यस वर्ष नेपाली साहित्यको आख्यान विधामा आन्विका गिरी, किरण रिमाल र अमर न्यौपानेजस्ता आसलाग्दा नामले प्रवेश गरेका छन् । यी नवोदित प्रतिभाहरूको लेखनीमा आत्मविश्वास, भाषालाई खेलाउन जान्ने सीप र जीवन र जगत्लाई हेर्ने-बुझ्ने सूक्ष्म अन्तदृष्टि प्रचुर मात्रामा देखिएको छ, जसको प्रशंसा हुनुपर्दछ । यिनका कृतिहरूले यिनको उज्ज्वल भविष्यको सङ्केत गर्दछन् । यिनीहरूमध्ये पनि अमर न्यौपाने सबैभन्दा प्रखर छन् । न्यौपानेको यहाँ समीक्षा गर्न लागिएको पुस्तक ‘पानीको घाम’ ले उनलाई यस वर्ष साहित्यको क्षेत्रमा पाइला टेकेका युवा सर्जकहरूको अग्रपङ्क्तिको अगुवाका रूपमा स्थापित गरेको छ ।

पानीको घामलाई लेखकले आख्यान मात्र भनेका छन् तर सरल भाषामा भन्नुपर्दा कथासङ्ग्रह नै हो । पुस्तकमा अलग-अलग कथा वस्तु, पात्र-पात्रा र जीवनका बेग्लाबेग्लै परिस्थितिहरूको कथा कहने १५ थान छोटा आख्यान छन् । यी १५ थान कथाहरूका अतिरिक्त पुस्तकमा चारवटा आलेखहरूका माध्यमबाट लेखकले समीक्ष्य कृतिको लेखन प्रक्रिया र त्यसको प्रक्रियाको उपसंहार पनि दिएका छन् । पुस्तक जीटीजेड नामक जर्मन अन्तर्राष्ट्रिय विकासे संस्थाद्वारा सञ्चालित सहरी आवासीय स्थलगत लेखन परियोजनाअन्तर्गत नेपालगञ्जमा बसेर तयार गरिएको हो ।

नेपालगञ्जमा बसेर तयार गरेको कृति भएकोले यी आख्यानहरूको सर्वव्यापक नायक त्यही अर्धआधुनिक सहर बनेको छ । लेखकले मध्यपश्चिम नेपालको त्यस सहरको पत्रपत्रमा रहेका मानिसहरू र तिनका आपसी सम्बन्धको गहिरो अध्ययन गरेका छन् । यसका साथै, ती मान्छे र त्यहाँको समाजको सम्बन्ध, त्यस समाजको संस्कार र संस्कृति, त्यहाँको अर्थराजनीति एवं धर्म र राजनीतिका जटिलसम्बन्धको अन्वेषण गर्ने र त्यही पृष्ठभूमिमा आख्यानको रचना गर्ने प्रयत्न गरेका छन् न्यौपानेले । यस दृष्टिले हेर्दा पानीको घामलाई पूर्णतः आञ्चलिक आख्यान भन्न सकिन्छ । मध्य-पश्चिम तराईको त्यस भू-भागको जनजीवनलाई आधार बनाएर आञ्चलिक महक भएका कथाहरू लेख्ने नन्दराम लम्साल, सनत रेग्मी, इन्द्रमणी मानव र नयनराज पाण्डेजस्ता पूर्ववर्ती लेखकहरूलेभन्दा पनि बढी गहनताका साथ नेपालगञ्जलाई उत्खनन गर्ने चेष्टा गरेका छन् अमर न्यौपानेले । भन्न सकिन्छ ‘पानीको घाम’ले नेपालगञ्जलाई विविध रूप र रङमा उद्घाटित गरेको छ र धेरै हदसम्म सफलताका साथ गरेको छ । कथाकारका रूपमा न्यौपानेको सफलता यिनले आफ्ना कथाका पात्रहरूलाई दिन सकेको विश्वसनीयतामा निहित रहेको देखिन्छ भने कमजोरी चाहिँ कतिपय कथावस्तुको विकासका क्रममा प्रदर्शन गरेको सस्तो भावुकता र रुमानी चित्रणा छन् । नेपालगञ्जको समाजको पिँधमा रहेका रिक्सावाला, मजदूर, भूमिहीन किसान, वेश्याहरू र अनेक रूप र भेषमा रहेको दरिद्रनारायणहरूको बाक्लै उपस्थिति छन् कथाहरूमा । यिनीहरूले समग्रमा नेपालगञ्जको सामाजिक जीवनको एउटा मट्मैलो मोजाइक बनाउँछन् र ती यथार्थपरक पनि लाग्दछन् तर, तिनीहरूका गतिविधि, सोच, चिन्ता र सरोकारहरूमा भने लेखक स्वयंको सोच बढी प्रभावी भएको छ, जसले कथाहरूलाई स्वाभाविक सरलताका साथ विकसित उत्कृष्ट कहानी बन्न दिएका छैनन् । अमरले आफ्ना कतिपय कथाहरूका माध्यमबाट स्त्री र पुरुषका बीचको यौनसम्बन्ध र तिनमा गाँसिएर आउने जटिलताको पनि चिरफार गर्ने जमर्को गरेका छन् । तीमध्ये कतिपय स्वाभाविक लाग्दछन् र कतिपय प्रभावहीन ।

पानीको घाम पढिसक्दा अमर न्यौपानेमा लेखकीय क्षमता सबलरूपमा रहेको देखिन्छ । आगे, आफूलाई आफैँले मूल्याङ्कन गर्दै जाने, परिमार्जनको कुनै पनि अवसर खेर जान नदिने र शाब्दिक अनुशासनप्रति जहिले पनि सजग रहने जिम्मा चाहिँ लेखकमै रहन्छ ।

कृतिः पानीको घाम (आख्यान)
लेखक ः अमर न्यौपाने
संस्करणः प्रथम, २०६६
प्रकाशक ः पैरवी बुक हाउस
पृष्ठ ः २०० ं
मूल्य ः १७०।-

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *