तिम चिनो थियो, त्यस रकमको हरेक आनाआना, सुकीसुकीमा छोराको आत्मा समाहित थियो, छोराले देशको लागि गरेको बलिदानको लागि राज्यका तर्फबाट दिइएको सम्मान थियो त्यो … । उनलाई धेरै छटपटी भयो व्यर्थै भावावेशमा आएर त्यो रकम लिन वा त्यसका लागि मागदावी गर्न अस्वीकार गरेकोमा । उनले कोल्टे फेर्दै पूरै रात सुस्केरामा बिताए ।

त्यो राशिलाई कुनै काममा लगाएर, त्यसैको अभिवृद्धिका लागि आफ्नो बाँकी जिन्दगी बिताउन पाएको भए आफू बाँचिरहनुको अलिकति सार्थकता पनि हुन्थ्यो र आफ्नो छोरो पनि सधैँसधैँ आफैँसँग भए जस्तो हुन्थ्यो तर उनले ठूलो गल्ती गरे । अब त त्यो रकम बुहारीको हातमा परिसक्यो होला, बुहारीले गुटुमुटु पारेर लगिसकी होली …। ठूलो पश्चातापबोधले बूढालाई कर्‍याप्पै समात्यो, यस्तो लाग्यो उनलाई कि छोरालाई जवर्जस्ती एउटा हातमा तानेर बुहारी र उसको दाइ अनन्त अन्धकारतर्फ घिसारिरहेछन्, छोरोले आफूलाई बचाउन याचना गर्दै बाबु भएतर्फ अर्को हात फैलाइरहेछ तर उनी छोरालाई बचाउने कुनै प्रयास नगरी चुपचाप हात बाँधेर यो दृश्य हेरिरहेछन् । एउटा भयानक अपराध बोधले बूढालाई रातैभरि आगोको भुङ्ग्रोमा तड्पिएजत्तिकै भयो ।

बिहानीपख एकछिन आँखा लागेको थियो, उठ्ने बेला भइहालेछ । बूढा उठेर बाहिर बरण्डामा आए र त्यहीँ बसे । बूढीले चिया लिएर आइन्, दुवै जना बसेर चिया पिउँदै चुपचाप बसिरहे ।

पूर्वी क्षितिजबाट रातो सूर्यको किरणहरूले सारा जगत्लाई अभिषेक गरिरहेझै लागिरहेको थियो । बिहानीपखको चीसो हावा सरसर बगिरहेको थियो र त्यस हावामा नयाँ ताजगी र फूर्तिका साथ वरपरका रूख बिरुवाहरू हल्लिरहेका थिए । बूढाबूढीको चकमन्न संसारमा पनि कताकता प्रकृतिको यो विशेष छटा र विलासपूर्ण रवैया धक मानीमानी भए पनि उनीहरूतर्फ लम्किरहेझैँ लागिरहेको थियो ।

अचानक घरको छेउको बाटोमा उनीहरूले देखेकी उनीहरूकी बुहारी आइरहेकी छिन् । बूढाबूढीले छक्क परेर एकअर्कालाई हेरे- उनीहरूमा अनायास एउटा सुखको सञ्चार भयो ।

उनीहरूकी बुहारी साँच्चै घरमा आइन्, दुवैलाई ढोग गरिन् र उनीहरूसँगै बसिन् । तिर्खाले आकुल भएर मरुभूमिमा भांैँतारिरहेको बटुवाले पानीको मुहान भेटेझैँ बुहारीको उपस्थिति र सामीप्यले उनीहरूलाई हुनसम्मको सन्तुष्टि र सुख प्राप्त भएझै भयो । बुहारीले सबै कुरा बताइन् ।

उनका दाइ एकदम जँड्याहा रहेछन्, घरमा सबैका लागि समस्या बनेका । सरकारले क्षतिपूर्तिबापत बहिनीलाई रकम दिन्छ भन्ने कताकताबाट थाहा पाएर त्यही रकम हत्याउन बहिनीलाई लिएर गएका रहेछन् उनले । रकम आज मात्र दिने भनेको रहेछ तर दाइको चाला ठीक नदेखेर उनी बिहानै यता आएकी रहिछन्, यहीँबाट त्यता जाने र त्यो रकम यतै ल्याउने भनेर ।

बूढाले अनन्त राहतको अनुभव गरे । छातीमा थिचिरहेको एमानको ढुङ्गा अचानक आफैँ पल्टिएर गएझैं भयो उनलाई ।

बुहारीले गम्भीर भएर विस्तारै भनिन्, “हजुरहरूको छोरा छैनन्, मेरो बुबा आमा छैनन्- म हजुरहरूकै छोरी भएर बस्छु ।” उनका आँखाबाट आँसुका थोपाहरू खसे, बूढाबूढीको त मानौँ सम्पूर्ण अस्तित्व नै पग्लियो, कोसी-गण्डकीझैँ बगिदिए उनीहरू । बुहारीले फेरि भनिन् “हजुरहरूको नातिलाई म हजुरहरूबाट छुट्याएर राख्न पनि कसरी सक्छु र ?”

“हँ !” बूढाबूढीलाई त मानौँ बिजुलीको झट्का लाग्यो, उनीहरू जुरुक्कै उठे । हठात् आइलागेको अपरम्पार खुसीको थामी नसक्नु बोझले लगभग असन्तुलित भए र भावावेशमा बुहारीलाई च्याप्पै समातेर अँगालो हाले ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “अँध्यारो/उज्यालो”

  1. ek damai raamro katha laagyo
    ek damai raamro katha laagyo malai .jati katha ko agadddi badhadai gaye uti aakha rasaayera aaauna thaalyo katha ko ending sukhanta hunchha ki dukhaanta bhnne dodhar ko bich maa man rumalidai agaadi badhdai gaye ra katha ko ending pani sochdai nasocheko sukhanta rupmaa ending bhayo thanks a lot yeti raamro katha lai lekhi dinu bhayeko maa pheri pani yestai katha ko pratichhyaama rahanechhu
    prajwol
    [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *