Skip to content


विविध विधाका सशक्त साधक वासु शशी अहिले हामीसामु छैनन् तापनि उनीद्वारा रचित कविता, उपन्यास, अनुदित कृति र नाटक भने अमूल्य निधिका रूपमा रहेका छन् । उनको मृत्यु झण्डै दुई दशकपछि मात्र उनको सिनेनाटक ‘बुद्ध’ प्रकाशनमा आएको छ । यो यति चर्चित कृति अहिलेसम्म त्यसै रहनु दुःख लाग्दो कुरा हो । विश्वलाई नै एक ढिक्का बनाउनु दरो सन्देश प्रदान गर्ने महत्त्वपूर्ण कृति लामो अन्तरालमा हामीसामु आउनु गौरव ठान्नै पर्छ । विश्वका महामानव, एसियाका प्रकाश, सत्य र अहिंसाका पुजारी भगवान् बुद्ध हजारौँ वर्ष अगाडिदेखि आजसम्म उत्तिकै श्रद्धेय तथा पुजनीय छन् । युद्ध, धार्मिक सहिष्णुता र विविध किसिमका द्वन्द्वहरूका बीच समानता र शान्तिका अग्रदूत गौतम बुद्ध अझै उत्तिकै अमर छन् । यस्ता सार्वभौम, सर्वमान्य बुद्धको जीवनका सम्पूर्ण उठ्बसलाई सिनेनाटकको माध्यमबाट प्रचारप्रसार गर्ने उद्देश्यअनुरूप तयार गरिएको छ । नाटक नाटकीय मूल्य, मान्यता र सिद्धान्तअनुसार अति नै उत्तम मान्न सकिन्छ । यसका पात्रपात्रा, दृश्य, उपदृश्य, अन्तदृश्य र पूर्वदृश्यको संयोजनले कृति उत्कृष्ट छ ।

नाटककार वासु शशीले विश्वभरि फैलिएको बौद्ध धर्मका प्रबर्द्धक गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन् । उनका मूर्ति सम्पन्न विदेशीले महँगो मूल्यमा खरिद गरेर भए पनि आफ्नो कोठामा सजाउन चाहन्छन् । धेरै पैसा आर्जन गर्ने प्रलोभनमा केही विदेशी नेपाल पस्ने र पुराना बुद्ध मूर्तिहरू चोर्न उत्सुक हुन्छन् । यस किसिमका कार्यमा संलग्न व्यक्तिहरूले भगवान् गौतम बुद्धका शिक्षा ग्रहण गर्ने मौका पाएमा उनीहरू बौद्धधर्ममा नै समाहित हुन्छन् भन्ने कुरा देखाउन खोजेका छन् ।

कुख्यात अपराधीहरू मूर्ति चोर्न नेपाल आउने, ठूलो धनराशी खर्च गरी होटलमा बस्ने, बेलाबेलामा मखुण्डोद्वारा अनुहार परिवर्तन गर्ने र थरिथरिका नाममा पासपोर्ट लिनसमेत सामथ्र्यवान् गिरोहका एक सदस्य मेरिना पनि बुद्ध मूर्ति कति वर्ष पुरानो हो भन्ने कुरा पत्ता लगाउने क्रममा बौद्ध शिक्षा अध्ययनपश्चात् आफूले चोरी गरी लुकाइ राखेको बुद्धमूर्ति प्रतिष्ठापन गर्न पुग्दछिन् । उनी पछि गएर महानामजस्ता शालीन पात्रबाट प्रब्रिजित हुन्छिन् । चोरी जस्तो अपराधी कार्य गर्ने व्यक्तिलाई पनि यस धर्मले स्थान दिन सक्दछ भन्ने कुरा शशीले नाटकमा देखाउन खोजेका छन् ।

बुद्ध सिनेनाटक अत्यन्तै ज्ञानबर्द्धक, शिक्षाप्रद र जिज्ञासामूलक हुँदाहुँदै पनि नाटककार शशीले गौतम बुद्धजस्ता महामानवले दरबार छोड्ने समयमा मस्त निद्रामा सुतिरहेकी आफ्नी पत्नी यशोधरा र छोरा राहुलको टोलाएर अनुहार हेरिरहेको र भिक्षाटनपश्चात् ल्याएको खानेकुरा खान हिच्किचाएको जस्तो दृश्यले चाहिँ नाटकका पाठकलाई खल्लो अनुभूति हुनसक्छ । बुद्ध सिनेनाटक एक पटक सबैले पढ्नु आवश्यक छ । माया, मोह वा सम्पत्ति मोहको जालमा फसेर नारकीय जीवन बिताइरहेका व्यक्तिलाई बौद्ध धर्मसम्बन्धी अध्ययनबाट प्रभावित भई सत्कार्यको बाटो अवलम्बनद्वारा व्यवहारमा लागू गर्न ठूलो मद्दत पुग्दछ । विविध किसिमका पेसा अपनाएर बाँचिरहेका वा सङ्घर्ष गरिरहेका मानिसहरूका लागि मूलमन्त्र नै सावित हुन सक्दछ, ठोकुवासाथ भन्न सकिन्छ ।

कृति ः बुद्ध (सिनेनाटक)
नाटककार ः वासु शशी
प्रकाशक ः वासु शशी स्मृति परिषद्, काठमाडौँ
प्रकाशन ः २०६६
मूल्य ः रु. १००
पृष्ठ ः ९९ ं १०

Leave a Reply

Your email address will not be published. Required fields are marked *