मानिसले आफ्नो जीवनकालमा अनेक दुःखकष्ट भोगेको हुन्छ, हण्डर र काष्टिहरू काटेको हुन्छ, उकाली-ओरालीहरूमा यात्रा गरेको हुन्छ । समयको गतिशील प्रवाहसँगै निरन्तर बग्ने जीवनका भोगाइहरू एकनासका कसैका पनि हुँदैनन् । सुख र व्यस्ततामा दुःखले काटेका दिनहरू अन्तर्मनमा छोपिएका हुन्छन् तर जब दुःख र पीडाले छोप्दछ, मान्छेले त्यसलाई भुसभित्रको आगोजस्तै गरी खोसि्रएर बाहिर निकाल्दछ । सम्पत्तिले धनी र गरिब हुनु सामान्य कुरा हो तर स्वास्थ्यले धनी र गरिब हुनु चाहिँ ज्यादा महत्त्वको कुरा हो । गम्भीर रोगसँग जुधेर रोगलाई जित्नसक्दा उसले दोस्रो जुनी जिएको अनुभव गर्दछ । यस्तो अवस्थामा अन्तर्मनका अभिव्यक्तिहरू धेरैले आ-आफ्नै शैली र ढङ्गमा लिपिबद्ध गरेका प्रशस्त उदाहरणहरू छन् । मित्रसेन दाहालको ‘कथा र व्यथाको यात्रा’ पनि यसै कोटिमा पर्दछ ।

राजनीति, व्यवसाय र समाजसेवाको त्रिवेणीका रूपमा बगेका मित्रसेन दाहालको मृगौला प्रत्यारोपणपछिको लेखनको रूपमा आएको ‘कथा र व्यथाको यात्रा’ मा चार खण्ड रहेका छन् । जीवन र जगत्, रोग र स्वास्थ्य, विगत र वर्तमान एवं राजनीति र विकासमा दाहालले आफ्नो जीवन भोगाइका अनेक पाटोलाई छरपष्ट पारेका छन् । पहिलो खण्डमा उनले आफ्नो अध्ययन र लेखनदेखि लिएर ईश्वर, मान्छे, आत्मा, मन, पुनर्जन्म, पाप, धर्म, जीवनशैली, अनुशासन, पेसा, भोक र अभाव, ज्ञान र अनुभव, यौनमनोविज्ञान लगायतका सत्ताइस शीर्षकमा विविध सन्दर्भहरूमाथि विश्लेषण गरेका छन् । पुस्तकको नामाकरण गरिएको ‘कथा र व्यथाको यात्रा’ शीर्षक पनि यसैअन्तर्गत रहेको छ ।

मानव जीवन सम्पूर्णमा कथा र व्यथाको यात्रा हो भन्दै लेखक दाहालले -‘मेरो जीवन पनि दुःख, उकाली-ओराली अनि आरोह-अवरोहमा जेलिएको, रोग, भोक, बिलौना र तिर्सनाको कथा र व्यथाको एउटा अनवरत यात्रा हो’ भनेका छन् । उनको नाकको र पायल्सको अप्रेसन त सामान्य नै थियो तर मृगौला प्रत्यारोपणपछिको जीवन चाहिँ वास्तवमा अर्काको अङ्गका माध्यमबाट बाँचेको दोस्रो जीवन नै हो । यसैबेलाको अत्यासपूर्ण क्षण र आराम गर्दाको समयमा लेखिएको यो पुस्तक उनको जीवन भोगाइको दस्तावेज हो ।

दोस्रो खण्डमा रोग र स्वास्थ्यसम्बन्धी विवरणहरू समेटिएको छ । यसमा मृगौला रोग, प्रत्यारोपण, उच्च रक्तचाप, सुगर, कलेजोको रोग, नाकको रोग, पायल्स, परिवारकै सदस्यबाट मृगौला प्राप्त भएका कुराहरू रहेका छन् । त्यस्तै, विगत र वर्तमानमा आफ्नो थाकथलो, पारिवारिक अवस्था, पढाइ, व्यवसाय, समाजसेवा लगायतका भोगाइहरू छन् । तेस्रो खण्ड राजनीतिसँग सम्बन्धित छ । ओखलढुङ्गाको जिल्ला काङ्ग्रेसको राजनीति, विद्यार्थी आन्दोलन, सत्याग्रह, जनआन्दोलन, माओवादी विद्रोह, राष्ट्रिय जनआन्दोलन, संविधानसभा चुनाव, भावी योजना लगायतका राजनीतिसँग सम्बन्धित घटना-परिघटनाहरू यस खण्डमा रहेका छन् ।

कथा र व्यथाको यात्राले मित्रसेनको परिवार, जीवनभोगाइ, आर्थिक, सामाजिक र राजनीतिक धरातललगायतका कुराहरूलाई उदाङ्ग पारेको छ । प्रत्येक शीर्षकमा महानवाणीहरू, उद्गारहरू, महत्त्वपूर्ण व्यक्तिका भनाईहरूबाट प्रारम्भ गरेर लेखनको नवीनशैली उनले प्रस्तुत गरेका छन् । पुस्तकमा विषय र सन्दर्भहरू अटेसमटेस छन् । उनका अघिल्ला लेखनमा-समसामयिक चिन्तन प्रवाह, काङ्ग्रेस पराजयः ओखलढुङ्गाको सेरोफेरोमा, चिन्तन र अनुभूतिलगायतका पुस्तकहरूमा आइसकेका कुराहरू पनि यस पुस्तकमा घुलिएका पाइन्छन् । आकारमा ठूलो भएर पनि पुस्तकलाई संस्मरण, निबन्ध, चिन्तन, आत्मजीवनी, के अन्तर्गत राख्नेभन्ने नछुट्टनिु समस्यापूर्ण छ । विषयहरू छुट्याएर भिन्नाभिन्नै पुस्तकहरू अथवा अत्यावश्यक सन्दर्भ र विषयहरूमा केन्दि्रत रहेर आत्मजीवनीपरक बनाउनेतिर लेखकले ध्यान दिएका भए कृति ज्यादै रोचक र पठनीय बन्ने थियो । भूमिका, शुभकामना र पुस्तकबारे व्यक्त गरिएका मन्तव्यहरूको भीडमभीडले पनि धेरै पृष्ठ ओगटेको छ । त्यस्तै, लेखकले स्थापित गर्न खोजेको धन्यवादको संस्कृतिमा पनि धेरै नामहरू आएका छन्, जो भित्री प्रसङ्गहरूमा पनि उठिसकेका छन् । मान्छे निरन्तरको यात्री हो र जीवनमा जति काष्टि काट्छ उति नै कथा र व्यथाहरू बन्छन् । दाहालका कथा र व्यथाहरू धेरै छन् तर यो शीर्षकले सिङ्गो पुस्तकलाई प्रतिनिधित्व गर्न नसकेको हो कि भन्ने अनुभव हुन्छ ।

कृति- कथा र व्यथाहरूको यात्रा
लेखक- मित्रसेन दाहाल
प्रकाशक- विद्यार्थी पुस्तक भण्डार
प्रकाशन- २०६६, विजयादशमी
पृष्ठ- ५०८ ं १६
मूल्य -रु. २५०।-

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *