कविता जीवनकै सापेक्षतामा लेखिएको जीवनप्रतिकै दृष्टिकोण हो । जीवनका यिनै शाश्वत् पक्षहरूलाई अत्यन्त नजिकबाट नियालेकी छिन् कवि मिश्र वैजयन्तीले पाश्र्व आवाजमा । पाश्र्व आवाज उनको नवीनतम् कवितासङ्ग्रह हो । मोरङका समकालीन कविता (सहलेखन, २०६०) र समवेदनाका नागबेलिहरू (हाइकुसङ्ग्रह, २०६२) प्रकाशित गरेकी वैजयन्ती यो कविता सङ्ग्रहमार्फत सशक्त कविको रूपमा दरिन पुगेकी छिन् । त्यसो त पूर्वमा उनको साहित्यिक उपस्थिति सशक्त र उत्साहबर्द्धक छ । अब यो कृतिले उनलाई सिङ्गो काव्य फाँटमा अलग पहिचानका साथ उभ्याएको छ ।

४६ वटा कविता थुँगाबाट उनिएको यो काव्यमालामा । मानस जगत् र वाहृयजगत्का थुप्रै बिम्बहरूको प्रयोगले यस सङ्ग्रहका कविताहरू शक्तिशाली बनेका छन् । दास र देउताहरू, हेप्पी वर्थ डे, डेरा सरेको सूचना शीर्षकका कविताहरूमा व्यक्तिवादी चरम उन्माद्ले मानवता क्षयीकरण हुँदै गइरहेको वर्तमान अवस्थाको टड्कारो चित्रण छ । म वस्तु होइन, पोष्टर भएर सडक भित्तामा, विष्णुमाया अर्थात् विष्णुमायाहरू, तेस्रो प्राणी, पुतली कविताहरूमा पुरुषप्रधान समाजको प्रताडनाले थिल्थिलिएका कोमल नारी भावनाहरूको ध्वन्यात्मक अभिव्यक्ति पाइन्छ । यी मार्फत नारी स्वतन्त्रता र अस्तित्वको पक्षमा हुँकार छेडेकी छिन् वैजयन्तीले । यो सहर कसको ? कविताले सहरी आडम्बरप्रति कसिलो व्यङ्ग्य प्रहार गरेको छ भने तुलो र देश, पहाड र म, अर्काको घोडा, फूल कविता वैचारिक दृष्टिले निकै सवल छन् । साथै बिम्बहरूको सान्दर्भिक प्रयोगले यी कविता निकै गहन र ओजपूर्ण बनेका छन् । हाइकु र ताङ्काको मिश्रणले आफू हराएको एक साँझमा शैलीगत वैशिष्ट्य भेटिन्छ । बस्तै गर्नुस् म चाहिँ गएँ कवितामा भाव पक्ष निकै प्रवल र मार्मिक छ । यिनका अतिरिक्त युगका अँध्यारापनहरू, पीडा र सन्त्रासहरू अनि वर्तमान कुरूप राजनीतिका बेथितिले ग्रसित भावनाहरू यस सङ्ग्रहका कवितामा बग्रेल्ती पोखिएका छन् । आजको युगमा खण्डित भइरहेको मान्छे र उसले भोग्नुपरेको दुर्दशाहरू, तुहिँदै गएका सहिदका सपनाहरू, जीवनका अभाव र पश्चातापहरू पनि कविताका विषय बनेर उभिएका छन् ।

समग्रमा मानवता, शान्ति र सहिष्णुताको अनन्य कामना, परिवर्तनप्रतिको व्यग्र चाहना र प्रेमका मधुर अनुभूतिहरूको काव्यात्मक अभिव्यञ्जनाले यस सङ्ग्रहका निकैजसो कविताहरू सरस, सम्प्रेषणीय सुस्वाद्य र प्रभावकारी बनेका छन् । यति हुँदाहुँदै पनि उनका कतिपय कवितामा वर्णनात्मक छन् । अनावश्यक गन्थन र अभिधात्मक प्रस्तुतिले केही कविताहरू काव्यिक चेतका सन्निकट नभएजस्ता लाग्छन् । कविता सौन्दर्य हराए जस्तो लाग्छ । कविले अब लेखिने कविताहरूमा यी कमजोरीहरूलाई सुधार्नुपर्ने देखिन्छ ।

कृति ः पाश्र्व आवाज (कवितासङ्ग्रह)
कविः मिश्र वैजयन्ती
प्रकाशकः विवेक सिर्जनशील प्रकाशन प्रा.लि., अद्वैतमार्ग
प्रकाशनः २०६६, जेठ
पृष्ठः ११२
मूल्यः रु. १००।-

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *